भञ्ज्याङको उकालो

  • हिमाली क्षेत्रमा पदयात्रीको साहस जाँच्ने थलो अर्थात् पास
भञ्ज्याङको उकालो

- प्रदीप बस्याल

गत असोजमा पश्चिम नेपालको हुम्लाबाट डोल्पासम्म ग्रेट हिमालय ट्रेलको माथिल्लो भेगको पदयात्रा गर्दा सम्राट कटवाल र उनको टोलीले ठूला-साना एक दर्जन भञ्ज्याङ (पास) काट्यो । सम्राटलाई यस्ता पास पदयात्रीका लागि उत्सव मनाउने ठाउँजस्तो लाग्छ ।

पर्वत शृंखलाको बीचबाट आवतजावत हुने यस्ता होचा स्थान पुग्दा यात्रीहरू हिमाल नचढीकनै सही, आफूमा रहेको पर्वतीय साहसप्रति गर्व गर्न सक्छन् । खास गरी 'हाई पास'बाट देखिने विचित्रको सुन्दरता र त्यसपछि आउने अन्य रोमाञ्चले यात्रीहरू वशीभूत भइहाल्छन् । अधिकांश पास एकातर्फ ठाडो उकालो हुन्छन्  भने अर्कोतर्फ ठाडो ओरालो । उकालोमा हुने स्याँस्याँ, एक पाइला सार्न पनि चाहिने ठूलो शक्ति र थकान मार्दा आउने निद्राले पास चढ्नुको विशिष्टता झल्कन्छ ।

धेरै आवतजावत हुने पासतिर ढुंगाका सिँढी बनाइए पनि सबैमा त्यो सुविधा नहुन सक्छ । हिउँ पर्दा यात्रीले बाटो बिराउने वा पत्ता लगाउन नसक्ने कारण पनि यही हो । "त्यसैले हाई पास चढ्दा गाइड नलिएर जानु हुँदैन," लुक्लाका पर्यटन गाइड निमा शेर्पा भन्छन्, "लेक लाग्ने सम्भावना भएकाले धेरै बेर नबस्नु राम्रो  ।"

कतिपयले भञ्ज्याङ काट्दाको अनुभवलाई विशेष मान्छन् त कतिले त्यहाँ पुग्नुलाई । "हिमाली बासिन्दालाई त्यो दैनिक जीवनयापनकै क्रममा ओहोरदोहोर गर्ने बाटो हो," ग्रेट हिमालय ट्रेलको यात्रा गरेका सौरभ ढकाल भन्छन्, "तर, पास पुग्दैमा तल झर्नुपर्छ भन्ने पनि छैन ।" जस्तो  ः ३ हजार ५ सय ५५ मिटर  उचाइमा रहेको कञ्चनजंघा पदयात्रा मार्गमा पर्ने अन्दाफेदी भञ्ज्याङ पार गरेपछि सेरम बेस पुगिन्छ, त्यहाँ ३ हजार ८ सय ७० मिटर उचाइमा बस्ती नै छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्ने साल्पा भञ्ज्याङमाथि पनि अर्को बाटो छ । संखुवासभा, खोटाङ र सोलुखुम्बुको केन्द्रमा पर्ने पास हो यो ।

स्थानीयले दैनिक आवतजावत, व्यापारजस्ता काममा प्रयोग गर्ने पास अहिले पदयात्राको एउटा प्रमुख आकर्षणका रूपमा छ । युद्धका बेला सुरक्षित स्थानका रूपमा यस्ता पासलाई प्रयोग गरिन्थ्यो । त्यसका लागि तलबाट जाने यात्रीले कम्तीमा एउटा ढुंगा लगेर थुपार्ने चलन रहेको इतिहासमा उल्लेख छ ।

तासी लाप्चा पासले रोल्वालिङ उपत्यकालाई खुम्जुङ जोड्छ । खुम्जुङबाट थामे हुँदै च्छो रोल्पा हिमताल पनि पुगिने भएकाले यो पास कहलिएको छ । पाँच हजार मिटर उचाइमा पर्ने हुम्लाकै न्यालु पासमा त गाडी नै पुगेको छ, जहाँ ढुंगा उठाएर राख्ने प्रचलन छ । त्यहाँबाट एक रुपियाँको नोटमा रहेको चंखेली हिमाल दे खिन्छ । हुम्ला र लिमी उपत्यकाबीचको व्यापारिक मार्गका रूपमा रहेको यो पास भदौदेखि वैशाखसम्म पूरै हिउँले ढाकिएको हुन्छ । तर्चिला हिमालको फेदीबाट जाने हुनाले कात्तिकदेखि चैतसम्म जाँदै नजान नै सुझाइएको छ । पास चढ्दासम्म एक खाले परिवेश देखिनेमा पुगेपछि अर्कोतर्फ अर्कै हुनु पनि पासले दिने  'सरप्राइज' हो । उदाहरणका लागि म्याग्दीबाट रुकुम-रोल्पा छिर्न प्रयोग हुने उपल्लो जलजला पास काटेपछि पश्चिमतर्फ एक्कासि फराकिला चौर र टार देखिन्छन् ।

उपल्लो मुगुको छायानाथ पास र एभरेस्ट क्षेत्रको रेन्जो पासको समान विशेषता के भने त्यहाँबाट एरियल भ्युझैँ रारा र गोक्यो ताल देख्न पाइन्छ । छायानाथ पास भगवान् शिवको चार पवित्र धाममध्ये एउटा हो । निमा ग्याल्जिङ पासबाट नेपालको सबैभन्दा पछि पत्ता लागेको मुगुको कु गाउँ देख्न सकिन्छ ।

सम्राटहरूले यात्रा गर्दा हुम्ला सदरमुकाम सिमीकोट र चीनसँगको सीमा रहेको हिल्सालाई जोड्ने ४ हजार ५ सय ६० मिटर उचाइमा रहेको नारा भञ्ज्याङ पार गरेको पत्तै पाएनन् । जबकि, हुदहुद आँधीका कारण जुनबिन भञ्ज्याङ पार गर्न नसकेर ओर्लनुपर्‍यो । "पासको विशेषता त्यसको उचाइसँग भन्दा पनि शरीरको  अवस्था र मौसमले निर्धारण गर्छ," स्रमाट सुनाउँछन्, "पास गर्ने अघिल्लो दिन सकेसम्म त्यसको फेदीमा बास बस्नु राम्रो ।"

जिरीतिरबाटै हिँडेर एभरेस्ट पदयात्रा गर्नेले सामना गर्ने पहिलो पास हो, लाम्जुरा । सामान्यतः कम उचाइमै भए पनि हवाई जहाजहरू लुक्ला एयरपोर्ट छिर्ने द्वार भएकाले लाम्जुरा पास निकै चर्चित छ । जिरीबाट हिँड्नेलाई मौसम अनुकूल हुन सघाउँछ, यो पासमा थकान मेट्नाले । मनाङ र मुस्ताङ जोड्ने थोराङ पास  जाने हो भने फेदीबाट बिहानै हिँड्नुको विकल्प छैन, मध्याह्न हावाहुरी चल्न सक्छ । फिल्म निर्माता गोविन्द शिवाकोटी भन्छन्, "अरू बेला छिटोछिटो हिँडे पनि पास काट्ने बेला विदेशी पदयात्रीहरूको सुस्त हिँड्ने शैली पछ्याउनु ठीक हुन्छ ।"

आरोहीले हिमाल चुम्दा पाउने चरम आनन्द पदयात्रीले भञ्ज्याङ पार गर्दा अनुभव गर्छन् । किनभने, त्यहाँ प्रकृतिले दिने आनन्द मात्र अनुभूत हुँदैन, त्यसका लागि चुकाउनुपर्ने कहरसमेत महसुस हुन्छ ।

थ्री पासको साहस

एभरेस्ट पदयात्रा क्षेत्रमा पर्ने तीन प्रमुख भञ्ज्याङको एकैचोटि यात्रा गर्नु थ्री पास पार गर्नु हो । ती पास हुन्, रेन्जो -५ हजार ३ सय ४० मिटर), चो -५ हजार ४ सय २०) र कोङ्मा -५ हजार ५ सय ३६ मिटर) । यी पासबाट हिमालयको सुन्दर दृश्यावलोकन गर्न सकिने चुचुरा गोक्यो री र कालापत्थरसमेत पुग्ने अवसर  जुर्छ । हिमालय शृंखलाको सबैभन्दा लामो ३६ किलोमिटरको गोजुम्पा ग्लेसियर पनि नाम्चेबजारबाट रेन्जो पास हुँदै गोक्यो ताल झर्ने र त्यहाँबाट पुनः चो पास गरेर लोबुचे हुँदै एभरेस्ट बेस क्याम्प र कालापत्थर पुगी पुनः लोबुचे झरेर कोङमा पास हुँदै नाम्चेबजार झरेपछि थ्री पासको पदयात्रा पूरा हुन्छ । थुप्रैपटक थ्री  पास गरेका पर्यटन गाइड दविन्द्र लामा सुनाउँछन्, "एकैपटकमा थ्री पास गर्नेले आफूलाई पास भेट्रान भन्न हिचकिचाउनु पर्दैन ।"

प्रकाशित: पुस ६, २०७१