विदेशी 'बदनियत’

  • आरोहणमा संलग्न शेर्पाहरुबारे गलत प्रचारबाजी
विदेशी 'बदनियत’

- प्रदीप बस्याल

नेपाल पर्वतारोहण संघ (एनएमए) अध्यक्ष आङ छिरङि शेर्पा अहिले सरकारी अधिकारी, क्लाइम्बिङ अपरेटर्सलगायत सरोकारवाला निकायसँग छलफलमा व्यस्त छन्। खास गरी विश्वको सर्वोच्च शिखर सगरमाथामा ५ वैशाखमा भएको सर्वाधिक मानवीय क्षतिसँगै आरोहण रोकिएको बारे ९ र १० जेठमा जर्मनीको म्युनिखमा हुने अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको नियमित बैठक तथा १६ र १७ जेठमा हङकङमा हुने युनियन अफ अल्पाइन एसोसिएसन अफ एसिया (यूएएए)को काउन्सिल मिटिङमा अन्य सदस्यले प्रश्न उठाउने पक्का छ। एनएमए दुवै संस्थाको सदस्य हो। "क्लाइम्बिङ शेर्पाहरूको विश्वसनीयता यहाँसम्म ल्याउन सयौँ वर्ष लागेको छ," अध्यक्ष शेर्पा भन्छन्, "यसपटकको घटनासँगै प्रवाह भएका समाचार र अफवाहले केही धक्का पुगेको छ।"

१६ जना आरोहीको ज्यान जाने गरी सगरमाथामा भएको दुर्घटनापछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा वर्षौंदेखि आरोहण पेसामा संलग्न नेपाली शेर्पाको परचियमै धक्का लाग्ने गरी प्रचारबाजी भयो। शोकमा परेका शेर्पाहरू आरोहण नै बन्द गरेर आन्दोलनमा उत्रिए भनिए पनि वास्तविकता अलिक फरक रहेको सरोकारवालाहरू बताउँछन्। अध्यक्ष शेर्पा थप्छन्, "पूरै परविारका युवा आरोहण व्यवसायमा लाग्ने हुँदा फरक फरक आरोहण टोलीमा एउटै परविारका बाबु, दाइ, भाइ, काका आबद्ध हुन्छन्। यदि एउटा टोलीमा समस्या देखियो भने स्वाभाविक रूपमा सिजनका अरू आरोहण दल पनि प्रभावित हुन्छन्। यो कुरालाई कतिपय मिडियाले बुझेनन्।"

आरोहणमा शेर्पा भनेर शेर्पाबाहेक गुरुङ, खत्री, तामाङ जातिका कर्मशीलहरू पनि बुझिन्छन्। पर्यटन उद्योग महाशाखाका सहसचिव मधुसूदन बुर्लाकोटी भन्छन्, "बिरालोले बाटो काट्दा त यात्राको योजना फेर्ने नेपाली संस्कारमा आरोहणकै सुरुमा भएको यो घटनाबाट सबै झस्किनु अस्वाभाविक होइन।" तर, हुँदै नभएको वार्ता, बैठक र सहमति प्रयासका शीर्षकमा शेर्पालाई बदनाम गररिहेको भन्दै महाशाखाले औपचारकि रूपमै आपत्ति जनाउँदै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पत्राचारको तयारी गररिहेको छ।

आरोहणका बेला गाइड को र कस्तो छ भन्ने तथ्यले समेत आरोही पर्यटकको आगमन दर निर्धारण गर्छ। ज्यान गुमाएका १६ आरोही सगरमाथालाई राम्रोसँग बुझेका व्यक्ति थिए। तर, क्षति मानवीयदेखि आर्थिक पक्षसम्म लम्बिएको छ। सगरमाथाका लागि यो सिजनमा ३१ आरोहण टोली तय भएका थिए, जसमा सगरमाथा आधार शिविर नै प्रयोग गर्ने लोत्सेका नौ र नुप्सेका ६ हिमालका आरोहणसमेत यसपटक नहुने लगभग टुंगो लागेको छ। त्यसमाथि एक स्किइङ दल, डिस्कभरी च्यानल र अमेरिकी एनबीसी टीभीका लागि गर्ने भनिएको 'विङ सुट डिसेन्ट'समेत यसै याममा हुनेवाला थियो।

दुईपटक सगरमाथा नापिसकेका ३९ वर्षे केली मार्टिनोले सगरमाथा चुचुरोबाट गर्ने भनिएको विङ सुट डिसेन्टलाई विश्वभरबाट धेरैले चियाइरहेका थिए। चुचुरोबाट विङ सुटसहित फाल हानेर प्रतिघन्टा २ सय ४० किलोमिटरको गतिमा बेस क्याम्प झर्ने उक्त स्टन्टलाई सुटमा जोडिएको क्यामेरामार्फत छायांकन गरी दुवै टेलिभिजनले दुई घन्टाको कार्यक्रम बनाउँदै थिए। तर, घटनाको भोलिपल्टै उनीहरूले यस वर्षका लागि आफ्नो योजना रद्द भएको विज्ञप्ति निकाले। जसमा भनिएको थियो, 'हाम्रो यो स्टन्टभन्दा धेरै गुणा महत्त्वपूर्ण शेर्पाहरूको भावना हो, जसमाथि हामी धक्का पुर्‍याउन चाहन्नौँ।'

यो सिजनमा ३४ करोड रुपियाँ सलामी उठाएको सरकारले घटनासँगै आरोहण रद्द भएका दलले पाँच वर्षभित्र सगरमाथा चढ्न सक्ने व्यवस्था गरेको छ। जबकि, सामान्य अवस्थामा ७२ दिनभित्रै सरकारलाई कारणसहित जानकारी गराए दुई वर्षभित्र आरोहण गर्न सकिन्छ। यसले गर्दा अर्को वर्ष सगरमाथामा झन् बढी चाप हुन सक्छ। सहसचिव बुर्लाकोटी भन्छन्, "तर, सरकारका तर्फबाट आरोहण याम रद्द हुने भन्नेचाहिँ हुँदैन।" यद्यपि, घटनापछि ११ वैशाखमा काठमाडाँैबाट सरकारी उच्च अधिकारी र एनएमए प्रतिनिधिहरू आधार शिविर पुग्दा त्यहाँ रहेका शेर्पा र विदेशी आरोहीबीच मोटामोटी रूपमा कसैलाई आरोहणबाट र्फकन नरोक्ने र चढ्न दबाब पनि नदिने सहमति भइसकेको रहेछ।

मोटो रकम खर्चिएर आएका केही विदेशी आरोहण दल जसरी भए पनि आरोहणको मनस्थितिमा थिए। तर, केही ठूला आरोहण दलले नै यसपटक नचढ्ने भनेपछि 'क्याम्प टु'देखि चुचुरोसम्म डोरी टाँग्ने कामकै लागि जनशक्ति अभाव हुन पुग्यो। जसले अन्यलाई समेत प्रभावित बनायो। क्याम्प टुदेखि चुचुरोसम्म मात्रै झन्डै १० देखि १२ हजार मिटर डोरी टाँग्नुपर्छ। त्यसले गर्दा चढ्नैपर्छ भन्नेले समेत आरोहण 'प्याकअप' गर्ने निर्णय गरे। यसले गर्दा सामान्यतः ७० दिन हिमाल र आसपासमा बिताउने थुप्रैको भ्रमण आधाभन्दा बढी छोटिएको छ। हिमालमा काम गर्ने एक शेर्पाले पाउने औसत तीनदेखि पाँच हजार अमेरकिी डलर आम्दानी पनि प्रभावित भएको छ। आरोहणका क्रममा एक आरोहीका लागि कम्तीमा दुई क्लाइम्बिङ शेर्पा खटिन्छन् भने एउटा आरोहीबाट विभिन्न चरणमा आठदेखि १० जनाले रोजगारी पाउँछन्। एक सिजनमा यस्ता एक हजारभन्दा बढी जनशक्ति विभिन्न चरणमा खटिने गर्छन्।

अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूमा हल्ला जेजस्ता भए पनि नेपाल सरकारको रेकर्डमा अहिलेसम्म न कुनै शेर्पाले आरोहणमा असहयोग गरेको उजुरी परेको छ, न त कुनै विदेशीले चढ्न दबाब दिएकै। त्यस्तो भएको खण्डमा सरकारले अनुसन्धान गरेर कसुर हेरी आधार शिविर जान प्रतिबन्ध लगाउने, हिमाल चढ्न रोक लगाउने, बिमा सुविधा रोकिदिने र विदेशीको हकमा नेपाल नै आउन रोक लगाउनेसम्मका कारबाही गर्न सक्ने व्यवस्था छ।

घटनालगत्तै उद्धार समन्वयमा सम्पर्क अधिकृतहरूले आवश्यक तदारुकता देखाउन नसक्दा शेर्पाहरू चिढिएका थिए। बेस क्याम्पमा हुनुपर्ने ४८ सम्पर्क अधिकृत र पर्यटन मन्त्रालयका कर्मचारी तथा प्रहरीसहितको नौ सदस्यीय एक एकीकृत टोलीमध्ये त्यस बेला तीन जना मात्र थिए। सहसचिव बुर्लाकोटी भन्छन्, "सम्पर्क अधिकृतलाई सरकारले नै बेस क्याम्पभन्दा माथि जान रोकेको हुन्छ, त्यसलाई कमजोरीका रूपमा बुझ्नु हुँदैन।"

नेपाल सरकारले अघिल्लो भदौदेखि लागू हुने गरी बिमा रकम परविर्तन गरेको थियो। पहिले आधार शिविरभन्दा माथिका कामदारको बिमा चार लाख रुपियाँको थियो, जसलाई पछिल्लोपटक १० लाख रुपियाँ बनाइयो। बेस क्याम्पमा बस्नेको बिमा साढे तीन लाख थियो, जुन आठ लाख रुपियाँसम्म पुग्यो। तर, घटनापछि बेस क्याम्पमा रहेका शेर्पाबाट आएका १३ मागमध्ये बेस क्याम्पभन्दा माथि जाने क्लाइम्बिङ शेर्पाको बिमा रकम अर्को वर्षबाट लागू हुने गरी १५ लाख पुर्‍याउने निर्णयमा सरकार पुग्यो। यद्यपि, उक्त रकम सरकारले थप पाँच लाख रुपियाँ बेहोर्ने गरी मृतकका परिवारले यसै सिजनदेखि पाउनेछन्।

यस याममा परिस्थितिजन्य कारणले सगरमाथा आरोहण रोकिए पनि सरकारले खुला गरेका अन्य हिमालमा भने आरोहण सुचारु छ। हालसम्म नेपाल सरकारले ३ सय २६ वटा चुचुरा पर्वतारोहणका लागि खुला गरेको छ, जसमा धेरै उचाइको आरोहणमा पर्ने २ सय ९३ हिमालमा बर्सेनि तीन सयको हाराहारीमा पर्वतारोहण टिम आउँछन् भने कम उचाइका ३३ वटा हिमालमा १ हजार ३ सयभन्दा बढी आरोहण टोली आउँछन्। तर, आकर्षणको केन्द्र सगरमाथाले सबैभन्दा बढी अर्थ राख्छ किनभने विश्वले त्यसतर्फ ध्यान दिइरहेको हुन्छ। एनएमए अध्यक्ष शेर्पा भन्छन्, "त्यसैले मानवीय क्षतिमाथि खेलेर घटनालाई बंग्याउनुको जड पत्ता लगाउन खोजिरहेका छौँ।"

प्रकाशित: वैशाख २८, २०७१