उद्यमतिर किशोरी

  • आत्मनिर्भर हुने बाटोमा मुक्त कमलरी
उद्यमतिर किशोरी

- दुर्गालाल केसी

अरुणा चौधरी, २३, को बर्दिया राजापुरस्थित काष्ठकला पसलमा जहिल्यै किशोरीको भीड लाग्छ । कोही कलेज पोसाकमै बाँस काटिरहेका भेटिन्छन् त कोही कलेज समय भइसक्यो भनेर हतारहतार दौडिरहेका हुन्छन् । आत्मनिर्भरताका लागि सीप जरुरी छ भन्ने बुझेपछि किशोरीहरू ५ कक्षासम्म मात्रै पढेकी अरुणासँग काष्ठकला सिकिरहेका छन् ।

राजापुर-६, कुशाहीकी अरुणाले दुईमहिने तालिम लिएपछि ०६७ सालमा व्यवसाय थालिन् । नौ जना किशोरीले तालिम लिएकामा व्यवसाय थाल्ने अरुणा मात्रै हुन् । अरुणाले पतिलाई समेत काष्ठकला सिकाएकी छन् । पति शिक्षण पेसा छाडेर काष्ठकलामै लागेका छन् । अरुणालाई विभिन्न ठाउँमा तालिमका लागि बोलाइन्छ । एक महिना तालिम दिए २४ हजार रुपियाँ पारश्रिमिक लिने गरेको उनी सुनाउँछिन् । भन्छिन्, "९० भन्दा बढीलाई तालिम दिइसकेकी छु । आफूले नभ्याएका ठाउँमा श्रीमान्लाई पठाउने गरेकी छु ।"

पसलमै सिक्न आउने किशोरीले पनि उनलाई प्रतिव्यक्ति मासिक पाँच सय रुपियाँ दिन्छन् । पसलमा सामान बेचेर मात्रै मासिक १३ हजारभन्दा बढी आम्दानी हुन्छ । फोटो फ्रेम, कोठा सजावटका सामान, घडी फ्रेम, कलम राख्ने टोकरीजस्ता सामान उनी हातले नै बनाउँछिन् । घरमा खान पुग्दैन भनेर बाल्यकालमै कमलरी बसेकी अरुणा अहिले दैनिक हजारौँ रकम आम्दानी गर्ने भएकी छन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा १२ हजार ७ सय ७५ कमलरी रहेको नेपाल युथ फाउन्डेसन -नायफ)ले जनाएको छ । तीमध्ये ११ हजार ९ सय ५१ कमलरीको उद्धार भइसकेको छ । "कमलरी बसेकै कारण पढ्न पाइएन । काममा पठाए," अरुणा भन्छिन्, "पढ्न नपाए पनि अहिले आफ्नै मिहिनेतले स्वरोजगार भएकी छु । अरूलाई सीप सिकाउन पाएकी छु ।"

अरुणाजस्तै औपचारकि शिक्षाबाट वञ्चित पूर्वकमलरी किशोरी उद्यममा लागेर आत्मनिर्भर हुने क्रममा छन् । नारायणपुर-३, चारबगिया दाङकी सुशीला चौधरी, २१, दाङ र काठमाडौँमा गरी १० वर्ष कमलरी बसिन् । परविारमा चार बहिनी र दुई भाइमध्ये सुशीलाले मात्र पढेकी छैनन् । भन्छिन्, "मैले कमलरी बसेर बहिनीलाई पढाएँ । मेरो पढ्ने पालो कहिल्यै आएन ।"

घरका सबै पढेलेखेका भए पनि अहिले घरमा कमाउने सुशीला मात्रै छन् । ६ महिने सिलाइकटाइ र पाँचदिने बंगुरपालन तालिम लिएपछि मुक्त कमलरीको एक सहकारीबाट ४५ हजार ऋण लिएर उनले बंगुरपालन र सिलाइकटाइ व्यवसाय सुरु गरनि् । बंगुरबाट वाषिर्क ४५ हजार र घरमै मेसिन राखेर सिलाइकटाइबाट मासिक तीन हजार रुपियाँ आम्दानी हुने उनको भनाइ छ । अब थप खोर बनाएर उन्नत जातका बंगुर पाल्ने उनको योजना छ ।

बिजौरी-७, बकुलाहीकी राजकुमारी चौधरी, १९, सात वर्षको उमेरमै अरूका बच्चा हेर्ने काम गर्थिन् । ०६२ सालमा मुक्त भएपछि ५ कक्षा भर्ना भएर पढाइ थालेकी चौधरी अहिले बिजौरीको एक सहकारी संस्थाकी अध्यक्ष छिन् । उनले सहकारीबाट ५० हजार ऋण लिएर बंगुरका चारवटा पाठा किनिन् । चारवटै बंगुर ब्याइसकेका छन् । एउटा पाठा १२ हजार रुपियाँमा बिक्री हुन्छ । उनको सहकारीमा अहिले ६९ सदस्य छन् । सहकारीका सदस्यले ऋण लिएर बंगुरपालन, माछापालन, कुखुरापालन, खुद्रा पसल, तरकारी खेती र बाख्रापालन गररिहेका छन् ।

०६९ सालमा विवाह गरी तुलसीपुर-९, नयाँबस्तीमा गएकी राजकुमारी अझै पनि माइती गाउँको सहकारीमा नेतृत्व गररिहेकी छन् । अझै सहकारी चलाउने र व्यवसाय वृद्धि गर्दै जाने योजना छ । दिदी सीता आगोमा जलेपछि उपचारमा लिएको ऋण तिर्न नसकेर डुरुवा-६, दक्षिण कुरहरयिा दाङकी दिलकुमारी चौधरी, १७, आठ वर्षको उमेरमा कमलरी जानुपर्‍यो । उनी दाङदेखि काठमाडौँसम्म सात वर्ष कमलरी बसिन् । उनले असोज ०७० देखि गाउँकै एक सहकारीबाट २० हजार ऋण लिएर खुद्रा पसल सञ्चालन गरनि् । पसलमा दैनिक एक हजारभन्दा बढीको कारोबार हुन्छ ।

१६ वर्षको उमेरमै कमलरीमुक्त भएपछि प्रतापपुर-१, हरैयापुर कैलालीकी गीता चौधरी, २१, बि्रज कोर्ष पढेर सुरक्षा गार्डको तालिम लिन धनगढी पुगिन् । चारमहिने तालिममा उनले लट्ठी बजारनि्, स्यालुट मार्न खुट्टा उचालिन् र बिहान बिहानै दौडिइन् । धनगढीमै केही समय सुरक्षा गार्डको काम गरनि् । रातभर उभिनुपर्ने र जोखिम हुने भएपछि लागिन्, सिलाइकटाइ तालिममा । असोज ०७० देखि घरमै सिलाइ पसल खोली मासिक सात हजार कमाउँछिन् । गाउँका युवतीहरू पसलमा सिलाई

सिक्न आउँछन् ।

उनी पनि लम्की र काठमाडौँ गरी चार वर्ष कमलरी बसेकी थिइन् । भन्छिन्, "ढिलै भए पनि मुक्त भएँ र सीप सिकेँ । आत्मनिर्भर हुनु सम्मानजनक हुँदो रहेछ ।"

प्रकाशित: माघ २५, २०७१