कबिता : कमिसन

- विनोदविक्रम केसी

एकाबिहानै दलालहरु खेतमा पुग्छन्

र, उक्साउँछन् किसानलाई-

पुर्खाको छाला बेच्न

देश खाएर शेष भएको दिमागसँग

माटोलाई मुटु ठान्ने मन

पराजित हुन्छ अन्तत:

लगत्तै,

फाँटमा प्लटिङका केही धर्सा थपिन्छन्

कच्ची सडकमा अर्को एउटा २२० सीसीको

रबाफिलो पल्सर बाइक थपिन्छ

थप एक दम्पती ऋषिकेश र हरिद्वार तीर्थमा निस्कन्छ

अर्काे एउटा आँगनमा

चार दिनको चाँदनीजस्तो सम्पन्नता

मदहोस, मदहोस नाच्न थाल्छ

अनि त्यसपछि ?

किसान दिवंगत लालपुर्जाको सपना देख्छ

मालपोत कार्यालयको अस्तव्यस्त प्रांगणमा

आफ्ना पुर्खाहरु सेरिएर मरेको देख्छ ।

दलालहरु थुप्रै बगली भएको ज्याकेट लगाउँछन्

एउटा बगलीमा राख्छन् बेइमानीको कमाइ

अर्काेमा झूटको कमाइ

फेरि अर्काेमा फरेबको कमाइ

अनि, फेरि अर्काेमा जालसाजीको कमाइ ।

जिन्दगीको एक मात्र ध्येय- कमिसन !

एक मात्र नीति - कमिसन !

एक मात्र आदर्श- कमिसन !

दलालहरुलाई

प्रेमाशक्त पत्नीको चुम्बन पनि बेस्वादको लाग्छ

किनभने, त्यहाँ कमिसन हुँदैन

छोराछोरीले ग्रेस मार्क ल्याएर

कक्षा चढे भने खुसी हुन्छन् उनीहरु

किनभने, ग्रेस पनि कमिसनजस्तै हो ।

कमिसनका लागि दलालहरु जे पनि गर्छन्

रजस्वला पनि नभएकी किशोरीदेखि

दाँत फुक्लेकी हजुरआमासम्मलाई बजार बनाइदिन्छन्

सुधा प्राणीलाई

बालुवाको रौरवमा खसालिदिन्छन्

दीनदु:खीका दुर्भाग्यलाई

डलर छाप्ने मेसिन बनाइदिन्छन्

दलालहरुको दिल हुँदैन ।

सडकपेटीदेखि सिंहदरबार पटाङ्गिनीसम्म

दलालहरुकै खेलकुद छ

उनीहरुको सरौतोमा

सर्वसाधारण बनेको छ सुपारी ।

 

अब मैले सिद्ध नगरी भएको छैन-

यो समय दलालहरुको मात्रै होइन

यो धर्ती दलालहरुको मात्रै होइन ।

म यत्तिकै कविता लेखिरहेको छैन ।

 

-----------------------

सग्लो देश

     - मिलन बगाले

हिमालमा हिउँ फुल्छ

पहाडमा पहारले

हिउँ फक्रन्छ

अनि बग्छ मधेसमा

कञ्चन कोसी बनेर ।

पहाडको पाँगो

पानीसँगै मधेस र्झछ

अनि, झुल्छ मधेस

अन्नका बाला बनेर ।

हिमाल र्झछ

पहाड उभिन्छ

मधेस उक्लिन्छ

तिमी

कताबाट कता चिर्छौ

देशलाई ?

हिउँको डल्लो

माटाको ढिस्कोलाई

एकफेर सोधी हेर है ।

हिमाल चिर्नु

पहाड चिर्नु

र, तराई चिर्नु

आफ्नै आत्मा चिरेसरी हो ।

आत्मा चिरेपछि

तिम्रो हातमा के पर्छ ?

सगरमाथाको अग्लो शिरमुनि

सग्लो देश खोज्ने

नेपाली मनलाई

एकपटक सोधी हेर्नु

बाँकी भागशान्ति अनि गरौँला ।

-----------------

ऐना

     - रेनुका भट्ट

किन बनाएको होला ऐना ?

जसले देखाउन सक्दैन

मान्छेको भित्री अनुहार

र, अनुहारभित्र लुकेका अनुहारहरु !

मान्छे ऐना हेर्छ र मिलाउँछ आफूलाई

धुन्छ मैलो मुख, पुस्छ निन्याउरो आँखा

घुमाउँछ जगल्टे कपाल

कम्तीमा सुम्सुम्याउँछ रुप्सेगाला

तर, सक्दैन देख्न कहिल्यै

जिन्दगीको कालोपन

देख्न पाउँदैन उसले

भित्रका अनौठा रंगहरु

उसले फेरिरहने अनेक रंगहरु र उसका

अनुहारभित्रका थरीथरी अनुहारहरु ।

कहाँ, कसले, कुन बेला

फेर्छ आफ्नै जीवनको रंग ?

कुन बिहानीमा कस्तो लाली चढाउँछ

बाहिरी र भित्री अनुहारमा ?

केही देखिँदैन ऐनामा

मनको ऐना हेर्न छाडेर मान्छे

दिनै हेरिरहन्छ उही पुरानो ऐना

मान्छे अनुहारभरि फोहोर पार्छ

र, सग्लो अनुहार हेर्न ऐना सफा पार्छ ।

हरेक दिन

ऊ आफ्नै मुकुन्डो

हेरिरहेको हुन्छ ।

 

प्रकाशित: आश्विन १२, २०७१