रैथानेबिनाको रौनक

  • विदेशी आउँछन् तर यहीँका गुरुङ गाउँमा बस्दैनन्
रैथानेबिनाको रौनक

- नारायण अमृत

बाटोमा छपक्कै छापिएका सफा ढुंगा । खोल्साका छेउकुना र घुम्तीतिर सिमेन्टको जगमा उभ्याइएका फलामे रेलिङ । घन्टी बजाउँदै ओहोरदोहोर गरिरहेका खच्चडका हुल । र, क्लान्त लयमा हिँडिरहेका देशीविदेशी पर्यटक ।

कच्ची मोटरबाटो सकिएपछि किम्चेदेखि सुरु भएको घान्द्रुकको उकालोमा भेटिएकी मोती गुरुङ, ७१, स्थानीय लवजमा भन्दै थिइन्, "यो बाटो धेरै पुरानो हो । यहाँ मान्छे भने नयाँ आउन थाले । म त गाउँकै मान्छे पनि धेरै चिन्दिनँ ।" हिँड्दै, सुस्केरा हाल्दै र बिसाउँदै आफन्त भेट्न पोखराबाट कास्कीको यो सुदूर उत्तरी  स्थान घान्द्रुक, डाँडाँगाउँ आउँदै गरेकी यी वृद्धाको थप गुनासो थियो, "अहिले धेरै आफन्त घान्द्रुकमा छैनन् । धेरै त विदेशतिरै छन् । कति काठमाडौँ र पोखरामा छन् । गाउँमा त कतै जान नसक्नेहरू मात्र छन् । कतिलाई नभेटेको, नदेखेको वर्षौं भयो ।"

हुन पनि घान्द्रुक फरक गतिमा परिवर्तनको चक्रमा फसेको प्रतिनिधि गुरुङ बस्ती हो । यसको समयरेखा कृषि र बस्तुपालनदेखि लाहुरे परम्परा हुँदै अहिले पर्यटन व्यवसायसम्म आइपुगेको छ । घान्द्रुकको मुख्य पर्यटकीय 'जंक्सन' झन्डै १ हजार ९ सय ५० मिटर उचाइमा भए पनि यो गाविसको भूगोल यति विविध छ  कि, ८ हजार ९१ मिटरको उच्च भूमि पनि यही गाविसमा पर्छ । घान्द्रुकको वडा नं १ बाट ९ सम्म पुग्न डेढ दिन पैदल हिँड्नुपर्छ । क्षेत्रफलका हिसाबले घान्द्रुक नेपालकै ठूला भनिने गाविसमध्ये शीर्ष पाँचमा पर्छ । २१ लाख ४१ हजार २ सय ९७ दशमलव ७ हेक्टर क्षेत्रफल अर्थात् १ लाख ९ हजार ८ सय १० रोपनी  १३ आनामा फैलिएको घान्द्रुकको पूर्वमा लुम्ले, पश्चिममा म्याग्दी, उत्तरमा अन्नपूर्ण हिमाल र दक्षिणमा दाङसिङ गाविस छन् ।

घान्द्रुकमा कहलिएका सात गाउँ छन्, जहाँ ७० प्रतिशत गुरुङ घर छन् । कोट गाउँ, माझ गाउँ, ध्यागोयार गाउँ, अड्डादाइयार गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँ । "गाउँ भएर मात्र के गर्नु, मान्छे छैनन्, यहीँ होटल गर्ने मात्र छन्," स्थानीय खटानसिंह गुरुङ, ८५, चिन्ता व्यक्त गर्दै थिए, "हाम्रा गुरुङ परिवारहरू  बाहिर पुगे, अहिले त यो गुरुङ गाउँजस्तै लाग्दैन ।"

जिल्ला विकास समिति, कास्कीको तथ्यांक अनुसार एक दशकअघिसम्म १३ सय घरधुरी र पाँच हजार जनसंख्या रहेको घान्द्रुकमा अहिले बसोवास गर्ने गुरुङको संख्या कहालीलाग्दो रूपमा घटेको छ । "७० प्रतिशत गुरुङ घान्द्रुकबाहिर होलान् अहिले," गाविस सचिव ईश्वरीप्रसाद गौतम भन्छन्, "गाउँ डुल्ने हो भने ताला  लगाएका घर छ्यापछ्याप्ती भेटिन्छन् ।" गौतमका अनुसार गाविसको रेकर्डमा जेष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांग, एकल महिला र दलित बालबालिका भत्ता लैजाने ८ सय १ जना छन् तर भत्ता ६५ प्रतिशतभन्दा बढी घान्द्रुकबाहिर जान्छ र यो संख्या अरू बढिरहेको छ । यहाँका गुरुङ परिवार पनि बर्सेनि आन्तरिक  बसाइँसराइको शृंखलामा छन् । रमाइलो त के भने घान्द्रुकका गुरुङहरू बाहिर जाने र यहाँ पर्यटन व्यवसायका लागि श्रम गर्न आउनेलाई घर जिम्मा दिने चलन बढ्दो छ । त्यसैले घान्द्रुक घुम्दा ढोकामा ताल्चा नलगाइएका घरमा पनि यहीँका रैथाने बस्छन् भनेर ढुक्क हुने स्थिति छैन ।

अन्नपूर्ण पदयात्राको महत्त्वपूर्ण बिसौनी मानिने घान्द्रुकको मूल जंक्सनमा ३३ वटा होटल छन् । उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोडेपानी-पुनहिल पदयात्रा समेट्ने यही गाविसका अरू स्थानमा पनि होटल बन्ने क्रम बढिरहेको छ । अहिलेसम्म घान्द्रुक गाविसमा झन्डै एक सय होटल छन्, जहाँ काम गनेर् हरू अधिकांश सोलुखुम्बु, संखुवासभा, मोरङ, झापा, सुनसरीलगायत विभिन्न जिल्लाबाट त्यहाँ पुगेका छन् । यतिसम्म कि, बाहिरबाट जाने श्रमजीवीहरू सांस्कृतिक रूपमै पनि संगठित हुन थालेका छन् ।

गुरुङ बस्तीमा किराँत सेवा समाज गठन गरिएको छ । घान्द्रुक जंक्सनमा मात्र अहिले १८ भन्दा बढी पूर्वी नेपालका राई परिवारले रैथाने गुरुङका घर जिम्मा लिएका छन् । र, यो संख्या हरेक वर्ष बढ्दै गएको बताउँछन्, सात वर्षअघि घान्द्रुक आएका संखुवासभाका प्रेमबहादुर राई । भन्छन्, "अधिकांश होटल हामीजस्तै  बाहिरबाट आएका व्यक्तिलाई जिम्मा दिइएको छ ।"

समृद्ध र सहज जीवनयापनका लागि नै सही, पलायनले घान्द्रुकको सामाजिक, सांस्कृतिक र व्यावसायिक पक्षमा सूक्ष्म रूपमा प्रभाव पारिरहेको छ । यो क्षेत्रका गुरुङ समुदायको आफ्नै प्रकारको इतिहास, चरित्र र परम्परा छ । घान्द्रुकमा गुरुङ समुदायको बसोवास कसरी भयो भन्ने अनेकन् दाबी र तर्क छन् । घान्दु्रकका  अधिकांश गुरुङ के ठान्छन् भने उनीहरूका पुर्खा सिकलेस, गोर्खा वा लमजुङबाट आएका हुन सक्छन् । तर, आफूलाई घान्दुककै आदिवासी मान्ने गुरुङहरू पनि त्यत्तिकै छन् ।

गुरुङ भाषामा घान्द्रुकलाई कोंडनास भनिन्छ । कोंको अर्थ अग्लो, ढोको अर्थ बसोवास र नासको अर्थ गाउँ भन्ने बुझिन्छ । कोँढोनास भन्दाभन्दै पछि अपभ्रंश भई घान्द्रुकलाई कोंडनास भन्न थालिएको स्थानीयवासीको भनाइ छ । पश्चिमाञ्चलका अन्य स्थानमा झैँ कोंडनासको इतिहास कृषि र पशुपालनसँग जोडिएको थियो  । अहिले पनि घान्द्रुकका गुरुङ बस्तीको छेउछाउमा स-साना दलित बस्तीहरू छन् । कृषि कर्मका लागि चाहिने फलामे सामग्रीमा काम गर्ने विश्वकर्मा र पहिरन तयार पार्ने सूचीकार नजिकै राख्नाले घान्द्रुकका गुरुङहरूको सामाजिक र आर्थिक पक्ष पहिल्यैदेखि बलियो थियो भन्ने प्रस्ट छ । कालान्तरमा यहाँका दलित  बस्तीहरू पनि आन्तरिक र बाह्य बसाइँसराइको चपेटामा परेका छन् । घान्द्रुक, डाँडागाउँको कोखमा रहेको परियारको सानो बस्ती डुल्दा, हरेक घरका बार्दलीमा देखिने कपडा सिलाउने थोत्रा मेसिनहरू र सुनसान बस्ती यसैका प्रमाण हुन् ।

गुजुमुज्ज परेका ढुंगेघर, ढुंगाकै स्लेट छापिएका आँगन र एउटाको तगारोबाट छिरेपछि बस्तीका सबै घरमा पुग्न सकिने चिरिच्याँट्ट परेका बाटाले गुरुङहरूको एकता र संयुक्त परिवारको इतिहासलाई देखाउँछन् । दिनभर खेतबारीमा काम गर्‍यो, भेडाबाख्रा चरायो र बेलुका रोधीघरमा रमाइलो गर्‍यो । सोझो र फरासिलो  जातिको पहिचान बनाएको गुरुङहरूको जीवनशैली धार्मिक र रुमानी प्रकारको मानिन्छ । तर, अहिले घान्द्रुकमा यही रुमानी हावाको अभाव खट्किन्छ । २० वर्ष भारतीय सेनामा जागिर गरेका खटानसिंह गुरुङ भन्छन्, "लाहुरेहरू बाहिरै बस्न थालेपछि गाउँ रित्तिन थालेको हो ।"

विसं १८७१ मा भएको सुगौली सन्धिपछि क्रमश: नेपालका मगर, गुरुङ, राई र लिम्बूहरू बेलायत, भारत, सिंगापुर, ब्रुनाई र हङकङको सेनामा जाने चलन सुरु भयो । लाहुरे परम्पराले घरेलु अर्थतन्त्रलाई बलियो बनाउन मात्र थालेन, विदेशी परिकार, पहिरन, भाषा र चालचलनको प्रभाव बिस्तारै गाउँमा देखिन थाल्यो ।  पैसावालहरू नजिकका सहरी क्षेत्रमा बसाइँसराइ गर्न थाले । झन् सन् १९५० मा प|mान्सेली आरोही मोरिस हरजाँले पहिलोपटक आठ हजार मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्नु घान्द्रुकका लागि अर्को महत्त्वपूर्ण घुम्ती भयो । मोरिसले आफ्नो आरोहणपछि अन्नपूर्ण आरोहणबारे पर्यटन अति चर्चित पुस्तकमा पर्छ । सन्  १९७० सम्म कसैले पनि अन्नपूर्ण आरोहण गर्न सकेनन् । त्यसपछि भने बेलायती सेनाको आरोहण दलले उक्त हिमाल छिचोल्यो । "मोरिसको आरोहणपछि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरतिर घुम्न जाने विदेशी बढ्न थाले, त्यस बेला घान्द्रुकमा कुनै पनि होटल थिएनन्," पर्यटन उद्यमी तथा अन्नपूर्ण संरक्षण परियो जनाकी जगन सुवा गुरुङ भन्छिन्, "घान्द्रुकमा पहिलो होटल खुलेको विसं ०२७ सालतिर मात्र हो ।"

घान्द्रुकमा पर्यटकलाई लक्षित गरेर स्थानीय कुलबहादुर गुरुङको घरमा खुलेको पहिलो होटल फिस्टेल थियो । पर्यटकहरू बढ्दै जाँदा होटल थपिँदै गए । होटल त थपिए तर तिनको व्यवस्थापन, सरसफाइ र मेनु भने लठिभद्र हुन्थ्यो । विसं '५० को दशकाराम्भमा पनि घान्द्रुकका होटलमा गतिला चर्पी थिएनन् । पर्यटक  सुत्ने कोठा र ओछ्यान स्तरीय थिएनन् । तर, व्यवसायीले बिस्तारै होटलहरूलाई व्यवस्थित पार्न थाले । तर, यही क्रममा घान्द्रुकका घरका परम्परागत बनोट, परिकार र शैलीलाई अंगीकार गरिने ग्रामीण पर्यटनको अवधारणा पूर्णत: अपनाउन घान्द्रुकेहरूले सकेनन् । त्यसैले अहिले घान्द्रुकमा सिमेन्टका भवन र भान्छामा  कन्टिनेन्टल, भारतीय र चाइनिज परिकार देख्न सकिन्छ । यति हुँदाहुँदै पनि मिनरल वाटर किनबेच नगरेर गाउँकै पानीलाई शुद्धीकरण गर्ने चलन हुनु वातावरणीय दृष्टिले प्रशंसनीय छ ।

"होटलहरू छन्, विदेशी पनि आउँछन् तर यहीँका गुरुङ भने गाउँमा बस्दैनन् त्यसैले यहाँको खेतबारी बाँझै देखिन्छ" घान्द्रुकका स्थानीय समाजसेवी भक्तबहादुर गुरुङ, ७५, भन्छन् "बाहिर बस्नेहरू बालबालिकाको गुणस्तरीय शिक्षा र सहज जीवनयापनको खोजीमा गएका हुन् ।"

हुन पनि घान्द्रुक गाविसमा खेतीपाती गरिँदै आएको २४ हजार ३ सय ७२ रोपनी क्षेत्रफल रहेको जग्गाको अहिले कम्तीमा पनि ५० प्रतिशत बाँझो रहेको स्थानीयवासीको दाबी छ । खेतीपाती जति भइरहेको छ, त्यसमध्ये अधिक बाहिरबाट त्यहाँ पुगेका व्यक्तिले गरिरहेका छन् । अर्कोतिर चर्को पलायनका कारण यहाँका  विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । गाविसमा तीनवटा माध्यमिक विद्यालयसहित ११ वटा सरकारी विद्यालय छन् । "शिक्षक र विद्यालय सञ्चालक समितिको गुनासो नै विद्यार्थी विद्यालयमा अडाउन सकिएन भन्ने छ," सचिव गौतम भन्छन्, "यस्तै हो भने केही वर्षभित्र यहाँका कतिपय विद्यालय बन्द हुन सक्छन् ।"

भित्री गाउँहरूमा शून्यता थपिँदै गए पनि पदयात्राको मूलबाटोमा पर्ने घान्द्रुकको चहलपहल भने पर्यटकले गर्दा सधैँ लोभलाग्दो हुन्छ । पोखरा पुग्ने ७० प्रतिशत पर्यटक घान्द्रुक पुग्ने व्यवसायीहरूको दाबी छ । पर्यटककै लागि भए पनि गाउँको कला, संस्कृति र रहन सहन बचाउनुपर्छ भन्दै घान्द्रुकमा आमा समूह सक्रिय  छ र बाहिर पुगेका घान्द्रुकेहरू पनि विभिन्न रूपमा संगठित भइरहेका छन् ।

बि्रटिस गोर्खालाई आवास अनुमतिपछि बेलायत पुगेका घान्दु्रकेहरूले घान्द्रुक पि्रजर्भेसन ट्रस्ट (जीपीटी) नै बनाएर पुराना घर मर्मतसम्भार गर्ने योजना अघि सारेका छन् । ट्रस्टका निर्देशक उदय गुरुङ भन्छन्, "विदेशमा भए पनि मातृभूमि भत्केको र ध्वंस भएको देख्दा मन रुने रहेछ । त्यसैले हामी नेपालमा बसिरहेका  घान्द्रुके दाजुभाइसँग समन्वय गरेर घान्द्रुकका गाउँलाई नयाँ जीवन दिन चाहन्छाँै ।"

 

गाउँ भएर के गर्नु, मान्छे छैनन्, यहीँ होटल गर्ने मात्र छन् । हाम्रा गुरुङ परिवारहरू बाहिर पुगे, अहिले त यो गुरुङ गाउँजस्तै लाग्दैन ।"

- खटानसिंह गुरुङ

स्थानीयवासी

प्रकाशित: चैत्र २२, २०७१