दुर्गमका डाक्टर

दुर्गमका डाक्टर

- राजेन्द्र नाथ

सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गरी स्वदेश फर्किएका कतिपय चिकित्सक दुर्गम भेगमा आउन मान्दैनन् । सरकारले दुर्गममा बस्नैपर्ने बाध्यकारी नियम बनायो । तर, 'अल्छी मान्छेका अनेक बहाना' भनेजस्तो उनीहरूको सरुवापत्र त आउँछ । तर, दुर्गम नटेकेर अध्ययनलगायत अनेक बहाना बनाएर एकैपटक रवानापत्र बुझेर सुविधासम्पन्न ठाउँमा जाने अनेक उदाहरण छन् ।

त्यसका अपवाद हुन्, जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थी । उनले सुविधा खोज्दै सुगममा जान कहिल्यै मरिहत्ते गरेनन् । दुर्गमका बिरामीको सेवामा दिनरात तल्लीन डा अवस्थीले यहाँको स्वास्थ्य सेवालाई तीन वर्षको अवधिमा निकै माथि पुर्‍याएका छन् ।

१० भदौ ०६८ मा उनी प्रमुख भएर आउँदा बैतडी जिल्ला स्वास्थ्य सूचकांकको झन्डै पुछारमा थियो । ७२औँ नम्बरमा रहेको जिल्लालाई उनले एक वर्षमै १०औँ नम्बरमा झारे । "६२ गाविस रहेको जिल्लाका ५१ गाविसमा पैदल हिँडेको छु," उनी भन्छन्, "पहिले सात प्रतिशत महिलाले मात्र सुरक्षित सुत्केरी सेवा पाएका थिए । अहिले ३६ प्रतिशत आमाहरू सुरक्षित प्रसूति गराउँछन् ।"

जिल्लाका ११ ठाउँमा सुरक्षित सुत्केरी सेवा दिइँदै आएकामा अहिले ६९ ठाउँमा विस्तार भएको छ । असार ०७२ को मसान्तसम्म सय ठाउँमा सेवा पुर्‍याउने उनको लक्ष्य छ । उनी जहाँ जहाँ बस्छन्, रोगीको सेवामा मात्र खटिँदैनन्, स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसंगति हटाउन नीतिगत सुधारका पक्षमा वकालतसमेत गर्छन् । विभागले जहाँ पठायो, उनी खुरुखुरु गइदिन्छन् । भन्छन्, "जहाँ गए पनि रोगी, अशक्तको सेवा गर्ने हो ।"

दार्चुला, शंकरपुर-४ घर भएका डा अवस्थीले गाउँमा स्वास्थ्यचौकी र सडक यातायात नहुँदा बोकेर भारतीय अस्पताल लग्दा आफन्तको अनाहकमा ज्यान गएको देखेका छन् । त्यसै बेलादेखि दुर्गमका बिरामीको सेवा गर्ने अठोट लिएका उनलाई हालै देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखमध्ये उत्कृष्ट घोषणा गरिएको छ । स्वास्थ्य मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाले प्रत्येक वर्ष कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट प्रमुखको घोषणा गर्दै आएको छ ।

उनले फागुन ०७० मा स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने उत्कृष्ट सेवा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । क्यान्सरपीडित सहकर्मी डा चित्र वाग्लेको अवस्था देखेपछि उनले पुरस्कारबापत पाएको एक लाख रुपियाँको अक्षयकोष स्थापना गरेर आफूजस्ता सहकर्मीको क्यान्सर रोग उपचारमा लगाउने निधो गरेका छन् । "देशभर १२ सयजति सरकारी डाक्टर छन् । दुर्गममा काम गर्दा कति बेला कुन रोगको संक्रमण हुन्छ, थाहाँ हँुदैन," उनी भन्छन्, "१२ सयले १२/१२ हजार रुपियाँ मात्र दिने हो भने पनि वर्षमा १ करोड ४४ लाखको अक्षयकोष स्थापना हुन सक्छ ।" मुख्यसचिवलाई उनले यही कुरा जाहेर गरेका छन् ।

बैतडीको स्वास्थ्य क्षेत्रलाई देशकै नमुना बनाउने लक्ष्य रहेको र यसमा सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको डा अवस्थी बताउँछन् । उनले जिल्लामा उत्कृष्ट काम गर्नेलाई सम्मान-पुरस्कार र नगर्नेलाई दण्ड-जरिवानाको व्यवस्थासमेत गरेका छन् । यस वर्ष उत्कृष्ट १० स्वास्थ्य संस्था र सबैभन्दा पछाडि परेका १० स्वास्थ्य संस्थालाई एकै ठाउँमा राखेर अन्तरक्रियासमेत गराए । यसअघि दैलेख, बाजुरा, जुम्ला, टीकापुरलगायतका स्वास्थ्य संस्थामा रहँदा पनि देखिने परिवर्तन गरेर डा अवस्थीले स्थानीयको मन जितेको धेरैले अहिले पनि सम्भिmरहेका छन् ।

 

प्रकाशित: कार्तिक २३, २०७१