विरक्तिएर विदेशतिर

  • पूर्वमाओवादी लडाकू कमान्डरहरु रोजगारका लागि खाडी मुलुकदेखि मलेसिया र जापानसम्म
विरक्तिएर विदेशतिर

- माधव बस्नेत

एकीकृत नेकपा माओवादीका पूर्वकेन्द्रीय सदस्य तथा 'जनमुक्ति सेना'का पूर्वब्रिगेड सहायक कमान्डर पासाङ शेर्पा 'कर्मा'ले ९ फागुन अपराह्न ४:५२ मा फेसबुक स्ट्याटसमार्फत पार्टी नेतृत्वविरुद्ध आक्रोश पोखे । उनी माओवादी सशस्त्र विद्रोहमा सहभागी हुने क्रममा ०६१ सालमा मोरङको लेटाङमा तत्कालीन शाही नेपाली सेनाले चलाएको गोली नितम्बमा लागेर अपांग छन् । गोली लाग्दा उनी पार्टीको फौजी संरचना अन्तर्गत 'प्रथम डिभिजन'मातहत बटालियन कमिसार थिए । सोलुखुम्बु  चौलाखर्कका उनी शेर्पा समुदायबाट विद्रोहमा सहभागी हुने पहिलो व्यक्ति हुन् । ०५६ सालमा ९ कक्षामा पढ्दै गर्दा कर्मा माओवादी द्वन्द्वमा पूर्णकालीन भएका थिए । एमाओवादीको केन्द्रीय सदस्य भइसकेका उनी पार्टीको जातीय संगठन शेर्पा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष पनि हुन् ।

माओवादी लडाकू नेपाली सेनामा समायोजन हुनुअघि कर्मा इलामको चुलाचुलीस्थित 'प्रथम डिभिजन'का कार्यालय सचिव थिए । उक्त डिभिजनका कमान्डर यामबहादुर अधिकारी यतिबेला नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) छन् भने कर्माले पूर्णकालीन बनाएका केही कार्यकर्ता समायोजनमा सह-सेनानी (क्याप्टेन) र उप-सेनानी -लेफ्टिनेन्ट)सम्म भएका छन् । तर, उनले अपांगताकै कारण समायोजनबाट स्वैच्छिक अवकाशको बाटो रोजे । यसपछि उनलाई एमाओवादीले महाधिवेशन आयोजक समिति सदस्यमा मनोनीत गर्दै सोलुखुम्बु इन्चार्ज बनायो । ४ मंसिर ०७० को संविधानसभा निर्वाचनमा उनलाई सोलुबाट उम्मे दवार बनाएको घोषणा पनि गरियो । तर, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने बेला आफूभन्दा कनिष्ठ कज्र्याङ शेर्पाले टिकट पाएपछि कर्मा पार्टीबाट विरक्तिसकेका थिए ।

आफूले त टिकट पाएनन् पाएनन्, पाएका कज्र्याङले पनि निर्वाचनमा चौथो स्थान मात्रै पाए । आफू अपमानित भएको महसुस गर्दै कर्माले एमाओवादी राजनीतिलाई निरन्तरता नदिने निधो गरे । अनि, आफ्ना साथमा एक दर्जन सहकर्मी लिएर भारतको बनारस पुगे । त्यहाँ उनले औषधी, लत्ताकपडा, भाडाकुँडाको ने टवर्किङ व्यवसाय सुरु गरे र अहिले त्यही व्यवसायमा रमाइरहेका छन् । यदाकदा धरानतिर रहेका श्रीमती-छोरालाई भेट्न आउनुबाहेक कर्माको अधिकांश समय भारतकै सहरहरूमा बित्ने गरेको छ । भलै, व्यवसायमा पनि उनले सोचेजस्तो सफलता पाउन सकेका छैनन् । अरू विकल्पै नसोचेर किन भारत हिँडेको त ?  नेपालसँगको टेलिफोन कुराकानीमा कर्मा भन्छन्, "पार्टीले हाम्रो रगत-पसिनाको शोषण गर्नेबाहेक केही गरेन । केही थान नेतालाई सम्पन्न गराउन मात्र जनयुद्धमा सहभागी भएजस्तो भयो । त्यसैले आफ्नै लागि पसिना पोख्न अर्काको भूमितिर लागेँ ।"

-----

माओवादी फौजी संरचनाभित्र रुकुम, चौखाबाङ चुनका भीमदत्त खड्का 'सन्तोष' बिर्सनै नसकिने नाम हो । माओवादीले १० मसिर ०५८ को रात सोलुखुम्बुको सल्लेरी आक्रमण गर्दा पश्चिमबाट तिनै सन्तोषको नेतृत्वमा एक प्लाटुन लडाकू सहयोगका निम्ति आएका थिए । जसमध्ये तीन जना सल्लेरीमै मारिए भने  सन्तोषको प्लाटुनका सहायक कमान्डर रोल्पा मैकोटका अजयशक्ति पुन ११ गोली लागेर घाइते भए । आक्रमणपछि सन्तोषको टिम पश्चिम नै फर्कियो । 'जनयुद्ध'का क्रममा थुप्रैपटक संयोगले बाँचेका छन् सन्तोष । जसमध्ये दुईवटा घटना उनी कहिल्यै बिर्सन सक्तैनन् । त्यसमध्ये पहिलो, आन्तरिक दुर्घटनामा परेर बचे को र दोस्रो चाहिँ 'टाउकोमा टेकेर ढाडमा हान्ने' पार्टी योजना अन्तर्गत गण्डक क्षेत्रमा लड्न आउने क्रममा स्याङ्जाको मनकामना गमडाँडा भिडन्तमा गम्भीर घाइते भएर बाँच्न सकेको ।

फौजी आक्रमणअघि गरिने 'रेकी'का लागि सबैभन्दा बढी खट्ने र दक्ष पात्र हुन्, सन्तोष । सेना समायोजनमा नअटाएपछि लडाकूको 'दोस्रो डिभिजन' अन्तर्गत महोत्तरीको खयरमारामा रहेको 'रामवृक्ष स्मृति ब्रिगेड'को कमान्डरबाट उनले स्वैच्छिक अवकाश लिए ।

तिनै सन्तोष अहिले माओवादी 'जनयुद्ध'लाई माया मारेर जापान पुगेका छन् । माओवादी सशस्त्र द्वन्द्वमा होमिएर दर्जनौँ लडाइँ लडेका कमान्डरमध्ये जापान पुग्ने सम्भवत: सन्तोष एक्ला कमान्डर हुन् । दुई वर्षदेखि जापानमा रेस्टुराँमा काम गरिरहेको उनी त्यहाँको कमाइले दाङमा रहेका पत्नी र छोराछोरीको पालनपोषण  गरिरहेका छन् । भन्छन्, "अवकाशपछि पार्टी संरचनामा नजोडिएकाले फुर्सदिला दिन बितिरहेका थिए, त्यही बेला यता आउने अवसर मिल्यो र आइयो ।"

-----

रोल्पा, जङकोटका हरिमान पुन 'वरुण'ले माओवादी 'जनयुद्ध'मा सहभागी हुँदा कसैमाथि अन्याय-अत्याचार नहुने, धनी-गरिब समान हुने, वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय उत्पीडन र विभेद अन्त्य हुनेजस्ता मखमली सपना देखेका थिए । त्यही सपना पूरा हुने आशामा वरुण १ फागुन ०५२ मा माओवादीले निसाना ताकेको  रोल्पाको होलेरीदेखि पूर्वको काभ्रेसम्मका दर्जनौँ भिडन्तमा सहभागी भए । उनी 'जनयुद्ध'को दोस्रो चरणमा भारतमा सशस्त्र विद्रोह गरिरहेको माओइस्ट कम्युनिस्ट सेन्टर -एमसीसी)का छापामारबाट कोलकातामा प्रशिक्षण पाउने थोरै कमान्डरभित्र पनि परे । ०६० सालको सुरुतिरै माओवादीले तीनवटा 'डिभिजन' घोषणा  गर्दा वरुण 'मध्य डिभिजन' अन्तर्गत नन्दकिशोर पुन 'पासाङ'का डिभिजन सहकमान्डर भइसकेका थिए ।

द्वन्द्वकालमा वरुणको नाम पार्टीपंक्तिभित्र कतिसम्म आकर्षण र चर्चाको केन्द्रमा थियो भने छापामारहरू उनलाई भेट्न पाउँदा मात्र पनि गर्व महसुस गर्थे । ०५४ सालमै पूर्वी कमान्ड अन्तर्गत काभ्रेको विकट ठाउँमा पुगेर उनले सैन्य तालिम दिएका थिए । 'जनसेना'का पूर्वडिभिजन कमान्डर सुकबहादुर रोकाका अनुसार  विद्रोहकै दौरान विकसित हाते गि्रनेड 'एम-५२' को निर्माणकर्ता पनि वरुण नै थिए, जुन उनले ०५४ सालतिर बनाएका थिए । रुकुमको तकसेरा, डोल्पाको त्रिवेणी, प्यूठानको लुङ प्रहरी चौकी, डोल्पाको दुनै, दाङको घोराहीलगायत दर्जनौँ आक्रमणमा सहभागी हुँदै एक समय माओवादी 'जनयुद्ध'मा निकै ठूलो सम्पत्ति  मानिएका तिनै वरुण विरक्तिएर रोजगारका लागि ०६५ सालमा मलेसियातिर लागे ।

तर, उनका निम्ति मलेसिया 'दु:खीका भागमा जहिले पनि दु:ख मात्र' भनेजस्तै भयो ।

छापामार आक्रमणहरूमा सहभागी हुँदा धेरैपटक घाइते भएका उनले त्यही बेलाका चोटपटकका कारण मलेसियामा काम पाएनन् । त्यहाँ स्वास्थ्य परीक्षणमा असफल भएपछि स्वदेश फर्किएका वरुण अहिले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीको स्थायी समितिमा छन् । "जे सपना बुनेर आन्दोलनमा लागिएको  थियो, ती पूरा नहुने भएपछि निजी जीवनतिर फर्कनुको विकल्प भएन," वरुण भन्छन्, "त्यसैले मलेसिया पुगेँ । तर, निरोगिताको परीक्षामा उत्तीर्ण हुन नसकेपछि फर्किनुपर्‍यो ।"

-----

रोल्पा, मिरुलका हरिबहादुर बुढा 'नेपेरु'ले सशस्त्र द्वन्द्वमा सहभागी हुँदा दुईवटी जीवनसाथी गुमाए । 'जनयुद्ध'को सुरुआतताका उनको खोजीमा परिचालित प्रहरीले उनलाई फेला पार्न नसकेपछि २० मंसिर ०५३ मा उनकी श्रीमती सुनसरा बुढालाई नियन्त्रणमा लियो । तर, उनले गोपनीयता खोलिनन् । अन्तत: उनलाई प्र हरीले गोली हानी हत्या गरेको माओवादी दाबी छ । यसपछि पार्टीकै सुझावमा नेपेरुले अर्को विवाह गरे । त्यो दाम्पत्य जीवन पनि त्यही 'जनयुद्ध'ले खोस्यो । दोस्री श्रीमतीले पनि रोल्पा, इरिबाङमा पर्ने सुकीदहको भिडन्तमा ज्यान गुमाइन् । पार्टी पंक्तिभित्र एकदमै लडाकू र जुझारु कमान्डरका रूपमा स्थापित नेपेरु पार्टी  शान्ति प्रक्रियामा आइपुग्दा ब्रिगेड कमान्डर थिए । उनी 'जनयुद्ध'को प्रथम कारबाहीदेखि दुनै, घोराही, मंगलसेन, सन्धिखर्क, बेनी, सुनवल, बुटवल सडक खण्डदेखि तानसेन आक्रमणसम्ममा सहभागी थिए ।

पूर्वडेपुटी कमान्डर तथा तत्कालीन 'जनमुक्ति सेना नेपाल'का प्रवक्ता चन्द्रप्रकाश खनालका भनाइमा जनमुक्ति सेनाको 'फर्मेसन'मा लामबद्ध लडाकूमध्ये नेपेरु धेरैवटा मोर्चामा घाइते भएका 'जिउँदा सहिद' हुन् । उनलाई नेपाली सेनामा समायोजन हुन पाइएला भन्ने आशा थियो । आफूले सोचेजसरी समायोजनमा जान  नपाएपछि स्वैच्छिक अवकाशको बाटो रोजेका उनले पनि रोजीरोटीका लागि विदेशी भूमि नै ताके । सम्पन्न जीवनको खोजीमा नेपेरु स्वदेशभन्दा निकै बढी युद्धग्रस्त मुलुक अफगानिस्तान पुगेका थिए, ०६५ सालमा । उनलाई पनि मलेसिया पुगेका वरुणकै नियतिले पछ्यायो । स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएपछि स्वदेशमै  ठोक्किन आइपुगेका छन् ।

अहिले उनी ललितपुरको हरिसिद्धिमा बस्छन्, जहाँ उनको दुई छाकको गर्जो कुखुरापालन व्यवसायले टारिरहेको छ । नेपेरुका भनाइमा, पार्टीका तर्फबाट सेना समायोजन सम्मानजनक भएन । समायोजनबाट बाहिरिएलगत्तै पार्टीको सांगठनिक प्रक्रियाबाट विमुख बनाइयो । नवप्रवेशीलाई विज्ञ भनेर जिम्मेवारी दिइयो ।  भन्छन्, "खासमा शान्ति प्रक्रियामा आएपछि पार्टीले हामीलाई सक्षम ठहर्‍याएन, त्यसैले धेरै जनसेना आत्मग्लानि महसुस गर्दै विदेश पलायन हुन बाध्य छन् । त्यसैभित्र म पनि परेँ ।"

-----

सशस्त्र द्वन्द्वकालमा ओखलढुंगा, खिजीकातीका धु्रव न्यौपाने 'वचन' बटालियन कमान्डर थिए । सल्लेरी, भकुन्डेबँेसी, भिमान, चैनपुर, लहान हुँदै सर्लाही आक्रमणसम्मका मोर्चामा लड्दा थुप्रैपटक घाइते भए । त्यसो त ०६० सालमा सर्लाहीको बागदमारमा आन्तरिक दुर्घटनामा परेर संयोगले बाँचेका हुन् उनी । साथीले बो केको पेस्तोल पड्केर कन्चटमा लागेपछि धेरै दिन उनको होस आएन । भारतमा पुर्‍याएर झन्डै तीन महिना उपचारपछि मात्र तन्दुरुस्त भए । यसपछि पार्टीकै सुझाव र योजनामा सिन्धुलीकी दलित समुदायकी एक छापामारसँग उनको 'जनवादी विवाह' भयो । नयाँ संस्कृति र संस्कारको सुरुआत भन्दै वचनको विवाहमा  नेताहरूले लामै भाषण गरे ।

तर, शान्ति प्रक्रियामा आएको लामो समय नबित्दै उनीमाथि आफ्नै सहकर्मी र अगुवाहरूबाट हेयको व्यवहार भयो । आफू जन्मे-हुर्केको समाजले त झन् उनलाई परित्यक्त नै गर्‍यो । यसपछि माओवादी आन्दोलनसँग विरक्तिएका वचन तीन वर्षदेखि भारतको गोवामा छन्, जहाँ उनी सुरक्षा गार्डको काम गरेर जीवन निवार् ह गरिरहेका छन् । हाल उनी सपरिवार उतै बस्छन् । फेसबुक कुराकानीमा उनी भन्छन्, "हामीजस्ता लडाकूलाई न्याय गर्न नसक्ने आन्दोलनमा किन लागिएछ भन्ने लाग्न थालेको छ ।"

-----

रुकुम, दुलीका सान बुढामगर हङकङमा छन्, अहिले । एक समय उनी माओवादी लडाकूको 'पाँचौँ डिभिजन' अन्तर्गत ब्रिगेड सहायक कमान्डर थिए । त्यस्तै 'दोस्रो डिभिजन' मातहतका ब्रिगेड सहायक कमान्डर कृष्ण श्रेष्ठ 'सुनील' मलेसियाको राजधानी क्वालालम्पुरमा छन्, ०६९ सालदेखि । काभ्रे, कामीडाँडाका उनी  'सोलु-सल्लेरी ब्रिगेड' मातहत सहायक कमान्डर थिए । टेलिफोन कुराकानीमा उनी भन्छन्, "पार्टीले घर न घाटको बनाएकाले विदेशिन बाध्य हुनुपर्‍यो ।"

रोल्पा, जैमकसलाका दुर्गालाल पुन मगर 'कञ्चन' सशस्त्र द्वन्द्वमा ब्रिगेड सहायक कमान्डर थिए । यतिबेला कञ्चन मलेसियामा छन् । त्यसै गरी रोल्पा थबाङका जमिन्द्र रोक्का 'गोरिल्ला' दुबई पुगेका छन् । उनी शिविरबाट बाहिरिँदा बटालियन कमान्डर थिए । कञ्चन र गोरिल्ला लडाकूभित्र साहसी कमान्डरका रूपमा  चिनिन्थे । यी दुवै कमान्डर पश्चिम नेपालका अधिकांश भिडन्तमा सहभागी भएका थिए । गोरिल्लाका पारिवारिक आफन्तसमेत रहेका थबाङकै पूर्वब्रिगेड कमान्डर ऋषिकेशव बुढा मगर 'सविन'का अनुसार नेतृत्वले लडाकूको वैचारिक स्तर तिखार्न, मनोविज्ञान र आर्थिक स्थिति बुझ्न र व्यवस्थापन गर्न नसकेकाले  उनीहरू रुँदै रुँदै विदेश जान बाध्य भए । "नेतृत्व लडाकूलाई शिविरबाट निकाल्न हतारियो । उनीहरूको वैचारिक, सांगठनिक र भौतिक व्यवस्थापनमा ध्यान दिएन," सविन गुनासो पोख्छन्, "परिणाम, लडाकूहरू नेतृत्वप्रति दाह्रा किट्दै विदेशिए ।"

कसमा कति संख्या ?

चलनचल्तीको सैन्य संरचनामा एउटा कम्पनीमा तीनदेखि पाँचवटा प्लाटुन रहन सक्छन् । त्यसै गरी एक बटालियनमा तीनदेखि पाँच कम्पनी हुन सक्छन् । एवंरीतले एक ब्रिगेडमा तीनदेखि पाँचवटा बटालियन र डिभिजनमा पनि तीनदेखि पाँचवटा ब्रिगेड रहन सक्छन् । तत्कालीन माओवादी लडाकूको तेस्रो डिभिजनमा  पाँचवटा ब्रिगेड थिए भने अन्यमा तीनवटा मात्रै । शान्ति प्रक्रियामा आउनुअघि माओवादी सैन्य संरचनामा माथि उल्लेख गरिए अनुसारको संख्या थिएन । तैपनि, उनीहरूले त्यसलाई सेक्सन, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड र डिभिजनको नाम दिएका थिए । माओवादी विद्रोहको अन्त्य वा शान्ति प्रक्रियाअघिसम्म एउटा  डिभिजनमा एक हजारदेखि १ हजार २ सयभन्दा बढी लडाकू थिएनन् र कुल लडाकूको संख्या आठ हजारभन्दा बढी थिएन ।

समय शृंखला

फागुन ०५२ : लडाकू दल, सुरक्षा दल

जेठ ०५३ : स्क्वायड

भदौ ०५५ : प्लाटुन

मंसिर-पुस ०५५ : विशेष कार्यदल

असोज ०५७ : कम्पनी

भदौ ०५८ : रोल्पा कुरेली, औपचारिक रुपमा 'जनमुक्ति सेना' को घोषणा, बटालियन फर्मेसन

असार ०६९ : ब्रिगेड

जेठ ०६० : डिभिजन

असोज ०६२ : तीनबाट सात डिभिजनमा विस्तार

ठूला कमान्डरकै स्टाफ टाप

विद्रोहकालमा लडाकू कमान्डरहरूले 'स्टाफ' राखेका लडाकूहरू नै पार्टी र आफूले गुने/मानेका नेताहरूलाई बाईबाई गर्दै खाडी मुलुकमा पसिना बगाउन पुगेका छन् । त्यतिबेला माओवादीका कमान्डरदेखि एरिया सेक्रेटरीसम्मले स्टाफका नाममा सहयोगी राख्ने गर्थे । अहिले विदेश पुग्नेमा डेपुटी कमान्डर चन्द्रप्रकाश  खनाल 'बलदेव'का स्टाफदेखि बटालियन कमान्डरहरूका स्टाफसम्म छन् ।

चार वर्षसम्म खनालको स्टाफ रहेका गोरखा, गाईखुरका महेश पाण्डे साउदी अरबमा छन् । खनालको सहयोगीबाट बिदा हुँदा पाण्डे बटालियन कमान्डर थिए । त्यसै गरी खनालले पूर्वी कमान्डको सैन्य जिम्मेवारी लिएका बेला उनको स्टाफ रहेका ताप्लेजुङका विजय लिम्बू मलेसियामा छन् । खनाल भन्छन्, "हिजो  जनयुद्धमा सँगै रहेका, मोर्चा, भिडन्तमा सँगै घाइते भएका साथीहरूले अहिले मलेसिया, साउदी, दुबई, कतारबाट फोन गर्दा कटक्क दिल दुख्छ ।"

डिभिजन कमान्डर सुकबहादुर रोक्काका अंगरक्षक बसेका रुकुम, महतका भीमसेना बुढा मलेसिया पुगेका छन् । उनका अर्का सहयोगी कपिलवस्तुका विष्णु घर्ती मलेसियामा पुगेर फर्किसके । कुनै समय दाङको संग्रामस्थित 'दीर्घ स्मृति ब्रिगेड'की सहायक कमान्डर लीला शर्मा 'अस्मिता'की स्टाफ पनि अहिले मलेसियामा  छिन् । दाङ, बेलझुन्डीकी उषा नामकी आफ्नी सहयोगीले मलेसियाबाट फोन गरिरहने अस्मिता सुनाउँछिन् । भन्छिन्, "माओवादी नेतृत्वलाई रूपान्तरण गर्न सक्तैनौँ भन्ने भएपछि र गुमनाम जिन्दगी बिताउनुपर्ने देखेपछि लडाकूहरू विदेशिए ।"

'बीस प्रतिशत लडाकू विदेशिए'

- चन्द्रप्रकाश खनाल, प्रवक्ता, पूर्व'जनमुक्ति सेना, नेपाल'

लडाकूहरूको ठूलो संख्या विदेश पुगेछ, थाहा त छ नि ?

हो । जनयुद्धमा धेरै ठूलो दु:ख-कष्ट झेलेका, दर्जनौँ मोर्चा लडेका, घाइते भएका साथीहरू अहिले जीवन निर्वाहका लागि विदेशी भूमिमा पुगेका छन् । अहिले म अवध राज्य समितिको इन्चार्ज पनि छु । अवधमा बुझ्दा झन्डै पाँच सयको हाराहारीमा पूर्वजनमुक्ति सेना छन् । तीमध्ये २० प्रतिशत अर्थात् एक सयको  हाराहारीमा विदेश उडेका छन् । विदेशमा पनि राम्रो मुलुकमा जानेहरू न्यून छन् । अधिकांश मलेसिया, साउदी र कतार पुगेका पाइएको छ । देशभरबाट सायद अवधकै अनुपातमा विदेश पुगेका होलान् ।

हिजो समानता, न्यायका लागि पार्टीमा लामबद्ध भएका लडाकू पलायन हुनु राम्रो हो त ?

यो पक्कै राम्रो होइन । एकदमै दुखद कुरा हो । अपमानजनक ढंगबाट समायोजन भएपछि लडाकूको अवस्था दयनीय हुन्छ भन्ने थाहा थियो । त्यसैले हामीले हाम्रो नेतृत्वसमक्ष र सरकार तथा लडाकू समायोजनमा सहयोग गरिरहेकाहरूसँग बारम्बार कुरा राख्यौँ । तर, हाम्रो कुराको सुनुवाइ भएन ।

पासाङ शेर्पा "कर्मा"

जिम्मेवारी : केन्द्रीय सदस्य, ब्रिगेड सहायक कमान्डर

पूर्णकालीन : ०५६

विदेश : पुस ०७०

देश  भारत

भीमदत्त खड्का "सन्तोष"

जिम्मेवारी : ब्रिगेड कमान्डर

पूर्णकालीन : ०५४

विदेश : ०६९

देश : जापान

हरिमान पुन "वरुण"

जिम्मेवारी : डिभिजन सहायक कमान्डर

पूर्णकालीन : ०५२

विदेश : ०६५

देश : मलेसिया

हरिबहादुर बुढा "नेपेरु"

जिम्मेवारी : ब्रिगेड कमान्डर

पूर्णकालीन : ०५२

विदेश : ०६८

देश : अफगानिस्तान

ध्रुव न्यौपाने "वचन"

जिम्मेवारी : बटालियन कमान्डर

पूर्णकालीन : ०५७

विदेश : ०६८

देश : भारत

कृष्ण श्रेष्ठ "सुनील"

जिम्मेवारी : ब्रिगेड सहायक कमान्डर

पूर्णकालीन : ०५६

विदेश : ०६९

देश : मलेसिया

सान बाँठा मगर

जिम्मेवारी : ब्रिगेड सहायक कमान्डर

पूर्णकालीन : ०५५

विदेश : ०६९

देश: हङकङ

दुर्गालाल पुन मगर "कञ्चन"  

जिम्मेवारी : ब्रिगेड सहायक कमान्डर

पूर्णकालीन : ०५५

विदेश : ०६९

देश : यूएई

जमिन्द्र रोक्का "गोरिल्ला"

जिम्मेवारी : बटालियन कमान्डर

पूर्णकालीन : ०५६

विदेश : ०६८

देश : यूएई

 

प्रकाशित: फाल्गुन २५, २०७१