मुक्तिमार्गमा मनीषा

  • क्यान्सरमुक्त भएपछि फेरिएको जीवन
मुक्तिमार्गमा मनीषा

- गोकर्ण गौतम

“मृत्युलाई नदेखी वा नसोची जीवनको महत्त्वबोध हुँदो रहेनछ,” अभिनेत्री मनीषा कोइराला कुराकानीको सुरुमै दार्शनिक सुनिइन्, “मैले पनि मृत्युको सम्मुख पुगेपछि मात्र जीवन बुझेँ।”

हुन पनि जीवनको सबभन्दा ठूलो सत्य हो मृत्यु। जन्मेपछि मर्नुपर्छ नै तर हामी जिन्दगीलाई ग्यारेन्टीजस्तो मान्छौँ। मृत्युबोधबिना जिउनुको मज्जा होला त ? मनीषाको भोगाइ छ, “हुँदैन। जीवन पूर्ण र साँचो अर्थमा खुसी हुन मृत्युलाई नजिकबाट महसुस गर्नैपर्छ। गरिएन भने त्यो भ्रम मात्र हुन्छ।”

जिन्दगीका झन्डै ४२ वर्ष मनीषाले यस्तै भ्रममा बिताइन्। उनलाई लाग्छ, ती दिन सत्यबाट टाढा रहेछन्। करिब–करिब अप्राकृतिक। सुन्दा अप्रिय लाग्न सक्छ, उनका लागि क्यान्सर वरदान साबित भयो। क्यान्सर र मृत्यु पर्यायवाची सुनिन्छ। तर, त्यही क्यान्सरले उनको जीवन लगेन, बरू नयाँ जीवन दियो। सरल र अर्थपूर्ण जीवन। जहाँ घृणा, लोभ, द्वेषको एक अंश छैन। भागदौड छैन। छ त केवल आत्मिक शान्ति र सन्तुष्टि अनि सेवाभाव।

“मृत्युको सम्मुखमै पुगेर मात्र होइन, तपस्या र ध्यानबाट यस्तो जीवन जिउन सकिने रहेछ,” मनीषाले रहस्य खोलिन्, “तर, मलाई क्यान्सरले सिकायो। क्यान्सर नभएको भए म अहिले पनि भ्रममा बाँचिरहेकी हुन्थेँ। त्यसैले क्यान्सरप्रति धन्य छु।”

क्यान्सरको कथा सुरु हुन्छ, २५ नोभेम्बर २०१२ बाट।

तीन महिनादेखि मनीषालाई सन्चो थिएन। झाडापखाला लागिरहन्थ्यो, ज्वरो आइरहन्थ्यो। फुड पोइजनजस्तो लागेर एन्टिबायोटिक खाइन्। निको भएन। तर पनि पेल्दै गइन्। हुँदा–हुँदा शरीर गल्दै गयो। आत्मशक्ति हरायो। अनि त अस्पताल नगई धरै पाइनन्। भाइ सिद्धार्थको साथमा नर्भिक पुगिन्। त्यहीँ थाहा पाइन्, शरीरमा क्यान्सर भएको। डाक्टरको मुखबाट खसेको क्यान्सर शब्दले उनलाई चमकदमक संसारबाट निष्पट अँध्यारोमा धकेल्यो।

“क्यान्सर वा अन्य घातक रोग लागिरहेको संकेत शरीरले दिँदो रहेछ। शरीरको पाचन शक्ति कमजोर हुन्छ। सानो रोग पनि लामो समयसम्म निको नहुँदो रै’छ,” मनीषाले अनुभव सुनाइन्, “तैपनि, हामी शरीरलाई बेवास्ता गर्छौं। सकेसम्म पेलेर जान खोज्छौँ। अनि, रोग विकराल बनेपछि मात्र अस्पताल पुग्छौँ।”

अर्को दिन मनीषा मुम्बई पुगिन्। क्यान्सर रोग विशेषज्ञ सुरेश आडवाणीलाई भेटिन्। आडवाणीले सीटी स्क्यान गराए। त्यसको रिपोर्ट आउनै बाँकी थियो। उनकी एक गाइनोकोलोजिस्ट साथीले सीटी स्क्यान हेरिन्। मनीषाले सोधिहालिन्, ‘म कति वर्ष बाँच्छु होला?’ ती डाक्टर साथीको जवाफ थियो, ‘मुस्किलले दुई वर्ष।’ जब जीवनको सीमारेखा कोरियो, त्यो पनि त्यति छोटोछिटो र अकस्मात्। कति पीडादायी थियो त्यो क्षण ? उनी केही बेर मौन भइन् अनि त्यो दु:खद पल सम्झने प्रयास गरिन् । तर, जम्मा तीन शब्द खस्यो, “बियोन्ड द इम्याजिनेसन।”

डाक्टर आडवाणीले उनको आयु त तोकिनन् तर क्यान्सर गम्भीर भइसकेको बताइन्। तर, अब आत्तिने बेला थिएन। रोग छ भने त्यसको उपचार पनि छ जस्तो लाग्यो उनलाई। त्यसभन्दा महत्त्वपूर्ण कुरा के भने मर्नु नै छ भने सक्नेजति उपचार किन नगर्ने भनेर अमेरिका उडिन्। उनकी आमा सुषमा कोइरालाका तीन–चार स्कुले साथी अमेरिकामा डाक्टर थिए,सोल केट्रिन र कर्नेलजस्ता उत्कृष्ट क्यान्सर अस्पतालमा। उनले सोल केट्रिनमा उपचार गराउने निधो गरिन्। मनीषाकै शब्दमा अस्पतालका सर्जन चि ‘जीवनदाता’ बनेर आए। “चि डेनिस सर्जनसँग उपचार गराउनु मेरो अहोभाग्य थियो,” आँखा उज्यालो पार्दै भन्छिन्, “उहाँले ९९ प्रतिशत क्यान्सर अप्रेसन गरेर निकालिदिनुभयो। त्यही कारण आज म बाँचिरहेकी छु। अप्रेसन राम्रो नभएको भए मरिसक्थेँ।”

अन्तिम अवस्थामा पुगेको भनिए पनि मनीषा नाटकीय रूपमा क्यान्सरमुक्त भइन्। ३० अप्रिल २०१३ बाट उनले नियमित औषधी खानुपरेको छैन। ६–६ महिनामा मुम्बईमा चेक गराउँछिन्। मानसिक सन्तुष्टिका लागि डाक्टरसँग सल्लाह लिन वर्षमा एकपटक न्युयोर्क पुग्छिन्। यति छिटो क्यान्सरमुक्त हुनु मेडिकल उपचार त आधारभूत हुने भइहाल्यो तर मानसिक रिकभरीको पनि महत्त्वपूर्ण भूमिका थियो र छ भन्ने लाग्छ।

उपचारका क्रममा उनीसँग पर्याप्त समय हुन्थ्यो। त्यसबारे पढ्न र बुझ्न तल्लीन भइन्। क्यान्सर सफल भएका व्यक्तित्वको जीवनी पढिन्। मनोबल बढ्यो। नकारात्मक सोचेर वा रोएर रोग निको हुँदैन भन्ने ज्ञान पाइन् । सकारात्मक सोच विकास गरिन्। उनका बुबा, आमा र भाइले पनि कहिल्यै एक्लो र दु:खी हुन दिएनन्। भन्छिन्, “उहाँहरू अलग्गै रुनुहुन्थ्यो होला तर मेरो अगाडि रुनुहुन्न थियो। सधैँ हौसला दिनुहुन्थ्यो।”

अस्पताल बसाइमै मनीषाको जीवनप्रतिको दृष्टिकोण परिवर्तन हुँदै गयो। अर्थपूर्ण जीवनको खोजीमा अध्यात्म बुझ्न र अध्ययन गर्न थालिन्। क्यान्सर निको नहुँदै जीवनको गुदी ठम्याइसकेकी थिइन्। “दिमाग, शरीर र आत्मा एकअर्कामा अन्तरसम्बन्धित हुन्छन्,” मनीषाले पाएको ज्ञान यस्तो छ, “जीवनमा सबैभन्दा प्राथमिकता दिनुपर्ने कुरा आफ्नै शरीर हो। त्यसपछि दिमाग अनि आत्मा।”

विडम्बना के भने जीवनमा मनीषाले सबैभन्दा बढी बेवास्ता गरेको पनि आफ्नै शरीर हो। खानपानको ख्याल थिएन। योगा र ध्यान जानेकै थिइनन्। अत्यन्त अव्यवस्थित जीवनशैली थियो । क्यान्सरअगाडि पनि उनको मनमा शान्ति थिएन। “सानो कुरामै चित्त दुखाउँथेँ। जस्तो : सफलता वा असफलताकै कुरा भयो। करिअर त्यति धेरै सफल नहुँदा चित्त दुख्थ्यो,” मनीषा भन्छिन्, “जबकि, सफलता/असफलता भन्ने त सामान्य कुरा रहेछ। २० वर्षे करिअरमा उतारचढाव आउनु स्वाभाविक हो। दु:ख मान्नुपर्ने कुरै होइन।”

सफलतामा रमाउनुपर्छ, लत लगाउनु हुन्न। किनभने, सफलता स्थायी हुँदैन। त्यसैले उतारचढावलाई स्वीकार्ने क्षमता हुनुपर्छ। तर, मनीषा आफ्नो छवि र करिअरलाई मान्छेले कसरी लिन्छन् भन्ने कुरामा चिन्तित हुन्थिन्। सुनाउँछिन्, “२००३ तिर करिअर ओरालो लागेपछि निकै विक्षिप्त बनेकी थिएँ। त्यसको असर लामो समयसम्म परिरह्यो तर अहिले म त्यो असफलतालाई पनि खुुसीसाथ स्वीकार्न सक्छु।”

क्यान्सरपछि भने जीवनप्रति स्पष्टता आयो। जीवनमा केको महत्त्व छ भन्ने ज्ञान पाइन्। “मसँग जीवन थियो तर बेवास्ता गरेँ,” मनीषालाई लाग्न थाल्यो, “मर्नु नै छ भने दु:खी भएर किन जिउने ?” हो, जिन्दगीको त्यही क्षणबाट उनले दु:ख र पीडालाई सदाका लागि बिदा गरिन्। जे छ, त्यसमै खुसी हुनुपर्छ, नभएका वा नपाएका कुरामा दु:खी हुनु जीवनको बर्बादी हो। फेरि खुसी भन्ने कुरा सफलता, सम्पत्ति वा प्रसिद्धिमा निर्भर हुँदैन। “हुन त यी कुराले पनि कसैलाई खुसी देला,” मनीषाको दर्शन छ, “तर, यो देखावटी मात्र हो कि आत्मिक खुसी हो,स्वमूल्यांकन गर्नुपर्छ।”

सायद यही कारण मिडिया फेम र बलिउडको चमकदमकबाट बाहिर हुँदा पनि असफलता, ग्लानि र पश्चात्ताप मनीषाको मनमा ढिम्किन पाएको छैन। कुनै जमाना उनी १८ घन्टासम्म सुटिङमा व्यस्त हुन्थिन्, हजारौँको भीडमा घेरिन्थिन्, चौबीसै घन्टा मिडियाले उनीतिर नजर डुलाइरहेको हुन्थ्यो, जता गयो त्यतै हाइहाइ मात्र थियो । तर, अहिले यी कुरा केही छैनन्।

बाहिरबाट हेर्दा मनीषा एक्लो जीवन बिताइरहेकी छन् । तर, यथार्थमा चाहिँ व्यावसायिक सफलताको शिखरमा रहेको ’९० को दशकमा भन्दा बढी खुसी छन्। “पहिलेको र अहिलेको जीवनको तुलनै नगर्नूस्। हजारौँ गुणा बढी खुसी छु अहिले,” आत्मविश्वासपूर्ण र गम्भीर भावमा उनले भनिन्, “फेरि खुसी भन्दैमा हाहाहुहु गर्ने, कराउने, देखाउने होइन। एकदम आत्मिक शान्ति हो यो।”

उनलाई लाग्छ, अधिकांशको जीवनमा यही शान्तिको अभाव छ। जीवनको भागदौडमा जिउनै बिर्सन्छौँ। आफ्ना महत्त्वाकांक्षा, घर–परिवार र करिअरको चिन्तामा पिल्सिरहन्छाँै। मनले के चाहिरहेको छ, वास्तै गर्दैनौँ। तर, जतिसुकै पैसा वा सफलता भए पनि मानिस तबसम्म खुसी हँुदैन, जबसम्म उसको आत्म शान्ति हुँदैन। एक्लोपनमा उनी त्यही शान्ति पाउँछिन्। खुसी लिने माध्यम पनि फरक भएको छ।

जस्तो कि, अहिले उनी सूर्य अस्ताउँदा फुरुंग हुन्छिन्। चराचुरुंगीको आवाज सुन्दा, पुतली देख्दा, घाँसमा खाली खुट्टा हिँड्दा र झरीमा रुझ्दा मन भरिन्छ उनको। राती एक्लै कौसीमा बसेर चन्द्रमा हेर्छिन् र शीतल महसुस गर्छिन्। “देख्दा सामान्य लाग्ने यस्ता खुसीलाई पैसा वा सफलताले किन्न सकिँदैन,” मनीषाको बुझाइ छ, “तर, हामी यस्ता कुरा बिर्सन्छौँ र खुसीको खोजीमा तड्पिन्छौँ।”

क्यान्सर भएपछि सामाजिक प्रतिष्ठा वा करिअरमा असर पर्छ भनेर लुकाउने गरिन्छ । तर, मनीषाले आफूलाई खुला किताबका रूपमा प्रस्तुत गरिन्। क्यान्सर देखिएदेखि मुक्त हुँदासम्मका हरेक गतिविधि सञ्चारमाध्यममा सार्वजनिक भए। उपचारकै क्रममा पनि उनले ट्वीट गर्न छाडिनन्। निको भएपछि क्यान्सर अनुभव अझ खुलस्त ढंगबाट पोखिरहेकी छन्। “क्यान्सर भन्नासाथ मृत्यु नै हुन्छ भन्ने भ्रम हटाउने प्रयास हो मेरो,” मनीषा भन्छिन्, “क्यान्सरको रिकभरीमा मनोबलको ठूलो भूमिका हुन्छ।”

उसो त उनी आफ्नो कथा मात्र सुनाउँदिनन्, क्यान्सरपीडितलाई प्रत्यक्ष सहयोग गर्ने प्रयासमा पनि छन्। भूकम्पअगाडि उनी कमजोर आर्थिक अवस्थाका क्यान्सर बिरामीको मनोबल बढाउन र उनीहरूका लागि सहयोग जुटाउन व्यस्त थिइन्। अहिले पनि स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन आफ्ना तर्फबाट सक्दो प्रयास गरिरहेकी छन्।

भूकम्पपीडितलाई सघाउ पुर्‍याउन संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को सद्भावना दूतका रूपमा उनी नेपाल आएको महिना बित्यो। यसबीचमा उनले काभ्रे, सिन्धुपाल्चोक र खोकनाका भूकम्पपीडित महिला र बालबालिकाका समस्या बुझ्ने प्रयास गरिन् र राहत सामग्री वितरण गरिन्। पुन:स्थापना र पुन:निर्माणमा जुट्दै छिन्। ‘स्वच्छ भारत अभियान’मा पनि सक्रिय छिन्।

प्रतिष्ठित र सम्पन्न परिवारमा जन्मेर अमेरिकामा पढेकी मनीषा २२ वर्षको उमेरमा बलिउड प्रवेश गरेकी थिइन्। १० वर्षसम्म निरन्तर सफलताको शिखरमा रहिन्। इन्डिया टुडे म्यागजिनले उनलाई ’९० को दशककी सबैभन्दा क्षमतावान् र प्रिय अभिनेत्री भनेको थियो भने भारतको सर्वोत्कृष्ट फिल्म म्यागजिन फिल्मफेयरले उनलाई ‘८० आइकनिक पर्फमर’मा समावेश गर्‍यो। फिल्मफेयर अवार्डमा तीनपटक क्रिटिक्स अवार्ड जित्ने अभिनेत्री हुन् उनी।

दुई दशक लामो करिअरमा उनलाई विवादले कहिल्यै छोडेन। विभिन्न पुरुषसँगको सम्बन्धदेखि मदिरामोहका खबरका कारण उनको छवि नकारात्मक बन्यो। २००२ बाट बलिउडको मूलधारबाट ओझेल परिन्। पारिवारिक जीवन पनि टुक्रियो। तर, अहिले न उनमा स्टारडम वा सफलताको घमण्ड छ, न त करिअर वा विवाह टुक्रिएको चिन्ता नै। ग्ल्यामर र सो–अप ह्याङबाट पनि मुक्त छिन्। हिरोइन होइन, विशुद्ध साधक, ध्यानी र योगीजस्तो जीवनशैलीमा आउँदा असहज नहोला त ? उनले मुहार उज्यालो पार्दै भनिन्, “अचम्म वा असहज मान्नुपर्ने कारण छैन किनभने जीवनको सत्य यही हो।”

प्रकाशित: असार १३, २०७२