नेपाललाई विश्वकपको पाठ

नेपाललाई विश्वकपको पाठ

विश्वकप फुटबलको आयोजक र विजेता मुलुकलाई के फाइदा हुन्छ ? ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपका बेला यस्ता प्रश्न पहिलेभन्दा धेरै उठे। स्वाभाविक रूपमा यस्ता कार्यक्रम आयोजक देशको प्रचार गर्न उपयोगी हुन्छन्। यसपटकको विश्वकपले पनि आयोजकको प्रचार हुने अवसर त दियो तर ती प्रचार सबै सकारात्मक मात्रै थिएनन्। खेल आयोजना गरिएकामध्ये एउटा सहर मनाउसबारे नेपालका एक जना पूर्वअर्थसचिव र नागरकि समाजका अगुवाले प्रशंसासहित प्रश्न लेखे, 'नेपालमा पनि मनाउसजस्तै राम्रो सहर किन नबनाएको ?'

खासमा मनाउस यस विश्वकपमा ब्राजिली जनताको दुःखमाथिको क्रूर ठट्टा हो। घना जंगलको बीचमा रबर व्यापारीहरूले स्थापित गरेको यो सहरको अर्को पहिचान गरिबी, असमानता, अभाव र दुर्गमता हो। राम्रा बाटा र सार्वजनिक सवारी तथा ठूलो फुटबल टोलीसमेत नभएको त्यस सहरमा अर्बौंको खर्चमा पोर्चुगलदेखि निर्माण सामग्री आयात गरेर बनाइएको रंगशालाको उपयोग विश्वकपपछि कसरी गर्ने भन्ने कसैलाई थाहा छैन। चारवटा खेल मात्र आयोजना भएको सो रंगशालालाई जेलमा परविर्तन गर्न लागिएको हल्ला पनि चलिरहेको छ।

त्यसैले मनाउसको अनुकरण नेपालमा कसरी गर्ने होइन, कसरी नगर्ने भन्ने सोच्नु बढी जरुरी छ। मनाउस सहरका थुप्रै दुःखमा थपिएको यस विश्वकपलाई सेतो हात्ती पनि भनिएको छ। यसपटकको विश्वकपले मनाउसजस्ता अरू धेरै गर्न हुने र नहुने कामबारे केही पाठ सिकाएकै छ।

ब्राजिल र विकासशील देशका कथा

बढीमा १० वटा रंगशाला बनाउने भन्दाभन्दै पनि ब्राजिली राजनीतिज्ञ र निर्माण व्यवसायीहरूको मनोमानी एवं सिन्डीकेटले १२ रंगशाला बने। तिनैमध्ये एक थियो, मनाउसको। विकासशील देशका जनता आफ्नो प्रतिष्ठा बढाउन यस्ता प्रतियोगिता उपयोगी हुने सोच्छन् र तिनको आयोजनामा आफ्नो इज्जत अडेको सोच्छन्। तर, भ्रष्टाचार, ठूलो खर्च र जनताको प्रत्यक्ष आवश्यकतासँग कुनै सरोकार नहुने हुँदा विश्वकप आयोजना गर्नु कत्तिको फाइदाजनक छ र यो कसका निम्ति भन्ने प्रश्न यसपटक उठे। यस्ता प्रतियोगिता आयोजना गर्नु र जित्नु शासकहरूलाई आफ्नो सत्ताको सफलता र वैधानिकता पुष्टि गर्ने तरिका हुने गर्छन्। जनताका अलि टाढा रहेका सत्ता व्यवस्थाहरूमा त यो अझै बढी लागू हुन्छ। अर्जेन्टिना र ब्राजिलजस्ता देशका पूर्वसैनिक तानाशाहहरूका निम्ति विश्वकप जित्नु आफ्नो सत्ताको सफलता प्रमाणित गर्ने औजार थियो। आज पनि केही रूपमा त्यो प्रवृत्ति कायम छ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपसम्म पुग्दा यस्ता प्रश्न झन् पेचिला बन्नेछन्। कतारलाई आयोजक चुन्दा भएको मतदानमा नेपालकै अखिल नेपाल फुटबल संघले पनि महत्त्वपूर्ण मत हालेको थियो। आखिर आफ्नै देशको अपारदर्शी फुटबल संघको पनि समर्थनको बलमा आयोजना हुने प्रतियोगिता नेपाली कामदारहरूको शोषण र मृत्युको कारण बनिरहेको छ। अन्तरसम्बन्धित भएको विश्वमा सन् २०२२ को विश्वकपको मार ब्राजिलमा जस्तो आयोजक देशमा मात्रै सीमित नभएर नेपालसम्म आइपुग्ने सम्भावना छ। केवल देशको राम्रो विज्ञापन हुन्छ वा खेल जितेर प्रतिष्ठा बढ्छ भनेर मात्रै यिनको अपरिहार्यता पुष्टि गर्न गाह्रो हुने वातावरण बनिरहेको छ। खेलका नाममा हुने यस्ता जवाफदेहिता र उत्तरदायित्वहीन तथा भ्रष्ट संगठन र तिनका क्रियाकलापहरूप्रति फरक दृष्टिकोण विकसित गर्दै जानु हाम्रा निम्ति उपयोगी हुन्छ।

आयोजक ब्राजिकको अर्को दुःख खेलसँगै सम्बन्धित भएर आयो। गृह मैदानमा राम्रो प्रदर्शन गर्ने ठानिएको टोलीले खासै केही गर्न सकेन र सेमिफाइनलमा ठूलो पराजय बेहोर्नुपर्‍यो। ब्राजिलको फुटबल संघ निकै अपारदर्शी र भ्रष्ट भनेर चिनिन्छ। ब्राजिली फुटबलमा थुप्रै समस्या भए पनि राष्ट्रिय टोलीको सफलताका कारण तिनमा पर्दा लागिरहेको थियो। तर, विश्वकप आयोजनासँग छताछुल्ल भएको यो कुरूप पाटोको पटाक्षेप गर्न खेलमा देखिएको विफलताले झन् सहयोग गर्‍यो। ब्राजिली जनताको फुटबलसँग निकै अगाध सम्बन्ध छ। त्यहाँका खेलाडीहरूको कला, सीप र खेलकौशल निकै प्रशंसित पनि छ। तर, त्यही सम्बन्धका कारण फुटबललाई भजाएर फुटबल संघ, राजनीतिज्ञ र व्यापारीहरूको सिन्डीकेटले गर्ने स्रोतको दोहन अनि भ्रष्टाचारमाथि धेरै हदसम्म प्रश्न उठ्ने र जवाफदेहिताको माग कम हुन्थ्यो। यसपटक आयोजक हुँदा र नमीठो पराजयका कारण आक्रोशित ब्राजिली जनताले यस्ता विषयमा सुधारको माग गर्न सक्ने सम्भावना बढेको छ।

खेल र खेलबाहेक अरू विषयसँग सम्बन्धित यस्ता समस्या नेपालजस्ता देशमा पनि प्रशस्त छन्। र, प्रायः ती समस्याका कारण एवं प्रकार उस्तै छन्। जनताको भावनात्मक कमजोरी पहिचान गरेर अपारदर्शी संरचना र सत्ताको प्रवर्द्धन गररिहने पात्रहरू हामीकहाँ पनि छन्। ती कमजोरी राष्ट्रियताका नाममा प्रदर्शित हुन सक्छन् वा राजनीतिक आस्थाका रूपमा वा अन्य सांस्कृतिक मान्यता र आचरणहरूका रूपमा। तीप्रति हाम्रो सम्मानको कारण हामीमाथि नै शोषण गर्न सजिलो हुने वातावरण हामीले बनाइरहेका पनि हुन सक्छौँ।

जर्मनी र कोस्टारिकाको कथा

यसपटकको विश्वकप दक्षिण अमेरिकी मुलुक कोस्टारिकाका निम्ति विशेष महत्त्वपूर्ण रह्यो। धेरैले नाम नसुनेको यस देशको प्रचार गर्न उसको खेल सफल रह्यो। समूह चरण र पछि पनि राम्रो प्रदर्शन गरेर कोस्टारिकाले दर्शकमा सकारात्मक भावना जगायो। कोस्टारिका पनि राम्रो फुटबल खेल्दो रहेछ भनेर त्यसका बारे थप जानकारी भएका मानिसमा त्यहाँ घुम्न जाने चाहना पलाएको खबरहरू आएका छन्। यसमा थप सहयोगी बनेको छ, कोस्टारिकाको राजनीतिक परिवेश। उक्त देश मध्य र दक्षिण अमेरिकाकै उदाहरणीय प्रजातान्त्रिक व्यवस्था भएको देशका रूपमा चिनिन्छ। शान्ति, असल लोकतान्त्रिक संस्कार र विकासका कारण कोस्टारिकाको उजेलिरहेको छविमा विश्वकप थप सहयोगी बनेको छ।

त्यस्तै, विजेता जर्मनीका निम्ति पनि विश्वकप सुखद रह्यो। ब्राजिलको तुलनामा व्यक्तिगत प्रदर्शन गर्न सक्ने खेलाडी कम भए पनि जर्मनीको सफलताका थुप्रै अनुकरणीय पक्ष छन्। उसको जित योजना, मिहिनेत र अनुशासनको जित हो। करबि डेढ दशकअघि फुटबल प्रतियोगिताहरूमा असफलता हात लाग्न थालेपछि जर्मनीमा योजनाबद्ध ढंगले सुधारका कार्यक्रम थालिए। छिमेकी नेदरल्यान्ड्स र बेल्जियमको समेत सिको गर्दै उसले देशैभरि फुटबल एकेडेमी, तालिम र छनोट कार्यक्रमहरू सुरु गर्‍यो। पहिले श्वेत जर्मनहरू मात्रै हुने गरेको उसको टोलीमा बिस्तारै अफ्रिकी र एसियाली मूलका खेलाडी पनि थपिँदै गए। यही कारण उमेर समूहका युवा प्रतियोगिताहरू, महिला विश्वकप आदिमा जर्मनीले सफलता पाइरहेकै थियो। विश्वकप र युरोपमा पनि पटक-पटक जितको नजिकै पुगेको थियो। यही निरन्तर प्रयासको स्वरूप यसपटक आफ्नो आकर्षण र अनुशासित खेल प्रदर्शन गरेर उसले विश्वकप र थुप्रै प्रशंसक जित्न सक्यो।

जर्मन जनताका निम्ति विश्वकपको जितको महत्त्व र खुसी ब्राजिली जनताको जति महत्त्वपूर्ण छैन होला। तर, जितपछि फ्र्यांकर्फट सेयर बजार उत्साहित बनेको छ र जर्मनीमा खुसीको लहर छाएको छ। एकीकृत जर्मनीका निम्ति आफ्नो तीतो विगत बिर्साउने र वर्जितजस्तै बनेको देशप्रेमको प्रदर्शन गर्न फुटबलले सहयोग गरेको छ। यसका अतिरिक्त फुटबलको जितले विकसित देशको अर्थतन्त्र र प्रचारमा पनि सकारात्मक भूमिका निर्वाह गर्छन्। विजेता देशका रूपमा उसको राम्रो छवि बन्छ र लगानीको आकर्षण बढ्छ। त्यसैले जितको केही समयसम्म सकारात्मक भावनाका कारण जर्मनीको अर्थतन्त्र चलायमान रहिरहनेछ र खर्च बढ्नेछ। यति मात्र नभएर जर्मन टोली र देशकै छवि एकअर्कासँग सम्बन्धित पनि छन्। जर्मनीलाई कुशल कार्यव्यवस्था गर्न सक्षम र अनुशासित देशका रूपमा चिनिन्छ। फुटबल टोलीको यस्तो सफलता र छविले देशको यो पहिचानलाई झन् बलियो बनाउनेछ। वास्तवमा देशको छवि फुटबल टोलीमा सरेको हो कि फुटबल व्यवस्थापनको छवि देशमा सरेको हो भनेर प्रश्न गर्न पनि सकिन्छ। यस किसिमको सकारात्मक छविले देशको राजनीति, कूटनीति, संस्कृति, आत्मविश्वास र व्यापार आदि व्यापक क्षेत्रहरूलाई प्रभावित पार्न सक्छन्।

व्यक्तिगत सीप र खुबी महत्त्वपूर्ण कुरा भए पनि तिनकै भरमा मात्रै आजको अति प्रतिस्पर्धी विश्वमा धेरै सफलता हासिल गर्न मुस्किल छ। जर्मनीको जित कुशल योजना, टिमवर्क उत्तरदायी नीति निर्माण र वास्तविकताप्रति संवेदनशील सोचाइको जित हो। र, यो कुरा नेदरल्यान्ड्स र बेल्जियमजस्ता साना देशले फुटबलमा पाएको ठूलो सफलताको हकमा पनि लागू हुन्छ। अनि, लागू हुन्छ, अफ्गानिस्तानले क्रिकेटमा पाइरहेको सफलता र नेपालले भोगिरहेको समस्यामा पनि।

नेपाललाई पाठ

ब्राजिल, कोस्टारिका, जर्मनीजस्ता देशका उदाहरण नेपालका निम्ति विशेष महत्त्व राख्छन्। सफल र आदर्श क्रिकेट कप्तान पारस खड्काकै सुझाव माने पनि नेपालले धेरै सुधार र प्रगति हासिल गर्न सक्थ्यो। तर, विडम्बना नै भन्नुपर्छ, कुनै विश्वविद्यालय, प्रोफेसर वा म्यानेजमेन्ट कन्सल्ट्यान्टले जत्तिकै महत्त्वपूर्ण र गहन कुरा गरेका पारसको सुझावलाई हालसम्म खासै ध्यान दिइएको छैन।

खेल प्रतियोगिताको आयोजना र जितलाई प्रयोग गर्न दक्षता र खुबीमा तिनको उपादेयता भर पर्छ। यसपटकको जितको कारण त्यस प्रक्रियामा संलग्न फुटबल संघ, क्लबहरू, व्यवस्थापन, विज्ञापनदाता, नीति निर्माता, योजनाकार, प्राविधिकहरू र जनस्तरको भूमिका आदि धेरैको सम्मिश्रण हो। उत्तरदायी राजनीति र पारदर्शी संरचनामा अडेको खुला लोकतान्त्रिक समाजले यस्ता अवसरहरूबाट धेरै फाइदा उठाउन सक्छ। वास्तवमा यही कुरा फुटबल खेलका निम्ति मात्रै नभएर संगीत, कला, साहित्य, विज्ञान र अन्य थुप्रै क्षेत्रका हकमा पनि लागू हुन्छ। राम्रो योजना र व्यवस्थापनका साथै उचित प्रक्रियाको अवलम्बन, राजनीतिक-सामाजिक खुलापन र अनुशासित कार्यसम्पादनको नतिजा अक्सर उद्दण्डता, क्रान्तिकारिता, अपारदर्शी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार तथा संकीर्णता अनि तजबिजी रूपमा जथाभावी कार्यसम्पादनको भन्दा राम्रै हुने गर्छ।

पारसले नेपाली क्रिकेटको व्यवसायीकरणको माग गरेका छन्। उनले अफगानिस्तानको उदाहरण दिँदै नेपालले अरू सफलता पाउने हो भने गर्नुपर्ने कार्यहरूको सूची नै प्रस्तुत गरेका छन्। तीमध्ये महत्त्वपूर्ण सुझावहरू हुन्, नेपाल क्रिकेट संघ (क्यान)मा प्रमुख कार्यकारी नियुक्त गरेर व्यवसायीकरण गर्नु, घरेलु लिग बलियो बनाउनु, क्षेत्रीय स्तरमा खेलाडीहरूको विकासमा ध्यान दिनु र समग्रमा खेललाई अपारदर्शी र जथाभावी क्रान्तिकारिताबाट मुक्त गरेर संयमित एवं अनुशासित व्यवस्थापनको जिम्मा छोड्नु। हाल क्यानमा तलब नखाने र स्वयंसेवकका रूपमा काम गर्ने राजनीतिक पार्टीहरूद्वारा नियुक्त खेलसँग असम्बन्धित मानिसहरूको हालीमुहाली छ। उचित व्यवस्थापन प्रक्रियाको अवलम्बन गर्ने हो भने प्रतिस्पर्धाबाट चुनिएका र दक्ष योजनाकारहरूलाई राम्रो तलब-सुविधासहित नियुक्त गरेर कुनै सफल र पारदर्शी कम्पनीजस्तै क्यानलाई सञ्चालन गर्नुपर्छ। उचित व्यवस्थापन प्रक्रियाको महत्त्वलाई जति जोड दिए पनि कम नै हुन्छ। पारसले भनेजस्तै हालसम्म प्राप्त सफलता खेलाडीहरूको व्यक्तिगत सीप, लगन र कौशलबाट मिलेको हो। तर, यो दीर्घकालीन तरिका हुन सक्दैन। जोस र व्यक्तिगत सीपकै भरमा हासिल हुने सफलताका सीमा छन्।

नेपालको फुटबल धेरै सम्भावना बोकेर पनि उचित व्यवस्थापन नपाउँदा थला परेर बसेको छ। हामीकहाँ सफल भएका स्थानीय निकाय, वन संरक्षण, सामुदायिक विकास प्रयासहरूजस्ता सकारात्मक अनुभवहरूलाई पनि संस्थागत नगर्दा र उचित व्यवस्थापन प्रक्रिया नअपनाउँदा धराशयी बन्ने क्रममा बढेका धेरै दृष्टान्त छन्। शिक्षण अस्पताल, पुल्चोक इन्जिनियरङि क्याम्पस, रामपुर कृषि क्याम्पस, प्राविधिक शिक्षालय, विज्ञान प्रविधि अनुसन्धान प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठानजस्ता अन्य क्षेत्रका सफलताहरू पनि यस्तै कारणले गर्दा सुस्ताएका छन्।

खासमा जे गर्दा पनि भइहाल्छ नि भन्ने तदर्थवादी संस्कार र 'नेपाली विशेषता'को क्रान्तिकारतिाको नाराका पछाडि लाग्दा हामीलाई धेरै घाटा पुगेको छ। केही प्रक्रिया, व्यवस्थापन सीप र कार्यकौशलताका तरिका अचेल विश्वव्यापी रूपमा स्थापित भइसकेका छन्। तिनमा नेपाली मौलिकता खोजिरहनु पर्दैन, केवल कार्यान्वयनमा सिर्जनशीलता प्रयोग गरेर आफ्नो ढाँचाका काम गरे हुन्छ। तर, ती आधारभूत सिद्धान्त र तरिकाको बेवास्ता गरेर वर्षौं संविधान नबनाएर समय खेर फाले पनि चलिहाल्छ, दुई दशक स्थानीय निकाय चुनाव नगरे पनि बाटोघाटो बनेकै छन्, जथाभावी संस्थाहरू चलाए पनि खेल जितिएकै छ, नेपाली वीर छन्, जसरी पनि गरखिान्छन्, भन्ने जस्ता अनावश्यक आत्मविश्वास हाम्रा निम्ति हानिकारक छन्। यिनले दीर्घकालीन रूपमा हाम्रो क्षमता र प्रतिस्पर्धी क्षमता ह्रास गररिहेका छन्।

ब्राजिलमा सम्पन्न विश्वकप फुटबलबाट यस्तै पाठ सिक्न सके हाम्रा निम्ति धेरै लाभदायी हुनेछ।

प्रकाशित: श्रावण ५, २०७१