सहरका रकस्टार

सहरका रकस्टार

- राजकुमार बानियाँ

सारा सहर छापा मार्दा पनि रकस्टार रविन तामाङ, ५२, को हेलो नम्बर पाउन मुस्किल छ । पाए पनि फोन लाग्ने ग्यारेन्टी छैन । भूमिगत जीवनशैली बिताउने हिसाबमा उनले त्यसो गरेका होइनन् । घरीघरी फोन हराउँछ उनको । कहिले कन्सर्टमा छाड्छन्, कहिले स्टुडियो त कहिले चिया पसलमा । आफ्नै हुस्सुपनबाट हैरान रविनलाई फोन बोक्न रहर पनि लाग्दैन । बोकिहाले भने सस्तोमस्तो फोन हुन्छ । आइफोन बोक्न छाडेको महिनौँ भयो ।

ठमेलमा ६ फिटे रविनलाई 'खैरे' भनेर झुक्किने धेरै छन् । हुन पनि उनको गीत मात्र होइन, 'आउटलुक' पनि 'युनिक' छ । तीनवटा मुन्द्रा छन् कानमा । देब्रेतिर दुइटा, दाहिनेमा एउटा । नाकको मुन्द्राचाहिँ निकालेको बेला पर्‍यो । कालो ज्याकेट, कालो जिन्स र कालै ब्यागलाई उनको स्थायी मेनु भने हुन्छ । भन्छन्, "यो मेरो बनिबनाउ हुलिया होइन । फ्यानका लागि पनि होइन । बरू विदेशी हावापानी लागेको होला ।"

राउटेजस्तो फिरन्ते भयो, रविनको बाल्यकाल । बेलायती सेनाको १० गोर्खा राइफल्समा रहेका बुबाको दुई वर्षमै बटालियन बदली हुन्थ्यो । सिंगापुरमा जन्मिए उनी । कहिले हङकङमा पढे, कहिले ब्रुनाईमा । कहिले बेलायत बसे त कहिले सिंगापुर । उनी मात्र होइन, उनका दाजु-दिदीको नियति पनि त्यस्तै भयो ।

साँच्चै भनुँ भने, उनको 'फस्ट ल्याङ्ग्वेज' नै नेपाली होइन । उनले त कखग नै पढेका छैनन् । अहिले पनि देवनागरी लिपि पढ्न सक्दैनन् । अक्षर पनि राम्रोसँग चिन्दैनन् । नेपाली गीत लेखे पनि त्यो रोमनमै हुन्छ । त्यसैले पनि उनलाई आफ्नो पहिलो भाषा अंग्रेजी भन्न मन लाग्छ ।

बुबा ब्रिटिस आर्मीका मेजर थिए, आमा नर्स । बुबा तामाङ, आमा क्षेत्री । किशोरवयको उत्तरार्द्धमै भागी विवाह गरेकाले घरपरविारसँग सम्बन्ध टुट्यो । उनका बाजे दार्जीलिङ मिरकिका रहेछन्, बज्यै सिलोङका । युवाकाल विदेशमा बिताएका रविन नेपाल पनि आएनन् । नेपाली स्कुल पनि पढेनन् । त्यसैले उनको अवतार पनि अर्कै भयो ।

बाल्यकालमै जिमी हेन्डि्रक्स, डिप पर्पल र ब्ल्याक सबाथको गहिरो प्रभाव पर्‍यो उनमा । सिंगापुरको अलेक्ज्यान्डर स्कुलमा पढ्दा खोलेछन्, 'एफ ट्रुप' समूह । घरमा पनि गितारसहित तीन-चार घन्टा बाथरुममा बस्ने बानी पर्‍यो । क्यासेट प्लेयर लगेर त्यसमा आफ्नो आवाज भररिहन्थे । 'संगीत खेलेर के खाने ?' उनलाई अभिभावको प्रश्नले लखेटिरह्यो । नेपाली परविारको अपेक्षा भिन्नै हुन्छ । आफ्ना सन्तानमा डाक्टर, इन्जिनियर, पाइलटको छायाँ देख्छन् । त्यसैले त रविनका दुई दाजु डाक्टर र पाइलट बने भने दिदी शिक्षक ।

ब्रिटिस हाई स्कुलमा ए लेभल सकेपछि टोरन्टो (क्यानडा)तिर हाम फालेछन् रविन । त्यहाँबाट मेकानिकल इन्जिनियर भएर निस्िकए पनि । तर, त्यो आफ्ना लागि भन्दा पनि बाबुआमालाई खुसी राख्नका लागि थियो । त्यसरी इन्जिनियरङि पेसामै १७ वर्ष बित्यो, क्यानडामा ।

हम्बर कलेज टोरन्टोमा दोस्रो ब्यान्ड 'क्लब तामाङ' खोलेका रविन सन् १९९६ मा संगीतको सपना पछ्याउँदै ढुक्कले नेपाल आइपुगे । उनी सोझै पुगेछन्, बुबाको ठेगाना पोखरा । लेकसाइडको एम्स्टर्डम बारमा भेटिएको लुज: ब्यान्डसँग सहकार्य गरे र बन्यो 'रविन एन्ड लुज:' । नेवारी भाषामा लुज:को अर्थ रहेछ, घामको झुल्का । पहिलो एल्बम मेरो नेपालमा समावेश गरे, अरुण थापाको 'जति माया लाए पनि...,' डेनी डेनजोङ्पाको 'चिसो चिसो हावामा...,' ओमविक्रम विष्टको 'म मौनतामा अल्झिरहेको... ।'

सन् २००० मा आएको पहिलो एल्बम नै सुपर हिट भयो । 'रक एन रोल'को कुनै स्वाद नभएको ठाउँमा उनको 'करअिर' सुरु भयो । उनका एल्बमको विशेषता के भने आधाजसो गीत नेपाली हुन्छन्, बाँकी अंग्रेजी । त्यसपछि उनका आधुनिक आँगन, भूलमा भुल्यो एलबम निस्किए । त्यही बीचमा लुज:सँग छुट्टएि र बन्यो, 'रविन एन्ड न्यु रेभलुसन' । कारण बताउँछन्, "लामो समय एकै खालको काम गर्दा मोनोटनस भयो, म्युजिकको टेस्ट चेन्ज गर्न पनि त्यो आवश्यक भयो ।"

रविन एन्ड न्यु रेभलुसनको ब्यानरमा निस्किएको केटाकेटी उनकै शब्दमा, हिट खायो । त्यसपछि निस्कियो, एलबम १३,००० र हाम्रो देश । अहिले सातौँ एल्बमको तयारीमा छन् रविन । यसबाहेक शिवरात्रि, होली र नयाँ वर्षमा थुप्रै कन्सर्ट छन्, विभिन्न सहरमा । त्यसो त रविनले हिट्स एफएममा रेडियो जक्की भएर काम गरे, तीन महिना । अंग्रेजी गीतको साप्ताहिक कार्यक्रम थियो त्यो । म्युजिकमा रम्नकै लागि ठमेलमा आफ्नै रेस्टुराँ खोले, ब्याम्बो क्लब । होटल बैँसाली र फंकी बुद्धको छेउमा १४ वर्ष चलाए रेस्टुराँ । दुई वर्ष भयो छाडेको ।

रविन कति भाग्यमानी हुन् भने १८ देखि २७ वर्षसम्मका हजारौँ 'डाइहार्ट फ्यान' छन् उनका । जहाँ जान्छन्, त्यहाँ आइपुग्छन् । तिनीहरूका लागि गाउन पाउनुलाई उनी पनि अहोभाग्य सम्झन्छन् । जोस चल्यो या धामी चढ्यो भने लुगा खोलेको पनि थाहा पाउँदैनन् । मञ्चमा उक्लिएपछि 'रक स्टाइल'मा दर्शकसँग बातचित गर्छन् । उनको आदेशमा दर्शकहरू एक कदम पछाडि जान होस् या नांगै उफ्रन तम्तयार हुन्छन् ।

उनको ब्यान्डमा श्याम महर्जन (बेस प्लेयर), सनम श्रेष्ठ (ड्रमर) र दीपेश सिंह (लिड गिटारिस्ट) छन् । भोकल र रदिम गितारको मोर्चा आफैँ सम्हाल्छन् । ब्यान्डबिना उनी गाउँदैनन् । उनलाई 'लाइभ म्युजिक'मा मात्र विश्वास छ । उनले अहिलेसम्म ६० वटा गीत गाएछन् । 'सेन्टिमेन्टल' या 'मेलोडी' गीत उनी गाउँदैनन् । दर्शकले उनीसँग त्यस्तो आकांक्षा पनि राख्दैनन् । भन्छन्, "त्यो त अरू सोलो आर्टिस्टले गाएकै छन् । मैले किन गाउनुपर्‍यो ?"

उनको गीतको अर्को विशेषता सामाजिक सन्देश हो । कलाकार भएपछि उत्तरदायित्वबोध हुने उनको भनाइ छ । द्वन्द्वका बेला न्युरोड गेटमा बम पड्केपछि उनले सहनै सकेनन् । स्कुले केटाकेटी दिनहुँ मारएिका छन् । सेना र माओवादीका कारण खेल्ने ठाउँसमेत पाएका छैनन् । त्यसै कारण उनले लेखेछन्, 'केटाकेटी...।'

'म्युजिक खेलेरै' पर्यटकका रूपमा ठमेल आइपुगेकी फ्रान्सेली युवती हेलेन जुलियलाई पट्याए उनले । ३४ वर्षको उमेरमा डेटिङ मात्र गरबिस्ने फुर्सद कहाँ ? घर कहिले बनाउने ? बच्चा कहिले जन्माउने ? उनले भेटघाटको पाँच महिनामै विवाह गरहिाले । फ्रान्समै फाइन आट्र्स स्कुल पढेकी हेलेन परविारका लागि सब थोक त्यागेर नेपालमै बसिन् । १६ वर्षे दाम्पत्यलाई गुल्जार बनाएका छन्, दुई छोरी तारा, १५, र जाड, ५, ले ।

संगीतबाट कलाकार तान्ने लहर छ, पछिल्लो समय । खासमा मार्केटिङ रणनीति हो यो । स्मार्ट फ्यानले रविनलाई पनि फिल्मतिर तानिसकेका छन् । एकपटकका लागि भनेर छड्के फिल्ममा उनले आफ्नो खलनायकी प्रस्तुत गरे । त्यसपछि 'अफर' आएको आयै छ । मुखौटा र वान वेमा पनि उनको खलनायकी जम्यो । ट्रेलर र पोस्टरमा पनि उनकै एकलौटी छ । आखिर फिल्मवाला किन ग्याङस्टरकै भूमिका दिइरहेका छन् रविनलाई ? भन्छन्, "पत्याए भने पोजेटिभ रोल पनि गरुँला ।"

एकैचोटि सुपरस्टारहरूसँग काम गर्न पाउनुलाई उनी चिट्ठा नै मान्छन् । त्यसो त उनले फिल्म खेल्नुको कारण पनि युवा नै हुन् । युवा भनेका भविष्य हुन् र नेपाल बनाउन उनीहरूले मात्र सक्छन् भन्ने उनको विश्वास छ । भन्छन्, "मेरा दुई पुस्ताका फ्यान जम्मा भइसकेका छन् ।"

उनले नेपाली संगीतमा पाइला राख्दा उद्योगको रूप नै लिएको थिएन । कमाउने उद्देश्य त परै जाओस् । जसले लगानी गथ्र्यो, मुनाफा उसैले कुम्ल्याउँथ्यो । अहिले उनको पेसा संगीतभन्दा पनि कलाकारिता हो । फिल्म, कन्सर्ट, रयिालिटी सो, मोडलिङ, जिंगल उनका गुजाराका बाटो बनेका छन् ।

हुन पनि 'पाइरेसी' अर्थात् चोरीका कारण एल्बम बेचेर कमाउने अवस्था छैन अहिले । सीआरबीटी बेचेर कमाउने लोकदोहोरी मात्र हो । त्यसैले उनी दोहोरीलाई 'मनी मेकिङ गीत' भन्न रुचाउँछन् । तर, रविनलाई आफ्नो स्ट्याटसमा कुनै दु:खमनाउ छैन । "म मेरा लागि गर्छु । अरूका लागि गर्दिनँ । मलाई बिक्रीको फिक्री छैन," उनी भनिरहेका छन्, "घर छ, गाडी छ, बच्चा छन् । मलाई हेलिकप्टर चाहिँदैन । मेरा लागि दर्शकको आत्मा छुन सक्नु नै सबभन्दा ठूलो कुरा हो ।"

प्रकाशित: माघ २५, २०७१