जंग भर्सेज शमशेर

  • जंगबहादुर राणा र उनका कान्छा भाइ धीरशमशेरका खलकबीचको पुस्तैनी द्वन्द्व
जंग भर्सेज शमशेर

- नवीन अर्याल

# काठमाडौँको केन्द्रमा रहेको त्रिपुरेश्वरस्थित कालमोचन गुठीले चर्चेको सम्पूर्ण जग्गा श्री ३ महाराज जंगबहादुर राणाले तत्कालीन सरकार (राजा सुरेन्द्रको पालामा)लाई ३३ हजार ५ सय ४९ रूपियाँ तिरी आफ्ना सन्तान दर-सन्तानले भोग चलन गर्न पाउने गरी १९३३ सालमा खरिद गरे । तर, त्यो जग्गा उनका  सन्तानले भोग चलन त परै जाओस्, हेर्न पनि पाएनन् । पाँच वर्षअगाडि जंगबहादुरका तिनै सन्ततिले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याए । तर, सर्वोच्चले उनीहरुको मागउपर हालसम्म कुनै सुनुवाइ गरेको छैन । र, त्यो मुद्दा विगत दुई वर्षदेखि सर्वोच्चमा विचाराधीन छ ।

# नुवाकोटमा पनि जंगबहादुरका जेठा छोरा जगतजंगका नाममा १९१२ सालदेखि नै ५ सय ३२ रोपनी जग्गा देखिन्छ । त्यो जग्गाको भोगचलनका लागि पनि जंगबहादुरका सन्तानले तीन वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुद्दाको फैसला हालसम्म भएको छैन । तर, सर्वोच्चमा विचाराधीन अवस्थामै  रहेको यही जग्गामा केही महिनाअघि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कारागार बनाउने निर्णय गर्‍यो । सरकारको यो निर्णयबाट चकित परेका उनीहरु अहिले सर्वोच्चमा दैनिक चक्कर लगाइरहेका छन् ।

# यस्तै, राजा सुरेन्द्रले आफ्नी जेठी छोरी टीकाराज्यलक्ष्मी शाहको विवाह जंगबहादुरका जेठा छोरा जगतजंगसँग गराउँदा ललितपुरस्थित बाँडे गाउँको १ हजार ७ सय रोपनी जग्गा गोडधुवाबापत विसं १९४२ मा बकस दिएका थिए । यही जग्गाको हकदाबी सम्बन्धलाई लिएर मालपोत कार्यालयले ०६८ मा गोरखापत्रमा  ३५ दिने सूचना प्रकाशित गर्‍यो । जंगबहादुरका सन्तानले टीकाराज्यलक्ष्मीका नाममा रहेको त्यो जग्गा आफ्नो भएको दाबी गर्दै मालपोत कार्यालयमा स-प्रमाण कागज बुझाए । तर, मालपोतले कुनै काम कारबाही अगाडि बढाएन । र, बाध्य भएर उनीहरुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ढोका ढकढक्याए ।  तर, तीन वर्षअघिको यो उजुरीमा अख्तियारले पनि छानबिन प्रक्रिया अगाडि बढाएन ।

कुनै बेला नेपालकै सर्वाधिक शक्तिशाली मानिएका श्री ३ जंगबहादुर राणाका सन्तान यतिबेला आफ्नै पुर्खाको निजी सम्पत्तिमा हकदाबी गरिरहेका छन् । तर, उनीहरूको दाबीमाथि सम्बन्धित निकाय मात्र होइन, सरकार नै मौन देखिएको छ । अझ, उनीहरूमाथि पुराना मुद्दा उप्काउन लागेको भनेर मालपोत कार्यालयदे खि गुठी संस्थानसम्मका उच्च पदस्थ पदाधिकारी नकारात्मकजस्तै भएका छन् ।

पछिल्लो समय ०६३ सालमा उनीहरूको पक्षमा सर्वोच्च अदालतले निर्णय सुनाएको थियो, जब उनीहरूले जंगबहादुरका नाममा रहेको गोठाटारस्थित मनोहरा दरबार क्षेत्रको जग्गामाथि हकदाबी गरेका थिए । त्यतिबेला दाबी अनुसारका सबै मौजा त उनीहरूले पाएनन् । तर, सर्वोच्चले ५० रोपनी जग्गा उनीहरूलाई  उपलब्ध गराएको थियो । यसबाहेक प्रमाणसहित दाबी गरेका कुनै पनि मुद्दामा उनीहरूले न्याय पाउन सकेका छैनन् ।

"हामी कागजसहित स-प्रमाण अड्डा अदालत पुगेका छौँ । तर, प्रायः हाकिम पुराना मुद्दा बोकेर ल्याएको भन्दै उल्टै हामीसँग रिसाउँछन्," श्री ३ जंग संस्थाका अध्यक्ष यमजितप्रताप जंगबहादुर राणा नेपालसँग दुखेसो पोख्छन् ।

यमजित दुई-चार व्यक्तिलाई छाडेर जंगबहादुरको समग्र सन्तानको कुरा गर्दा उनीहरूको अवस्था 'सुकुमबासी'जस्तै भएको दाबी गर्छन् । भन्छन्, "त्यसै कारण पनि हामीले आफ्नो पुर्खाको वैधानिक सम्पत्ति खोज्नुपरेको हो ।" जंगबहादुरका १४ सन्तानमध्ये हाल १० परिवारका सदस्य संस्थाको सम्पर्कमा आइसकेको उनको  दाबी छ । उनका भनाइमा कोही ट्याक्सी चलाएर गुजारा गरिरहेका छन्, कोही सागसब्जी बेच्छन् । प्रायः घरबारविहीन छन् ।

उनी अन्य राणाजीजस्तै जंगका सन्तानले मोजमस्तीमा आफ्नो जायजेथा नउडाएको बताउँछन् । र, जंगबहादुरका सम्पूर्ण सन्ततिलाई यो अवस्थामा पुर्‍याउन तत्कालीन शमशेर राणाहरूको हात भएको दाबी गर्छन् ।

पुस्तैनी तुस

१९४२ सालमा जंगबहादुरका पाँचौँ नम्बरका भाइ, तत्कालीन श्री ३ महाराज तथा राणा प्रधानमन्त्री रणोद्दीपसिंहको हत्यापछि शमशेर-खलकको उदय भएको थियो । उनको हत्यामा आफ्नै भतिजाहरू -जंगबहादुरका कान्छा भाइ धीरशमशेरका छोराहरू) वीरशमशेर, खड्गशमशेर, चन्द्रशमशेर, भीमशमशेर र डम्बरशमशेर  संलग्न थिए । काका रणोद्दीपसिंहको हत्यापछि सत्ताको शिखरमा पुगेका वीरशमशेरका कारण जंगबहादुरका सारा सन्तान प्रधानमन्त्रीको रोलक्रमबाट बढारिए । त्यही काण्डमा जंगबहादुरका जेठा छोरा र राजा सुरेन्द्रका जेठी छोरी टीकाराज्यलक्ष्मी शाहसँग विवाह गरेर दरबारभित्र र बाहिर दुवैतर्फ बलियो बनेका जगतजंगको  पनि हत्या भयो । यस्तै, जंगबहादुरका नाति तथा जगतजंगका छोरा युद्धप्रताप, जसले श्री ५ र श्री ३ का नाति भएका कारण जन्मँदै जर्नेल पद पाएका थिए, को पनि हत्या भयो । यही काण्डमा जंगबहादुरका अन्य छोराहरूलाई चल-अचल कुनै सम्पत्ति बाहिर लग्न नदिई चार भन्ज्याङ कटाइएको थियो ।

इतिहासकार पुरुषोत्तमशमशेर राणा यमजितको यो दलिललाई धेरै अर्थमा सही मान्छन् । उनी जंगबहादुरका माइला सन्तान जितजंगले मात्र कानको औषधी गर्ने बहानामा केही चल सम्पत्ति भारत लैजान सफल भएको बताउँछन् । "जंगबहादुरका जेठा छोरा जगतजंग र नाति युद्धप्रताप काठमाडौँमै काटिए । केही बि्रटिस  लिगेसनमा शरण लिएर बाँचे,"

उनी भन्छन् ।

वीरशमशेरले जंगका सन्तानलाई काठमाडौँबाट लखेट्दा जंगको परिवारका नाममा काठमाडौँको आधा हिस्सा जग्गा थियो । यस्तै, महलदेखि धन-सम्पत्ति पनि प्रशस्तै थिए । विसं १९१४ मा बि्रटिस सरकारविरुद्ध उत्तर भारतमा उठेको विद्रोह दबाउन जंगबहादुर आफैँ लखनउ पुगेका थिए । त्यतिबेला १४ बयलगाडा हीरा- जवाहरात लुटेर उनी काठमाडौँ फर्किएका थिए । लुटको त्यो सम्पत्ति तत्कालीन राजा सुरेन्द्रकहाँ लैजाँदा १० वटा बयलगाडामा रहेको हीरा र जवाहरात हनुमानढोकाको जिन्सी खानामा दाखिला गर्न लगाई चारवटा बयलगाडाको सम्पत्ति बक्सिसबापत जंगबहादुरले प्राप्त गरेका थिए ।

"हाम्रा पुर्खा धपाइएपछि सबै सम्पत्ति शमशेर खलकले उपभोग गरेको बुझ्न कसैलाई गाह्रो छैन," जितजंगका सन्तति नवराजजंग भन्छन् । हाल उनी विराटनगरस्थित तीनपैनीमा बसोवास गर्छन् । धेरै पहिले आफैँले अंश पाउनुपर्ने जग्गा अहिले पैसा तिरेर किन्नुपर्दाको क्षण नरमाइलो लाग्ने उनको दलिल छ । "केही  समयअघि मेरो एउटा दाजुले काठमाडौँमा सानो टुक्रा जमिन किन्नुभयो । पुरानो कागज खोतल्दै जाँदा पत्ता लाग्यो, त्यो जग्गा त जंगबहादुरको निजी रहेछ । अवस्था यस्तो आइसक्यो, आफ्नै जमिन आफैँले किन्नुपर्ने भयो," उनले भने ।

१९४२ सालमा वीरशमशेरले सत्ता कब्जा गरेपछि जंगका सन्तानलाई उपत्यकाभित्र प्रवेश गर्न रोक लगाइएको थियो । त्यस बेला जंगका परिवारलाई अंग्रेजी पढ्न, नोकरी-जागिर खान र व्यापार-व्यवसाय गर्न नपाइने उर्दी थियो । अझ, ६५ वर्ष शमशेर खलकले एकलौटी राज्य सञ्चालन गर्दा जंग खलकलाई जंगबहादुर  राणा -जबरा) लेख्न रोक लगायो । यो उर्दी ००७ सालमा प्रजातन्त्र नआउन्जेल कायम थियो ।

"हाम्रा केही सन्तानले त्यस बेला नगरकोटी थर राखेर फौजमा जागिर खाएका छन्," नवराजजंग भन्छन्, "सर्वोच्चको प्रधानन्यायाधीश भइसक्नुभएका त्रिलोकप्रताप राणाले यही उर्दीका कारण पछिसम्म जबरा लेख्नुभएन ।" त्रिलोकप्रताप जंगबहादुरकै छोरा ललितजंगका नाति थिए । ४२ सालको 'कू'मा ललितजंगलाई  पाल्पा खेदिएको थियो । त्रिलोकले राणाकालमा काठमाडौँ पढ्न आउँदा जंगबहादुरको सन्तान भए पनि काटिने डरले आफ्ना बाबुको नाम योगविक्रम लेखाएका थिए ।

४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले बि्रटिस सरकारसमक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले । त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो । तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू  भएको उत्तर पठाउने क्रममा नयाँ जुक्ति निकाले, अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा -जबरा) लेख्ने । यसपछि नै जंगबहादुरका सन्तानलाई जबरा लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ ।

शमशेरहरूले जंग खलकका सबै सम्पत्ति खोसे पनि सर्वसाधारणमाझ राणाजीहरूको रवाफ कायम राख्न धपाइएका जंग परिवारको गाउँका सामान्य घरलाई पनि दरबार भन्न लगाए । फेरि उनीहरू जंग खलकका चेलीबेटीको विवाहमा सेनाको ब्यान्डबाजा पठाएर सर्वसाधारणमाझ भ्रम छर्थे ।

यस्तै, एउटा घटनाका भुक्तभोगी हुन्, यमजितप्रताप । ००३ सालमा उनकी जेठी दिदी गुह्येश्वरीलक्ष्मी राणाको काठमाडौँमा नरेन्द्रमर्दन थापा क्षेत्रीसँग विवाह हुने निधो भयो । यसका लागि उनका पिता शिवप्रतापले आफू खेदिएको सिन्धुली जिल्लाको झाँगाझोलीबाटै तत्कालीन श्री ३ महाराजलाई निवेदन हाले, छोरीको  वैवाहिक कार्यका लागि एक महिना उपत्यकामा बस्ने अनुमतिसहित । त्यस बेला यमजितकी दिदीको विवाहमा सरिक हुन सबै आए । अझ, राणा परिवारले त्यतिबेला पाउने सुन र चाँदीका ब्यान्डबाजा, झल्लरी छाता, कलश र बग्गीसहित सबै सुविधा उपलब्ध गराइयो । तर, बिहे सकेको केही दिनमै उनीहरू बसेको  ठमेलस्थित हरिजंग शाहको घर घेर्न राणाहरूकै सैनिक तैनाथ भए । "यतिबेला मेरा पिताजीले एक जना काम गर्ने केटोको ढाड टेकेर दक्षिणतर्फको झ्यालबाट हाम फाली तत्कालीन कमान्डर इन चिफ बबरशमशेरकहाँ पुगेर सात दिनको म्याद थप नगराई फर्किनुभएको भए, हामी सबै जेलमा हुन्थ्यौँ," ७६ वषर्ीय  यमजित भन्छन्, "जनताको नजरमा हामीलाई दर्जा दिएको जस्तो पनि देखाउने तर हामीलाई मान्छे नै नगन्ने !"

उनका भनाइमा ००७ को प्रजातन्त्रपछि पनि जंगको परिवारलाई अगाडि बढ्न नदिन शमशेर खलकले भूमिका निर्वाह गरेका छन् । भन्छन्, "चाहे त्यो नेपाली सेनातिर होस् या अन्य ठाउँमा, सबै छर्लंग छ ।"

पारिवारिक टकराव

शाह र राणा परिवारबीच विवाह गर्ने चलन अहिले सामान्य मानिन्छ । तर, कुनै बेला राणाहरूले यसलाई शक्ति प्रदर्शनको रूपमा अथ्र्याउँथे । त्यसैले आफू सत्तामा आउनेबित्तिकै उनीहरू दरबारसँगको वैवाहिक सम्बन्धमा बढी जोड दिन्थे । यसैको कारण पनि दरबारभित्र कल्पना गर्न नसकिने घटना हुने गरेको  इतिहासकारहरूको धारणा छ । दरबारभित्र वैवाहिक सम्बन्ध स्थापित गर्ने पहिलो राणा प्रधानमन्त्री नै जंगबहादुर थिए । उनले आफूलाई थप बलशाली बनाउन आफू प्रधानमन्त्री भएको ६ वर्षभित्रै १९०९ सालमा जेठा छोरा जगतजंगको विवाह राजा सुरेन्द्रकी जेठी छोरी टीकाराज्यलक्ष्मी शाहसँग गराएका थिए । यसबाट  युद्धप्रतापको जन्म भएको थियो, जसलाई जन्मिनेबित्तिकै जर्नेल पदवी दिइएको थियो । नेपाल मात्र होइन, विश्वकै इतिहासमा दूधे बालकलाई जर्नेलको पदवी दिइएको यही पहिलो घटना होला । जंगबहादुरले १९०३ सालमा राणा शासनको जग बसाल्दा शक्ति भाइहरूमा सर्ने नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए । तर, केही  वर्ष शासन गर्ने क्रममै उनले भाइहरूलाई होइन, आफ्नो परिवारलाई बलियो बनाउने काम गरे । यसैको प्रतिकार स्वरूप जंगका जेठा छोरा जितजंग र नाति युद्धप्रतापको १९४२ सालमा वीरशमशेरको डिजाइन अन्तर्गत 'कू'मा हत्या भएको मान्नेहरूको कमी छैन । जंगबहादुरले १९१३ मा आफू श्री ३ महाराज भएपछि  दुई छोरी ताराकुमारी र ललितराज्यलक्ष्मीको बिहे राजा सुरेन्द्रका जेठा छोरा युवराज त्रैलोक्यसँग गराएका थिए ।

शमशेर खलकका पहिलो राणा प्रधानमन्त्री वीरशमशेरले आफू श्री ३ भएपछि जंगबहादुरकै सिको गर्दै आफ्ना दुवै छोरी कीर्तिदिव्येश्वरी र दुर्गादिव्येश्वरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएका थिए । तर, आफ्नो कुलको विनाश गरेका कारण पृथ्वीकी आमा ललितराज्यलक्ष्मी वीरका छोरीहरूबाट सन्तान  नहोस् भन्ने चाहन्थिन् ।

वीरशमशेरको जीवनी लेखेका प्रकाश ए राज भन्छन्, "राजा पृथ्वी वीरविक्रमकी आमा ललितराज्यलक्ष्मी जंगबहादुरकी छोरी थिइन् । त्यसैले उनी आफ्नो कुलको विनाश गर्ने व्यक्तिका छोरीहरूबाट राजाको सन्तान जन्मियोस् भन्ने चाहँदिनथिन् ।"

वीरले आफ्ना नाति तथा नेपालका पहिलो वैज्ञानिक भनेर चिनिने गेहेन्द्रशमशेरका छोरा शुरशमशेरको विवाह पछि राजा पृथ्वी वीरविक्रमकी कान्छी छोरी सहन्शाहसँग गराएका थिए ।

वीरपछि श्री ३ बन्ने सौभाग्य पाएका देवशमशेरले पनि राजा सुरेन्द्रको अविवाहिता रानीपट्टकिी छोरी कर्मकुमारीसँग विवाह गरेका थिए । यस्तै, देवपछि श्री ३ बनेका चन्द्रशमशेरले पनि राजा पृथ्वी वीरविक्रमका तीनवटी छोरीसँग आफ्ना छोरा केशर, सिंह र कृष्णशमशेरको विवाह गराएका थिए । चन्द्रपछि श्री ३ बनेका  भीमले पनि आफ्नी रानी सीताबाट जन्मिएकी छोरीको बिहे राजा महेन्द्रसँग गराउन खोजेका थिए । तर, उनकी छोरीको चाँडै देहावसान भयो ।

त्यसपछि जुद्धशमशेरका छोरा हरिशमशेरकी छोरी इन्द्रराज्यलक्ष्मी र रत्नको विवाह महेन्द्रसँग भयो । पछि राजा वीरेन्द्र र पूर्वराजा ज्ञानेन्द्रको विवाह जुद्धकै नाति केन्द्रशमशेरका छोरीहरू ऐश्वर्य तथा कोमलराज्यलक्ष्मीसँग भएको थियो ।

यस्तै, राजा वीरेन्द्रले एक्ली छोरी श्रुतिको विवाह केशरशमशेरका नाति गोरखसँग गराएका थिए । युवराज दीपेन्द्रको विवाह नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरकी पानातिनी देवयानीसँग गर्ने/नगर्नेमा राजपरिवारभित्र विवाद चलिरहेकै बेला ११ जेठ ०५९ मा दरबार हत्याकाण्ड भयो । जसमा राजा वीरेन्द्रको व ंश नै नाश भयो । दरबार हत्याकाण्ड हुनुमा अहिले पनि धेरैले चन्द्र र जुद्धशमशेरको परिवारबीचको टकरावलाई लिने गरेका छन् । उनीहरू ऐश्वर्य जुद्ध खलककी भएकाले चन्द्रको परिवारको सदस्यलाई बुहारीका रूपमा स्वीकार्ने कुराको विरोधी भएको बताउँछन् ।

हतियार, हत्या र हिंसाको बलमा सत्ता हत्याएको र त्यही आधारमा राणा शासन टिकेकाले परिवारभित्रै पनि त्यस्तो कलह हुनु अस्वाभाविक थिएन । जुद्ध र चन्द्रको खलकबीचको पारिवारिक टकरावको आधार पनि जंग र शमशेर परिवारबीचको पुस्तैनी लडाइँ नै थियो ।

तर, कटुताका बीच पनि पछिल्लो समय दुई परिवारबीच बढ्न थालेको निकटताबाट भने जंग खलक मात्र होइन, शमशेर खलक पनि उत्साहित छ । "अहिले नयाँ सोचका युवा हामी दुवैको परिवारमा हुर्किरहेका छन् । उनीहरू पुर्खाको गल्तीलाई भूल भनेर स्वीकार्छन् । र, राम्रो कामप्रति गर्व पनि गर्छन् । यसले दुवै  परिवारबीच पुरानो तिक्तता मेटिँदै गएको छ," उद्यमी विकासजंग राणा भन्छन् । उनी पनि जंगबहादुरका पाँचौँ पुस्ताका सन्तान हुन् । उनका बडाजिजुबुबा हर्कजंग पनि वीरशमशेरले 'कू' गरेपछि भारतको पटियाला पुगेका थिए । यमजित पनि खालि पुरानै इतिहासमा रुमलिन आफूहरूलाई मन नलागेको बताउँछन् ।  भन्छन्, "तर, जंग परिवारलाई समृद्धितर्फ डोर्‍याउन शमशेर परिवारले पनि हातेमालो गरोस् ।"

पैसाकै लागि

जंग र शमशेर खलकमा मात्र होइन, पैसालाई लिएर शमशेर खलकभित्रै पनि थुप्रै विवाद भएका छन् । नयाँ बन्ने श्री ३ ले आफ्ना काका-बाबुको खलकको महलदेखि पैसा हत्याएका थुप्रै उदाहरण छन् । यसको सबैभन्दा जल्दोबल्दो उदाहरणका रूपमा हाल निर्वाचन आयोग रहेको बहादुर भवनलाई लिन सकिने  इतिहासविद् पुरुषोत्तमशमशेर बताउँछन् । "त्यो महल मेरो हजुरबुबा रुद्रशमशेरको थियो । तर, जुद्धले आफू प्रधानमन्त्री हुँदा जेठा छोरा बहादुरशमशेरलाई दिए," उनी भन्छन् । अहिलेको बबरमहल भएको स्थानमा जंगबहादुर बस्थे । चन्द्रशमशेर सत्तामा आएपछि पुरानो महललाई फोडेर आफ्ना छोरा बबरशमशेरका लागि  नयाँ बनाइदिए । यस्तै, जुद्धशमशेर प्रधानमन्त्री हुँदा आफ्नो जग्गामा आँखा नगाडोस् भनेर मदनशमशेरले हाल कुपन्डोलस्थित यूएन बिल्डिङदेखि मन्त्री क्वार्टरभित्र जाने ठूलो बाटो खोलेको भीमशमशेरका पनाति शक्ति राणा बताउँछन् । "त्यतिबेला मूल सडकभन्दा ठूलो बाटो अंशबन्डाका नाममा बनाउनुको उद्देश्य नै  जुद्धको आँखा त्यो जग्गामा नजाओस् भन्ने थियो," उनी भन्छन् ।

प्रकाशित: चैत्र १५, २०७१