बाघको 'हट स्पट’

  • पश्चिम तराईमा जंगली जनावरको संख्या झन्डै तेब्बर
बाघको 'हट स्पट’

पर्यटकहरूलाई बाघ हेर्न चितवन नै धाउनुपर्ने बाध्यता अब रहेन। यसअघि पर्यटकको आँखामा खासै नपरेका पश्चिम तराईका बाँके र बर्दिया निकुञ्ज तथा शुक्लाफाँटा आरक्षमा चार वर्षमै बाघको वृद्धि दोब्बर भएको छ। यसले संरक्षणकर्मीलाई खुसी मात्र बनाएको छैन, पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको छ।

सन् २०१० मा रसियामा सम्पन्न विश्व बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाएको थियो। त्यस बेला चितवन राष्ट्रिय निकुञ्जमा ९१, बर्दियामा १७ र शुक्लाफाँटामा आठवटा बाघ थिए। बाँके निकुञ्ज भर्खर घोषणा गरिएको थियो। देशभर १ सय ५५ वटा बाघ थिए। तर, सन् २०१३ को बाघ गणनाले यी संरक्षण क्षेत्रमा बाघको दोब्बर वृद्धि भएको देखाएको छ। बर्दिया निकुञ्जमा झन्डै तेब्बर वृद्धि भई बाघको संख्या ५० पुगेको छ।

शुक्लाफाँटामा दोब्बर वृद्धि भई १७ पुगेको छ भने बाँके निकुञ्जमा पहिलोपटक चारवटा बाघ गणना भएका छन्। "लक्ष्यभन्दा पहिल्यै यी निकुञ्जमा बाघ दोब्बर र तेब्बर भएका छन्," बाँके निकुञ्जका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेल भन्छन्, "हामी खुसी छौं। पश्चिमका निकुञ्जहरू राम्रो पर्या-पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै छन्।"

निकुञ्जहरूमा बाघ मात्र होइन, आहारजन्य अन्य प्रजातिमा पनि उल्लेख्य वृद्धि भएको छ। शृक्लाफाँटा आरक्षमा ७८ जनावर प्रतिवर्गकिलोमिटर भेटिनेमा अहिले ८६ वटा भेटिन्छन्। त्यस्तै, बर्दियामा वन्यजन्तु घनत्व प्रतिवर्गकिलोमिटर ७६ वटाबाट बढेर ९३ पुगेको छ। बाँकेमा प्रतिवर्गकिलोमिटर क्षेत्रमा १० वटा वन्यजन्तु पाइने कँडेलको दाबी छ। वन्यजन्तु वृद्धि हुन आहार, पानी र लुक्ने ठाउँ पर्याप्त चाहिने उनी बताउँछन्। भन्छन्, "यी तीनवटै सुविधा सुधारोन्मुख भएरै वन्यजन्तु वृद्धि भएका हुन्।"

विश्वमै सबैभन्दा ठूलो बाह्रसिंगाको बथान रहेको शुक्लाफाँटा आरक्ष कुनै बेला बाघको घनत्वका कारण चर्चामा थियो। एउटा वयस्क बाघले २५ देखि ३० वर्ग किलोमिटर क्षेत्र ओगट्ने बाघ विज्ञहरू बताउँछन्। तर, ३ सय ५ वर्ग किलोमिटरको सानो आरक्षमा सन् २००५/०६ मा बाघको संख्या १८ वटासम्म पुगेपछि 'हट स्पट'को परचिय पायो। सशस्त्र द्वन्द्वले चोरीसिकारी बढेपछि बाघको संख्या घटेर सन् २००७/०८ मा ६ वटा रहेकामा वृद्धि हुँदै पुन: १७ पुगेको हो। "शुक्लाफाँटा बाघका लागि राम्रो वासस्थान हो," आरक्षका संरक्षण अधिकृत युवराज रेग्मी भन्छन्, "सानो आरक्षमा धेरै बाघ पाइने हुँदा पर्यटक आकषिर्त हुन्छन्।"

सिकार आरक्षका रूपमा ०२६ सालमा स्थापित शुक्लाफाँटालाई ०३२ सालमा वन्यजन्तु आरक्ष घोषणा गरिएको हो। आरक्ष तराई भू-परिधिको मध्यविन्दु पर्छ। यसले नेपाल र भारतका ११ वटा संरक्षित क्षेत्रलाई जोड्छ। शुक्लाफाँटामा देशकै सबैभन्दा ठूलो घाँसे मैदान छ, जहाँ बाह्रसिंगाको ठूलो बथान चररिहेको भेटिन्छ।

राजपरिवारले सिकार खेल्न ०२३ सालमा स्थापित शाही सिकार सुरक्षित जंगल ०४५ सालमा आरक्षका रूपमा विस्तार हुँदै तराईको सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज बनेको हो। बबई उपत्यकाका १ हजार ५ सय ८२ परिवारलाई तारा तालमा सारेर यसको क्षेत्रफल बढाइएको हो। त्यस्तै, माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सगरमाथा आधार क्षेत्र कालापत्थरमा बसेको मन्त्रिपरष्िाद् बैठकको निर्णय अनुसार सरकारले अपी-नाम्पा र गौरीशंकर संरक्षण क्षेत्रसँगै ०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो। यस निकुञ्जमा बाघ, हात्ती, चितुवा, बँदेल, जरायोसहित ३२ प्रजातिका स्तनधारी पाइन्छन्।

राम्रो सम्भावना भएर पनि यी निकुञ्जमा पर्यटकको आवागमन भने पातलो छ। बर्दियामा गत वर्ष ५ हजार ७ सय ३४ तेस्रो मुलुकका र २ सय ८६ सार्कका सहित १२ हजार पर्यटक आएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारी बताउँछन्। "बाघ अवलोकनका लागि बर्दिया राम्रो गन्तव्य हो," भण्डारी भन्छन्, "अझ कर्णाली तटीय क्षेत्र र बबई उपत्यकामा बाघ सहजै देख्न सकिन्छ।" शुक्लाफाँटा आरक्षमा गत वर्ष ८ सय २१ विदेशी पर्यटक आए भने बाँके निकुञ्ज भर्खर स्थापना भएकाले पर्यटकको रेकर्ड राखिएको छैन।

बाघ, गैँडा र हात्ती हेर्न तथा अनेक प्रजातिका पन्छीसँग रमाउन सकिने भए पनि पश्चिमका निकुञ्ज र आरक्षमा कम पर्यटक आउनुका तीन कारण छन्। पहिलो, यी निकुञ्ज काठमाडौँबाट टाढा छन्, बसाइ थोरै हुने पर्यटकका लागि उपयुक्त छैनन्। दोस्रो, लामो यातायातका कारण खर्चिलो हुन्छ। काठमाडौँबाट नेपालगन्ज वा धनगढी विमानस्थल उत्रेर निकुञ्ज घुमेर फर्किने हवाई भाडाले चितवनमा बास बस्न पुग्छ। अर्को, तेस्रो मुलुकका लागि 'भर्जिन गन्तव्य'कै रूपमा रहे पनि सरकार र पर्यटन व्यवसायीले पर्याप्त प्रचारप्रसार गर्न सकेका छैनन्।

डलर खर्च गर्ने तेस्रो मुलुकका पर्यटकलाई व्यवसायीहरूले काठमाडौं, पोखरा, चितवन र माउन्टेन फ्लाइटमै अल्झाइरहेको पर्यटन व्यवसायी शंकर भट्टराई बताउँछन्। "राम्रो प्याकेज बनाएर प्रचारप्रसार गर्न नसक्नु व्यवसायीको कमजोरी होला," उनी भन्छन्, "पर्यटकीय पूर्वाधार विकास नगरेर सरकारले त्यसभन्दा ठूलो गल्ती गररिहेको छ।"

निकुञ्ज क्षेत्र मात्र होइन, देशकै लामो कर्णाली नदीमा वाटर टुरिज्मका लागि व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। बर्दिया निकुञ्जसँगै कर्णाली-चिसापानीदेखि टीकापुर पार्कसम्मको नदी किनारालाई विकास गर्न सके तराईको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बन्ने व्यवसायीहरू बताउँछन्। बाँके र बर्दिया निकुञ्ज तथा शुक्लाफाँटा आरक्ष, जहाँ आए पनि पर्यटकले कर्णालीको वाटर टुरिज्ममा रमाउन सक्ने एग्रो टुरिज्म व्यवसायी कालु हमाल जैसी बताउँछन्।

कर्णालीमा नदी कटान रोक्न अहिले दुवै किनारमा तटबन्ध निर्माण भइरहेको छ। कर्णालीमा र्‍याफ्टिङ, दुवै किनारमा रिसोर्टहरू र टीकापुर पार्क छुट्टै गन्तव्य बन्न सक्ने उनको विश्वास छ। मोहना नदीमा डल्फिनसमेत हेर्न पाइने भएपछि स्वदेशी तथा विदेशी पर्यटक खोजेरै पश्चिम तराई आउने हमालको दाबी छ। "दुई निकुञ्ज र एउटा आरक्षको बीचमा एग्रो तथा वाटर टुरिज्मको सम्भावना अत्यधिक छ," हमाल भन्छन्, "यो परकिल्पना पूरा हुन सके कर्णाली तटीय क्षेत्र सौराहाभन्दा राम्रो पर्यटकीय केन्द्र बन्न सक्छ।"

शुक्लाफाँटा आरक्ष

क्षेत्रफल : ३०५ वर्गकिमि

बाघ : ८ (२०१०), १७ (२०१४)

वन्यजन्तु घनत्व : ८६ वटा प्रतिवर्गकिमि

बाँके राष्ट्रिय निकुञ्ज

क्षेत्रफल : ५५० वर्गकिमि

बाघ : ४ (२०१३)

वन्यजन्तु घनत्व : १० वटा प्रतिवर्गकिमि

बर्दिया राष्ट्रिय निकुञ्ज

क्षेत्रफल : ९६८ वर्गकिमि

बाघ : १७ (२०१०), ५० (२०१३)

वन्यजन्तु घनत्व : ९३ वटा प्रतिवर्गकिमि

प्रकाशित: श्रावण ५, २०७१