गुमनाम गायिका

  • सबैभन्दा महँगी लोकगायिका विष्णु माझीको रहस्यमय मौनता
गुमनाम गायिका

- गोकर्ण गौतम

गायिका विष्णु माझीका विषयमा सोधखोज गर्‍यो भने कतिपय समकालीन लोकगायक-गायिका मुखामुख गर्छन्। कारण के भने सबैभन्दा महँगी र सुमधुर स्वरकी धनी विष्णुका बारेमा धेरै कुरा कसैलाई थाहा छैन। अरू कलाकारको भन्दा फरक जीवनशैली र उनका विषयमा चलेका कतिपय हल्लाका कारण विष्णु गायनवृत्तकी सबैभन्दा रहस्यमयी पात्रका रूपमा परिचित छिन्।

पाँच हजार गीतमा स्वर भरसिकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी विष्णुको जीवन गुमनाम छ, लगभग भूमिगत शैलीमा। एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन्।

एउटा गीत गाएको अरू कलाकारले ६/७ हजार रुपियाँ पारश्रिमिक लिँदा ४० हजार रुपियाँ बुझ्ने विष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ वर्ष बित्यो। स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन्। समकक्षी कलाकारसँग उठबस छैन। कतिसम्म भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाइ छ।

गाएरै सबैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परविर्तन आएको छैन। जस्तो ः सञ्चारप्रविधिको यो युगमा उनीसँग मोबाइलसमेत छैन। उनको काठमाडौँ बसाइबारे पनि धेरै जानकार छैनन्। यति चर्चित गायिका किन गुमनाम छिन् त ? किन समाजमा घुलमिल भइरहेकी छैनन् ? किन 'सोसल चार्म' सिर्जना गर्न चाहन्नन् ? उनीवरपिरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करबि दशकदेखि अनुत्तरति छ।

विष्णुको 'करिअर'लाई नजिकबाट नियालिरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरू उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन्, सुन्दरमणि अधिकारीलाई। पेसाले लोकसर्जक सुन्दरमणि नाताले विष्णुका श्रीमान् हुन्। आठ वर्षको 'लिभिङ टुगेदर'पछि उनले करिब डेढ वर्षअघि पोखराको एक मन्दिरमा विष्णुसँग गुपचुप ढंगले विवाह गरेका थिए। तर, अहिले उनी विवाहको प्रसंग निकाल्न रुचाउँदैनन्। नेपाल प्रतिनिधिको निकै अनुरोधपछि १७ साउनमा सुन्दरमणि भेटका लागि राजी भए। तर, विष्णुका बारेमा प्रश्न सोध्नेबित्तिकै उनी कुराकानी नगर्ने मुडमा देखिए। विवाहबारे जिज्ञासा राख्दा उनले झर्कंदै भने, "यस विषयमा प्रश्नै नसोध्नूस्।" सुन्दरमणि र विष्णुको विवाहमा सहभागी नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य चोलेन्द्र पौडेलले पनि 'यस विषयमा बोल्न मिल्दैन' भन्दै फोन काटिदिए।

खासमा सुन्दरमणि विष्णुलाई कसैसँग भेटाउन वा उनका बारेमा कुरा गर्न रुचाउँदैनन्। हरेक प्रश्नमा 'समयले नै बताउँछ' भन्दै उनी यस प्रसंगबाट भरसक तर्कन खोजे। लामो तर लय नमिलेको वार्तालापपछि उनी 'लौ, भोलि विष्णुलाई भेटाइदिन्छु, आफैँ कुरा गर्नूस्' भन्दै छुट्टिए। तर, अर्को दिनबाट उनी सम्पर्कमै आएनन्। दर्जनौँपटक फोन र एसएमएस गर्दा पनि कुनै प्रतिक्रिया प्राप्त भएन। यो कुरा सुनेपछि विष्णुका दुई सयभन्दा बढी गीतका एक एरेन्जरले भने, "विष्णुजीसँग अहिलेसम्म मैले पाँच वाक्य बोल्न पाएको छैन। अब तपाईंलाईं उनले कहाँ भेटाउँछन् ?"

ती एरेन्जरका अनुसार विष्णु अरूसँग बोलेको रुचाउँदैनन्सुन्दरमणि । विष्णु स्वयं पनि बोल्न खोज्दिनन्। विष्णुलाई गीत गाउन लगाउनु छ भने कलाकर्मीहरूले सुन्दरमणिसँगै कुराकानी गर्छन्। स्टुडियोमा पनि उनी सँगै आउँछन् र सँगै लिएर जान्छन्। ती एरेन्जर भन्छन्, "विष्णुको गायनको सुरुआतदेखि नै सुन्दरले यसै गरेका हुन्।"

नाम चलेका देशबाट विष्णुलाई 'स्टेज सो'का प्रस्ताव आउँदा सुन्दरमणि नकार्छन्। त्यसैले थोरै नाम चलेका कलाकारका लागि विदेश पानीपँधेरो भइसक्दा पनि विष्णुले नेपालबाहिर पाइला राखेकी छैनन्। उनको करिअरलाई सुरुबाट नियालिरहेका गायक दुर्गा रायमाझी भन्छन्, "विष्णुले चाहेकी भए नेपाली पुगेको हरेक देशमा पुगिसकेकी हुन्थिन्।" धेरै देशका आयोजकले विष्णुलाई ल्याउन आग्रह गरे पनि सुन्दरमणिले 'जान मान्दिनन्' भन्ने जवाफ दिने गरेका छन्।

लजालु स्वभावका कारण विष्णुले स्टेजमा गाउन नमानेको र सामाजिक जीवनबाट टाढा रहेको भन्नेहरू पनि छन्। तर, उनलाई सुरुबाटै चिन्नेहरू यो अनुमान गलत भएको दाबी गर्छन्। किनभने, उनको गायनको सुरुआत नै प्रत्यक्ष लोकदोहोरीबाट भएको थियो। १५ वर्षकै उमेरमा दोहोरी गाउन उनी बाहिर जिल्ला पनि पुगिसकेकी थिइन्। सयौँ दर्शक र निर्णायकसामु निडर भएर गाउन सक्थिन्। विष्णुलाई पहिलोपटक स्टेजमा गाउने मौका दिने गायक नारायण लेकाली भन्छन्, "हो, विष्णु केही लजालु थिइन् तर स्टेजमै गाउन नसक्ने वा नमान्नेचाहिँ होइन।"

स्याङ्जा रत्नपुर गाविस-६ मा जन्मिएकी विष्णुका बाबुआमा अहिले पनि मजदुरी गर्छन्। आर्थिक अवस्था कमजोर भएकै कारण ५ कक्षामाथि पढ्न सकिनन्। स्थानीय क्षेत्रमा हुने कार्यक्रममा विष्णुले अब्बल प्रस्तुति दिएपछि लेकालीले पाल्पा उद्योग वाणिज्य महासंघले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा विष्णुलाई सहभागी गराएका थिए। सुन्दरमणिले विष्णुलाई पहिलोपटक यही प्रतियोगितामा देखेका हुन्। यो वैशाख ०६१ को कुरा हो। त्यस बेला विष्णु भर्खरै १५ वर्षमा टेक्दै थिइन्। प्रतियोगितामा विष्णुको प्रस्तुतिले निकै वाहवाही बटुल्यो। उनले दोस्रो पुरस्कार जितिन्।

सुन्दरमणिले चाहिँ सहभागीका रूपमा मात्र चित्त बुझाउनुपर्‍यो। गायनको भविष्यलाई देखेर होला, विष्णुसँग जोडी बाँधेर गाउने इच्छा जताए उनले। लेकाली सम्झन्छन्, "प्रतियोगिता सकिनासाथ विष्णुसँग जोडी मिलाइनुपर्‍यो दाइ भनेर सुन्दरमणिले हैरान पारे।" लेकालीले उनलाई राम्ररी चिनेका थिएनन्। त्यही कारण उनले पोखराकै चर्चित गायक प्रजापति पराजुलीलाई सुन्दरमणिका बारेमा सोधे। उनले पनि 'धेरै मरहित्ते गर्दै छ। विष्णु भएपछि प्रतियोगिता जित्छ कि ? मिलाइदेऊ न त !' भन्ने जवाफ दिए। लेकालीले पनि जोडी बाँधेर गाउँदा विष्णुको भविष्य उज्ज्वल देखे।

त्यसको केही समयपछि पोखराको लेखनाथ नगरपालिकामा अर्को प्रतियोगिता हुँदै थियो। त्यही प्रतियोगितामा विष्णुलाई जोडी बनाएर गाउन चाहन्थे सुन्दरमणि। "लेखनाथको कार्यक्रमकै लागि परविारमा आफैँ जमानी बसेर विष्णुलाई सुन्दरमणिको साथमा पोखरा पठाइदिएँ," लेकाली भन्छन्, "एक साताका लागि भनेर लगेका थिए तर डेढ वर्षपछि मात्र घर फर्काए।" लेखनाथ महोत्सवमा पहिलो भएर २५ हजार रुपियाँ जितेपछि सुन्दरमणिले विष्णुलाई काठमाडौँ ल्याएका थिए। त्यसअगाडि नै विष्णुको स्वर रेकर्ड भइसकेको थियो। भगवती न्यौपानेको लय संकलन तथा प्रजापति पराजुलीको शब्द रहेको 'आमाले अर्ती दिने घर जाने बेला...' बोलको गीत ०६० सालतिर पोखराको फेवा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको थियो। तर, पछि प्रजापति स्वयंले आफ्नो एल्बममा विष्णुको स्वर राख्न खोज्दा सुन्दरमणिले त्यत्तिकै टारििदए। उसो त काठमाडौँ आएपछि उनले विष्णुलाई प्रजापतिसँग मात्र होइन, पुरुषोत्तम न्यौपाने, नारायण लेकालीहरूसँग पनि सम्पर्कमा आउन दिएनन्।

पोखरातिरका कलाकारसँग मात्र होइन, काठमाडौँमा भेटिएका लोकसर्जकसँग पनि विष्णुको सम्पर्क रहेन। स्टुडियोदेखि म्युजिक कम्पनी जता जाँदा पनि सुन्दरमणि साथमै हुन्थे। काठमाडौँमा पनि बिस्तारै विष्णुको स्वर हिट हुँदै गयो। त्यतिबेला नेपाली लोकसंगीतमा विमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना विरही थापा, शर्मिला गुरुङलगायत गायिकाको राज थियो। एरेन्जरहरू नयाँ स्वरको खोजीमा थिए, विष्णु उनीहरूका लागि राम्रो विकल्प बनिन्। विरह भाकादेखि रमाइलो शैलीका गीतमा पनि उनको स्वर 'फिट' हुन्थ्यो। यति सुन्दर स्वरकी गायिका एउटा गीत २५ सय रुपियाँमै गाउन तयार हुन्थिन्। मीठो स्वर र कम पारश्रिमिक भएपछि विष्णुको व्यस्तता बढ्दै गयो। ०६४ सालसम्म उनी सफलताको शिखरमा पुगिसकेकी थिइन्। केही समयपछि उनले आफ्नो रेट प्रतिगीत ६ हजार रुपियाँ पुर्‍याइन्। त्यति गर्दा पनि दिनमा सरदर ५-६ वटा गीतमा स्वर रेकर्ड गर्न भ्याउँथिन्। र, सुन्दरमणि उनको अघिपछि नै हुन्थे। पैसाको 'डिल' पनि उनै गर्थे।

विवाहपश्चात् उनीहरू पति-पत्नीका रूपमा विष्णुको माइत गएका छन् कि छैनन् त ? विष्णुका दाइ बाबुराम माझीले स्याङ्जाबाट टेलिफोनमा नेपालसँग यति मात्र भने, "आउनुहुन्छ, ज्वाइँ (सुन्दरमणि) पनि कहिलेकाहीँ आउनुहुन्छ।"

त्यसो त विवाहपछि पनि विष्णु स्टेज सो र मिडियामा आएकी छैनन्। बाटोमा हिँड्दा घुम्टो अझै हटेको छैन। त्यसैले विष्णुको सार्वजनिक जीवन हनन गरेको आरोपबाट सुन्दरमणि मुक्त भएका छैनन्। "अब त उसले विवाह गरसिकेकीले शोषण गर्‍यो भन्ने आधार छैन," विष्णुकी एक समकक्षी गायिका भन्छिन्, "तर, जबसम्म विष्णुको भनाइ सार्वजनिक रूपमा आउँदैन, तबसम्म शंका गर्ने ठाउँ रहन्छ।"

को हुन् सुन्दरमणि ?

कास्कीको लेखनाथ नगरपालिकाका बासिन्दा हुन्, सुन्दरमणि अधिकारी। उनी पोखरा र आसपासका क्षेत्रमा आयोजना हुने लोकगीत प्रतियोगितामा नबिराई सहभागी हुन्थे। खास गरी विष्णु माझीलाई भेटेपछि उनको करिअरले गति लिएको हो। विष्णुसँग उनले दर्जनौँ गीत गाएका छन्। सपना म्युजिक प्रालिका मालिक सुन्दरमणि गायनका अलावा शब्द लेखन र लय संकलनमा पनि सक्रिय छन्। रमाइलो कुरा त के भने विष्णुलाई सामाजिक जीवनबाट टाढा राखे पनि उनी आफूचाहिँ लोकगीतका भिडियोमा मोडलिङ गर्छन्।

प्रकाशित: श्रावण २५, २०७१