जो विपत् सेलिब्रेट गरिरहेछन्

जो विपत् सेलिब्रेट गरिरहेछन्

- विनोदविक्रम केसी

चियर्स ! भूकम्पका नाममा।

चियर्स ! भूकम्पपीडितका नाममा।

चियर्स ! भत्केका घरका नाममा।

चियर्स ! धरहराका नाममा।

चियर्स ! दाताका नाममा।

चियर्स ! राहतका नाममा।

चियर्स ! पुन:निर्माणका नाममा।

१२ वैशाख ११:५६ पछि उनीहरू हरेक पल बियरका बोतल खोलिरहेछन्। उनीहरूका गिलास टकराएका आवाजले काँचजस्तै झर्‍यामझुरुम चकनाचुर भएका मान्छेका आर्तनादहरू निलिदिएका छन्। कुम्लो बोकी बसाइँ गइरहेछन् मान्छेहरू र परेवा काटी दसैँ मनाइरहेछन् उनीहरू। शरद्कालीन उमंगमा झुमिरहेछन्। कम्पित छन् मान्छेहरू, जीवन र मृत्युको झीनो रेखामा टेकेर। कम्पित उनीहरू पनि छन्, उदित यौवनाको आँचलले अनुहारमा स्पर्श गर्दा जसरी कम्पित हुन्छ नवयुवक। र, मनमनै कुनै कोकशास्त्रीय कलामा सवार भएर थरर्र काँप्छ।

उनीहरू जो विपत् सेलिब्रेट गरिरहेछन्।

उनीहरूलाई वर्तमानको जगभन्दा इतिहासको भग्नावशेष प्यारो छ। सँघार उछिट्टिएर बारीको पाटोमा पुग्ने गरी ढलेको जनताको घरले उनीहरूलाई चिन्तित बनाउँदैन। प्राचीन सम्पदाको एउटा इँटा पनि झर्‍यो भने उनीहरू संवेदित हुन्छन् र सुस्केरा काढ्छन्, ‘कठै, अब त्यो ह्याटवाला पर्यटक के हेरेर आनन्दविभोर होला?’

उनीहरू धरहरा बनाउन हतारिरहेका छन्। लाखौँ ‘भिउँसिन’का घर ढलेका छन्, हजारौँ ‘भिउँसिन’ मरेका छन्, हजारौँ ‘भिउँसिन’ घाइते छन्। उनीहरूलाई भिउँसिनहरूको पर्वाह छैन। भिउँसिनका लडेका घरहरूको मतलब छैन। पर्वाह छ त, भीमसेन स्तम्भको। जनता घरबारविहीन भइरहून् तर काठमाडौँ धरहराविहीन हुनु हुँदैन। देश जीवन्त हुन धरोहर चाहिने हो कि मान्छे? सुन्दर कलाकृति नष्ट भएकामा रुने आँखाहरूले मान्छे मर्दा एक खेप रसाउने झ्याउलो नगर्नु क्रूरता हो कि होइन? जब जसलाई हेरेर रमाउने, आनन्द लिने, चिन्तन गर्ने मान्छे नै रहँदैन, यावत् कलाकृति निर्जीव चीजबाहेक हुन्छन् के? प्रकोपका हातबाट थातथलोबाट गलहत्याइएको मान्छे मन्दिरको स्थापत्य हेरेर विभोर हुन सक्दैन। प्रेमको आलिंगन गुमाइरहेका छन् मान्छेहरू र उनीहरूलाई सम्भोगमग्न चित्र कुँदिएका टुँडालहरूको चिन्ता छ। के यो गैरन्यायिक चिन्ता होइन?

उनीहरू जो विपत् सेलिब्रेट गरिरहेछन्। भुइँचालोको उत्सव मनाइरहेछन्। खाइरहेछन्, पिइरहेछन्, गाइरहेछन्, नाचिरहेछन्। तमासा छ उनीहरूलाई।

जहाँ जिन्दगीको अन्तिम सत्य एक टुक्रो त्रिपाल हुन्छ, एक पाता जस्ता हुन्छ, एक किलो चामल हुन्छ, एक प्याकेट चाउचाउ हुन्छ, त्यहाँ ध्वंशपछि निर्माण हुन्छ, विनाशपछि सिर्जना हुन्छ भन्ने विश्वास कसलाई हुन्छ? हो, निर्माण हुन्छ, खुंखार अवसरवादीका नयाँ नंग्रा या दारा निर्माण हुन्छ। हो, सिर्जना हुन्छ, नयाँ–नयाँ नारा सिर्जना हुन्छ। विकास, निर्माण, आशा र सपनाका नयाँ–नयाँ नारा। नाराको खेतीकिसानीमा सिद्धहस्त देश हो यो।

राहतको खोलो पस्न थालेपछि गाउँमा राजनीति पुन:जीवित भयो। ग्रामीण राजनीति केन्द्रको जति ‘भल्गर’ हुँदैन भन्नु भ्रम हो। गाउँले सिक्ने सहरबाट हो, केन्द्रबाट हो। जोसँग जे हुन्छ, त्यसले त्यही दिने हो। केन्द्रसँग कुरूपता छ, ऊ गाउँलाई कुरूपता बाँड्छ।

अखबारमा छपाउनका लागि ठूला नेताहरूले साबेल समातेर फोटो खिचाउँदैमा पुन:निर्माण सम्पन्न हुने भए देशले शनै–शनै हाइटीको मार्ग समात्ने थिएन। त्यहाँ भुइँचालो गएको पाँच वर्षपछि पनि जनता पालमै छन्। पाँच वर्षपछि नेपाली कहाँ हुनेछन् र के गरिरहेका हुनेछन्? भन्न नसकिएला। तर, के हस्ताक्षर गरेर ठोकुवा गर्न सकिन्छ भने उनीहरू पालमा हुने छैनन् र पाँच वर्षपछि पनि उनीहरू विपत् सेलिब्रेट गरिरहेका हुनेछन्। बियरका बोतल हुस्स गरिरहनेछन्, गिलासहरू बजी नै रहनेछन्, ‘चियर्स’का ध्वनि गुन्जिरहनेछन्।

ठीक तरिकाले साबेल समात्नसम्म जान्दैनन्, हाम्रा नेताहरू। श्रम र संघर्षको महिमागान गर्दागर्दै फुलिसकेका कम्युनिस्ट नेताहरूसमेत देख्दै उदेक लाग्ने गरी साबेल समाउँछन्। श्रम छुटिसकेको छ। संघर्ष टुटिसकेको छ। बाँकी छन् त केवल अभिनय र हाउभाउ। उनीहरूले गाउँगाउँमा कार्यकर्ता खटाएका छन्। त्यसैले अहिले गाउँको राजनीति ‘भाइब्रेन्ट’ छ। राहतको ट्रक कसले पठाएको हो? त्यसले अर्थ राख्दैन। अर्थ त ट्रक (या ट्रिपर या पिकअप)मा कसको नियन्त्रण छ, त्यसले राख्छ। ट्रक कांग्रेसको नियन्त्रणमा छ भने गाउँका कांग्रेसहरूको सानो गच्छेको भाग्योदय भयो। एमाले र एमाओवादी खानै नपाएर मरून्, उनीहरूले एक पसर दालमोठ पाउनेवाला छैनन्। ट्रक एमालेको नियन्त्रणमा छ भने राहत गाउँका एमालेका घर–टहराबाहेक अन्त कतै पुग्दैन। ढलेका घर भत्काउने, टहरा बनाउने सबै परोपकारी कर्म राजनीतिक आस्था अनुसार भइरहेका छन्। राजनीति मूलत: परोपकार नै त हो।

परोपकारमा व्यस्त छन् सबै। भग्नावशेषलाई पृष्ठभूमिमा पारेर खिचिरहेछन् सेल्फी। बाँडिरहेछन् चाउचाउ र बिस्कुटहरू। फेसबुक र ट्वीटरमा हालिरहेछन् फोटा। र, अर्ति दिइरहेका छन् जगत्लाई– ‘दु:खमा परेकालाई सेवा गर!’ हल्ला र आत्मप्रचारका लागि सामाजिक सञ्जालले नि:शुल्क मञ्च प्रदान गर्छ। व्यक्तिको यो निजी मञ्चबाट हल्ला गर्न न माइक चाहिन्छ, न लाउडस्पिकर आवश्यक पर्छ।

सकारात्मक सोचका कालिगढहरू पनि उल्कै सलबलाएका छन्। उनीहरू गाली र आक्रोश वर्जित समाज निर्माणमा अहोरात्र खटिरहेका छन्। उनीहरूको आदर्श मन्त्र छ– ‘यस्तै हो जिन्दगी, कसैलाई गाली नगर !’ जसको बासको ठेगान छैन, गाँसको ठहर छैन, शोकको हिसाब छैन, उसलाई भनिँदै छ– कसैलाई गाली नगर। वैरभाव नराख। आक्रोश नपोख। सरकारलाई गाली नगर। प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, सभासद्, नेता, व्यापारी, गुन्डा... कोही कसैलाई गाली नगर। उनीहरू अतिशय पीडामा उम्लिने आक्रोश पोख्नबाट समेत पीडितहरूलाई वञ्चित गर्न चाहन्छन्। घर ढलेको छ, आफन्त मरेका छन्, एक दानो अनाज छैन अनि सोच्नु के रे भन्दाखेरि सकारात्मक ! जो अघाएका छन्, जसको सबथोक बनिबनाउ छ, उसको विलासिता हो सकारात्मक सोच। जो भोकै छ, जसको सबथोक भत्किएको छ, ऊ सकारात्मक सोच्न किन अभिशप्त हुन्छ? उसलाई आफ्नो मुखबाट सिंगो विश्व प्रणालीमाथि दुई–चार अश्लील शब्द निकाल्नसमेत प्रतिबन्ध लगाउनु मानव अधिकारको निकृष्ट हनन हो। सरकारसँग एक पाता जस्ता माग्दा नपाएपछि उसले शाब्दिक भद्दा लेदो निकाल्दा उनीहरू यसलाई राज्य विप्लव ठानिरहेका छन्। हुन त यस्तो पद्धतिमा एक पाता जस्ता विद्रोहको कारण बन्यो भने उदेक नमाने हुन्छ।

दुर्गम गाउँबस्तीलाई भुइँचालोले रैमट्ठ पारिदियो। कुनचाहिँ सपनाले सञ्चालित भएर, कुनचाहिँ प्रेरणाले वशीभूत भएर, कुनचाहिँ तत्त्वले बाँधिएर बाँचेका छन् मान्छेहरू? बसेका छन् मान्छेहरू? न केही फल्छ, न केही फुल्छ। तैपनि, जिन्दगीभर खनिखोस्री गर्छन् मान्छेहरू।

बारीको पाटोको एक छेउमा आफन्त र अर्काे छेउमा चौपाया गाडेका छन् मान्छेहरूले। जो विपत् सेलिब्रेट गरिरहेछन्, उनीहरूलाई गाउँ कसरी सास फेरिरहेको छ? केही थाहा छैन। यो अज्ञान ! यो जानकारीहीनता !

गाउँ उनीहरूको एजेन्डा कहिल्यै भएन। उनीहरू धनाढ्य हुनका लागि गरिबीको विरासत धानिदिने कोही चाहिन्थ्यो। गाउँले धानिदियो। उनीहरूका निम्ति गाउँको प्रयोजन यति नै हो। उनीहरूलाई देखाउनु छ, दातालाई गाउँको गरिबी। उनीहरू विकासप्रेमी छन्। डलर वर्णको विकासप्रेमले गाउँलाई अँगाल्छ, चुम्छ र आफ्नो मतलब सिद्ध गर्छ। र, यसरी प्रणय र बलात्कारको भेद समाप्त हुन्छ।

हाम्रो विपत् छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पनि सेलिब्रेट गरिरहेका छन्। चामलको बोराभित्र छिरेको छ कूटनीति। अन्तर्राष्ट्रिय समुदाय हो कि साइँदुवा? संकटग्रस्त देशको छातीमा चलिरहेको छ सामरिक होडबाजी। दिनलाई प्रतिस्पर्धा छ, लिनलाई झन् धेरै प्रतिस्पर्धा छ। जासुसहरू राहत कार्यकर्ता भएका छन्। मानवीय भावनाले तथाकथित ओतप्रोत भएका उनीहरूको ध्येय सङ्लो छैन। ‘विपत्ग्रस्त छ, सानो छ, गरिब छ, स्वतन्त्र भएर के भो त? हामीले हेप्न नपाउनु?’ यही हो उनीहरूको समग्र सोच र जम्माजम्मी दृष्टिकोण।

मानवताको अनुहारमा कालो पोत्न भुइँचालोपीडितका हातमा थमाइएको कुहिएको चामल नै पर्याप्त छ। उनीहरू सोच्छन्– ‘(जेसुकै) दिनेको पुरुषार्थका अगाडि लिनेको बाध्यताले लत्रिरहनुपर्छ। पीडित भनेको याचनामा हात पसारेर उभिएको मान्छे मात्र हो। उसको दिल, दिमाग, सोच, विचार, अभिमान, केही पनि हुँदैन। त्यसैले दिनेले जे दिए पनि हुन्छ। कुहिएको अनाज दिए पनि हुन्छ, नकुहिएको दिए पनि हुन्छ। अकबर–वीरबल किस्सा दिए पनि हुन्छ, बाइबल दिए पनि हुन्छ। दिनु त हो। लिनेसँग सवाल गर्ने सामथ्र्य हुँदैन।’

उनीहरू जो विपत् सेलिब्रेट गरिरहेछन्।

उनीहरूको जात, धर्म, वर्ग, वर्ण, रङ जे भने पनि पीडक हो।

पीडकले अरूका पीडामा आनन्द लिन्छ।

अरूको सुस्केरा उनीहरूका निम्ति शीतल पवन हुन्छ।

अरूको दु:खको टापूमा उनीहरू मधुमास मनाउँछन्।

उनीहरू जे पनि मनाउँछन्। भुइँचालो, पहिरो, बाढी, युद्ध, भोकमरी, जे पनि सेलिब्रेट गर्छन्।

तपाईंले हारगुहार गरेर बल्ल–बल्ल खडा गर्नुभएको टहरोमा पक्कै आइपुग्नेछन् उनीहरू। हालचाल सोध्नेछन्। हात मिलाउनेछन्, अंकमाल गर्नेछन्। राहत आए/नआएको, पाए/नपाएको सोध्नेछन्। आफन्त बिते/नबितेको सोध्नेछन्।

र, अन्त्यमा भन्नेछन् अनिवार्यत:, ‘एक बोतल लोकलको व्यवस्था गर न ब्रो !’

 

प्रकाशित: जेष्ठ ३१, २०७२