कुलतविरुद्ध एक्लो अभियन्ता

कुलतविरुद्ध एक्लो अभियन्ता

- कुम्भराज राई

अस्पतालले मृत घोषित गरी शवगृहमा लैजान निर्देशन दिइसकेको थियो । घरभरि मलामी जम्मा भइसकेका थिए । तर, अचानक मृत्युशय्याबाट ब्यूँझिएपछि आफन्तबीच रुवाबासी मच्चियो । त्यसपछि आफ्नो पुन:जन्म भएको मान्छन्, सिद्धिचरण नगरपालिका-३ ओखलढुंगास्थित तिलक राई, ४२ ।

जाँडरक्सीकोे कुलतले परिवारले माया मारिसकेका राई अहिले जिल्लामै कुलतविरुद्धका जुझारु अभियन्ता हुन् । सात वर्षअघि नयाँ जीवन पाएपछि उनले एक त कहिल्यै कुलतमा नफस्ने निर्णय गरे, अर्को आफूजस्ता कुलतमा लागेकालाई छुटाउने प्रण गरे । हालसम्म उनको अभियान जारी छ ।

सुरुमा ओखलढुंगा 'सामुदायिक अस्पताल मिसन'को उपचार शिविरका क्रममा १६ जना मिलेर 'लालुपाते समूह' नाम दिई अभियान थाले । हालै 'लालुपाते क्लब' नामको संस्था नै दर्ता गरी काम गरिरहेका छन् । संस्था स्थापना गर्ने प्रेरणा पाटन अस्पतालका चिकित्सक विश्वदेव शर्माले दिएको तिलक सम्झन्छन् । "दुव्र्यसनी मुक्त गर्ने त्यस्ता थुप्रै  पुन:स्थापना केन्द्र नेपालमा छन्," राई भन्छन्, "तर, देशभरि रहेका पुन:स्थापना केन्द्रभन्दा यो क्लब फरक छ । हामी कसैलाई नियन्त्रणमा नराखी सफल उपचारमार्फत कुलत मुक्त गराउछौँ ।" अझ कुलतमा फसेकालाई औषधीसँगै परामर्श पनि दिलाउँछ क्लबले ।

कक्षा १० सम्मको अध्ययन गरेका तिलकको परिवारमा आमाबुबासँगै पत्नी, एक छोरा र छोरी छन् । उनी दाजुभाइमध्ये कान्छा हुन् । २५ वर्षको उमेरदेखि कुलतमा फसेका उनको करिब १० वर्ष कुलतमा बित्यो । "मैले जाँडरक्सी छाडेपछि समाजले हेर्ने दृष्टिकोण पनि फेरिएको छ," उनी पुराना दिन सम्झन्छन्, "त्यस बेला त मैले बोलेका कुरामा  समाजले विश्वास नै गर्दैनथ्यो । न त कुनै इज्जत नै थियो ।"

लालुपाते क्लबले दुई तरिकाबाट काम गरिरहेको छ । एक- आफैँले देखेर, भेटेर बिरामी ल्याउने, अर्को- अस्पतालको सम्पर्कमा उपचारका लागि आउने बिरामीलाई उपचार गराउने । उपचारका लागि आउने बिरामी लालुपातेको सदस्य बन्ने गर्छन् । उनीहरूलाई पाँच दिनसम्म औषधी उपचार अस्पतालले गर्छ भने अस्पतालका परामर्शदाता र राई आफैँले  परामर्श दिने गर्छन् । हालसम्म लालुपाते क्लबमा छिमेकी जिल्ला सोलुखुम्बु, खोटाङका सहित १ सय ७५ जना सदस्य भइसकेका छन् । त्यसमध्ये तीन सदस्यले कुलतकै कारण जीवन गुमाए । अन्य १ सय ५० सदस्य दुव्र्यसनबाट पूर्ण रूपमा मुक्त छन् ।

राई आफ्नै खल्तीबाट सक्दो खर्च गर्छन् । कुनै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाले उनी र उनको संस्थालाई सहयोग गरेको छैन । तैपनि, यस्तो काममा सक्रिय हुन पाउँदा आत्मसन्तुष्टि मिलेको उनी सुनाउँछन् । दुई महिनाअघि मात्रै उनकै पहलमा आफ्नो गाउँ वरिपरिको अस्पताल क्षेत्रदेखि पाँच सय मिटर क्षेत्रलाई मदिरा निषेधित घोषणा गरेका छन् ।  राई समुदायको बाहुल्य भएको गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउनु चुनौती मात्र नभएर जिल्लाभित्रकै पहिलो नमुना काम भएको छ । जाँड, रक्सी, गाँजा, चरेस जस्तोसुकै कुलतमा फसेकालाई उनको सुझाव छ, "आफँैलाई पिएर रमाउनुभन्दा जीवन त अरूकै सेवामा झन् रमाइलो छ ।"

प्रकाशित: माघ १२, २०७१