ओलम्पिक सपना

ओलम्पिक सपना

- कौशल अधिकारी

कुनै समय आमाको करकापले पौडी खेल्न थालेकी गौरिका सिंह, १२, लाई अहिले त्यसकै नशा बसेको छ । उनी पौडीबाहेक अर्थोक सोच्न पनि सक्दिनन् । सोच्न पनि चाहन्नन् । आमाले नै पौडी नखेल्न आग्रह गरिन् भने पनि मान्ने पक्षमा छैनन् ।

२५ जेठमा सम्पन्न २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा गौरिकाले ६ स्वर्णपदक हात पारिन् । त्यसमाथि १२ वर्षकी बालिकाले ६ वटा राष्ट्रिय कीर्तिमान राख्नु चानचुने उपलब्धि होइन ।

लन्डनमा आमा, बुबा र भाइसँगै बस्ने गौरिका यसै प्रतियोगिताका लागि आफ्नो पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी थिइन् । गौरिकाले यस वर्ष एक सय र दुई सय मिटर ब्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई पनि उछिनिन् । त्यो पनि करिब शून्य दशमलब दुई सेकेन्ड भन्दा बढीले । गौरिकाले दुई सय मिटर ब्याक स्ट्रोक २ मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् । यस्तै एक सय मिटर ब्याक स्ट्रोक १ मिनेट १३.१३ सेकेन्डमा ।

छोरीसहित नेपाल आएकी आमा गरिमा छोरीको प्रदर्शनबाट साह्रै खुसी छिन् । १२ वर्षको उमेर, त्यसमा पनि महिलाको मात्र होइन, पुरुष खेलाडीको भन्दा पनि राम्रो प्रदर्शनले आमा गरिमा मख्ख नहुने कुरै भएन ।

गत वर्ष सातदोबाटोस्थित पौडी पोखरीमा सम्पन्न १९औँ राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिन उनी काठमाडौँ आएकी थिइन् । उनलाई न कसैले चिनेका थिए, न कसैले सुनेका थिए । तर, प्रतियोगिताको पहिलो दिनबाटै उनी एकाएक स्टार भएर उदाइन् । पहिलो सहभागितामै उनले सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा नै स्वर्ण पदक जितिन् ।

कुनै समय जिमन्यास्टिक पनि सिकेकी गौरिका भनाइलाई मुखमा मात्र सीमित राख्दिनन् । यसका लागि उनले मिहिनेत पनि गरेकी छन् । गौरिका सातामा आठपटक दुई घन्टाका दरले कडा अभ्यास गर्छिन् । बिहान ५ बजेदेखि ७ बजेसम्म र साँझ ७ बजे देखि ९ बजेसम्म उनको अभ्यास गर्ने समय हो ।

युरोलोजिस्ट बाबु पारस र गृहिणी आमा गरिमाकी जेठी सन्तान गौरिका अमेरिकी पौडीबाज माइकल फ्लेप्सलाई आफ्नो आदर्श मान्छिन् । भन्छिन्, “फ्लेप्सजस्तै खेलाडी बन्न चाहन्छु ।” उनको अबको लक्ष्य रुसमा हुने १६औँ फिना विश्व च्याम्पियनसिप हो ।

यो प्रतियोगिता रुसको कजानमा २४ जुलाईदेखि ९ अगस्तसम्म हुनेछ । यो सन् २०१६ को ओलम्पिक छनोट पनि हो । “मेरो लक्ष्य भनेको विश्व च्याम्पियनसिपबाट सीधै २०१६ को ओलम्पिकलाई छनोट हुनु हो,” गौरिका भन्छिन् । उनी यस प्रतियोगिताको माध्यमबाट माथिल्लो दर्जाको अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्न चाहन्छिन् ।

“यही अनुभवलाई शक्ति बनाएर अब आयोजना हुने साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्न चाहन्छु,” गौरिकाको सपना छ । उनको प्रमुख लक्ष्य भने सन् २०२० मा आयोजना हुने ओलम्पिकमा नेपालका लागि पदक जित्नु हो । “सन् २०२० को ओलम्पिक आउन अझै पाँच वर्ष बाँकी छ । यस बीचमा म जतिसक्दो बढी प्रतियोगितामा भाग लिएर अनुभव बटुल्न चाहन्छु,” उनी भन्छिन् । त्यसो त गौरिका सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै सजग छिन् । गत वैशाखमा आएको भूकम्पले क्षतिग्रस्त सामुदायिक विद्यालयको पुन:निर्माणका लागि अहिले उनी सक्रिय छिन् ।

- शब्द/तस्बिर : कौशल अधिकारी

प्रकाशित: जेष्ठ ३१, २०७२