म्यानमारका नेपाली

  • बुद्ध र गोर्खाको परिचयमै गौरव
 म्यानमारका नेपाली

- पर्वत पोर्तेल

जोगाई प्रान्तको टमु सहरस्थित दुर्गा मन्दिरमा नेपालीको बाक्लो चहलपहल थियो, ४ माघमा । अखिल म्यानमार देसिया गोर्खा हिन्दु धार्मिक संघले नेपालबाट २० पुरोहित झिकाएर गरेको सप्ताहव्यापी महायज्ञमा म्यानमारका नेपालीको धर्मप्रतिको आस्था छर्लंग हुन्थ्यो ।

संघले पुराण मात्रै लगाएको थिएन, साहित्य, कलासंगीत र खेलकुदसम्बद्ध महिनाव्यापी कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा सिंगो म्यानमारका नेपाली समुदाय सहभागी बन्यो । लाग्थ्यो, कार्यक्रम म्यानमारमा होइन, नेपालमै भइरहेको छ । "यसअघि यत्रो ठूलो जमघट भएको थाहा थिएन," स्थानीय कवि अमित घिमिरे  भन्दै थिए, "म्यानमारका नेपालीको यो ऐतिहासिक जमघट हो ।"

पुराणस्थलवरिपरि मुस्कुराइरहेका नेपाली अनुहारले त्यसलाई पुष्टि गथ्र्यो । दसैँ-तिहार होस् या तीज, नेपालीको यसै गरी भीड लाग्छ । शैली नेपालको जस्तै छ । अहिलेसम्म कुनै फेरबदल छैन । बिहेवारीमा चाहिँ बेहुलालाई फेटा लगाइदिने चलन यहाँ थपिएको छ । म्यानमारका नेपालीको भाषा प्रस्ट छ । पछिल्लो  पुस्ताबाहेक अन्यको जिब्रोले नेपाली मज्जाले फड्कार्छ । कवयित्री कुमार कँवर म्यानमारेली लबजमा चिन्ता जाहेर गर्दै थिइन््, "हामीलाई नेपाली बोल्न समस्या हुन थालेको छ, कतै नेपाली भाषा बिर्सने पो हाँै कि ?"

आशालाग्दो अवस्था

सन् २०१० को जनगणना अनुसार म्यानमारमा करिब दुई लाख नेपाली छन् । जबकि, म्यानमारको कुल जनसंख्या ६ करोडभन्दा बढी छ । "१ सय ७० वर्षअघि भेडाबाख्राझँै बेचिएर आएका हौँ," अखिल म्यानमार देसिया हिन्दु धार्मिक संघका महासचिव लक्ष्मण न्यौपानेले भने, "७० वर्षसम्म अँध्यारो युग गुजार्‍यौँ, अहिले  अवस्था राम्रो बन्दै छ ।"

तिनताका नेपालीले रूखमुनि चण्डी, रुद्री पढाएर भाषा, संस्कृति र धर्म जोगाए । सन् १९५० ताका डीआर शर्माले नेपाली भाषा र संस्कृति बचाउनका लागि एकल प्रयास गरे । न्वारान गर्न वर्ष दिन पर्खिनुपर्ने, पुरोहित नहुँदा विधिपूर्वक अन्त्येष्टि हुन नसक्ने अवस्था थियो । नेपालीका बच्चाले नेपाली भाषा बोल्न  छाडिसकेको अवस्था थियो । तर, शर्माले सिंगो म्यानमारका नेपाली गाउँ घुमेर भाषा जोगाउने अभियान सुरु गरे । पछि नेपाली संस्कृति पाठशाला बनाए ।

सन् '५० को दशक मरितरी पार लगाएका नेपालीलाई अबचाहिँ अस्तित्व जोगियो भन्ने लाग्यो । तर, सन् १९६२ मा जब म्यानमारमा सैनिकले परेड खेल्न थाल्यो, त्यसपछि धार्मिक आवरणमा खोलिएका ५०आँै नेपाली पाठशाला बन्द गराइए । यद्यपि, अग्रजहरूले चन्दा उठाएर मन्दिर निर्माण गरे । म्यानमारभर २ सय  ४५ वटा मन्दिर बने । "ती मन्दिर धार्मिक आस्थाका रूपमा बनेका थिएनन्, नेपालीलाई पठनपाठनका लागि बनाइएको थियो," इतिहासका अध्येता न्यौपाने भन्छन्, "त्यहाँ लुकीछिपी दसँै, तिहार, तीजजस्ता चाड मनाइन्थ्यो ।"

सन् १९७५ मा मन्दिरकै माध्यमबाट मोगोकमा रामचन्द्र मन्दिरका रूपमा शिक्षण समिति जन्मिएपछि नेपाली गोर्खा धर्मशाला बन्यो माण्डलेमा । देशभरि पाठशाला बने । नेपाली भाषाबोधको कक्षागत पढाइ सुरु भयो । सन् २००० सम्म आइपुग्दा म्यानमारका नेपाली अलि ढुक्क छन् । त्यसपछि समाजमा युवाको  सहभागिता आरम्भ भई नेपाली भाषामै स्नातक पढाइ सुरु भयो । "भाषा-साहित्यलाई नेपाललगायत मुलुकसँग जोड्ने हाम्रो उद्देश्य छ," अध्यापक भागवत बस्नेत भन्छन् । हाल स्नातक तहमा १७ हजारभन्दा बढी विद्यार्थीले नेपाली पढिरहेका छन् । "हामी उद्देश्यविहीन छाँै, विद्यार्थी पढिरहेका छन् तर गन्तव्य छैन," बस्ने तले भने, "यहाँ पढाउँछौँ तर सक्षम छन्/छैनन् थाहा छैन । नेपालले प्रमाणपत्र व्यवस्था गर्दा राम्रो हुन्थ्यो ।" म्यानमारलाई नेपाली संस्कृतिको 'लिभिङ म्युजियम' बनाउने अभियानमा नेपाली जुटेका छन् ।

गोर्खा र बुद्ध

छातीमा गोली थापेर बि्रटिस फौजमा रहेका अग्रजले म्यानमारको माटोलाई रंग्याएका कारण गोर्खा या नेपाली भन्नेबित्तिकै नतमस्तक हुने पनि छन् । तर, अन्य समुदायसँग अनुहार मिल्ने हँुदा तिनले कहिलेकाहीँ घृणा पनि बेहोर्छन् । "विश्वयुद्धमा मारिएका पुर्खाले बगाएको रगतका कारण आज म्यानमारमा हामी सम्मानित  छाँै," म्यानमार देसीय हिन्दु धार्मिक संघका अध्यक्ष मणिलाल पौडेलले भने, "नत्र हामी सधँै तिरस्कार र घृणामा बाँच्नुपर्ने हुन्थ्यो ।"

हुन पनि म्यानमार बचाउनका लागि जापानसँगको युद्धमा हजाराँै नेपाली मारिए । जसको चिहान रंगुनको ठल्चा भन्ने ठाउँमा सम्मानपूर्वक राखिएको छ । म्यानमार स्वाधीन भएपछि देशभित्रकै आदिवासी र जनजातिबीच गृहयुद्ध हुन लागेका बेला सरकारले गोर्खा फौज खटाएर नियन्त्रणमा लिएको म्यानमारका अगुवा ने पाली योगराज दाहाल सम्झन्छन् ।

गत महिना म्यानमारको रंगुनमा नेपालीले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी एक मन्त्रीले भगवान् बुद्धका आफन्तसँग भेट्न पाइएको टिप्पणी गरेको तथ्य पनि यहाँनेर स्मरणीय छ । म्यानमारका नेपालीलाई भगवान् बुद्धका आफन्त ठानिन्छ । "बुद्ध जन्मिएको ठाउँका मान्छे भनेर सधँै श्रद्धा गर्छन्," पौडेल भन्छन्,  "त्यसैले हामी छाती फुलाएर बाँच्न सकेका छौँ ।"

युवा पलायन

म्यानमारको टमुका प्रकाश अधिकारी, ३०, का बाबुबाजे फौजी हुन् । तर, उनी हानिए थाइल्यान्डतिर । म्यानमारका अधिकांश नेपाली युवा प्रकाशकै बाटो पछ्याइरहेका छन् । म्यानमारनजिकैको थाइल्यान्डमा उनीजस्ता ३० हजार नेपाली युवा छन् । "सेनामा पनि युवा त छन्," अधिकारी भन्छन्, "तर, ज्यादै न्यून ।"

नेपालमा झँै म्यानमारमा पनि प्रशस्त उद्योगधन्दा छैनन् । जसका कारण बेरोजगारीको संख्या दिनदिनै बढ्दो छ । पढे पनि काम नपाइने पीडा यहाँ पनि छ । काम नपाइँदा अन्ततः विदेश पलायनको विकल्प छैन । थाइल्यान्डमा घरायसी कामदेखि मार्केटसम्म नेपाली युवा भेटिन्छन् । "देशमै रोजगार भएको भए यस्तो  अवस्था आउने थिएन," अधिकारी भन्छन्, "बेरोजगारीका कारण विदेशमा पसिना बगाउनुपर्दा दुःख लाग्छ ।"

विदेश पलायन हुने अधिकांश कम आर्थिक अवस्था भएका र बेरोजगार छन् । पढेलेखेका र हुनेखानेको गन्तव्य युरोप र अमेरिका हो । "टाढा जाने हैसियत नभएका थाइल्यान्ड जान्छन्," अधिकारी भन्छन्, "विदेशबाट फर्किएर धेरैले आर्थिक उन्नति गरेका छन् । घर बनाउने, जग्गाजमिन किन्ने र व्यवसायमा लगानी गर्ने  युवा पनि छन् ।"

व्यवसायी योगराज दाहालका अनुसार विगतमा अवैध रूपमा थाइल्यान्ड जाने प्रचलन थियो । अहिले वैधानिक प्रक्रियाबाट मात्रै जान्छन् । सरकारले अस्थायी भिसाको व्यवस्था गरेको छ । अध्यागमनसँगको सम्झौतापछि मात्रै अस्थायी भिसा पाइन्छ । बर्माको किरिङ राज्य र थाइल्यान्डको मेहेसाईको सीमा पूर्वमा जोडिन्छ ।  "जसरी नेपाली युवाको गन्तव्य खाडी मुलुक हो, त्यसै गरी म्यानमारसँग सोझो सिमाना जोडिएका कारण थाइल्यान्ड बर्मेली युवाको गन्तव्य बनेको हो," दाहाल थप्छन् ।

३० वर्ष लामो द्वन्द्वमा फसेको यो मुलुकले लामो समयदेखि सैनिक शासन बेहोर्दै आएको छ । प्रजातन्त्र प्राप्तिसँगै देशमा रोजगारीको सम्भावना बढ्ने र युवाको विदेश पलायन रोकिने आशा छ । "सैनिक शासन खुकुलिँदै छ," दाहाल भन्छन्, "हामी प्रजातन्त्र प्राप्तिको सन्ध्याकालमा छाँै ।"

जो व्यापारमा चम्किए

नेपाली आहानै छ, 'बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै ।' करिब डेढ सय वर्षअघि कर्म गर्न नेपाली बर्मा पुगेका थिए । खास गरी पहिलो र दोस्रो विश्वयुद्धमा लड्नका लागि नेपालीलाई बर्मा ल्याइएको अनुमान छ । पछि पूर्वी पहाडबाट दार्जीलिङ, सिक्किम, असम, मणिपुर हँुदै नेपाली बर्मा पुगेको इतिहासकारहरूको  दाबी छ । सुरुमा कृषिमा संलग्न उनीहरू अहिले व्यापार-व्यवसायमा पनि छन् ।

भारत मणिपुरको सीमावर्ती बजार मोरे पार गरेपछि पुगिने म्यानमारको जोगाई प्रान्तस्थित नाम्फालुम बजारको हर्ताकर्ता नेपाली व्यवसायी नै छन् । यो क्षेत्र ७० प्रतिशत नेपाली व्यवसायीले ओगटेका छन् ।

यहाँका आदिवासीले 'नेपाली मारवाडी' भनेर उपमै दिएका छन् । यहाँका ठूल्ठूला कपडा, इलेक्टि्रक आइटम, कस्मेटिक, जुत्ता चप्पल होलसेल पसल नेपालीकै छन् । यो बजारबाट नेपालीले मासिक अर्बांै रुपियाँको कारोबार गर्छन् । कपडा व्यवसायी होमनाथ सिग्देलले मात्रै मासिक २० लाख रुपियाँ हाराहारीको कारोबार गछर् न् ।

मध्य म्यानमारको मान्डलेका योगराज दाहाल पेसाले कपडाका होलसेल व्यवसायी हुन् । दाहाल म्यानमारका सफल व्यवसायीको सूचीमा पर्छन् । "मासिक करोडभन्दा बढीको कारोबार गर्छु," दाहाल भन्छन्, "यहाँ मजस्ता नेपाली व्यवसायीको संख्या धेरै छ ।"

दाहालजस्ता सफल नेपाली व्यवसायी म्यानमारमा धेरै छन् । यहाँका नेपालीको व्यावसायिक छलाङ देखेर म्यानमारका रैथाने पनि छक्क छन् । उनीहरूको व्यावसायिक तरक्की ईष्र्यालाग्दो छ । कपडाका होलसेलर देवेन्द्र रिजालदेखि गाडी व्यापारी मणिलाल पौडेलसम्मका नेपालीले म्यानमारमा धनसँगै प्रतिष्ठा आर्जन गरेका  छन् ।

रुविका लागि प्रख्यात म्यानमारमा यो व्यवसायप्रति नेपालीको आकर्षण पनि कम छैन । रुविसहित बहुमूल्य नीलो, हरियो पत्थर व्यवसायी बढीजसो रंगुनमा केन्दि्रत छन् । हीरा व्यापारी म्यानमारको आर्थिक प्रगतिको एक हिस्सा मानिन्छ । "रुवि व्यवसायमा नेपालीको संख्या धेरै छ," रिजाल भन्छन्, "बर्माको अर्थतन्त्रमा ने पाली व्यवसायीको योगदान उल्लेख्य छ ।"

बर्माको राजनीति

म्यानमार हुनुपूर्वको बर्मा देशमा विभिन्न राजारजौटा थिए । १८आँै शताब्दीमा भारतलगायतका देशलाई अधीनस्थ गर्ने क्रममा बि्रटिस बर्मा पस्दा युद्ध भयो । लगत्तै सन्धि भयो, जसलाई बर्मेली भाषामा 'हेरोनाम पौसाजौ' भनिन्छ । यो नेपाल-बि्रटिसबीचको सुगौली सन्धिजस्तै हो । सन्धिपछि बि्रटिसका व्यापारी, स-साना  कम्पनीका फौज स्थायी बसोवासमा आए । सन् १८८५ मा तिवो -अन्तिम राजा)को कालमा बि्रटिसले बर्मालाई आफ्नो 'कोलोनी' बनाइछाड्यो । बर्मालाई कब्जा गर्नुअघि राजा तिवोलाई पक्राउ गरी कोलकाता लगेको इतिहासबाट पुष्टि हुन्छ । आजसम्म उनको चिहान बंगालमै रहेको अनुमान गरिन्छ ।

बर्माको स्वतन्त्रताका नायक थिए, वोजो आङ साङ । बि्रटिस उपनिवेशका विरुद्ध विद्यार्थी कालबाटै 'इनकलाव जिन्दावाद' नारा घन्काएका उनलाई राष्ट्रपिताका रूपमा श्रद्धा गरिन्छ । सन् १९४८ मा बर्मा स्वाधीन भयो । त्यतिखेर बि्रटिसले भारत छाडेको वर्ष दिन मात्रै बित्दै थियो ।

केही समयपछि बर्मा बचाउका लागि जापान बोलाइयो । जापानीको शासन झन् क्रूर र आततायी साबित भयो । तत्कालीन अवस्थामा अमेरिका, प|mान्सलगायत मुलुक सदस्य रहेको एउटा मैत्री संगठनको दबाबपछि जापान पनि बर्मा छाड्न बाध्य भयो । औपचारिक रूपमा स्वाधीन बन्न लागेलगत्तै वोजो आङ साङ मारिए  । नेविन नामक सेना प्रमुखले कू गरे ।

सैनिक शासन उल्टाउन साना-ठूला क्रान्ति भइरहे । त्यसको परिणामस्वरूप ८ अगस्ट १९८८ मा देशभरका जनता सडकमा ओर्लिए र प्रजातन्त्र मागे । जसको नेतृत्व उनै राष्ट्रपिता वोजोकी छोरी आङसाङ सुकीले गरिन् । त्यस दिनलाई 'चारवटा ८ को दिन'का रूपमा चिनिँदै आएको छ ।

चुनावमा नेसनल लिग फर डेमोक्रेसी -एनएलडी)को नेताका रूपमा सुकीले जितिन् । तर, सैनिक सरकारले सत्ता हस्तान्तरण गर्नुको साटो उल्टै सुकीलाई पक्राउ गर्‍यो । करिब २० वर्ष नजरबन्दमा राख्यो । सन् २०१० को निर्वाचनपछि थ्यान सीएन पहिले सेनाका जनरल, प्रधानमन्त्री हँुदै अहिले राष्ट्रपतिका रूपमा सक्रिय  बने । "सरकारले गोर्खा र बुद्धका कारण नेपालीलाई माया गर्छ । त्यसैले हामी सुरक्षित छाँै, हाम्रो भविष्य पनि सुरक्षित छ," युवा व्यवसायी देवेन्द्र रिजाल भन्छन् ।

 

प्रकाशित: माघ १९, २०७१