बाईबाई नेपाल

बाईबाई नेपाल

- यशोदा तिम्सिना

०५६ सालको कुरो हो । 'संवाददाता आवश्यकता'सम्बन्धी विज्ञापनलाई पछ्याउँदै म कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेकी थिएँ, निवेदन दिन । सयौँ मान्छेबाट छानिएर दर्जनौँमा आइपुग्दा पत्रकारिताप्रतिको मोह अझ बढेको थियो । लिखित/मौखिकलगायतका प्रक्रियाबाट गुजि्रएपछि चार जना संवाददाता छानियौँ ।

पत्रकार विजयकुमार पाण्डेको नेतृत्वमा पत्रकारिता गर्न सम्भव छैन भन्नेहरू एकातिर थिए भने अर्कातिर यस्तो अवसर कमैलाई मिल्छ पनि भन्थे । नियुक्तिपत्र लिएको सात महिनापछि नेपाल पाक्षिक बजारमा आएको थियो । भारतको राजधानी नयाँदिल्लीमा चिल्लो कागजमा छापिएर आएको पत्रिका सम्पादकको कायर् कक्षमा बसेर धेरै बेर सुमसुम्याएका थियौँ ।

ठूलो 'टिम' थिएन । तर, काम गर्न सजिलो पनि थिएन । हामीलाई कम्प्युटरमा टाइप गर्नसमेत आउँदैनथ्यो । केही महिनापछि नेपालमा संवाददाताका रूपमा जोडिए, दिनेश वाग्ले । उनले हामीलाई कम्प्युटरमा साक्षर बनाइदिए । र, आ-आफ्ना नामका 'हटमेल एकाउन्ट' खोलिदिए । ०५८ सालमा जर्मनी पुगेर पहिलो  इमेल सम्पादक विजयकुमारलाई लेखेकी थिएँ ।

त्यसपछिका दिन फर्केर हेर्दा भन्नैपर्ने हुन्छ, मिडियामा ठूलो क्रान्ति भएको छ । सूचनाप्रविधिका क्षेत्रले मारेको फड्को उल्लेख गर्नै परेन । राजनीतिक रूपमा पनि धेरै उतार-चढाव भएका छन् । बाहिरको कुरो के गरौँ, नेपालमै ६ जना सम्पादक फेरिए । अरू पनि धेरै साथी यसबीचमा आए, गए ।

पछिल्लो समय अझ जुझारु, पढेलेखेका र पत्रकारिताको विकासक्रमसँग अद्यावधिक साथीहरू नेपालमा प्रवेश गरिरहेका छन् । नेपालमा काम गर्छु भन्नुको गौरवबोध हुन्छ । यति वर्ष काम गरेपछि एउटा परिवारकै रूपमा लिएकी छु नेपाललाई । कतिसम्म भने सर्वाधिक काला दिनमा र खुसीका अवसर साट्ने दोस्रो परिवार  नै नेपाल हो । नेपालमै काम गरिरहँदा म नेपाल पत्रकार महासंघको नेतृत्वमा पुगेकी हुँ ।

१५ वर्ष भएछ, मेरा जीवनका ऊर्जाशील दिनहरू नेपालमा बितेको । यसबीचमा मैले नेपालबाट धेरै कुरा प्राप्त गरेकी छु । प्राय: सबै जिल्लाको भ्रमण गरेकी छु । विविध रंगका संस्कृति र संस्कारसँग साक्षात्कार गरेकी छु । विदेशका राम्रा इन्स्टिच्युटबाट तालिम लिन पाएकी छु । करिब दुई दर्जन देशको भ्रमण गरेकी छु ।  देश दुनियाँ हेर्ने यो अवसर प्राप्तिमा धेरै भूमिका नेपालको छ ।

१५ वर्षमा जम्मा दुईपटक मैले नेपाल छोड्न चाहेँ । एक दैनिक अखबार निस्कन लागेको थियो । त्यसमा काम गर्न 'अफर' आयो । सबै कुरा मिलिसकेको थियो । नियुक्तिपत्रमा हस्ताक्षर गर्ने बेलामा सोचेँ, एकपटक कैलाश सिरोहिया (त्यस बेला प्रबन्ध निर्देशक) सरलाई नभेटी कसरी छोड्नु ? जानपहिचानका पत्रकारले  मलाई नियुक्तिपत्रमा हस्ताक्षर गराउनै लागेका थिए । सँगै उभिएका दुई पत्रकारले मेरै अगाडि नियुक्तिपत्र लिए । मचाहिँ भोलि बिहान आउँछु भनेर निस्किएँ । फर्किएर कैलाश सरलाई बेलीविस्तार लगाएँ । मेरा कुरा सुनेपछि नजानेझैँ गरेर सोध्नुभो, "के नेपाली अखबारमा काम गर्न जान लागेको ?" "हो," मेरो जवाफ  थियो । "त्यो दैनिक हो ?" "हो ।" "उसो भए यहाँ दैनिक त्यो पनि नेपाली/अंग्रेजी दुवै छ । म्यागेजिन, साप्ताहिक, मासिक, रेडियो सबै छ । जेमा काम गरे पनि हुन्छ । अनि, किन जाने ?" त्यसपछि मसँग जवाफ थिएन । म केही नबोली निस्किएँ ।

त्यसको केही वर्षपछि ०६३ सालमा कान्तिपुरकै फोटो पत्रकार नरेन्द्र श्रेष्ठको बिहेमा भेट भयो सुधीर शर्मा (हाल कान्तिपुरका प्रधान सम्पादक)सँग । सामान्य भलाकुसारीपछि शर्मालाई भनेँ, "अब नेपाल छोड्छु होला ।" ठोस योजना केही थिएन । उहाँले 'उत्तम विकल्प नभई नछोड्न' सल्लाह दिनुभो । यो कुरा  रामबाणजस्तै लाग्यो । उहाँ भर्खर नेपालको सम्पादकबाट बाहिरिएको अवस्था थियो त्यो । अनुभवले त्यो भनेको हुनुपर्छ भन्ने लाग्यो । त्यसपछि कुनै दिन नेपाल छोड्ने सोच आएन ।

२७ पुस आइतबार नेपालको सम्पादकीय समूहको नियमित बैठक भयो । मेरो भूमिका अरू बैठकमा जे हुन्थ्यो, त्यस्तै रह्यो । म नेपाल छोड्दै छु भन्ने कुरा पनि मेरो दिमागले मान्न तयार भएन । सूचना आयोगको आयुक्तमा नियुक्त भएपछि नेपालबाट राजीनामा गर्नु नैतिक एवं कानुनी कुरो थियो । २९ पुस मंगलबार  दिउँसो सहकर्मी ईश्वरी ज्ञवालीको सहयोगमा राजीनामा पत्र तयार गरेँ । प्रधान सम्पादक प्रशान्त अर्यालले राजीनामा स्वीकृत गर्दै गरेको दृश्य हेर्न नसकेर बाहिरिएँ ।

त्यसपछि कैलाश सरलाई भेट्न गएँ । कैलाश सर छैटौँ तलामा बस्नुहुन्छ । त्यहाँ आक्कलझुक्कलबाहेक पत्रकारहरू पुग्छन् जस्तो लाग्दैन । किनभने, उहाँसँग पत्रकारको खासै काम पर्दैन । भेट्नासाथ उहाँले 'यति ठूलो जिम्मेवारीमा पुगेकामा कान्तिपुर मिडिया ग्रुप गौरवान्वित छ' भन्नुभयो । निस्कने बेलामा भन्नुभो, "छोरी बिहे गरेर पठाउन लागेको हो, माइती आउन केहीले छेक्दैन ।" यसपटक पनि मसँग उहाँलाई भन्ने कुरा केही थिएन । र, जवाफ नदिएरै बिदा भएँ । बाईबाई नेपाल !

प्रकाशित: माघ ४, २०७१