जीवित इतिहास

जीवित इतिहास

- राजकुमार बानियाँ

पहिलोपटक मदन पुरस्कार पाउने इतिहासकारका रूपमा प्रख्यात छन्, चित्तरञ्जन नेपाली, ८४ । ०१३ सालतिर सानो नाङ्लोमा पुरस्कारबापत २ हजार ५ सय भारु बुझ्दा चित्तरञ्जन गधापच्चीसी पनि नाघेका थिएनन् । सत्यमोहन जोशी (संस्कृति) र बलराम जोशी (विज्ञान)ले पनि त्यसै साल पुरस्कार पाएका हुन् ।

चित्तरञ्जनको त्यो पुरस्कृत पुस्तक हो, जनरल भीमसेन थापा र तत्कालीन नेपाल । सरकारी खर्चपर्चमा नेपाल सांस्कृतिक संघले त्यो पुस्तक छाप्नुअघि नै उनले कविको चिनारी बनाइसकेका रहेछन् । ००७ सालमै उनको नेवारी भाषामा शोककाव्य आएको थियो, मां लुमंका (आमाको सम्झनामा) ।

मदन पुरस्कारको थैली मोहरु (नेपाली रुपियाँ) चार हजार के कसरी खर्च भयो भन्ने बारेमा उनलाई यकिन छैन । तर, घरमा जेक (जीईसी) रेडियो किनेर घन्काएको सम्झना आलै छ । "पुरस्कार पैसामा हिसाब गर्ने कुरा होइन," उनी भन्छन्, "तैपनि, त्यतिखेर सुन सय रुपियाँ तोला थियो ।"

पुरस्कार पाएकै साल चित्तरञ्जन नेपाल सरकारको गजेटेड अफिसर (राजपत्रांकित अधिकृत) भइसकेका रहेछन् । महिनावारी तनखा १ सय ८० रुपियाँ थियो भने भत्ता २० रुपियाँ । उनको नोकरी थियो, जैसीकोठामा । उनको तीन पुस्ता जैसीकोठामा जोडिएको छ । बाजे सुब्बा जुजुमान, बाबु सरदार मेदिनीप्रसाद र  चित्तरञ्जन । राणाकालमा परराष्ट्र मामिलासम्बन्धी मुन्सीखाना मातहतको यो सरकारी अड्डा पछि गएर तिब्बती मामिलासम्बन्धी विभागका रूपमा रह्यो । उनका बाजे श्री ३ महाराज चन्द्रशमशेरले पत्याएका राष्ट्रसेवक रहेछन् । निजामतीतफर्को भए पनि अदालतको मुद्दा छिन्न पाउने सुब्बा साहेबको निधन हुँदा ठूला  कारिन्दा बितेको भन्दै अघोषित सरकारी बिदा दिएछन् ।

केटौले उमेरमा त्यो पनि भगवानदास, सिल्बा लेभीजस्ता विदेशी विद्वान्हरूले विभिन्न बिल्ला लगाएका मुख्तियारका बारेमा पुस्तक लेख्नु सामान्य लाग्दैन । लामो खोज र प्रमाणका आधारमा विदेशी विद्वान्को इतिहास लेखनमा त्रुटि भएको निष्कर्षसहित उनले भीमसेन थापालाई साहित्यिक स्वादमा एक शासक र सैनिक  नायकका रूपमा उभ्याएका छन् ।

नेपाली इतिहासका एक दुर्दान्त पात्र भीमसेन थापाका बारेमा इतिहासकार पी ल्यान्डनले के भनेका छन् भने उनको जीवनमा जति भयानक बर्बादी ग्रीकको वियोगान्त नाटकमा पनि छैन । राणा प्रधानमन्त्री जंगबहादुरका नजरमा 'ठूला बुद्धिमान वजिर' थापाका बारेमा चन्द्रशमशेरले अझ सटीक चित्रण गरेका छन्, 'एउटा  भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो ।'

शाहकालीन नेपाली इतिहासका बेत्ता चित्तरञ्जनको निष्कर्ष पनि चन्द्रशमशेरकै नजिक लाग्छ । ३१ वर्षे शासनकालमा मुलुकको स्वाधीनता र स्वतन्त्रता अक्षुण्ण राख्न थापाको योगदान बिर्सन नमिल्ने उनको जिकिर छ । "इतिहास घटनाको तथ्य संकलन मात्र होइन, भविष्यको मार्गनिर्देशन पनि हो," उनको मान्यता छ,  "प्रत्येक जीवित राष्ट्रको आफ्नो इतिहास हुन्छ । त्यसले विकासमा सघाउँछ ।" आफ्नो काममा उनलाई सन्तोष पनि छ ।

आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाह, रणबहादुर शाह, भीमसेन थापा, जंगहादुर राणा र चन्द्रशमशेरको योगदान उनलाई महत्त्वपूर्ण लाग्छ । अझ तिनीहरूलाई फ्रान्सका नेपोलियन बोनापार्ट, जर्मनीका बिस्मार्क, चीनका माओ, दक्षण्िा अफ्रिकाका नेल्सन मन्डेला, भारतका गान्धीजस्तै इतिहास निर्माता मान्छन् । ३३  वर्ष शासन गरेका जंगबहादुर र २९ वर्ष शासन गरेका चन्द्रशमशेरको अध्ययनले उनलाई धीत पुगेको छैन ।

न्हैंकतला, काठमाडौँमा जन्मेका चित्तरञ्जनका १३ जना दाजुभाइ-दिदीबहिनी रहेछन् । अहिले जीवित एक्लै छन् । उनको अक्षरारम्भ महावीर स्कुलमा भयो । संस्थापक चिनियाँलाल र फत्तेबहादुर जेल गएपछि बन्द भयो । त्यसपछि जुद्धोदय र दरबार हाई स्कुल पढे । ००४ सालमा एसएलसी गरेपछि झ्यालमा बसेका श्री ३  पद्मशमशेरलाई दाम चढाएको सम्झन्छन् ।

त्रिचन्द्र कलेजमा आईए गरेपछि उनको पढाइ छुट्यो । त्यसपछि प्राइभेट जाँच दिएर इतिहासमा स्नातकोपाधि लिए । सानैदेखि विजय मल्ल, गोविन्द गोठाले, गोपालप्रसाद रिमाल, श्यामदास वैष्णवको संगत भयो । बाबुराम आचार्य बुबाका साथी भएकाले घरमा आउजाउ थियो । शारदा पत्रिकामा कविता र केही ऐतिहासिक  लेख छापिए उनका ।

१९९७ सालमा चार सपुतको प्राणदण्डपछि प्रेमबहादुर कंसाकारको अगुवाइमा उनी राजनीतिमा जोडिए । राणाविरोधी पम्प्लेट टाँस्ने भएकाले परिचय लुकाउनुपथ्र्यो । त्यो थाहा पाए जागिरे परिवारलाई नै अप्ठ्यारो हुन सक्थ्यो । त्यसैले उनले नारायणप्रसाद राजभण्डारीको साटो चित्तरञ्जन नेपाली लेख्न थालेका रहेछन् ।  सरकारी कागजातमा उनी अहिले पनि नारायणप्रसाद नै छन् ।

जागिरे जीवनमा परराष्ट्रबाट गृह मन्त्रालयमा सरुवा भयो उनको । कि छाड्नुपथ्र्यो कि खानुपथ्र्यो ! उनले जागिरलाई नै निरन्तरता दिए । मुस्ताङमा सीडीओ भएर काम गरे । त्यतिखेर खम्पा विद्रोह चर्किएको थियो । पछि शिक्षा मन्त्रालयमा सरुवा भएर विशेष शिक्षाका निम्ति गरेको काम उनलाई स्मरणीय लाग्छ ।

जागिरे जीवनमा उनले नेपाल-चीन संयुक्त सीमा निर्धारण समितिको सदस्य-सचिव रहेर पनि काम गरे । ८ चैत ०१६ मा सम्पन्न सीमा सम्झौताको हस्तलिपि उनकै छ । त्यसमा नेपाली प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ समकक्षी चाउ एनलाईले हस्ताक्षर गरेका छन् । त्यसै बेला उनले माओत्सेतुङको शालीनता र  चाउ एनलाईको कूटनीतिक कौशल नजिकबाट नियाले उनले । उनको नेपाल-चीन सिमाना सन्धि पुस्तक पनि छ ।

३५ वर्ष सरकारी सेवा गरेका चित्तरञ्जन कामु सचिवसम्म भए । "जागिरे जीवनमा म धेरैजसो मन्त्रालयमै बसेँ,' उनी अलि तर्किन्छन्, "नियमित काम गरेको हुँ । सम्झनालायक अरू केही छैन ।" पछि निर्वाचन आयोगमा आयुक्त र नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ सदस्यका रूपमा उनको मनोनयन भयो ।

चित्तरञ्जनको अध्ययन कति फराकिलो छ भने नेपाल भाषाको उपन्यास गंकीको नेपालीमा, संस्कृत नाटक मुद्राराक्षस र स्वप्नवासवदत्ताको नेपाली र नेपाल भाषाका साथै जापानी समालोचनाको अंग्रेजीबाट नेपालीमा उल्था गरेका छन् । नेवारी भाषामा उनको पकड कति छ भने २०१४ सालमै श्रेष्ठ सिरपा पाए ।

इतिहास र साहित्यमा झन्डै दुई दर्जन पुस्तक छन् उनका । श्री ५ रणबहादुर शाह व्यक्तित्व र शासनकाल, राणाशाहीको रोलव्यवस्था र धर्मपत्रहरू, पारिवारिक षड्यन्त्रका कथाहरू उनका प्रमुख पुस्तक हुन् । उनको पछिल्लो पुस्तक जंगबहादुरको कथा हो । स्कुले कोर्स बुक नेपाल इतिहास परिचयको तीन शृंखलाजति  बिक्री अरू पुस्तक भएनन् । "कथा, उपन्यास भए त कल्पना गरेर पनि लेखिन्थ्यो होला,' उनी भन्छन्, "इतिहासका पुस्तक लेख्न प्रमाण चाहिन्छ । भेट्टाएँ भने अझै लेख्छु ।"

त्यसो त उनले नाटकको उल्था मात्र गरेनन्, आफ्नो जमानामा अभिनेता पनि कहलिए । बहुलाकाजीको सपनामा बहुलाकाजी बनेर खेले भने रणबहादुर शाहमा त्रिभुवन काजी भएर । केही नाटक निर्देशन पनि गरे । "त्यतिखेर महिला कलाकार थिएनन्," उनी सम्झन्छन्, "त्यसैले महिला पात्र भएका नाटकै लेखिएनन् ।"

तिनताका उत्तम कुँवर उनका साथी थिए । कुँवरको स्रष्टा र साहित्यमा त उनैले प्राक्कथन लेखेका छन् । पारिजातको जोडा बनेर गोविन्द गोठालेकृत नारीप्रधान नाटक युगको सिकारमा अभिनय गरेको अनुभव पनि छ । कविता लेखेर डायरीमा थन्काउने पारिजातको पहिलो रचना भवानी भिक्षु सम्पादकत्वको धर्तीमा  छापिदिएको धमिलो सम्झना पनि छ । पारिजात राजनीतितिर तानिएपछि संगत छुट्यो ।

हिरो हुनलाई उनको पालामा सिनेमै आएको थिएन । जात्रामात्रा हेरेर चित्त बुझाउनुपथ्र्यो । पहिलोपटक पद्मशमशेरले सिंहदरबारमा सिनेमा देखाएको उनी सुनाउँछन् । पछि उनी अर्कै लाइनमा पुगे । न नाटक, न सिनेमा । ००७ सालमा उनले बिहे गरेका हुन् । त्यो सहयात्रा ६४ वर्षदेखि जारी छ । पत्नीका नाममा नेवारी  कवितासंग्रह नै छ, मेरीबाबा । छोरा मनोजप्रसाद राजभण्डारीले सरकारी सेवामा जाने इच्छा गरेनन् । अहिले आईसीटीसी नामक व्यापारिक कम्पनी चलाएका छन् । नाति पनि व्यापारमै व्यस्त छन् । तीन छोरी बिहे गरिवरी घरगृहस्थीमा रमाइरहेका छन् ।

जीवनको उत्तरार्द्धमा पनि चित्तरञ्जन नेपालीलाई स्वास्थ्यले धोका दिएको छैन । सुगर, प्रेसरले ढिम्किनै पाएका छैनन् । त्यसो त उनले अम्मल नछोएका पनि होइनन् । घरपालुवा मदिरा राती सुत्ने बेला एक-दुई पेग अहिले पनि लिन्छन् । इष्टदेवताको नित्य पूजापाठ उनको रुटिनमा छ । उनले मोबाइल फोन बोक्दैनन् ।  ल्यान्डलाइन फोनले काम चलेकै छ ।

प्रकाशित: फाल्गुन २५, २०७१