दुई देशको साझा मेला

  • भारतीय श्रद्धालुको गन्तव्य सिद्धनाथ मन्दिर
दुई देशको साझा मेला

- चित्रांग थापा, भवानी भट्ट

नेपालगन्जको त्रिभुवन चोकका युवा व्यवसायी प्रेम सोनी पहिलोपटक सुदूरको सीमा बजार ब्रह्मदेव पुगे । उनीसँगै अन्य चार युवा पनि भारतको उत्तराखण्डको पर्यटकीय नगरी नैनीताल, तीर्थस्थल हरिद्वार र ऋषिकेश हुँदै ब्रह्मदेव पुगेका थिए । उनीहरू भर्खरै सुरु भएको मेलाको अवसर पारेर टनकपुरपारिको पूर्णागिरि  मन्दिर हुँदै कञ्चनपुरको ब्रह्मदेव आइपुगेका हुन् ।

फागु पूणिर्मालगत्तै सुरु हुने पूर्णागिरि मेला पारेर भारतका विभिन्न सहर र ग्रामीण भेगबाट समेत टनकपुर नाका हुँदै ब्रह्मदेव भित्रिनेको लर्को लाग्न थाल्छ । फागुन तेस्रो सातायता पूर्णागिरि हुँदै महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर पुग्ने दर्शनार्थीको पनि बेग्लै घुइँचो देखिन्छ । "फागु पूणिर्मादेखि जेठसम्म मेला चलिरहन्छ,  दुवै देशका दर्शनार्थी पारिको पूर्णागिरि र नेपालको ब्रह्मदेव र महेन्द्रनगर पुगिरहन्छन्," सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रह्मदेवका कार्यालय सचिव गोविन्द महता भन्छन्, "मेला अवधिभर बर्सेनि तीनदेखि पाँच लाख भारतीय ब्रह्मदेव भित्रिने अनुमान गरेका छौँ ।"

 उत्तरप्रदेशको राजधानी सहर लखनउनजिकै हरदोइका राम आसरे बाजपेयी पूर्णागिरि मेलामा आउन थालेको दशक पुगिसक्यो । उनी जतिपटक पूर्णागिरि पुग्छन्, र्फकंदा ब्रह्मदेव पुगेकै हुन्छन् । भन्छन्, "हाम्रा लागि भारतको पूर्णागिरि देवीको जति महत्त्व छ, नेपालको सिद्धनाथको पनि त्यति नै महत्त्व छ ।" मेलाका  बखत पूर्णागिरि पुग्ने जोकोही ब्रह्मदेव अथवा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर पुग्नैपर्ने र नेपाल पसेर सिद्धनाथ मन्दिर दर्शन गर्न नपाए यात्रा अधुरै हुन्छ भन्ने मान्यता छ ।

धार्मिक पर्यटकीय गन्तव्य

भैरहवाको सीमावर्ती भारतीय सहर गोरखपुरबाट पूर्णागिरि मेलामा आएका अजयकुमार सिंह महेन्द्रनगर हुँदै मुक्तिनाथ पुग्ने सोच बनाइरहेका थिए । उनी पूर्णागिरिसँगै ब्रह्मदेव पनि पहिलोपटक पुगेका हुन् । दर्शनार्थी पश्चिम नाकाबाट नेपाल भित्रिएको देख्दा आफू छक्क परेको अनुभव सुनाउँदै उनले भने, "शिवरात्रिमा  जति भारतीय तीर्थयात्री काठमाडौँको पशुपतिनाथ पुग्छन्, त्यसभन्दा बढी त उत्तरप्रदेश, उत्तराखण्ड, दिल्ली र हरियाणालगायत राज्यबाट पूर्णागिरि मेलाका बेला ब्रह्मदेव र महेन्द्रनगर पुग्दा रहेछन् ।" उनका अनुसार नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सीमामा आउजाउ सहज भएको छ । पूर्णागिरि मेलालाई दुवै देशले धामिर् क पर्यटनको विकासका लागि अवसरका रूपमा लिनुपर्ने उनी सुनाउँछन् ।

मेला अवधिमा ब्रह्मदेवको मन्दिर परिसरमा फूल-प्रसाद बिक्री गर्ने स्टल राख्न मात्र यस वर्ष ४८ लाख रुपियाँको ठेक्का भएको छ । भेटी र दानपात्रमा संकलन हुने रकम मात्रै २० देखि २५ लाख रुपियाँ पुग्ने मन्दिर संरक्षण समितिको अड्कल छ । "यसबाहेक मन्दिरको स्वामित्वमा रहेका पसलहरूबाट वाषिर्क ६ लाख रु पियाँ भाडा उठ्छ," समितिका सचिव महताले भने, "संकलन भएजति खर्च पनि भइरहेको छ ।" यता महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरमा पनि पसलको ठेक्का र भेटीबाट वाषिर्क १२ लाख उठ्ने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव पुस्करराज उप्रेती बताउँछन् ।

मेला फागुनदेखि चैतसम्म झन्डै चार महिनासम्म चल्छ । दिनहुँ हजारौँ भारतीय दर्शनार्थी भित्रिन्छन् । यद्यपि, मेलालाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने योजना भने देखिँदैन । "महेन्द्रनगरबाट १३ किलोमिटर टाढा रहेको ब्रह्मदेवसम्म सडक निर्माण हुन सकेको छैन," ब्रह्मदेवका स्थानीय दिलीपसिंह धामी भन्छन्,  "महाकाली सन्धि भएको बेलादेखि नै सडक बन्ने भनिए पनि अझै अधुरो छ, यात्रुका लागि विश्रामगृह र धर्मशाला पनि छैन ।" सरकारले ०५४ मै ब्रह्मदेवलाई व्यवस्थित बजारका रूपमा विस्तार गर्ने योजना बनाएर बजार र आवासीय क्षेत्र छुट्याए पनि योजना अझै अलपत्र छ ।

मेलामा निर्भर व्यापार

विगतका वर्षमा पूर्णागिरि मेला सुरु भएपछिका केही महिनाबाहेक अधिकांश समय ब्रह्मदेव सुनसान रहन्थ्यो । अहिले भने अन्य समयमा पनि चहलपहल बढ्दै गएको छ । ब्रह्देवका स्थानीय दिलीपसिंह धामीका अनुसार पछिल्लो समय दसैँ-तिहारजस्ता चाडपर्व र नयाँ वर्षका बेलामा समेत सिद्धनाथको पूजा र किनमेलका लागि आउने भारतीय पर्यटकको संख्या बढेको छ । चैते दसैँको नवरात्रि दर्शनार्थीको बढी घुइँचो लाग्ने समय हो । "नवरात्रिका बेला दैनिक २५ देखि ३० हजारसम्म  भित्रिन्छन्," मन्दिर संरक्षण समितिका सचिव महताको दाबी छ, "साढे ३ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा खुट्टा राख्ने ठाउँ हुँदैन ।"

यस बेला ब्रह्देवमा करोडौँको कारोबार हुन्छ । महँगा र ठूलाभन्दा पनि कपडा, जुत्ता, चप्पल, टर्चलाइटजस्ता दैनिक उपभोग्य वस्तु ग्राहकको रोजाइमा पर्ने गरेका छन् । फर्किंदा चिनोस्वरूप केही न केही सामान लैजाने पनि धेरै हुन्छन् । विगत १४ वर्षदेखि भेल्भेट कपडा व्यवसाय गर्दै आएका रूपसिंह जोरा भन्छन्,  "व्यापारीहरूले भेल्भेट मात्रै ५० लाख रुपियाँभन्दा बढीको स्टक राखेका छन्, बजारमा दुई-तीन करोड रुपियाँजतिको सामान अहिले होला ।" मेला फागुन २३ बाट विधिवत् रूपमा सुरु भइसकेको छ ।

सुदूरको ऐतिहासिक थलो

वर्षौसम्म महाकाली किनारको यो सीमा बजार ब्रह्मदेवमण्डीका नामले चिनिन्थ्यो । सुदूरका पहाडी क्षेत्रका बासिन्दाले महाकालीपारिको भारतीय बजार टनकपुरबाट नुन-तेलदेखि लत्ताकपडा खरिद गरी यही नाका हुँदै पहाडका दुर्गम भेगसम्म बोकेरै पुर्‍याउँथे । अहिलको ब्रह्मदेव बजार खल्ला मछेटी भन्ने ठाउँ थियो ।  "सिद्धनाथको प्राचीन मन्दिर पनि त्यहीँ थियो," चार पुस्तादेखि ब्रह्मदेवमा पुजारीका रूपमा रहेका जगदीशानन्द उप्रेतीले भने, "अहिलेको ब्रह्मदेव त भैँसी बाँध्ने सिमल गोठका नामले चिनिन्थ्यो ।" उनका अनुसार खल्लाबाट बजार उठेर यहाँ आएपछि पारिका कुमैयाले पसल राखेर व्यापार गर्न थाले । त्यसपछि मात्र  यसलाई ब्रह्मदेवमण्डी भन्न थालिएको हो । ब्रह्मदेव सुदूरका किसान नेता भीमदत्त पन्तको क्रान्ति थलो पनि हो । ०१९ सालमा बजार ब्रह्मदेवबाट महेन्द्रनगर सारिएको स्मरण गर्दै उप्रेती भन्छन्, "बजार सारिएपछि वर्षौंसम्म सुनसान हुन पुगेको ब्रह्मदेवमा नगर विकास समितिले बजार व्यवस्थापन योजना सुरु गरेपछि  चहलपहल बढेको छ ।"

नगर विकास समितिले योजना अनुसार काम गर्न नसकेको स्थानीयको गुनासो रहे पनि पूर्णागिरि मेलाको महत्त्वकै कारण ब्रह्मदेव गुलजार हुने क्रम भने रोकिएको छैन । व्यवसायी जोरा भन्छन्, "पारितर्फ टनकपुर जलविद्युत् परियोजना बनेपछि उनीहरूको पनि विदेशी सामान किनमेल गर्ने बजार ब्रह्मदेव नै बन्यो ।"

प्रकाशित: चैत्र ८, २०७१