माया नगरीमा एक रात

माया नगरीमा एक रात

- रमण घिमिरे

न्युयोर्क, टाइम स्क्वायरको भीडभाडको एउटा कुनामा उभिएका दुई किशोरीको कम्मरमाथि कुनै वस्त्र थिएन । सायद अमेरिकामा उनीहरूलाई निर्लज्ज  भन्नु नै लाजमर्दो हुन्थ्यो । बरू हामीले चिहाएर हेर्नुचाहिँ लज्जास्पद ठहथ्र्यो । 'रेगुलर' भन्ने शब्द प्रसिद्ध छ अमेरिकामा । 'रेगुलर' अर्थात् सामान्य रूपमा  आममानिसले प्रयोग गर्ने कुरा । अमेरिकामा अनेक प्रकारका कफी पाइन्छन्, अनेक थरी बियर पाइन्छन् । तर, रेगुलर भनेपछि त्यो चलनचल्तीको कुरा  ठहर्छ । त्यहाँका लागि स्टि्रटमा भेटिने यस्ता टपलेसहरू पनि 'रेगुलर'भित्रका एक अंश हुन् । बरू फुटपाथमा रुमाल फिँजाएर मागिरहेका किशोरीको  दिनचर्या भने आश्चर्यलाग्दो ।

जब लस भेगासमा पनि यस्तै दृश्य दोहोरिए अनि लाग्यो, अमेरिकामा नांगा वक्षस्थलको मूल्य यति सस्तो रहेछ । दुई किशोरी मध्य सडकमा कसिला वक्ष  हल्लाउँदै मुस्कुराइरहेका थिए । उनीहरूमा न कुनै संकोच थियो, न सरम । उनीहरू दर्शकतिर संकेत गर्दै आफ्ना अंगतिर आकषिर्त गराइरहेका थिए ।  पंक्तिकारले सोध्यो, यसको उद्देश्य के हो, मनोरञ्जन कि व्यवसाय ? एउटीले भनी, "महाशय ! यो मनोरञ्जन पनि हो र व्यवसाय पनि तर दुवै आंशिक।  फुर्सदका बेला यसो पकेट खर्च जम्मा गर्न हामी यसो गर्छौं ।" पकेट खर्च कमाउने तरिका पनि कस्तो विचित्रको?

अलि पर दुई अश्वेत कन्या पनि यसरी नै छाती खोलेर आफ्नो कामुकता देखाइरहेका थिए 'पकेट खर्च' कमाउन । के केटाकेटी, के बालवृद्ध ? सबै  उनीहरूलाई अँगालो हालेर फोटो खिचाउँदा गौरवको अनुभूति गर्थे र वालेटबाट निकालेर एक-दुई डलर भुइँमा झार्थे । किशोरीहरू फेरि मुस्कानका साथ  त्यस दातालाई गम्लंग बेर्थे, बाहुपासमा । यसरी उनीहरूका बीचमा उभिएर फोटो खिचाउनेहरूको भीड बाक्लिँदै जान्थ्यो ।

मनोरञ्जनका लागि विश्वकै राजधानी भेगास । पर्यटनको विश्वप्रसिद्ध गन्तव्य भेगास । सन् १९०५ मा स्थापित भई १९११ मा आधिकारिक रूपमा  सहरीकरण भएको र बीसौँ शताब्दीको अन्त्यमा अमेरिकाकै सबैभन्दा घना जनसंख्या भएको सहर । सौन्दर्य र सेक्सले उदात्त, फिल्म र टेलिभिजनको  केन्द्रस्थल अनि युवा पुस्ताका लागि मनोरञ्जनका यावत् स्वतन्त्रता भएको 'सिन सिटी'का नामले प्रख्यात भेगास् । सुरा र सुन्दरीले भरिएको उन्मत्त रात ।  जताततै बिजुलीको उज्यालोमा नुहाएकाले 'उज्यालोको सहर' भनेर परिचित भेगास । मगन्ते र दाताको संगम । पकेट खर्च कमाउनेहरूको विचित्र भीड ।

यसबाहेक यो सहर पारपाचुके र आत्महत्या गर्नेहरूमा संख्याका हिसाबले अमेरिकाकै पहिलो नम्बरमा पर्छ । नेभाडा राज्य अन्तर्गत पर्ने लस भेगास जति  नै रंगीन र उज्यालोको सहर कहलिए पनि वरिपरि शूष्क मरुभूमिले ढाकिएको अमेरिकाकै पहिलो सहर हो । तैपनि, यहाँ सुरा, सुन्दरी र मनोरञ्जनको  शीतलता ताप्न विश्वभरिका पर्यटक ओइरिन्छन् । यसमा पनि छिमेकी हवाईबाट आउने पर्यटकको संख्या उल्लेख्य छ । यहाँ निवृत्त जीवन बिताउने अमे रिकीको संख्या पनि अन्य राज्यको तुलनामा धेरै छ ।

त्यस रात थरीथरीका आंशिक व्यवसायी देखिन्थे, सडकका छेउकुनातिर । यौवनको बिस्कुन फिँजाउनेको मात्र होइन, विशुद्ध कला नै प्रस्तुत गर्नेको पनि  जमात थियो, त्यहाँ । कोही कोही सानो मञ्च बनाएर बिटल्स शैलीमा गाउँदै मच्चिरहेका देखिन्थे, काँधमा गिटार भिरेर । कुनै व्यावसायिक कलाकारभन्दा  कम लाग्दैनथ्यो, उनीहरूको प्रस्तुति। सायद भाग्यको प्रतिस्पर्धामा हारेर होला, उनीहरू 'सेलिबि्रटी'को प्रख्यातिमा चम्किनु साटो भेगासको गल्लीमा  हल्लिरहेका थिए । उनीहरूको प्रस्तुति हेर्दा र सुन्दा कतै लाग्दैनथ्यो, उनीहरू फुटपाथे कलाकार हुन् । तर, वास्तविकता उनीहरू त्यहाँभन्दा माथि उक्लिन  सकिरहेका छैनन् भन्ने देखिन्थ्यो । थोरै मानिस, थोरै कमाइ । सायद यो पनि आंशिक साधना थियो, पकेट खर्च बटुल्ने ।

चटक देखाउनेहरूको व्यवसाय पनि राम्रै चलेको देखिन्थ्योे । ठ्याक्कै दक्षिण एसियाली देशका चटकेजस्तै लाग्थे उनीहरू । तर, यताका भन्दा परिस्कृत ।  एउटा जवान जीउभरि डोरी बाँधेर उभिएको थियो । भन्दै थियो, 'जति दाम त्यति काम ।' अर्थात्, 'पैसा फंेको तमासा देखो!' उसले डलरको थाक अलि  चुलिएपछि शरीरको १० ठाउँमा गाँठो पारेको डोरी 'छु मन्तर' गरेझैँ एकै झमटमा खुस्काउँछ । दर्शकहरू तालीको गडगडाहटसँगै फेरि खल्तीको  अन्तरकुन्तर खोतल्न थाल्छन् ।

यस्ता चटकेहरू त त्यहाँका गल्लीगल्लीमा छ्यासछ्यासी भेटिन्थे । यहाँ बढेबढे जादुगरले ठूल्ठूला मञ्च बनाएर देखाउने तमासा त्यहाँ फुटपाथमै  नि:शुल्क प्रस्तुत भइरहेको थियो । मुस्किले २० डलर पनि कमाउन धौधौ पथ्र्यो बिचराहरूलाई । तर, बढो निष्ठा र लगनका साथ लागेका देखिन्थे उनीहरू  । घुम्दै जाँदा एक ठाउँमा दुई सर्कसका चटकेहरू देखिए, अश्वेत । उनीहरू आफ्नो शरीरका अंगहरूलाई यसरी बटार्थे मानौँ त्यो हड्डी र नसाले होइन,  बेतले बनेको हो । शरीर पिटिक्कै भाँचिएला जस्तो हुन्थ्यो तर उनीहरू आफ्नो शरीरलाई उल्टो रिङ बनाएर घुमाउँथे, बिनाकुनै कष्ट । त्यहाँ मान्छेमाथि  मान्छे चढाएर शरीरलाई आसनमा प्रस्तुत गर्ने लिखुरेदेखि पहलमान शरीरकासम्म बरोबर भेटिन्थे । यो पनि माग्नेहरूकै खेल ।

बियर बेच्ने सुकन्याहरूको कला पनि वर्णनयोग्य थियो । जति धेरै बियर बेच्यो, त्यति कमिसन र टिप्स आउने देशमा थप कला प्रदर्शन गर्नु स्वाभाविकै  हो । त्यहाँको अघोषित मान्यता अनुसार २० प्रतिशत टिप्स दिनैपर्ने । यस्तोमा पारिश्रमिकभन्दा ठूलो आधार टिप्स हुँदो रहेछ । अनि, ती सुकन्या टिप्सका  लागि नमर्किने कुरै भएन । पसलछेउमा भीड बाक्लिन थालेपछि एउटी भाटाजस्तो शरीर भएकी कुमारी त्यही पसलको सतहमा उक्लिन्थी र 'टु पिस'मा  थर्किन थाल्थी। मानिसहरू उसको शरीर र हाउभाउको मातमा डुबेर बियर तन्काउन थाल्थे । बियर पिइरहेछन् कि किशोरीको शरीरको केमेस्ट्री ? बुझ्न  अलि कठिनै थियो । तर, यो पनि एउटा कला थियो र स्वाभाविक प्रस्तुत भइरहन्थ्यो ।

त्यहाँ यसरी समय व्यतीत गर्ने अनेकौँ माध्यम भेटिए । तर, मुख्य तीन थोक थिए त्यहाँ- जुवा, जवानी र नशा । "अमेरिकाको यो सहरमा मात्र हातमा  बियरको बोतल बोकेर हिँड्ने स्वतन्त्रता छ," पथप्रदर्शक महेश न्यौपाने भन्दै थिए । नभन्दै खुलेआम बियर घुट्क्याउँदै हिँडिरहेका देखिन्थे, जवानहरू बीच  सडकमा । धपक्क बलेको रंगीन सहरमा यौवनले थचक्क बसाउने अनेकौँ दृश्यावली हेर्न पाइन्थ्यो । एउटी केटी आफ्नी केटी साथी रिसाएर हिँडेकीमा  उन्मत्त नशामा दौडिरहेकी देखिन्थी, त्यसलाई पच्छ्याउँदै । सायद ती समलिंगी थिए । आँखाका नानीहरू फरफराउँथे, यस्ता रंगीन दृश्य र पात्रहरू हेर्दा ।

सहर स्वयं यौवन र मदिराको नशामा चुर्लुम्म डुबेको देखिन्थ्यो । अर्को नशा जुवा थियो । भेगासमा यो नशा अझ चुलीमा पुग्थ्यो । जुवाका खालवरिपरि  नवयौवना वेटरहरू बिराली चालमा अर्धनग्न शरीर मर्काउँदै हातमा बियर र वाइनका बोतलहरू बोकेर ग्राहकको सन्तुष्टि पूरा गर्न ओहोरदोहोर  गरिरहन्थे। जुवा खेल्नेहरू हार र जित दुवै अवस्थामा पागल हुन्थे । हेर्दाहेर्दै एउटी एसियन युवती एक डलरबाट थालेको जुवा एक हजार डरल जितेर  मात्तिन्छे । 'क्यासिनो' नै थर्किने गरी चिच्याउँदै आफ्ना इष्ट देवीदेवताको नाम लिन्छे अनि 'कछाड' लगाएकी वेटरको हातबाट बियर उठाएर घटघटी  पिउँछे र नाच्दै निस्किन्छे । उसलाई त्यतिखेर दुनियाँका सबै खाले नशा चढेको भान हुन्थ्यो ।

जति जति रात बित्दै जान्थ्यो, त्यति त्यति भेगास जवान हुँदै जान्थ्यो । वृद्धवृद्धादेखि युवासम्म एकनास त्यस सहरको नशामा चुर्लुम्म डुबेका देखिन्थे।  स्वर्गका परीहरूको कल्पना गर्ने पूर्वीयहरूका लागि त्यो साँच्चै अप्सराहरू बसेको पृथ्वीको स्वर्गको अनुभूति हुन्थ्यो । इन्द्रको दरबारकी एउटी अप्सरा मे नकाले विश्वामित्र ऋषिको मात्र तपस्या भंग गरेकी थिई । तर, यहाँ त अनेकौँ अप्सराहरू भेटिन्थे र अनेकौँ ऋषिहरूको तपस्या क्षणक्षणमा भंग  गरिरहन्थे। समग्रमा मायावी नगरी यो । यस्तो आनन्ददायी नगरीलाई 'सिन सिटी' अर्थात् पापीहरूको सहर किन भनियो होला! यसमा भने उदेक लाग्छ  ।

प्रकाशित: आश्विन १२, २०७१