यस्तो हुनुपर्छ, विद्यालय भवन

यस्तो हुनुपर्छ, विद्यालय भवन

- प्रमोद न्यौपाने

कुनै पनि भूकम्पले अलिकति असर नपार्ने भवन निर्माण गर्न अत्यन्तै जटिल छ, असम्भवप्राय: छ। भूकम्प प्रतिरोधी भवनहरूले गर्ने भनेको चाहिँ मानवीय तथा भौतिक क्षति सकेसम्म न्यून गर्ने र अत्यन्तै नाजुक अवस्थामा पनि मानवहरू सुरक्षित स्थानसम्म भाग्न सक्ने समयको उपलब्धता प्रदान गर्ने मात्रै हो।

सन् २००५ मा भएको एक अध्ययनमा नेपाललाई ११औँ भूकम्पीय जोखिमयुक्त देश भनिएको छ। बहुजोखिमयुक्त मुलुकहरूको सूचीमा हामी २०औँ स्थानमा पर्छाैं। अहिलेको भूकम्प एउटा प्रतिनिधिमूलक घटना भयो, जसबाट हामीले धेरैभन्दा धेरै पाठ सिकेर हाम्रो भविष्य जोखिममुक्त बनाउन आवश्यक छ। अहिलेको जोखिम टर्‍यो र मेरो घर–बस्ती सुरक्षित छ भनेर ढुक्कले बस्ने समय यो होइन। आफ्नो मात्रै भवन सुरक्षित भएर हामी सुरक्षित हुने होइन। समुदाय, क्षेत्र र देश नै सुरक्षित बनाउन सक्यौँ भने मात्रै हामी सुरक्षित हुनेछौँ। आफू बस्ने घर त सुरक्षित हुनुपर्‍यो नै, अत्यावश्यकीय सेवा प्रदान गर्ने विद्यालय, अस्पताल र विमानस्थलका भवन अझै बढी सुरक्षित हुनुपर्छ।

१२ वैशाखको भूकम्पले हामीलाई राम्रो पाठ सिकाएको छ। धेरै विद्यालय भवनहरू त यतिसम्म कमजोर ठहरिए कि भूकम्पको पहिलो धक्का नै सहन नसकेर निमेषभरमै गल्र्यामगुर्लुम ढले। भूकम्प शनिबार नगएर अन्य कुनै शैक्षिक गतिविधि हुने दिनमा गएको भए हामी हताहतीको कति कहालीलाग्दो तथ्यांक केलाइरहेका हुन्थ्यौँ होला ? अहिले अस्पतालहरू शैक्षिक संस्थाभन्दा तैबिसेक केही मजबुत देखिए तथापि यो ढुक्क हुने अवस्था कदापि होइन। यसरी भवनहरू क्षतिग्रस्त हुनाका कारण अनेकौँ भए पनि हामीले अत्यधिक प्राथमिकतामा राख्नुपर्ने सेवा–सुविधामा पनि आवश्यक सुरक्षित विधि प्रयोग नगरिनुलाई नै प्रमुख मान्न सकिन्छ।

ग्रामीणस्तरका विद्यालय र सहरकेन्द्रित विद्यालयहरूको क्षति विवरणलाई समष्टिगत रूपमा एउटा मात्रै डालोमा राखेर हेर्न मिल्ने अवस्था छैन। गाउँस्तरमा स्थानीय स्रोत र सामग्रीबाट निर्माण गरिएका विद्यालय भवनहरू, जसमा सबलीकरण (रेट्रो फिटिङ)का विधिहरू प्रयोग भएका थिएनन्, मा क्षति पुग्नु असामान्य होइन।

सहरकेन्द्रित विद्यालयहरूको अवस्था भिन्न छ। चोकैपिच्छे सञ्चालनमा आएका त्यस्ता अधिकांश विद्यालयमा न्यूनतम आधारभूत सुविधा पनि छैनन्। विद्यार्थीको पढाइका लागि आवश्यक सेवा, सुविधा र खेल क्षेत्र त परको कुरा, सुरक्षाको दृष्टिकोणले न्यूनतम व्यवस्था पनि गरिएका छैनन्। त्यसैले यसपालिको भूकम्पले हामी सबैका बाबुनानीको दोस्रो घर अत्यधिक क्षतिग्रस्त बनायो। सबैभन्दा बलियो र विपत् प्रतिरोधी हुनुपर्ने विद्यालयहरू काँचका सिसासरह टुट्दा अहिले राष्ट्र नै आहत छ। तथापि, विभिन्न दातृ संस्थाहरूको सहयोगमा सबलीकरण गरिएका काठमाडौँ आसपासका १ सय ६० सरकारी विद्यालयमा क्षतिको मात्रा अत्यन्तै न्यून छ।

विद्यालयहरू नै हुन्, विपत्को घडीमा आश्रयस्थलका रूपमा सबैभन्दा पहिले छनोटमा पर्ने। तर, दुर्भाग्य ! ती भवन नै जोखिम प्रतिरोधी बन्न सकेनन् र भूकम्पको धक्कासँगै ध्वस्त हुन पुगे। सहरकेन्द्रित अधिकांश विद्यालय निर्माणको समयमा व्यक्तिगत वा अन्य व्यावसायिक प्रयोजनलाई भनेर डिजाइन गरिएका भवनमा बिनाकुनै पूर्वाधार सञ्चालनमा छन्। यी पनि विपत् प्रतिरोधी पटक्कै देखिएनन्।

ध्वस्त भएका विद्यालय संरचनाका हकमा त भवन भत्काउनुको विकल्प छैन तर क्षतिग्रस्त विद्यालयहरूलाई अनिवार्य रूपमा सबलीकरण नगरी सुचारु गराउनु हँुदैन। बरू केही समय पालमै विद्यालय सञ्चालन गराउन सकिएला तर नाजुक स्थितिमा रहेका विद्यालयहरू हतारमा सञ्चालनमा ल्याइए अर्को अनिष्ट ननिमत्याउला भन्न सकिन्न।

हामीलाई यसपालिको भूकम्पले सिकाएको एउटा ठूलो पाठ भनेको अब बन्ने विद्यालय तथा अत्यावश्यक सेवाका भवनहरू अनिवार्य भूकम्प प्रतिरोधी हुनैपर्छ। विद्यालयहरू नयाँ दर्ता गर्दा अनिवार्य रूपमा त्यस्ता विद्यालयले सञ्चालनमा ल्याउने भवनहरू विपत् प्रतिरोधी, अपांग मैत्री, वातावरण मैत्री छन्/छैनन्, यथेष्ठ खुला क्षेत्र छ/छैन, चेकजाँच नगरी नियमन निकायले सञ्चालन इजाजत दिनु हँुदैन। न्यूनतम आधारभूत आवश्यकता किटान गर्दा त्यस्ता भवनहरू भीरपाखानजिक हुनु भएन। कुलो–कुलेसा, ढल–नाला खोलानजिक हुनुभएन। भीडभाडयुक्त मूल सडकनजिक पनि हुनु भएन। अपांग मैत्री बनाउन र्‍याम्पको व्यवस्था हुनुपर्‍यो। यथेष्ट खुला ठाउँ हुनुपर्‍यो। शौचालयको राम्रो व्यवस्था भएको हुनुपर्‍यो। प्रयोगात्मक शिक्षालाई बढावा दिन धेरैभन्दा धेरै ध्यान दिइएको हुनुपर्‍यो। अनि,

आपत्कालीन अवस्थामा सुरक्षित ठाउँमा जान भीड नहोस् भनेर एउटा कोठामा कम्तीमा दुई ठाउँमा ढोका हुनुपर्छ र ती दुवै ढोका बाहिर खुल्ने हुनुपर्छ। यी आधारभूत कुरालाई ध्यान दिएर मात्रै विद्यालय भवन बनाइनु पर्छ।

विद्यालय भवनहरू धेरै अग्लो बनाइनु राम्रो हुँदैन। तथापि, अवस्था अनुरूप आवश्यक मजबुती प्रदान गर्न सकिए त्यस्ता भवन केही तले बनाइनु हुन्न भन्ने होइन। खुला मैदान धेरै हुने भनेको चाहिँ प्रशस्तै जग्गा प्रयोग गरिएको होचा भवन नै हुन्, जसलाई जोखिम प्रतिरोधी बनाउन अझै सहज हुन्छ। साथै, विपत्का समयमा तत्कालीन खतरा पनि धेरै हुँदैन। विपत्को समयमा अझै बढी जोखिममा हुने भनेका अपांगता भएका व्यक्तिहरू, बालबालिका, वृद्ध, महिला आदि हुन्। यस्तो अवस्थामा छिटोभन्दा छिटो उनीहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याउन होचा भवनहरूमा बढी सहज हुन्छ।

अबको निर्माण विपत् प्रतिरोधी हुनैपर्छ। तर, त्यसो भन्दैमा सबै भूभागमा उस्तै प्रविधि र सामग्री प्रयोग गर्नुपर्छ भन्ने होइन। स्थान अनुरूप स्थानीय सामग्रीलाई बढावा दिँदै र त्यहाँको माटो–हावापानी सुहाउँदो निर्माण सामग्री र पद्धति प्रयोग गरेर निर्माण मजबुत र जोखिम न्यूनीकरण गर्न सकिने बनाउन सम्भव छ। विद्यालय भवनहरू बलिया भए मात्रै पौरखी आमाबाबुहरू निर्धक्क रूपमा आफ्ना बालबालिकालाई विद्यालय पठाएर राष्ट्रनिर्माणमा योगदान दिन सक्छन्।

(स्ट्रक्चरल इन्जिनियर न्यौपाने भूकम्प प्रतिरोधी भवन निर्माणका जानकार हुन् ।)

प्रकाशित: जेष्ठ १७, २०७२