किशोरीको कहर

  • महिनावारीबारे घर र विद्यालय दुवैबाट जानकारीको अभाव
किशोरीको कहर

- डा बालकृष्ण साह

महिनावारी या रजस्वला वा मासिक स्राव नितान्त प्राकृतिक प्रक्रिया भए पनि यससँग अनेक अन्धविश्वास जोडिएका छन् । महिनावारीका बेला नुहाउन नहुुने, गाई र रूखबिरुवालाई छुन नहुने, ऐना हेर्न नहुने, भान्सामा जान नहुने, पूजा गर्न नमिल्ने आदि । कतिपय समाजमा त बचेखुचेका खानेकुरा खानुपर्ने चलनसमेत  छ ।

स्कुलका पाठ्यपुस्तकमा महिनावारीसम्बन्धी केही जानकारी समावेश गरिए पनि ती पाठ प्रायः पढाइँदैनन् या पढिँदैनन् । त्यसैले अधिकांश किशोरीले महिनावारीलाई समस्याका रूपमा लिन्छन् र कसैलाई भन्न सक्दैनन् । विद्यालयमा महिनावारी सुरु भएमा 'टाउको दुखेको वा पेट दुखेको' बहाना बनाउँछन् ।

विद्यालयमै महिनावारी भयो भने कतिपय किशोरी छुट्टी नभएसम्म करिब तीन घन्टा एउटै बेन्चमा बस्छन् । प्याड नल्याउँदा र साथीलाई भन्न नसक्दा किशोरीहरू मानसिक तनावमा हुन्छन् । उनीहरूलाई विद्यालयमै महिनावारी भयो भने के गनर्ेे भन्ने ज्ञानको अभाव छ ।

विद्यालयमा महिनावारी हँुदा रुमाललाई प्याड बनाउन सकिन्छ । ग्रामीण क्षेत्रमा प्याड किन्न नपाइने, पाए पनि महँगो पर्ने, राख्न तथा फाल्न समस्या हुने भएकाले कतिपयले थोत्रा लुगा प्रयोग गर्छन् । तर, सफा र सुकिलो प्याड प्रयोग नगर्दा पाठेघरमा संक्रमण हुन सक्छ । सफा सूती वा फलाटिनको कपडाको रुमाललाई  प्याड बनाउनु धेरै राम्रो हुन्छ । यस्ता रुमाललाई साबुन पानीले धोएर, घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने भएकाले कम खर्चिलो हुन्छ ।

कतिपय किशोरीको महिनावारी तीन महिनादेखि एक वर्षसम्म रोकिन्छ । त्यस्तो अवस्थामा आमालाई छोरीको कसैसँग यौनसम्पर्क भई गर्भ रहेको चिन्ताले सताउँछ । भविष्यमा गर्भ नै नरहने हो कि भन्ने भ्रम पनि छ । महिनावारीमा आउने यस्ता समस्यालाई चिकित्सकीय भाषामा एमेनोरिया भनिन्छ । महिनावारी सुरु  भएर लगातार तीन महिनाभन्दा बढी महिनावारी रोकिनुलाई सेकेन्डरी एमेनोरिया भनिन्छ । महिनावारी सुरु नै नभएको अवस्थालाई प्राइमेरी एमेनोरिया भनिन्छ ।

सामान्यतः १३-१४ वर्षदेखि नै महिनावारी सुरु हुन्छ । यो चक्र हरेक महिना २१ दिनदेखि ३५ दिनभित्र हुन्छ । तीन-चार दिनदेखि एक सातासम्म योनिमार्गबाट रगत बग्न सक्छ । अपवादमा प्रजनन अंगहरूमा खराबी, अन्डा उत्पादनको अभाव, प्रजनन र हर्मोनको असन्तुलन तथा अन्य हर्मोनको गडबढीले पनि महिनावारी  नहुने वा रोकिने हुन सक्छ । किशोरीमा हाइपोथालामस, पिट्युटरी र अण्डाशयले उत्पादन गर्ने हर्मोनहरूको बीचमा सन्तुलन नहँुदा महिनावारी रोकिने समस्या आउँछ । यी हर्मोनको सन्तुलन कायम भएपछि भने महिनावारी नियमित हुन्छ ।

पाठेघर तथा अण्डाशयमा दुई किसिमका हर्मोन -ओस्ट्रोजन र प्रोजेस्ट्रोन)को उत्पादन हुन्छ । यी दुई हर्मोनले पाठेघरको संकुचन तथा यसका भित्री तह -इन्डोमेटि्रयम) बनाउन, भत्काउन तथा महिनावारी गराउनेमा ठूलो भूमिका खेलेका हुन्छन् । यी हर्मोनको उत्पादन पाठेघर र अण्डाशयमा भए तापनि यसको उत्पादनको  नियन्त्रण मस्तिष्कमा रहेको हाइपोथालामस र पिट्युटरी ग्रन्थीको एन्टेरियर लोबले गरिरहेका हुन्छन् । महिनावारीमा यी हर्मोनबाहेक पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका हुन्छ ।

सामान्यतः अण्डाशयले उत्पादन गरेको अण्डको फर्टिलाइजेसन नभएपछि पाठेघरको भित्री तह टुक्रिन्छ र महिनावारी हुन्छ । कसै कसैमा पाठेघरको परिपक्वता ढिलो हुने तथा यी हर्मोनको उत्पादनमा असन्तुलन हुन्छ । केही किशोरीमा यी हर्मोनको सन्तुलनमा कमी तथा अन्डा उत्पादनमा आएको ढिलाइले एमेनोरिया हुने  गरेको छ ।

किशोरीमा हुने अर्को समस्या हो, तल्लो पेेटको दुखाइ । यस्तो समस्यालाई डिस्मेनोरिया भनिन्छ । हर्मोनको असन्तुलन तथा पाठेघरको अत्यधिक संकुचनले गर्दा चार-पाँच दिनसम्म दुख्न सक्छ । कसै कसैलाई अत्यधिक रक्तस्राव हुन्छ । त्यसकै कारण कमजोरी महसुस गर्ने, चक्कर लाग्ने, वान्ता हुने गर्छ । महिनावारीमा हुने  यस्तो समस्यालाई मेनोरेजिया भनिन्छ ।

किशोरी अवस्थामा पाठेघरको भित्री तह -इन्डोमेटि्रयम)को खराबीले पनि अत्यधिक रक्तस्राव हुने गर्छ । महिनावारी पीडादायक भयो भन्दैमा आत्तिहाल्न जरुरी छैन । चिकित्सक या स्त्रीरोग विशेषज्ञको परामर्श लिएर सामान्य दुखाइ कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ । मेनोरेजिया भएको अवस्थामा रगत कम हुन नदिन  आइरन चक्की प्रयोग गर्न सकिन्छ । यी समस्या आफैँ ठीक भएर पनि जान्छन् । कतिपय अवस्थामा भिडियो एक्स-रे तथा अन्य परीक्षण गर्नुपर्ने हुन सक्छ ।

 

(डा साह मोरङ सहकारी अस्पताल, विराटनगरका स्त्रीरोग तथा प्रसूति विशेषज्ञ हुन् ।)

 

प्रकाशित: फाल्गुन १०, २०७१