वैदिक इतिहासको नालीबेली

वैदिक इतिहासको नालीबेली

- प्रदीप नेपाल

'कुनै पनि व्यक्ति जन्मले मात्र ब्राह्मण हुँदैन । त्यसमा कर्मका साथै ज्ञान हुनु पनि आवश्यक हुन्छ ।' तीन हजार वर्षपहिले मिथिला राज्यका जनकले एउटा दासीपुत्रलाई शास्त्रार्थमा सहभागी बनाउन अनुमति दिँदै भनेको यो वाक्यले नेपालको उच्चस्तरीय चेतनालाई अहिले हामीले बिर्सिसकेका छौँ भन्ने प्रमाण दिएको छ ।  समाज विकासका नियम के हुन् ? प्राकृतिक विश्वलाई कसरी रहस्यमय बनाइयो र स्वर्ग तथा नर्कको कल्पना गरियो भन्ने प्रश्नको खोजीमा भौँतारिनेहरूका लागि उपयोगी पुस्तक हो, प्राकृतिक भौतिकवाद ।

भौतिक वस्तु र व्यक्तिहरूलाई कसरी देवत्वकरण गरियो र समाजलाई लाटो बनाउने कोसिस कसरी भयो भन्ने जानकारी लिन चाहने सबैका लागि यो एउटा ज्ञानदायी पुस्तक हो । त्यति मात्र होइन, पश्चिमको बौद्धिकताभन्दा हामी कति पहिले सभ्य भइसकेका रहेछौँ भनेर जानकारी लिन चाहनेका लागि यो उत्तम  पुस्तक हो । अत्यन्त सरल भाषामा यति धेरै सामग्री समेटेर लेखकले संस्कृत नपढेका, पढेर पनि कर्मकाण्डी भएकाहरूको ज्ञानको ढोका खोल्न एउटा सग्लो पुस्तक दिएका छन् ।

पुस्तकमा देवीदेवतासँग जोडिएर आएका अन्धविश्वासलाई चट्चट् काट्ने बलिया प्रमाण पस्किएको छ । वेद ज्ञानको स्रोत हो भन्ने कुरामा कसैको विमति छैन । वेदको मूल, ऋग्वेदमा वर्णन गरिएका देवदेवीहरू सबै भौतिक छन् । जस्तो : अग्नि (आगो), मरुत (वायु), सूर्य (न्यानो घाम), उषा (बिहानी), सविता (सूर्यो दयअघिको रक्तिम आभा), इन्द्र (शक्तिशाली गणनायक), वरुण (पानी) यिनलाई मात्र देवदेवी मानिएको छ । यहाँ न कतै ब्रह्मा छन्, न छन् शक्तिशाली विष्णु ।

आदिम कालमा यी भौतिक तत्त्वलाई देवदेवी मान्नु सभ्यताको स्वाभाविक प्रतिक्रिया थियो । मान्छेले घर बनाउन जानेको थिएन, कपडा बुन्न जानेको थिएन । न्यानोका लागि चहकिलो घामको प्रतीक्षाबाहेक अर्को उपाय पनि थिएन । त्यसैले आदिमानव सभ्यताले न्यानोसँग जोडिएको सविता, उषा र सूर्यलाई देवी र देवता  मान्यो । मानव सभ्यताको पहिलो आविष्कार आगो हो । आगोलाई पनि उसले देवता बनाइदियो । पानी र वायुको थप व्याख्या गरिरहनु परोइन । ती मानव जीवन बचाउने सबैभन्दा ठूलो महत्त्वका साधन थिए । तिनीहरू देवता हुन्, अरू केही आड खोज्नै परेन ।

कसरी जन्मिए त देवदेवीहरू ? यसको उत्तर पनि दिएको छ पुस्तकले । 'प्राकृतिक भौतिकवाद आदिम साम्यवादी युगको दार्शनिक चेतना थियो र त्यो प्राकृतिक वस्तुहरूलाई नै प्रधान ठान्थ्यो । यस कालावधिसम्म संसारको सृष्टि गर्ने ईश्वर ब्रह्मा या अन्य सृष्टिकर्ता परमात्माको जन्म भएकै थिएन । जब समाजमा  व्यक्तिगत सम्पत्तिको प्रादुर्भाव भयो, तब त्यसको संरक्षण गर्ने साधनका रूपमा राज्यको उत्पत्ति भयो ।' परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति खोज्न हामी जर्मनीका फ्रेडरिक एंगेल्ससम्म पुग्यौँ । तर, तीन हजार वर्षभन्दापहिले हाम्रा तिरको महाभारतमै लेखिएको रहेछ, 'राज्यसत्ताको प्रादुर्भाव हुनुभन्दा पहिले न कुनै  राजा थियो, न कुनै राज्य थियो, न कुनै दण्ड विधान थियो, न कुनै दण्डकर्ता नै थियो । मानिस परस्परमा मानवीय धर्म अर्थात् सहयोग र समझदारीमा आबद्ध भएर एकअर्काको रक्षा गर्थे । समय क्रममा मानिसलाई स्वार्थको मोहले आच्छादित गरिदियो । यसरी स्वार्थको मोहले ढाकेपछि उनीहरूमा सम्पत्तिको लोभ जागेर  आयो । राज्यको उत्पत्ति भयो ।'

वेदको कठिन ज्ञानमाथि कब्जा जमाएका माथिल्लो वर्गका पण्डितहरूले शताब्दीयौँसम्म सत्य लुकाएर रहस्यमय बनाएको तथ्यको पनि उद्घाटन गरिदिएको छ, प्राकृतिक भौतिकवादले । यसका धेरै प्रमाण छन् पुस्तकमा । तीमध्ये एउटा र सबैलाई थाहा भएको गायत्री मन्त्रले यो रहस्यको पोल पनि खोलिएको छ । 'ओम्  भूर्भुवस्व...' भनेर जपिने गायत्रीको नेपाली अर्थ यस्तो हुँदो रहेछ, 'आकाशमा विचरण गर्ने सूर्यका तेजिला किरणहरूको स्मरण गरौँ, जसले हामीलाई अगाडि बढ्ने प्रेरणा दिइरहोस् ।' यो श्लोक सुन्न पनि हुँदैनथ्यो, कर्म नचलेका ब्राह्मण सन्तानहरूले ।

पुरानो सामूहिक प्रणालीलाई एकात्मक प्रणालीमा रूपान्तरित गर्ने, पुरानो भौतिक चिन्तनलाई नयाँ अधिभूतवादी चिन्तन बनाउने चिन्तकचाहिँ हाम्रै याज्ञवल्क्य रहेछन् । याज्ञवल्क्य एउटा नयाँ युगका अभियन्ता भएको जानकारी पनि पुस्तकमा दिइएको छ । आदिम साम्यवादको सामूहिक प्रणाली टुट्दो र पश्चगामी हुँदो  थियो । नयाँ युगका रूपमा दासयुग उदाउँदै थियो । दासयुगमा मालिकको पृष्ठपोषक हुने गरी एउटा नयाँ सत्ता जन्मियो । त्यो सत्तामा राजा थियो र जनकपुरका राजालाई जनक भनिन्थ्यो । मालिक वर्गको पक्षमा अभियान चलाउने याज्ञवल्क्य भएछन् । एकपल्ट भौतिकवादी महषिर् शाकल्यसँग बहसमा पराजित भएपछि  याज्ञवल्क्यले राजशक्ति प्रयोग गरी, 'यस्ता फजुल प्रश्न गर्नेलाई सजाय दिनुपर्छ भन्दै उनको टाउको काटिदिन्छन् । यसपछि याज्ञवल्क्यले सबै सभासद्लाई प्रश्न गर्दै हाँक दिन्छन्- कोही छ अरू यस्तो प्रश्न गर्ने ? त्यसपछि कसैले प्रश्न गर्न सक्दैनन् ।'

अर्थात्, ऋग्वेदको अपव्याख्या हुने काम महषिर् याज्ञवल्क्यकै पालादेखि सुरु भएको रहेछ । राजाहरूको हितरक्षार्थ गरिएको यो अपव्याख्याले बिस्तारै चार्वाक, सुश्रुत, चरकजस्ता भौतिकवादी दार्शनिकलाई जंगलतिर खेद्ने र मार्नेसम्मको काम गर्‍यो । किनभने, राज्यसत्ताको दण्ड र सुविधा याज्ञवल्क्यको हातमा थियो । भौ तिकवादी दार्शनिकहरू राज्यसत्ताबाट सताइएका जनताका पक्षमा उभिएका थिए ।

याज्ञवल्क्यपछि देखा पर्छन्, हाम्रा मनु बाजे । उनले त अति नै गरेछन्, वेदको सच्चाइलाई लुकाएर त्यसलाई रहस्यमय बनाउने काममा । उनले नयाँ नीति नै बनाए, 'जसले सामाजिक चिन्तनको मूल प्रवृत्ति, वेदशास्त्र, स्मृति र पुराणहरूमा खोज्छ, त्यस्तो तर्कवितर्क गर्नेलाई, साधु, सज्जन र पुरोहितहरूले वेदनिन्दक तथा  नास्तिक ठानेर समाजबाट तुरुन्तै बहिष्कृत गर्नुपर्छ ।'

महषिर् याज्ञवल्क्य र मनु बाजेले आफ्नो समयमा रीतपूर्वक नै काम गरे होलान् । तर, वेदको मूल पढेर पश्चिमाहरूले भौतिक विकास गरे, हामी संस्कृत साहित्यको विरोध गर्ने काममा मात्र लाग्यौँ ।

प्राकृतिक भौतिकवाद

लेखक    : गोपीरमण उपाध्याय

प्रकाशक    :    नेपाल प्रज्ञाप्रतिष्ठान

पृष्ठ    :    ३६८

मूल्य    :    ४०० रुपियाँ

उपन्यासभित्र पनि उपन्यास

रमण घिमिरे

कञ्चन पुडासैनीलाई सर्वाधिक लोकपि्रय बनायो, नारायणगोपालले गाएको गीत 'तिमीलाई भुल्दा म एक्लो भएछु...'ले । त्यसपछि पनि उनले प्रेम-वियोगका झन्डै दुई दर्जन गीत रेकर्ड गराए तर श्रोताहरूबाट उनलाई कहिल्यै भुल्न दिएन, यही गीतले ।

'२० को दशकको प्रभातबाटै काव्यसिर्जनाको परिचय दिइसकेका हुन्, पुडासैनीले । कवितासंग्रह अक्षरहरू (२०२०) पछि उनले नेपाली काव्यफाँटमा धेरै अक्षर खर्च गरे । एकाउन्न पुकार नामक कविताकृतिकै लागि उनले ०५१ सालको मदन पुरस्कारसमेत हासिल गरे । काव्यसिर्जनाका १० वटा नमुना संग्रह र हास्यव्य ग्यात्मक शैलीका दुइटा गीतिनाटक पनि प्रकाशित छन् ।

महाकवि देवकोटाका सान्निध्यमा रहेर कवितालाई कसरी उमार्नुपर्छ, कसरी गोडमेल गर्नुपर्छ र कसरी फलदायी बनाउनुपर्छ भन्ने थोरबहुत ज्ञान-अनुभव पनि सँगालिसकेका कवि पुडासैनी विधागत रूपमा कवि नै हुन् । महाकविले कुनै विधामा आफ्नो अनुपस्थिति देखाएनन् । त्यसैले आख्यानमा पनि यही अधुरोपनलाई  पूरा गर्न चम्पा लेखे । महाकविका यी चेलाले पनि देवकोटाको पदचापमा आफ्ना पाइला नराखी सायद सन्तोष अनुभव गरेनन् । स्मृतिको यात्रा : मनको डोब निबन्धसंग्रह प्रकाशित गरी देवकोटालाई ०४५ सालतिरै पछ्याइसकेका थिए, अधुरो उपन्यास : अधुरा इच्छा उपन्यास प्रकाशित गरिसकेपछि देवकोटाको चम्पाको  अनुशीलन गर्न पुगे । उपन्यासभित्र पात्र र घटनाको लस्कर छ । उपन्यासभित्र पनि उपन्यास छ । उपन्यासभित्र घटना, स्थान र पात्रलाई जोड्ने कथा त हुने भए नै तर अधुरो उपन्यास : अधुरा इच्छाभित्र पात्रले लेखेको कथा पनि छ । यस उपन्यासको एक पात्र, जो पत्रकार, प्रेमीलगायत एक कथाकार पनि हुन्छ । त्यसले  यही उपन्यासभित्र लेख्छ- 'अनिकाल', 'बूढा बाबु र विनय राम' र 'बेगबहादुरको कथा' नामक तीन थान कथा ।

प्रयोगै त नभनौँ तर उनले अधुरो उपन्यास : अधुरा इच्छाभरि आफ्नो काव्यशिल्पको उपयोग गरेका छन् । प्राय: हरेक पात्रले कवितामा संवाद बोल्छन् । तर, यसले उपन्यास पाठनको रोचकतालाई अलमल्याउने या दिशान्तरण गर्ने काम गरेको छैन । रोदीघरमा दोहोरी खेल्नेले स्वत:स्फूर्त गीत गाएजस्तै यिनका उपन्यासका  अकवि पात्रले पनि फुत्तफुत्त कविता बोल्छन् । उपन्यासमा यो आश्चर्य त्यस्तै लाग्छ, जस्तो आश्चर्य रोदीघरमा पहिलोपल्ट छिर्ने श्रोताले रातभरि तत्काल कथेका दोहोरी सुन्दा गर्छ ।

उपन्यास प्रेमबाट आरम्भ हुन्छ र झन्डै प्रेमभावमै पुगेर अन्त्य हुन्छ । तर, उपन्यास नामजस्तो अधुरो छैन । प्रेमबाट सुरु भएको कथा यौनमा पुगेर विश्राम लिन्छ । प्रेम र यौनबीचका चरणहरू उत्पातसँग शृंखलाबद्ध रूपमा निरन्तर बगेका छन् । यस दृष्टिले मात्र यस उपन्यासको अध्ययन गर्‍यो भने अधुरो उपन्यास :  अधुरा इच्छा यौनवादी कित्ताको उपन्यासमा पुगेर पटाक्षेप हुन्छ ।

त्यसो त प्रेमका तृष्णा र यौवनका प्यास मात्र छैनन् उपन्यासमा । राजनीतिलाई पनि त्यत्तिकै सिलसिलेवार ढंगमा उठान-बैठान गर्ने प्रयत्न गरेका छन् उपन्यासकारले । राजनीतिमा पनि भ्रष्टाचार र द्वन्द्वमाथिको आफ्नो गहिरो अनुभव खन्याउँदै बडो अभिरुचिपूर्ण शैलीमा प्रस्तुत गरेका छन् । काव्यमा देवकोटाको सान्निध्य  पाएजस्तै राजनीतिमा लामो समयसम्म गाउँ र जिल्लास्तरको राजनीतिसमेत गरिसकेकाले यस क्षेत्रमा पनि यिनको अनुभव कोरा कल्पना नहुने नै भयो । त्यसैले पञ्चायती युगदेखि माओवादी द्वन्द्व र यस द्वन्द्वपश्चात् देशले बेहोरेको राजनीतिक रूपलाई पनि उपन्यासमा छोटो धर्कोमा कोर्ने जमर्को गरेका छन् पुडासैनीले ।

उपन्यासकार भन्छन्, 'यो उपन्यासको नाम मात्र अधुरो हो, मैले जहाँ उचित ठानेँ, त्यहीँ पुर्‍याएर टुंग्याएको छु ।' उनको भनाइ उनका विचारमा उचित पनि होला । उपन्यासको मूल पात्र रवि रामले आरम्भ गरेको उपन्यास यहाँ अपूर्ण छ । पुडासैनीले दाबी गरेझैँ उनको उपन्यास अपूर्ण छैन । उपन्यासमा घटना, पात्र र  यिनको सञ्चालनामा छ्यासमिस भए पनि शृंखला भंग भएको छैन । तर, आमपाठकले पढ्दा रविरामको अधुरो उपन्यासमा भन्दा उनको अधुरो उपन्यास : अधुरा इच्छामा भने धेरै पक्षलाई मिसाइँदा अलि अलमलिएजस्तो लाग्छ । उपन्यासमा प्रयुक्त कवितांशले धेरै ठाउँमा उपन्यासलाई हास्य र हलुका बनाउँछ ।  उपन्यासकारले यसमा ध्यान दिन सकेका भए, सुन्दर आँखामा गाजल सौन्दर्यपूर्ण हुन्थ्यो । यद्यपि, शीर्षक अधुरो भए पनि काम पूरा भएको छ, पुडासैनीको उपन्यास लेख्ने ।

अधुरो उपन्यास : अधुरा इच्छा

लेखक    : कञ्चन पुडासैनी

प्रकाशक    :    रत्न पुस्तक भण्डार

पृष्ठ    :    २८२

मूल्य    :    २४५ रुपियाँ

प्रकाशित: जेष्ठ १०, २०७२