पत्रु खुराकविरुद्ध पोषण

पत्रु खुराकविरुद्ध पोषण

- डा अरुणा उप्रेती

म्यागी चाउचाउमा हानिकारक रसायन देखिएपछि एकचोटि गहिरिएर सोच्नुपरेको छ, अब पत्रु खाना किन खाने?

विसं १९९० को भूकम्पका बेला नेपालमा चाउचाउ र बिस्कुट आइपुगेका थिएनन्। पालमा बसेकालाई मकै, भटमास र चिउरा बाँडिएको थियो। अहिलेको भूकम्पमा चाउचाउ र बिस्कुट नभएको भए थुप्रै मानिस मर्थे भन्ने पनि छन्। तर, चाउचाउ र बिस्कुट नभएर चिउरा नै बाँडेको भए पनि कसैलाई समस्या पर्ने थिएन। कतिपय संस्थाले अप्ठ्यारा दिनमा पनि भात र दालजस्ता तातो खानेकुरा पकाएर खुवाएकै हुन्।

प्रशोधित पत्रु खाना खाएपछि एक महिना, एक वर्षमा कोही मर्दैन। तर, बालबालिका कुपोषणको सिकार भएर शारीरिक र मानसिक समस्याको सिकार हुन्छन्। उनीहरूको रोगसँग लड्ने शक्ति कम हुन्छ। यसले अमेरिका र अन्य देशमा दन्त स्वास्थ्यमा नकारात्मक असर परेको तथ्य सार्वजनिक भइसकेको छ।

पहिलेपहिले म मुस्ताङ, मनाङ जाँदा स–साना नानी, किशोरकिशोरीको दाँत टिलिक्क देखिन्थ्यो तर सडकसँगसँगै त्यहाँ बिस्कुट, चाउचाउ, चकलेट र चिसो पुग्यो। बालबालिकामा सानैदेखि दाँतमा कीरा लाग्ने समस्या देखियो। स्थानीय स्वास्थ्यकर्मीले भनेका थिए, ‘अचेल केटाकेटी चम्पा (जौको सातु)को सट्टा चाउचाउ खान्छन्। तिनले पैसा खर्च गराउँछन्, दाँत कमजोर गराउँछन् र पछि दाँतमा कीरा लागेर झन् धेरै पैसा खर्च हुन्छ।’

अमेरिकामा नेपालमा जस्तो दाल, चामल, कोदो, फापर, मकै, भटमास खाँदैनन्, प्रशोधित खाना खान्छन् तर स्वस्थ छन् भन्ने तर्क गर्छन्, कतिपय खाद्य प्राविधिक। तर, प्रशोधित खानेकुराले नै उनीहरूलाई उच्च रक्तचाप, मुटुरोग, मधुमेह र क्यान्सर आदिको समस्या उच्च छ। २१ वर्षमाथिका दुईतिहाइ व्यक्ति मोटोपनको सिकार भएका छन् र त्यसका लागि सरकारले अर्बौं डलर खर्च गर्नुपरेको छ।

एकदम सस्तो भएकाले हिस्पानिक र अफ्रिकन मूलका अमेरिकनले प्रशोधित खाना बढी खान्छन् र उनीहरूमा सानैदेखि मोटोपनाको समस्या हुन्छ। अत्यधिक मोटोपनले क्यान्सर निम्त्याउन सक्छ भनेर डाक्टरहरू त्यस्ता खाना प्रयोग नगर्न सल्लाह दिन्छन्।

अमेरिकामै पनि धनीमानीहरू हरियो तरकारी, गहुँको पाउरोटी, फलफूल र शुद्ध जुस पिउँछन्। छोराछोरीलाई स्कुलमा दिने खाजा स्वास्थ्यकर होस् भनेर आवाज पनि उठाइरहन्छन्। स्कुलमा चिसो पेय पदार्थको बिक्री गर्नु हँुदैन भनेर वकालत गरिरहन्छन्। प्रथम महिला मिसेल ओबामासमेत आफ्ना छोरीहरूका लागि यस्तै खाना तयार पार्छिन्।

मैले अमेरिका बस्ने धेरैजसो नेपालीले घरमै दाल, भात, रोटी खाएको देखेँ। स्वस्थ रहन चाहने अमेरिकी पनि कोदो, फापरले बनेको रोटी खान्छन्। अमेरिकामा मकै छ, भटमास पनि छ। मकै त अमेरिकाको राष्ट्रिय खाना नै हो। तर, कतिपयले मकै र त्यसको परिकारका बारेमा बिर्सेका छन्। र त ‘अमेरिकी खाने बानी त्यति राम्रो छैन’ भनेर जनस्वास्थ्य विशेषज्ञले हजारौँ लेख र किताब लेखिरहेका छन्।

कतिपय भन्छन्, घरमा पकाएको स्वास्थ्यकर हुन्छ भन्ने प्रमाण के? घरमा पकाएको खानेकुरा सुरक्षित छ भन्ने प्रमाण यही हो कि हामीले हजारौँ वर्षदेखि घरेलु खाना खाइरहेका छौँ। शिशुलाई पास्नी गरेपछि घरकै खानेकुरा हलुवा, खिर, सर्वाेत्तम पिठो दिएर स्वस्थ राख्छौँ। उनीहरूलाई प्रशोधित खाना, चाउचाउ चिजबल दिइयो भने त कुपोषण सुरु भइहाल्छ।

आलु बढी हुँदा चिप्स बनाएर देशको अर्थतन्त्रमा सकारात्मक असर पुर्‍याइरहेको केही खाद्य विशेषज्ञ दाबी गर्छन् तर ‘चिप्स’ खाएर उच्च रक्तचाप र मोटोपन भएर समस्या परेको अनि सरकारको पैसा औषधी र अस्पतालमा गइरहेको बारे बुझ्ने कोसिस गर्दैैनन्। आलुलाई चिप्स बनाउनुको सट्टा सुकाएर पनि प्रयोग गर्न सकिन्छ। कर्कलोसँग मिसाएर मस्यौरा र तितौरा बनाउन सकिन्छ।

घरको खाना खाएरै तपाईं–हामी स्वस्थ छाँै। घरबाट बाहिर जाँदा पनि सकेसम्म सफा भान्छा भएको ठाउँ खोजेर रोटी, दाल, भात आदि स्वास्थ्यकर खाना खान्छाँै। वा, चिउरा, चना र आलुजस्तो खाजा नै रोज्छाँै। कतिपय चिप्स, चिसो पेय पदार्थ र चाउचाउ रोज्छन्। हरेकलाई छनोटको स्वतन्त्रता त छ नै। तर, व्यापारका नाममा झूटा विज्ञापन गर्नु भएन।

पहिलेपहिले चुरोटका बारेमा विज्ञापन गरिन्थ्यो, साहसीको चाहना...। अमेरिकामा कतिपय चुरोट कम्पनीले चुरोटमा क्यान्सर गराउने तत्त्व छ भन्ने सिद्ध भएको छैन भनेका थिए कुनै बेला। तर, अनेकन् अनुसन्धानपछि चुरोटले क्यान्सर र मुटुरोग लाग्छ भन्ने सिद्ध भयो र चुरोट कम्पनीले हजाराँै डलर जरिवाना तिर्नुपर्‍यो।

जनस्वास्थ्य विशेषज्ञको अथक प्रयासपछि रेडियो र टीभीमा त्यसको विज्ञापन गर्न नपाइने र बट्टामा चुरोटले स्वास्थ्यमा खराबी हुन्छ भनेर अनिवार्य रूपमा लेख्नुपर्ने भयो। अझ अहिले त खराब मुटु र फोक्सोको फोटो पनि राख्नुपर्ने भएको छ। यति हुँदा पनि भ्रमपूर्ण विज्ञापनको प्रभावमा किन पर्ने?

यति लामो छलफल गरेपछि आफ्ना बालबालिकालाई पत्रु खुराक दिने कि नदिने? सोच्ने जिम्मा मातापिता, बाजेबज्यैलाई नै ।

प्रकाशित: असार १३, २०७२