धमाधम बगैँचा-पार्क

  • राजधानीको सुन्दरता निखार्ने प्रयास
धमाधम बगैँचा-पार्क

- यशोदा तिम्सिना

साँझ परेपछि नगरवधूको मोलतोल हुने ठाउँका रूपमा बदनाम रत्नपार्कमा पस्न अब सरम मान्नुपर्ने छैन । तर, त्यहाँ पहिलेजस्तो बिनाटिकट घुम्न पाइने छैन । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मात्र खोलिनेछ, रत्नपार्कको मूलद्वार ।

सार्क सम्मेलनको मेसोमा काठमाडौँ महानगरपालिकाले रत्नपार्कको सौन्दर्य ब्यूँताउने प्रयास गरेको हो । यहाँ बारका साथै पोखरी र बालबालिकाका लागि पिङजस्ता संरचना पनि थपिएका छन् ।

रत्नपार्कलाई फुर्सदमा टहलिने सुन्दर स्थान बनाउने महानगरको योजना छ । महानगरका वातावरण व्यवस्थापन प्रमुख रविनमान श्रेष्ठ भन्छन्, "बालबालिकाका साथै स्वच्छ वातावरणमा केही छिन बस्न चाहनेलाई पनि यो ठाउँ उपयुक्त बनाइनेछ ।"

सहरको बीचमा अवस्थित रत्नपार्क सार्वजनिक यातायातका लागि पनि सजिलो छ । यसर्थ, रत्नपार्क पुग्न सजिलो हुनेछ । अपेक्षाकृत मर्मत सम्भार नसकिए पनि बिस्तारै लगानी थप्दै जाने कार्यक्रम छ महानगरको । आर्थिक व्यवस्था विभाग प्रमुख बुद्ध मानन्धरका  अनुसार सार्क सम्मेलनका क्रममा रत्नपार्कलाई सिँगार्दा करिब ७५ लाख रुपियाँ खर्च भएको छ । फाउन्टेन निर्माण, घुमुवाका लागि सुलभ र सजिलो बस्ने व्यवस्था, पानी, फलफूल किन्न पाउने व्यवस्था हुने क्रममा छन् । "अबका दिनमा पार्क आत्मनिर्भर बनोस्  भन्ने उद्देश्यले टिकटको व्यवस्था गरिएको छ," मानन्धर भन्छन् ।

त्यति मात्र होइन, आगन्तुकलाई महानगरका कर्मचारीले फोहर नगर्न र गरेमा दण्डित हुनुपर्नेमा सचेत गराउनेछन् । निश्चित ठाउँमा फोहर संकलनका लागि 'डस्टबिन' राखिनेछ । 'जति जनता सचेत, उति छेउछाउको वातावरण सफा' भन्ने नारासहित महानगरले  रत्नपार्कलाई यसरी नवजीवन दिन लागेको हो ।

वनस्पति विभागले सार्क सम्मेलनकै अवसरमा भक्तपुरको सल्लाघारी, तीनकुनेमा पनि उद्यान बनाएको छ । करिब १७ लाख बजेट तर्जुमा भएको अरनिकोको सालिक भने बनिसकेको छैन । वन विभागले अघि सारेको नारा 'एक नगर, अनेक उद्यान' कार्यक्रम अन्तगर् त भक्तपुर नगरपालिका, स्थानीय उपभोक्ता र वनस्पति विभागको सक्रियतामा उद्यान निर्माण सम्पन्न भएको हो । यसको सफलतालाई अरू उद्यान निर्माणमा पनि नमुनाका रूपमा प्रस्तुत गर्ने योजना विभागको रहेको विभागकी वनस्पति वैज्ञानिक संगीता स्वाँरको  कथन छ ।

स्वाँरका अनुसार विभागले लाजिम्पाटको रानीवनमा पनि उद्यानका लागि पहल गरिरहेको छ । यस वर्ष उद्यानमै ५० लाख रुपियाँ खर्चने विभागको योजना छ । महानगरपालिका, वन विभागलगायतसँग मिलेर विष्णुमती नदी किनार, बल्खु, नयाँ बानेश्वर हाइट,  महाकांल चौर बौद्ध, टेकु ट्रान्सफर स्टेसन, वाग्मती नदी किनारलगायत स्थानमा उद्यान थप्ने योजना छ ।

सार्क सम्मेलनकै सेरोफेरोमा सहरी विकास मन्त्रालयले पनि नागपोखरीस्थित गुठी संस्थानको जग्गामा सानो उद्यान बनाएको छ । मन्त्रालयका प्रमुख विकास आयुक्त योगेश्वर पराजुली भन्छन्, "तत्काललाई उपत्यकामा १० वटा उद्यान बनाउने योजनामुताबिक  काम भइरहेको छ । सहरभित्र फराकिलो जग्गा पाउन मुस्किल छ ।" मन्त्रालयले गोकर्ण ल्यान्डफिल्ड साइट भएको ठाउँ र ललितपुरको नागदहमा पनि उद्यानका लागि अध्ययन गरिरहेको छ ।

उसो त महानगरपालिका पनि अन्य सरकारी निकायसँग मिलेर उद्यान थप्ने ध्याउन्नमा छ । तर, ठूलो परिमाणको जग्गाको अभाव र सरकारी निकायबीच समन्वय नभएका कारण काम तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

सुके फूल-बिरुवा

मंसिर पहिलो साता विदेशी पाहुनालाई देखाउन भर्खर पिच गरिएका सडक सफा थिए र हराभरा पनि । अहिले क्रमशः तिनको रूपरंग  खुइलिँदै छ । मौसमी फूल राम्रोसँग नफक्रिँदै मुर्झाए । बिरुवाहरू तुषारोका कारण पतझड भएका छन् । अर्कातिर तिनको  उचित स्याहार, सुसार र रेखदेख पनि खड्किएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन प्रमुख रविनमान श्रेष्ठका अनुसार सार्कका समयमा विभिन्न ठाउँमा ४ सय ५० वटा गमला राखिएका थिए । निजी कम्पनीले तोकेर लिएका ठाउँबाहेक कलंकी, सोल्टीमोड, पुतलीसडक, प्रदर्शनीमार्ग, सुन्धारा, त्रिपुरे श्वरलगायतका क्षेत्रमा उसले गमलामा बिरुवा रोपेको थियो । सिमेन्टको गमलाको भाउ २ हजार २ सय रुपियाँ छ । गमला खरिदमा चारवटा इन्टरप्राइजेजले टेन्डर हालेका थिए । कम लागतका आधारमा छनोटमा परेका कुशल इन्टरप्राइजेजका प्रोप्राइटर  ताराप्रसाद ढकाल भन्छन्, "साइज नमिलेर गमला बनाउन र पुर्‍याउन सकस भयो । फलाम हालेर बनाइएकाले दह्रोचाहिँ हुन्छ ।"

माटाका गमला बटुवाले फुटाउने र चोरी हुने भएकाले यसपटक सिमेन्ट प्रयोग गरिएको श्रेष्ठको भनाइ छ । रबरका गमलाले घामपानी सहन नसक्ने भएकाले प्राथमिकतामा नपरेको उनको भनाइ छ । पाँच सयवटा गमलामा रोप्न ३ हजार ५ सयवटा बिरुवा  किनिएका थिए । गमला त्यति थोरै, बिरुवा यति धेरै, एउटामै सातवटा रोपिए त ? श्रेष्ठले अलमलिँदै भने, "केही बिरुवा सडकका दायाँबायाँ पनि रोपिए ।" उनका अनुसार ती बिरुवालाई ६ सयदेखि पाँच हजार रुपियाँसम्म परेको छ । ती बिरुवा पनि आधाभन्दा बढी  मरे । केही भाँचिए । केही चोरिए ।

त्यसो त वनस्पति विभागले उपत्यकाको हावापानीलाई हेरेर पारिजात, राजविच्छे, पैयुँ, फिरफिरे, समी, कपुर, मयूर, धुपीलगायत बिरुवा सिफारिस गरेको थियो । श्रेष्ठ भन्छन्, "घरमा रोप्न मन पराइने भएकाले पारिजात सबैभन्दा बढी चोरियो ।" वनस्पति  विभागसँग उपत्यकामा लगाउने बिरुवाको नाम मागे पनि महानगरले कुन याममा लगाउनेबारे छलफल गरेन । विभागले कम्तीमा ६ फुटका बिरुवा रोप्न सल्लाह दिए पनि महानगरले जस्तो पाइन्छ, त्यसैमा काम चलायो । विभागका दीपक लामिछाने भन्छन्,  "असारमा रोप्ने बिरुवा कात्तिकमा रोप्दा फस्टाउने कुरै भएन ।" स्मरणीय के छ भने महानगरमा वनस्पतिविज्ञ छैनन् ।

रोप्ने मौसम नमिलेकाले अधिकांश बिरुवा मरेको अनुमान छ । बिरुवा मर्नुको अर्को कारण रेखदेखको कमी पनि हो । पर्याप्त जनशक्ति नभएकाले बिरुवाको उचित रेखदेख हुन नसकेको महानगरका श्रेष्ठको तर्क छ ।

यस्तै मौसमी फूलका दुई हजार बिरुवा किनिएका थिए, सार्कको समयमा । तिनको नाम र काम नै मौसमी भएकाले अधिकांश मरिसकेका छन् । एउटा फूलको दाम सालाखाला चार सय रुपियाँ परेको थियो । "एकै ठाउँमा दसवटा बिरुवा भएको बाह्रमासे फूलको  दाम चार सय पर्‍यो, एक सातामै मर्‍यो," महानगरका एक कर्मचारी ठट्टाको भावमा भन्छन् । महानगरका लेखा शाखा प्रमुख बद्री खड्काका अनुसार न्यु बेन्जामिन इन्टरप्राइजेजमार्फत टेन्डर गरेर फूल ल्याइएको हो । हिउँदमा मर्ने फूलका बिरुवा रोपिएकाले  अहिले ती रोपेकै ठाउँमा सुकिसकेका छन् । वनस्पतिविज्ञ संगीता भने मौसमी फूल सुकेका ठाउँमा नयाँ फूल रोप्ने उपाय सुझाउँछिन् । भन्छिन्, "मौसमी फूल वर्षको चारपटक फेर्नुपर्छ ।"

निकट भविष्यमै उपत्यकामा पाँच हजार बिरुवा थप्ने योजना छ महानगरको । बाटोघाटोमा देखिएका बिरुवा र फूल सुकेको देखेका सर्वसाधारणको सुझाव छ, बरू थोरै रोप्नू तर सर्ने किसिमले र हरियाली छाउने खालका ।

 

प्रकाशित: पुस २७, २०७१