चराको अर्को स्वर्ग

  • तौलिहवा र लुम्बिनी क्षेत्र एकैपटक सबैभन्दा धेरै चरा-चुरुंगी देखिने थलो
चराको अर्को स्वर्ग

- मनोज पौडेल/कपिलवस्तु

अस्ट्रेलियन नागरिक अलेक्जेन्डर कोमिनो रूपन्देहीको तेलार नदीछेउ ५० भन्दा बढी सारसको हुल उडेको दृश्य देखेर भावविभोर भइन् । चरा पर्यटन गर्न थालेको १० वर्षमा यत्तिका सारस कहिल्यै देखेकी थिइनन् । प|mान्सेली नागरिक सिल्भर कोरेले पनि जगदीशपुरमा मरुलको जलक्रीडाबाट आनन्दित भए । चरा हेरेर  पाएको आनन्द उनी कहिल्यै भुल्न सक्दैनन् ।

विश्व सिमसार क्षेत्र जगदीशपुर ताल र विश्व सम्पदामा सूचीकृत लुम्बिनी आसपासका क्षेत्र चराप्रेमीको गन्तव्य बनेको छ । तालमा सयभन्दा बढी प्रजातिका चरा पाइने भए पनि ५० भन्दा बढी प्रजातिका चरा देखिन्छन् । तालमा जाडोका बेला हजारौँ आगन्तुक चरा छपक्कै देख्न पाइन्छ । असोज दोस्रो साताबाट आउने  चराहरू फागुन पहिलो साता र्फकन थाल्छन् । ताल आसपास घाँसे मैदानमा पाइने सानो दुर्लभ कासे घाँसे चरीदेखि उड्न सक्ने चरामा सबैभन्दा अग्लो दुर्लभ सारस यहाँ प्रशस्त छन् ।

तालमा सिमसारमा आश्रति ६१ र अन्य ५७ प्रजातिका गरी १ सय १८ भन्दा बढी प्रजातिका चरा पाइने नेपाल पक्षी संरक्षण संघको तथ्यांक छ । विश्वमै दुर्लभ चरामध्ये ११ भन्दा बढी प्रजाति सजिलै देख्न सकिन्छ । यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत मुलुकबाट  चरा आइपुग्छन् ।

यहाँ हिउँदे प्रजातिका गडबाल, बिजुला गैरी र युरेसिया विजनदेखि हाँस प्रजातिका सुनजुरे, मालक र खडखगे प्रशस्त देखिन्छन् । त्यस्तै घाँसे मैदान मन पराउने ट्याकट्याके र टिकटिके, कैलो टाउके, सुडसुडिया, सिउरे डुबुल्की चरा र जलेवा पनि प्रशस्त देखिने गरेको वरिष्ठ चराविद् हेमसागर बराल बताउँछन् ।  जाडोका बेला हिउँले आहार नपाउँदा चराहरू तीनदेखि पाँच दिन लगाएर यता आउँछन् ।

मनमोहक देखिने तालमा चराको जलविहार, चिरविराहट र कलरव जलक्रीडाले मानवीय जीवनलाई निकै रोमाञ्चित बनाउने चराविद् हठन चौधरीको अनुभव छ । उनको भनाइमा जगदीशपुरले कोसीलाई मात खुवाउन थालेको छ । जति चरा यहाँबाट देखिन्छ, त्यति चराको स्वर्ग मानिने कोसीमा पनि देखिँदैन । यसलाई  संरक्षण स्थल जोगाइराख्न सकियो भने मुलुकको मात्र नभई विश्वमै चरा अवलोकनको उत्कृष्ट गन्तव्य बन्ने उनको निष्कर्ष छ ।

तालको चारैतर्फ खेत र बालीनाली हुने हँुदा यहाँ प्रशस्त आहारविहार पाइने र सुरक्षित महसुस गरेकाले चराको संख्या बर्सेनि बढ्दै गएको छ । जगदीशपुर ताल नेपालमै सबैभन्दा बढी आगन्तुक चरालाई आश्रय दिने स्थल बनेकोे चराविद् दिनेश गिरी बताउँछन् ।

तीन-चार वर्षयता जगदीशपुर ताल एकै ठाउँबाट एकैपटक सबैभन्दा धेरै चरा अवलोकन गर्ने ठाउँ भएको सर्प तथा कछुवा विशेषज्ञ प्रोप|mेसर करणबहादुर शाह बताउँछन् । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि जगदीशपुरमा भने चरा बढ्नु राम्रो वातावरणको संकेत भएको उनको भनाइ छ ।

निग्लिहवा गाविसको १ र ४ वडामा पर्ने जगदीशपुर ताल हजारौँ चराचुरुंगीको बासस्थान हुन थालेपछि सन् २००३ मा यस क्षेत्रको संरक्षणका लागि सरकारको पहलमा रामसार सचिवालयबाट विश्व सिमसार क्षेत्रको रूपमा सूचीकृत भएको थियो । यो १ सय ५७ हेक्टरमा फैलिएको कृत्रिम रूपमा बनाइएको नेपालको  सबैभन्दा ठूलो ताल हो ।

कपिलवस्तुका घाँसै मैदान, खेतबारी र ताल आसपास विश्वमै दुर्लभ मानिए पनि लोप हुने अवस्थामा पुगेका सानो खैरो, सुन र डंगर गिद्ध सजिलै देख्न सकिन्छ । विश्वमा दुर्लभ मानिएका लघु महाचिल, जीबाहर महाचिलका साथै भँुडीफोर गरुड, हिमाली र सेतो गिद्ध पनि ताल क्षेत्रमा प्रशस्त भेटिन्छन् ।

कपिलवस्तु नगरपालिका-४, देवानगढियाको एक हेक्टरलाई चमेराको विशेष संरक्षण क्षेत्र बनाइएको छ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाहेक संरक्षण क्षेत्र घोषणा गरिएको यो नेपालमा पहिलो भएको संरक्षणकर्मी सलु अधिकारी बताउँछिन् । अझ चमेराको त मुलुककै पहिलो संरक्षण क्षेत्र भएकाले यसको महत्त्व बढेको  उनले बताइन् । यहाँ पाँच सयभन्दा बढी राज चमेरा छन् ।

रूपन्देहीका घाँसे मैदान, खेत, लुम्बिनीस्थित पोखरी र आसपासका क्षेत्र चराका लागि उर्वर छ । लुम्बिनी आसपास दुई सयभन्दा बढी प्रजातिका चरा सजिलै देख्न सकिन्छ । त्यसमध्ये नेपालमा पाइने विश्वकै दुर्लभ ३३ मध्ये १३ प्रजातिका चरा यहाँ देख्न पाइने भएकाले पनि चराले यहाँ आउनेलाई लट्ठयाउने गरेको छ ।  यस क्षेत्रमा विश्वका दुर्लभ सारस, भुँडीफोर गरुड, कपिन्जल तित्रा, रणमत्त महाचिल, बोक्सी चिल र डंगर गिद्ध खेतबारीमा पस्नासाथ देखिन्छ । अझ सारसको हुल हेर्न मन लागे लुम्बिनी-भैरहवा सडक खण्ड अन्तर्गत पर्ने तेलार, दानव र तिनाउ खोला आसपासका क्षेत्र सजिलै चराप्रेमीको रोजाइमा पर्छ ।

अग्लो सारसको बच्चा हेर्न मन लागे असोज-कात्तिकमा रूपन्देहीको एकला गाविसको लुम्बिनी विकास कोष भवननजिकै रहेको पोखरीमा गए धीत मर्ने गरी हेर्न सकिन्छ । त्यहाँ अग्लो पक्षी ओथारो बसेको प्रत्यक्ष हेर्न पाइन्छ । अझ ठूलो बथानमा ओथारो बसेको हेर्न मन लागे रूपन्देहीको सूर्यपूरा-७, नन्दननगरस्थित  सिमलको रूखमा जान सकिन्छ । त्यहाँ साउन-भदौतिर २ सय ५० भन्दा बढी जोडी भुँडीफोर गरुड ओथारो बसेका हुन्छन् । नेपालमा करिब १० हजारको संख्यामा रहेका अनुमान गरिएको भुँडीफोर रूपन्देही र कपिलवस्तुमा मात्र तीन हजारभन्दा बढी छन् । संकटापन्न हुँदै गएको चराको ठूलो संख्या देखिनु राम्रो संकेत  भएकाले चराविद्हरू खुसी छन् ।

दुवै जिल्ला चरा हेरेर आनन्दित हुनेलाई मात्र नभई अध्ययन-अनुसन्धानका लागि पनि उत्कृष्ट स्थल बनेको छ । दुई वर्षदेखि अस्ट्रेलियाको चाल्र्स स्टर्ट विश्वविद्यालयका वातावरण विज्ञानका विद्यार्थी सय पूणर्ांकको अन्तर्राष्ट्रिय प्रयोगात्मक अध्ययनका लागि कपिलवस्तु र रूपन्देहीका ताल, खोला र घाँसै मैदान आइपुग्छन् ।  उनीहरू तराईमा स्थानीय समुदायले चरा र सिमसारको संरक्षण गरेको देखेर फुरुंग हुन्छन् ।

 

प्रकाशित: माघ १९, २०७१