शारदाको समर्पण

शारदाको समर्पण

- यशोदा तिम्सिना

१६ वर्षको उमेरमै छिमेकी केटासँग माया बस्यो, शारदा चन्दको । उनी बोहराकी छोरी, केटा थिए, ठकुरी चन्द । तैपनि, यसलाई अन्तरजातीय विवाहको नाम दिइयो । केटाको परिवारले ठकुरी केटी चाहिन्छ भन्दै अस्वीकार गर्‍यो भने आफ्नै बुबाआमाले पनि  स्वीकार गरेनन् ।

सामाजिक विभेद बेहोरेकी शारदालाई दुई बच्चा हुर्काउनै मुस्किल  पर्‍यो । जेनतेन जिल्ला शिक्षा कार्यालयमा खरिदारको काम पाइन् । उनका श्रीमान् पनि सरकारी काममै लागे । बिहे भएको १६ वर्षपछि एउटा घटनाले उनको जिन्दगीको सोच पूरै बदलियो ।

कञ्चनपुरको एक गाउँमा त्रिलोक विष्ट नामका जिप चालकले श्रीमतीको हात रेटेर घाइते बनाएका छन् भन्ने कुरा महेन्द्रनगरसम्म आइपुग्यो । पीडितको गाउँ खोज्दै जाँदा उनले खोला किनारमा रुँदै बसेकी एक वृद्धा भेटिन् । छोराबुहारीले घरबाट निकालेपछि  डोटीबाट आएर गोठमा बसेकी ती महिलालाई उनले घरमा ल्याइन् । रोग, भोक र शोकले थलिएकी ती वृद्धालाई घरकाले मन पराउने कुरै थिएन । त्यस बेला कञ्चनपुरमा सीडीओ रहेका रमेश अधिकारीले शारदालाई आँट दिए । सानोतिनो सहयोग पनि गरे ।  यसपछि केही महिला साथी जम्मा पारेर शारदाले स्थापना गरिन्, नारी उत्थान केन्द्र ।

कञ्चनपुरमा करिब आठ सय गैरसरकारी संघसंस्था भए पनि वृद्धवृद्धालाई सहयोग गर्ने कुनै थिएनन् । घरमा सधँै मान्छे राख्न सम्भव पनि थिएन । सानो कोठा लिए, भीमदत्त नगरपालिका-१८ मा । महेन्द्रनगरका सडकमा अलपत्र बस्ने अन्य तीन वृद्धा पनि थपिए ।

उनको संस्था चलाउने पनि कि हिंसापीडित थिए, कि एकल या कमलरी । सिर्जना चौधरी, हीरा भट्ट, आशा सुनारलगायतका महिलाले साथ दिए उनलाई । घरघरबाट सामान ल्याएर काम चलाए । सुरुआती दिनका समस्या सम्भिmन्छिन् शारदा, "एकातिर खानपानको  जोहो गर्न मुस्किल, अर्कातिर ठूलो र सानो जातका नाममा वृद्धवृद्धाको मारामार ।"

मान्छेलाई उचित परामर्शले सुधार्न सकिन्छ भन्ने कुराको ज्ञान शारदाले त्यही घटनाबाट पाइन् । एक घन्टा रुँदै र हाँस्दै बूढाबूढीलाई सम्झाइन् । जात भन्ने कुरा हुँदैन । मान्छेको मनमा मात्रै हुन्छ भनिन् । यस्तै गर्ने हो भने म आश्रम चलाउँदिनँ भोलिदेखि कता  जाने हो जानू भनेर धम्क्याइन् । भोलिपल्टै सबैले अब मिलेर बस्छौँ भनेछन् ।

एक वर्षपछि आश्रममा १५ जना पुगे । आय थिएन । खर्च बढ्दै थियो । शारदाको समूहले उपाय सुझायो, घरघरमा गएर एउटा झोला दिने । हरेक दिन खाना पकाउँदा एक मुठी चामल झोलामा हालिदिन अनुरोध गर्ने । महिनादिनमा त्यो संकलन गर्दा केही गर्जो  टर्‍यो । तरकारी दिन नसक्दा शारदाले दालसँग मात्रै भात खुवाइन्, कसैले गुनासो गरेनन् ।

संख्या जति बढ्दै गयो, त्यति सहयोगी हात पनि देखिन थाले । सानै सही, सहयोगी मनहरू सम्पर्कमा आउन थाले । शारदाका बुबाले नै निवृत्तिभरणबापत पाउने रकममध्ये प्रत्येक महिना पाँच हजार रुपियाँ वृद्धाश्रमलाई दिने निर्णय गरे । छिमेकी पनि केही दिन  पाए हुन्थ्यो जस्तो गर्न थाले । जिल्लामा रहेका सेना, प्रहरी, सीडीओ, जिविसजस्ता कार्यालयले सकेको सहयोग गरे ।

अहिले केन्द्रमा ६२ जना वृद्धवृद्धा छन् । १५ जना द्वन्द्व र हिंसापीडित बालबालिका पनि छन् । ती सबै पढ्न जान्छन् । बाबुबाट बलात्कृत बालिकालाई पनि उनैले आश्रय दिएकी छन् । छोराबुहारीले राम्रो हेरविचार नगरेका कारण वृद्धाश्रम आएका ५१ जना वृद्धव ृद्धालाई घरैमा लगेर पुनःस्थापना गराएकी छन् । वृद्धाश्रममा आएपछि १६ जनाको विभिन्न रोगका कारण मृत्यु भयो । तिनलाई अस्पताल लैजानेदेखि घाट लैजानेसम्मका जिम्मेवारी यिनै महिलाले पूरा गर्छिन् । एक दिन जुठो बार्छिन् । सुदूरपश्चिममा आफ्नो  नजिकका बाहेकको मलामी जाने चलन छैन ।

काठमाडौँमा बसेर शारदाले यति काम गरेकी भए अहिलेसम्म धेरै पुरस्कारबाट विभूषित हुन्थिन् होला । देशकै सुदूरमा बसेर सेवा गरेकाले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संघसंस्थाबाट भनेजस्तो सहयोग पाएकी छैनन् । परिवारबाट परित्यक्तलाई एकसरो  लगाउन र दुई छाक नरम खाना दिने काममा सबैले सहयोग गरुन् भन्ने शारदालाई लाग्छ । आफ्नो जीवन यिनै वृद्धवृद्धामा समर्पण गरेकी छन् उनले ।

 

प्रकाशित: पुस २७, २०७१