जोखिममा कार्ड कूटनीति

जोखिममा कार्ड कूटनीति

त्रिदेशीय नाकाका रूपमा रहेको लिपुलेकबाट व्यापार बढाउन दुई छिमेकीले गरेको आपसी निर्णय नेपालका लागि ठूलो झड्का हो। २४ जेठमा नेपालमा प्रकाशित ‘भूमि नेपालको, लेनदेन चीन र भारतको’ आवरण सामग्रीले त्यो कुरा उजागर गरेको छ । इतिहासले पटकपटक मलमपट्टी गरेको सीमाको घाउ १ जेठ ०७२ मा सम्पन्न भारत–चीन व्यापार तथा पारवहन सन्धिले फेरि बल्झेको छ।

भूकम्पले विनाशमा डुबेको नेपाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो भरोसा थियो। त्यसै गरी कालापानीको सन्दर्भमा चीनको पनि विश्वास थियो। प्रश्न भूमि अतिक्रमण र व्यापार सहभागिताको मात्र होइन, बरू संयुक्त विश्वासघातको पीडाले नेपाली पिरोलिएका छन्। युगौँदेखि मनपेट बाँडेर हुर्केका मित्रको परचक्री व्यवहारले नेपाल दु:खीभन्दा बेसी लज्जित भएको छ। यस कदमलाई बूढी मरी भन्दा पनि काल पल्केला भनेर बुझ्नु र हेर्नु समयको पाठ हो।

४ मार्च १८१६ अर्थात् १९ मंसिर १८७२ मा भएको सुगौली सन्धिमा कालीको सिमाना तोकिए पनि नदीको मुहान खुट्टिएको छैन। तर, त्यसअघिका प्रमाण र ऐतिहासिक दस्तावेजले नेपालको सीमा महाकालीको उद्गम लिम्पियाधुरासम्मै भएको पुष्टि गरिसकेका छन्। सुगौली–सन्धिअघि काँगडासम्म फैलिएको पश्चिम नेपालको सिमाना किन कालापानीमा आएर टाक्सियो भनेर घोत्लिने हो भने यसको नालापानीसँगको साइनो र सम्बन्धको उत्खनन जायज नै ठहर्ला। सुगौली सन्धिको ठीक एक वर्षअघि दसैँ छेका पारेर अंग्रेजले आक्रमण गर्दा पराजय भोगेको नालापानी सौर्य, पराक्रम र बलिदानको प्रतिनिधि घटना हो।

देहरादुनबाट १० किलोमिटर दूरीमा रहेको नालापानी गंगा र यमुनाबीचको पहाडी भूभाग छिर्ने अत्यन्त सामरिक पुरानो किल्ला थियो। यो जीर्ण किल्लाभित्र तीन सयजति सेना बसेको थाहा पाएर विपक्षी कमान्डरले ‘खलंगा तुरुन्तै हामीलाई सुम्पिदेऊ, अन्यथा तिमीहरूमाथि कडा कारबाही हुन्छ’ भनी लेखेको पत्रको जवाफ नेपाली कमान्डरले तत्कालै ‘रातको समयमा भेट्ने हाम्रो चलन छैन। भोलि बिहानै युद्धको मोर्चामा भेटाँैला’ भनी फर्काए।

करिब एक महिना तोपका गोलाबारी भए पनि आत्मबल नटुटाएको नेपाली फौज पानीको आपूर्तिका कारण रक्षात्मक हुन पुग्यो। समतल भूमिभन्दा पाँच सय मिटरमाथि रहेको किल्लामा सुरुङ खनेर पानीको आपूर्ति गरेको पत्ता लागेपछि विरोधी सेनाले मुहानमा कडा पहरा राखिदियो। पिउने पानीको हाहाकारका बाबजुद दिवंगतहरूको गाडिएको शवको दुर्गन्धले समेत किल्लाभित्र टिक्न असम्भव भयो। जुनेली रातमा किल्लाको मूल ढोका खोलेर वीर बलभद्र नेतृत्वको महिलासहितको टोली टमटम पानी पिउन गयो। गोलीगट्ठासहित खुकुरी भिरेको यो टुकडीको पानी मार्चपासलाई अंग्रेज पहरेदार हेरेको हेर्‍यै भए।

नालापानीदेखि कालापानीसम्म आइपुग्दा हाम्रा खुकुरी दापभित्र खिया लागेर भुत्ते भइसके भने कति ‘जनयुद्ध’का नाममा आफ्नै सन्तानका घाँटीमाथि छप्किए। अब त आरान नै बन्द भएको अवस्था छ। विगतमा मालेको खुकुरी नाच र महाकाली सन्धिका विरोधमा उत्रनेहरू पनि कुन दुलोमा पसेका छन् या कुन कुर्सीमा बाँधिएका छन्? के तिनको जरो–किलै मासिएको हो त?

होइन, कालापानी हाम्रो हो भन्दै चर्को राष्ट्रवाद देखाउने जम्माजम्मी २५ जनाको समूह गठन भएको छ। तर, आशंकाको सुविधा यस निमित्त छ कि यिनका जुक्ति, बुद्धि र प्रयास कतै म्याद गुज्रेका औषधी नठहरियून्। उता सरकार भने दानकर्ण छिमेकीहरू कुँडिएलान् भनेर थर्कमान भएको छ। केवल झारा टार्ने हेतुले विज्ञहरूको टोलीको घुम्टोले मुख छोपेर किंकर्तव्यविमूढ भएर झोक्र्याएको छ।

बेलायत र अमेरिकाका पुस्तकालयमा रहेका सुगौली सन्धिअघिका नक्सा र चीनको एट्लसमा समेत काली नदीको उल्लेख छ र त्यसमा लिम्पियाधुरा नै मुहान देखाइएको ठोकुवा सीमाविद् बुद्धिनारायण श्रेष्ठले गर्दै आएका छन्। भारत र चीनबीच सन् १९६२ मा भएको युद्धपछि भारतीय सेनाले कालापानीमा कब्जा जमायो। कालापानीबाट तिब्बतका धेरै भाग देखिन्छन्। कालापानीका मानिसले फौजसँग भनेछन्, ‘हामी नेपाललाई नै तिरो तिर्छांै, भारतलाई तिर्दैनौँ।’ ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजका आधारमा लिपु भन्ज्याङभन्दा निकै पर पश्चिमतर्फ लिम्पियाधुरासम्म हाम्रो सीमा हो। तर, त्यसबीचको ३ सय ७२ वर्गकिलोमिटर भारतले ओगटेको छ, जहाँ इन्डो–टिबेटन फोर्स तैनाथ छ।

उता २७ वैशाख ०६२ मा बेइजिङ हलमा चिनियाँ प्रवक्ताले कालापानीमा नेपाल–भारतको विवाद रहेको र त्यसलाई सौहाद्र्र तरिकाले सुल्झाउनुपर्ने भनेर ढुक्क पारेको भर्खरैजस्तो लाग्छ। राजदूत जेङले थपेका थिए, ‘साढे तीन दशक नेपाल र चीनबीच सम्पन्न सीमा सम्झौतामा नेपाल–भारत चीनको त्रिदेशीय सीमाविन्दु लिपुलेक भन्ज्याङ कायम थियो, जस अनुसार महाकालीको लिम्पियाधुरासम्म नेपालको सीमा रहेको प्रमाणहरूको बेवास्ता गरिएको थियो।’ गत वर्ष नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा विवाद ९८ प्रतिशत टुंगिसकेको भन्दै नेपाली पक्षलाई हस्ताक्षर गर्न सुझाएकै हुन्।

प्रजातन्त्रपछिको नेपालमा बीपी कोइरालाले राष्ट्रियताको पक्षमा दुवै देशसँग सिँगौरी खेलेको घटना बेमिसाल छ। राजा महेन्द्रले भैँसी र जोगीजस्तै दूरीमा राखेर एकअर्कामा खेले र खेलाए। सूर्यबहादुर थापालाई भारतको कार्ड बनाए भने कीर्तिनिधि विष्टलाई चिनियाँ कार्ड दिलाए। तर, भारतीय चेक पोस्ट हटाउने कीर्तिमान राखेका तिनै विष्टले कालापानीको पोस्टलाई छोएनन्। कुरा विष्टको होइन, राजा महेन्द्रको हो। राजा वीरेन्द्रले पनि समदूरी भन्दै बाबुको सिको गरेर मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्दको फेरबदल गरेका थिए।

आखिर पृथ्वीनारायण शाहले दुई सय वर्षअगाडि परिकल्पना गरेको तरुल नै साबित भयो नेपाल। बाबुराम भट्टराईले भनेको डाइनामाइट ढुँडी परेर हो कि, यसपालि पड्केन। अघिल्लो साता दातृ सम्मेलनमा भाग लिन आएका चिनियाँ विदेशमन्त्रीले गोलमटोल भाषामा नेपालको सहभागिताको अपेक्षाको परकम्पन त ओकले। तर, त्यसले पनि भारत र चीनले लिपुलेकमाथि हालेको रेशममार्गको आकाशे पुललाई पुन:स्थापित होइन, टेको लगाएकै रूपमा बुझिएको छ। लिपुलेकलाई लिएर भारत र चीनबीच भएको समझदारीले अब हाम्रो कार्ड कूटनीति पनि जोखिममा परेको छ ।

प्रकाशित: असार २०, २०७२