सहयोगी सामग्री

सहयोगी सामग्री

उत्कृष्ट दस प्लस टुबारे नेपालको सामग्री अत्यन्त सहयोगी लाग्यो । कुन कलेज पढ्ने भन्ने रनभुल्लमा रहेका हामीजस्ता विद्यार्थीलाई कलेज छनोट गर्न र तिनबारे धारणा बनाउन पनि यो सामग्री कामलाग्दो छ । त्यसमाथि नेपालको छनोट विधि वैज्ञानिक छ, सम्बन्धित निकायका तथ्यांकलाई केलाउँदा नेपालले निकालेकै परिणाम आउँदो रहेछ । यस कारण पनि हामीले निर्धक्क भएर नेपालको छनोटलाई विश्वास गर्न सक्छौँ ।

- मेनुका काफ्ले

जगाती, भक्तपुर

कता हराए ठूला सहर ?

नेपालको टप टेन प्लस टुको सूचीमा यसपल्ट उपत्यकाबाहिरका कुनै पनि उच्च मावि पर्न नसकेकामा दु:ख लाग्यो (टप टेन प्लस टु, १३ असार)। विगत वर्षमा झैँ यसपटक पनि उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ र १२ को शैक्षिक सत्रको अन्त्यमा लिने परीक्षाको नियमिततर्फको नतिजा विश्लेषणका आधारमा निकालिएको नतिजामा उपत्यकाबाहिरका विराटनगर, चितवन, बुटवल, बनेपा, झापाजस्ता सहरले आफ्नो उपस्थिति देखाउन सकेनन्। तर, परीक्षामा अमर्यादित गतिविधि गर्ने, परीक्षा केन्द्र आफू अनुकूल बनाउने, उत्तरपुस्तिका जाँच्ने क्रममा अनियमितता गर्नेजस्ता विकृतिमा संलग्न उपत्यका र उपत्यकाबाहिरका उच्च माविलाई आफ्नो सूचीबाटै हटाएको पाउँदा भने ज्यादै खुसी लाग्यो।

-  विमल अधिकारी

कीर्तिपुर, काठमाडौँ

महिला समानताका पक्षमा

महिलालाई समान हुन नदिने विभेदकारी प्रावधानका पछाडि संकीर्ण पुरुषवादी राष्ट्रवादर नस्लवादी एवं संकीर्ण क्षेत्रवादी राजनीति प्रमुख रहेछ (नागरिकता, संविधान र राष्ट्रिय पहिचान, १३ असार)। पुरुषवादी र हीनताबोधले ग्रस्त राष्ट्रवादका कारण नेपाली महिलाले आफ्ना नाममा नागरिकता पाउन नसकेको पंक्तिकारको जिकिर दमदार लाग्यो। त्यस्तै, नस्ल र क्षेत्रका आधारमा भारतीय र विशेष गरी मधेसमा विवाह भएर आउनेलाई नेपाली महिलाभन्दा माथिल्लो दर्जा दिइनुपर्ने मागप्रतिको रोष पनि ज्यादै तर्कयुक्त लाग्यो।

नेपाली महिलालाई आफ्ना सन्तानलाई नागरिक बनाउन पाउने अधिकार र समानताको विपरीत सम्पूर्ण आमाहरूको अपमान गर्नेहरूका विरुद्ध र नागरिकतासम्बन्धी व्यवस्थाको हचुवापनलाई सच्याउन जरुरी जुन तर्क प्रस्तुत गरिएको छ, नीति–निर्माताहरूको मस्तिष्कलाई पनि एकपटक झकझक्याउँछ कि ?

- तिलक थापा

कञ्चनपुर, महेन्द्रनगर

परम्परागत घर उत्तम

बसोवासको विकल्पका बारे बहस चलिरहँदा हाम्रा परम्परागत घरहरूलाई नजरअन्दाज गर्न मिल्दैन (बसोवासको विकल्प, १३ असार)। अहिले जति पनि वैकल्पिक घरहरूका कुरा आएका छन्, ती नेपाल सुहाउँदा छैनन्। स्थानीय सीप, प्रविधि र कच्चा पदार्थको प्रयोग भएर बन्ने घरहरू कम खर्चिलो, दिगो र मर्मतका लागि पनि सहज हुन्छन्। खासमा हाम्रा परम्परागत घरलाई नै वैज्ञानिक रूपमा परिमार्जन गर्नुपर्छ।

अहिले ढलेका पुराना घरले सयौँ वर्षदेखि भूकम्पका झट्काहरू थेग्दै आएका हुन्। अहिले लडेको त धेरै पुरानो भएकाले मात्र हो। अर्थात्, भूकम्प प्रतिरोधात्मक गुण र दिगो उपयोगका लागि परम्परागत घर नै उत्तम रहेछ। त्यसमाथि अझ अध्ययन/अनुसन्धान गर्ने हो भने परिष्कृत घर तयार पार्न सकिन्छ, जुन हाम्रा हिमालदेखि तराईसम्म अहिले चर्चामा रहेका सस्ता भनिएका घरभन्दा पनि निकै कम लागतमा तयार पार्न सकिन्छ।

- पर्शुराम गौतम

भूगोलपार्क, बुटवल

संघीयता कि विकेन्द्रीकरण ?

हामीलाई चाहिएको संघीयता हो कि शक्तिको विकेन्द्रीकरण हो (संविधान–०७४ को शृंगारपटार,

१३ असार) ? कि एउटा राजनीतिक मुद्दालाई च्यापेर जहिल्यै सत्ताको केन्द्रमा रहिरहने मेलो मात्र हो। हो, शक्तिको विकेन्द्रीकरणको आवश्यकता जनताले पनि महसुस गरेका हुन्। सानो कामका लागि पनि सदरमुकाम र राजधानी आउनुपर्ने बाध्यता, केन्द्रद्वारा लादिने कार्यक्रमलाई स्थानीय तहमा आत्मसात् गर्नै नसकिने अवस्था तथा विकासको अति केन्द्रीकरणका कारण दुर्गम क्षेत्र पीछडिएका कारण स्थानीय तहलाई नै शक्तिशाली बनाउनुपर्ने आवाज उठेकै हो। तर, यो आवाज माओवादी द्वन्द्वको सुरुआत भएपछि मात्र भएको हो।

जब स्थानीय निकायको निर्वाचन भएन, तब मात्र तल्लो तहमा यति साह्रो समस्या उत्पन्न भएको हो। सायद आफूले उठाएको मुद्दाका कारण आफैँ जोकर भइएला भनेरै यति लामो समयसम्म स्थानीय निकायको निर्वाचन गरिएन। हाम्रो खास आवश्यकता के हो, त्यसका बारे जनतामा छलफल होस्। नत्र, यसअघि पनि दलहरूले धेरैपटक सहमतिहरू गरेकै हुन् र तिनको ल्याकत पनि देखिएकै हो।

- देवकी शर्मा

टेबहाल, काठमाडौँ

क्यान्सर अस्पताल सुधार

बीपी कोइराला मेमोरियल अस्पतालको अस्तव्यस्तताबारे पढ्दा मनै खिन्न भयो (भद्रगोल अस्पताल, १३ असार) । किनभने, मेरा एक आफन्तलाई पनि क्यान्सरको उपचार गराउनु थियो। केही साथीले भरतपुर जाँदा राम्रो हुने सल्लाह पनि दिएका थिए। तर, उनीहरूले धेरै अगाडिको त्यहाँको सेवा देखेर त्यस्तो धारणा बनाएका रहेछन्। अहिले नेपालमा प्रकाशित सामग्री पढ्दा त अत्यास लाग्यो। निम्न शुल्कमा राम्रो सेवा प्रदान गरिने भएपछि अझै पनि यस अस्पतालमा बिरामीको भीडभाड नै हुन्छ। भारतबाट समेत बिरामी आउँछन्। त्यही भएर पनि बिचौलियाले मौका उठाएका हुन्। त्यहाँ आउने केही प्रतिशत सेवाग्राहीलाई मात्र आफूकहाँ लान सक्ने हो भने पनि निजी क्षेत्र त मालामाल हुने नै भयो। अनि, नयाँ ठाउँ, त्यसमाथि भीडभाड र अस्तव्यस्तता भएपछि त कोही सहयोग गर्छु भन्दै आयो भने नफसिने कुरै हुँदैन। त्यसैले तीन कुरामा ध्यान दिइयोस्। एक– बिचौलियालाई प्रतिबन्ध, दुई– चुस्त सेवा र तीन– व्यक्तिगत लाभका लागि अस्पतालको प्रतिष्ठामा आँच पुर्‍याउनेमाथि अनुसन्धान गरी कडा कारबाही।

- रमेश अर्याल

विराटनगर

नेपालीलाई हौसला

हो, नेपालमा हाइटीको जस्तो विकराल अवस्था आउने सम्भावना नै छैन (हाइटी बन्दैन नेपाल, १३ असार)। नेपालको इतिहास र यहाँका जनताले भोगेका चुनौतीलाई हेर्ने हो भने त अहिलेको भूकम्प केवल सानो घटना हो। साढे दुई सय वर्षको इतिहास हेर्ने हो भने पनि नेपालमा स्थिरता कहिल्यै भएन। सत्ताको लुछाचुँडीमा ठूलठूला काण्ड भए। जनता हुनुसम्म प्रताडित भए। तर, अचम्मलाग्दो के भने जनताको सहनशक्तिमा कहिल्यै कमी आएन, उनीहरू शान्तिपूर्वक जीवनयापनमा लागिरहे। माओवादी द्वन्द्वका बेलासमेत बरू बसाइँ सरे, विदेशिए तर लुटपाट गर्ने, हिंसामा सामेल हुनेजस्ता गतिविधि खासै भएनन्। अहिले त नेपालमा विकराल अवस्था छ भनेर केही व्यक्तिले मागिखाने भाँडो बनाउने जोखिम छ। नत्र, अलिकति हौसला दिने हो भने पनि नेपाल उठ्न गाह्रो छैन।

- पूर्ण न्यौपाने

पोखरा

प्रकाशित: असार १३, २०७२