भाग्न नसकिने भूगोल र इतिहास

भाग्न नसकिने भूगोल र इतिहास

विनाशकारी भूकम्पले लाङटाङ क्षेत्रलाई करिब करिब ध्वस्त पारेको छ। देखिएका तस्बिर र सुनिएका घटना कहालीलाग्दा छन्। त्यस्तै घटना मध्य पहाडी भेगका काठमाडाँैलगायत अन्य थुप्रै ठाउँमा भएका छन्। भूकम्पको विनाशपछि हाम्राअगाडि रहेका चुनौती सबैलाई थाहै छ। तर, यसमा लुकेको पुन:निर्माणको मौका, साथै सामाजिक र राजनीतिक कम्पनद्वारा सुधारको सम्भाव्यताबारे सार्थक छलफल र प्रयासको समय छिट्टै आउनेछ।

नेपाली पुँजी : डेढ महिनाअघि मात्रै रसुवा र नुवाकोट क्षेत्र भ्रमण गर्दा बस र पदयात्राका दौरान थुप्रैसँग बात मार्ने अवसर मिलेको थियो। विभिन्न समुदाय, पेसा र वर्गका मानिसमा त्यस क्षेत्रमा बन्दै गरेका जलविद्युत् योजनाहरू र नयाँ मोटरबाटाले आशा सञ्चार गरेका थिए। तिनको बोलीमा केही समय लागे पनि बिस्तारै अझै राम्रा दिन आउनेछन् भन्ने विश्वास थियो। माथि लाङटाङ क्षेत्र पुग्दा पर्यटन र नेपाली समाजको जटिल बनोटका थुप्रै आयाम देखिएका थिए। विभिन्न स्थानमा नेपाली समाजको अचम्मको सौहार्दता अनुभव गर्न पाइयो। पथप्रदर्शक, होटल सञ्चालक, कामदार, स्थानीय, पर्यटकदेखि विभिन्न व्यक्तिसँग केही बेरमै मित्रवत् भइन्थ्यो, जुन सायद संसारका निकै कम मात्र स्थानमा सम्भव हुन्छ। विदेशी पर्यटकमा पनि आफू सुरक्षित रहेको भावना प्रस्टै देखिन्थ्यो र एक्लै हुँदा पनि डराउने स्थिति नरहेको उनीहरू नै भनिरहेका थिए।

पत्रिका, इन्टरनेट, टीभी, समाचार र अन्य स्थानमा हुने नेपाली समाजका विश्लेषणहरू भने कुनै अर्कै ग्रहका कुराजस्ता लाग्छन्। तिनका कुरा सुन्दा त लाग्छ, नेपाली समाजमा आपसी काटाकाटकै स्थिति होला। तर, यो काल्पनिक दुनियाँबाट वास्तविकतामा स्थानीय मानिससँग अन्तरक्रिया गर्दा स्थिति निकै फरक भेटिन्छ। समस्या नभएका होइनन्। पर्यटनसँग सम्बन्धित र नेपालका अन्य साझा समस्या, जस्तै : सेवाको गुणस्तर, असमानता, सामुदायिक विकास, स्रोतको प्रयोग र बाँडफाँट, फोहर व्यवस्थापन, व्यवस्थित बस्ती आदि। तर, तिनको व्याख्या र समाधान अक्षरहरूमा पढ्न पाइने सजिला तर जोसिला किसिमका विश्लेषणसँग कतैबाट पनि मेल खाँदैनन्।

नेपाली समाजका मौलिकता, सौहार्दता र मेलमिलाप भूकम्पपश्चात् पनि प्रचुर मात्रामा देखिए। नेपालजस्तै आर्थिक–सामाजिक स्थिति भएका देशमा यस किसिमका प्रकोपपछि लुटपाट र हिंसा मच्चिएका दृष्टान्त छन्। अमेरिकामा पनि गत दशकमै मात्र आँधी आएपछि व्यापक लुटपाटका घटना भएका थिए। नेपालमा त्यस्तो केही भएन। भूकम्प आएकै दिनदेखि सरकारको अनावश्यक आलोचनामा केही सञ्चारमाध्यम लागिपरे र केही विदेशी संस्था र मिडियाले पनि पाटन क्षेत्रमा लुटपाट चलेको अफवाह चलाउने कोसिस गरे। तर, समाजमा सहयोग र सौहार्दता कायमै रह्यो। यो हाम्रो शक्ति र ठूलो पुँजी हो। दशकौँको कुशासन, गृहयुद्ध, आर्थिक कठिनाइजस्ता बाधाले पनि हाम्रो समाजका यस्ता राम्रा गुण ध्वस्त पार्न सकेको रहेनछ।

हाम्रो यथार्थ : नेपालको इतिहासमा धेरैपटक भूकम्प र बाढी आएको छ। विसं ११९८ को भूकम्पमा परेर त राजा अभय मल्लको समेत निधन भएको भन्ने छ। के थाहा, धरहराजस्तै भूकम्पमा परेर अद्भुत भनिएको कैलाशकुट दरबार पनि पुरिएको हो कि ? बाढीकै कुरा गर्दा नेपालका खोलानदीले गंगाका फाँटहरू जलमग्न हुने हुँदा त्यहाँका धेरै मानिस सुरक्षित स्थानमा बसाइँ सरेकाले नेपालको तराईका धेरै भूभाग आवाद भएको मानिन्छ। यो क्रम निकट विगत र अहिलेसम्मै पनि चलेकै छ। राजनीतिक राज्यहरूको विकास हुनुअघिसम्म पनि मानवजातिको अस्तित्व रक्षाको एउटा अचूक माध्यम बसाइँसराइ हुने गथ्र्यो। मौसम परिवर्तन भएर विश्वव्यापी तापक्रम बढ्दै गएमा पृथ्वीका एकदम उत्तरी र दक्षिणी भेगका स्थानहरू मात्रै बस्न लायक बन्न सक्छन् वा फेरि अर्को बरफ युग सुरु भएमा भूमध्य–रेखा वरपर मात्रै आवादीयोग्य बन्न सक्छ।

पृथ्वीमा विभिन्न किसिमका प्राकृतिक घटना भइरहेका हुन्छन्। वैज्ञानिकहरूका अनुसार आजभन्दा करिब १० हजार वर्षपहिले पृथ्वीमा हिम–युगको अन्त्य भएको थियो। त्यस युगमा पृथ्वीका अधिकांश स्थान जमेर बरफले पुरिएका थिए। अहिले पृथ्वीका ध्रुव र उच्च स्थानमा मात्र हिउँ छन्। तर, हिम–युगमा पृथ्वीको करिब मध्य भागसम्म बरफ थियो र अहिले समुद्र रहेका स्थानहरू पनि जमेका कारण त्यसमाथि हिँड्न सकिन्थ्यो। तर, बरफ युगको अन्त्यसँगै ती पग्लिन थाले। त्यस बखत सभ्यता बसेका धेरै स्थान पानीले पुरिए, पहिले जोडिएका स्थान र महादेशहरूबीच समुद्र र ताल बने। पानीको सतह बढेपछि मानिसहरू उत्तरतिर बसाइँ सर्न थाले। यो प्रक्रिया पृथ्वीमा चलिरहेको हुन्छ। बरफ युग सुरु हुँदा दक्षिणतिर बसाइँ सर्ने र बरफ युग सकिएपछि उत्तरतिर बसाइँ सर्ने गरेरै हाम्रा पुर्खा बच्दै आएका हुन्।

यो क्रम संसारभरकै सभ्यतामा चलेको मानिन्छ। त्यस कारण नेपालमा अहिले पनि इन्डोनेसिया र अस्ट्रेलियातिरका आदि–मानव र भाषाहरूको अवयव जीवित छ। त्यस्तै यस भूभागका मानव पनि निकै परसम्म पुगेका प्रमाणहरू भेटिएका छन्। विश्वभरकै लोककथा, किंवदन्ती र धर्महरूमा आदिम कालमा आएको बाढीको वर्णन पाइन्छ। जबरजस्ती आधुनिक देखिन चाहेर जतिसुकै प्राचीन ज्ञानको अवमूल्यन गर्न खोजे पनि तिनै कथा, धार्मिक ग्रन्थ, गीत र लोक–परम्परामा मानव जातिको युगौँदेखिको निरन्तरता, अनुभव र चेतना लुकेका छन्। तिनमै हाम्रो प्रजातिले सिकेको अस्तित्वको खोजी र रक्षाका इतिहास लिपिबद्ध भएका छन्। तिनलाई एकोहोरो निन्दा गर्नु र अन्ध–अनुसरण गर्नुभन्दा तिनको अध्ययन र विश्लेषण गर्नुपर्ने हो। भूकम्प आउँदा पनि हामीले एक–आपसमा मिलेर बस्ने, गीत गाउने, पूजा–आजा गर्ने, जीवन र जगत्को अर्थ सोध्ने, अस्तित्व रक्षाका प्रश्नहरूले घेरिने अनुभव धेरैले गरेका छौँ, भोग्नेहरूले अझ बढी।

काल्पनिकताबाट वास्तविकतातिर : हाम्रो भूगोलसँग हामी भाग्न सक्दैनौँ। हामी बाढी र भूकम्प दुवैको उच्च जोखिममा छौँ। त्यसलाई व्यवस्थापन गर्ने तरिका हामीलाई थाहा छन्। जस्तै : कमजोर माटो भएका स्थानमा संरचना नबनाउने, जनताको सेवा गर्ने राजनीतिक संस्थाहरू विकास गर्ने आदि। त्यस्तै संघीयताको बहस गर्दा भूगोललाई अहिलेजस्तो बेवास्ता गरेर भाग्न खोजे पनि त्यसले हामीलाई नछोड्ने निश्चित छ। बाढी आउँदा वा गर्मी हुँदा उत्तर सर्ने र धेरै जाडो हुँदा वा भूकम्पले सताउँदा दक्षिण सर्ने रोजाइ सबै नेपालीलाई बिनाबाधा उपलब्ध हुनु आवश्यक छ। भूगोल, राजनीति र इतिहास केही नबुझेका मूर्खहरूले यसविपरीत जस्ता कुरा गरे पनि भयो।

तर, त्यस्ता कुरा गर्ने नेपाली कति जना छन् ? नेपालको वास्तविकता र काल्पनिकताको फरक के हो ? इन्टरनेट र पत्रिकामा सुनिने स्वर तथा गाउँघर, चुनाव र नेपाली–नेपालीबीचमा देखिने व्यवहार अनि मतमा किन यति फरक छ ? सायद हामीले त्यस्ता मूर्खलाई चाहिनेभन्दा अति धेरै स्थान र महत्त्व दिइरहेका छौँ कि ? तिनका मुख्र्याइँपूर्ण भनाइहरूको सवाल–जवाफ मात्रै दिएर हामीले अरू धेरै महत्त्वपूर्ण मुद्दामा दिनुपर्ने समय र ऊर्जा खर्च गरिरहेका छौँ। यस्ता केही तत्त्व विश्वमा सबैतिर हुन्छन्। जस्तो : अमेरिकामा उग्र–कम्युनिस्ट पनि छन्, युरोपमा नव–नाजीहरू पनि छन्। तर, तिनको कुराले त्यहाँको समाजको नियमित गति र प्रक्रिया अवरुद्ध भएको छैन।

नेपालको भूगोलको वास्तविकता के हो भने यो हाम्रा निम्ति वरदान पनि बन्न सक्छ र अभिशाप पनि। तर, कसै गरी पनि यसलाई बेवास्ता गर्न सकिँदैन। हाम्रो भूगोलका विशेषताहरू हिमाल–पहाड, खोला र मैदानी–फाँट हुन्। उत्तर–दक्षिणको छिमेकी भूभाग र पूर्व–पश्चिमको पहाडी निरन्तरता अर्को पाटो हो।

त्यसभन्दा पर एसिया, मध्यपूर्व, मध्य एसिया, बर्मा, इन्डोनेसिया आदिसँगको हाम्रो विस्तारित भौगोलिक र ऐतिहासिक सम्बन्ध पनि छ। यसै भूगोल र अवस्थितिले हाम्रा धर्म, भाषा, लोककथा, इतिहास र संस्कृति विकास गरेका हुन्। वर्तमान र भविष्यमा यी सबै आफैँ महत्त्वहीन हुनेछन् भनेर अनुमान गर्ने धृष्टता हामीले किन र कसरी गर्न पुग्यौँ ? हामीले अहिले आफ्नो सन्दर्भ बिर्सेका छौँ र भूगोललाई पनि बेवास्ता गरेका छौँ।

महाभूकम्प विसं १९९० मा पनि आएको थियो। मध्यम खालका भूकम्पहरू निकट विगतमै ०४५, ०५८ र ०६८ मै पनि आएका हुन्। बारम्बार भूकम्प आउने दिन नजिक छ भनेर हामीले सुनिरहेकै पनि हौँ। तर, बेवास्ता गर्‍यौँ। गृहयुद्धको चपेटामा परी धेरै मानिस सहर र काठमाडौँ सर्न बाध्य पारिए। सम्पूर्ण सत्ता ध्वस्त पार्न भनेर योजनाबद्ध रूपमा गरिएको दशकभन्दा लामो अभियानले राज्यलाई त कमजोर पार्‍यो नै, बनिरहेका घर, संरचना, बाटा, सहर आदिमा हुनुपर्ने कुनै पनि मापदण्ड र योजनाबारे छलफल हुनै पाएन। राज्य ध्वस्त पार्ने योजनाकै सिकार बने स्थानीय निकायहरू पनि। सबैभन्दा भ्रष्ट निकायका रूपमा

गाउँ–गाउँमा बनेका सर्वदलीय समितिहरूले पहाडी भूगोलको संवदेनशीलताको चरम अनादर गर्दै जथाभावी बाटो खन्ने, बस्ती विस्तार गर्ने, वन फाँड्ने आदि कामलाई प्रोत्साहन दियो। काल्पनिक कुराहरू र अमूर्त राजनीतिक उद्देश्यका निम्ति केही लेख, सेमिनार, विश्वविद्यालयमा हुने बहसहरूसम्म त ठीकै छ। तर, सम्पूर्ण देश र पुस्ताकै समय तथा स्रोत दशकौँसम्म बर्बाद गर्नु भनेको अपराध हो। हामीले यही अपराध गरेका हौँ। त्यसैले अब वास्तविकतातर्फ फर्किऔँ। नत्र, भविष्यले त हामीलाई माफ गर्ने छैन नै, आफ्नै देश र जातिको अस्तित्व रक्षा गर्नसम्म पनि सक्षम हुने छैनौँ।

भूकम्पका कम्पनहरू : धेरैपटक भविष्यवाणी गरिएपछि आएको भूकम्पपश्चात् राज्य निरीह देखिनु कुनै संयोग र आश्चर्य थिएन। यो दशकौँदेखि चलेको राज्य ध्वस्त पार्ने र कमजोर बनाउने नियोजित प्रयासको उपज थियो। यसलाई अन्य कुनै शब्दले व्याख्या गर्नु अन्याय हुनेछ। वामदेव गौतम र राजेन्द्र पाण्डेजस्ता राजनीतिज्ञहरू अझैसम्म सान्दर्भिक हुनुमा सबैभन्दा बढी योगदान कसैको छ भने गुन्डागर्दी र आतंक मिश्रित राजनीतिक प्रभावकै छ। धादिङमा शालिकराम जम्मरकट्टेललाई कुन गतिलो र असल राजनीति गर्ने मानिसले टक्कर दिन सक्थ्यो होला ?

त्यस्तै सादगी र निष्ठा पर्याप्त भए पनि सुशील कोइराला कुनै व्यवस्थापकीय गुण र अद्भुत क्षमताका कारण प्रधानमन्त्री बनेका होइनन्। यद्यपि, हुनुपर्ने त्यस्तै थियो। सादगी मात्रै देशको सर्वोच्च निकाय सञ्चालन गर्ने मानिसको एक मात्र गुण हुन नपर्ने थियो। तर, अतिवादले देशलाई यति गाँजेको थियो कि त्यसविरुद्ध सफल अडान लिन सक्ने मानिस भएको हुनाले मात्रै उनलाई प्रधानमन्त्रीका रूपमा पुरस्कृत गर्नुपर्ने भयो। अतिवादसँगै घाँटी जोडेर विदेशीहरूको हस्तक्षेप यति बढ्न पुग्यो कि ‘यो मानिसलाई प्रधानमन्त्री बनाउनै हुँदैन’ भनेर दिल्ली र काठमाडाँैमा खुलेआम विदेशी गुहारेको देख्दा त्यसविरुद्ध सफल अडान लिएकै कारण कोइरालालाई प्रधानमन्त्री बनाउनु प्रतिष्ठाको विषय हुन पुग्यो।

राजनीतिमा त्यस किसिमको अतिवाद नभएको भए हाम्रो ध्यान केमा हुन्थ्यो, राजनीतिज्ञहरू कुन गुण र क्षमतामा आधारमा नापिन्थे ? भनिरहनु परेन। अतिवादको मूल्य बहुमुखी हुने रहेछ। इतिहासको अमूल्य समय खेर फालेको र भूगोललाई नटेरेको परिणाम राजनीति, कूटनीति र सबैतिर नकारात्मक असर पर्ने रहेछ।

आगामी दिनका लागि संघीयता मात्रै होइन, बाह्य कूटनीति र आन्तरिक क्षमता विस्तारका निम्ति पनि यी पाठ हाम्रा निम्ति अमूल्य हुनेछन्।

धन्यवाद दिऔँ, यसपटक नेपाल सरकारका मुख्यसचिव, योजना आयोगका पदाधिकारी, सेना, प्रहरी, अस्पताल आदिले निकै राम्रो तरिकाले काम गरे। तर, यिनका राम्रा तत्त्वहरूलाई बलियो बनाउने र उत्तरदायित्वलाई निरन्तरता दिइराख्ने तरिका के हुन् ? अरू संस्थालाई पनि कसरी सुधार गर्न सकिन्छ ? हामीले बेलैमा विचार पुर्‍याएनौँ भने थाहा दिएर आएको कुनै विपत्ति पनि हाम्रो आफ्नै मृत्युको कारण बन्न सक्छ।

के कुरा पक्का हो भने हामी संसारका धेरै भूकम्प जोखिम भएका क्षेत्रमध्ये एकमा बस्छौँ। यो नयाँ जानकारी होइन। तर, हामीसँग अरू पनि सूचना र जानकारी छन्। जस्तै : कसरी यो जोखिम कम गर्ने र व्यवस्थापन गर्ने, कस्तो राज्यसंयन्त्र विकास गर्ने आदि। अहिलेसम्म हामीले यी कुराहरूमा त्यति ध्यान दिएका छैनौँ। काम चलिहाल्छ नि भनेर बेवास्ता गरेका छौँ। अब काम चल्दैन। त्यही मानसिकता बोकेर हिँड्यौँ भने त्यही हाम्रो मृत्युको कारण बन्न सक्छ।

यसपटक भूकम्प अनुमान गरिएभन्दा केही थोरै रेक्टर स्केलको आयो। दिउँसो र शनिबार पारेर आयो। धेरै विनाश भए पनि सोचेभन्दा कम क्षति भएको छ। यो हाम्रा निम्ति मौका हो, हामीलाई दोस्रो अवसर हो। अब हामीले पहिले गरेका गल्ती दोहोर्‍याइरह्यौँ भने अहिलेजस्तो मौका नमिल्न सक्छ। पहिले गरेका गल्ती दोहोरिए फेरि सही नतिजा निस्कन सक्दैन। हाम्रो राज्य किन भूकम्पअघि प्रभावहीन भयो ? हाम्रो राजनीति किन यति भ्रष्ट र केन्द्रीकृत भयो ? आफूबारे निर्णय गर्ने हाम्रो क्षमता किन गुम्यो ? अरूले भूकम्पमा सजिलै ढल्ने घर बनाउँदा पनि किन हामी चुपचाप हेरेर बस्न बाध्य हुने स्थितिमा पुग्यौँ ? जथाभावी बाटो, घर र सहर विस्तार हुँदा पनि किन केही गर्न सकेनौँ ?

खासमा राजनीतिको लगाम हामी सामान्य जनताको हातबाट फुस्केको छ। हामीसँग न स्थानीय निकाय छ, न नीति निर्माण र विकास प्रक्रियामा कुनै हस्तक्षेप गर्ने क्षमता बाँकी छ। न सरकार र राजनीतिक दलहरूलाई जिम्मेवार बनाउने र निगरानी गर्ने संस्था र अभ्यासहरू छन्। त्यसैले अब तिनमा ध्यान दिनुपर्छ। तब मात्र यस्ता विपत्का जोखिम न्यून गर्न सफल भइन्छ।

प्रकाशित: जेष्ठ १०, २०७२