इतिहास बुझाउने स्मारक

  • रणोद्दीप सिंह मारिएको घर र भित्रिया रानीहरु बस्ने दरबारमा अझै प्रवेश निषेध
इतिहास बुझाउने स्मारक

- सीताराम बराल

नारायणहिटी दरबार संग्रहालयको अवलोकन गर्न जाँदै हुनुहुन्छ ? त्यतिबेला पूर्वमा जयनेपाल हलदेखि पश्चिममा केशरमहलसम्म, उत्तरमा लाजिम्पाटदेखि दक्षिणमा नारायणहिटी दरबारको मूलढोकासम्मकै तस्बिर ध्यानमा आउँछ। तर, नारायणहिटी परसिरभित्र प्रवेश गरेपछि चाहिँ अवलोकनकर्ताहरू दरबारको कोठाचोटामै सीमित हुन बाध्य हुन्छन्। त्यसबाहेक त्रिभुवन सदन रहेको ठाउँ पनि अर्को अवलोकनस्थल हो, जहाँ १९ जेठ ०५८ मा राजा वीरेन्द्रको वंश नै नाश हुने गरी हत्याकाण्ड भएको थियो।

त्यसो त आधुनिक शैलीको नारायणहिटी दरबार र वीरेन्द्रको वंशनाश भएको त्रिभुवन सदन मात्रै नारायणहिटी होइन। यसभित्र हेर्नैपर्ने स्मारक हो, विसं १९९० को भूकम्पबाट पनि जोगिएको वीरशमशेरकालीन विशाल नारायणहिटी दरबारको एउटा भाग। यसभन्दा पनि महत्त्वपूर्ण नारायणहिटी दरबारको अर्को भाग पनि अझै सुरक्षित छ, जहाँ मंसिर १९४२ को पहिलो साता तत्कालीन प्रधानमन्त्री श्री ३ रणोद्दीपको आफ्नै भतिजाहरूद्वारा हत्या भएको थियो। सरकारले यिनलाई नारायणहिटी संग्रहालयको अंग मानेर सार्वजनिक प्रदर्शनका लागि खुला गरेको छैन। आमनागरकि र पर्यटकका लागि यी स्मारक निषेधित छन्।

प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले विसं १९०३ मा कोतपर्वमार्फत शक्ति हत्याएपछि नारायणहिटी दरबार उनका भाइ रणोद्दीप सिंहको भागमा पर्‍यो, जुन त्यसअघि धोकलसिंह बस्नेत नामका कुनै भारदारको सम्पत्तिका रूपमा रहेको थियो। विसं १९३३ मा जंगबहादुरको मृत्युपछि प्रधानमन्त्री बनेका श्री ३ रणोद्दीपको विसं १९४२ मा हत्या हुँदा उनी यही दरबारमा थिए। आफू श्री ३ महाराज बनेपछि वीरशमशेरले रणोद्दीपको त्यो दरबार जगैदेखि भत्काउन लगाए। तर, रणोद्दीप मारिएको खण्डचाहिँ भत्काइएन।

इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार वीरशमशेरले रणोद्दीपको दरबारको ठाउँमा भव्य नारायणहिटी बनाए भने आफ्ना लागि सेतो दरबार (हाल याक एन्ड यती होटल)। वीर सेतो दरबार सरेपछि हनुमानढोकामा रहँदै आएका राजा पृथ्वीवीरविक्रमलाई नारायणहिटी सारियो। राजाकै निवास हुन पुगेपछि नारायणहिटीले राजदरबारको मान्यता पाउन थालेको थियो।

वीरशमशेरले बनाएको नारायणहिटी दरबारको भव्य खण्ड १९९० को भूकम्पबाट जोगिन सकेन। अहिलेको प्यागोडा शैलीको नारायणहिटी बनाउने क्रममा वीरशमशेरकालीन तर १९९० को भूकम्पबाट बचेका दरबारका खण्डहरू राजा महेन्द्रले भत्काए। तर, उनको पालामा पनि रणोद्दीप मारिएको खण्डचाहिँ जोगियो।

वीरशमशेरकालीन नारायणहिटीको अर्को भाग पनि बाँकी रह्यो, जहाँ उपचारका लागि ज्युरचि जानुअघिसम्म राजा त्रिभुवन बस्थे। त्रिभुवनकी प्यारी रानी सरला ९ फागुन ०६३ मा निधन हुनुअघिसम्म यहीँ बस्थिन्।

खासमा राजा पृथ्वी वीरविक्रम र त्रिभुवनका भित्रिनी रानीहरूलाई राख्ने ठाउँको अभावका कारण रणोद्दीप मारिएको दरबारको खण्ड जोगिन पुगेको हो। जस्तो कि, राजा त्रिभुवनले बिहे गरी ल्याएका बडामहारानीहरू कान्ति र ईश्वरीबाहेक झन्डै आधा दर्जन अन्य रानी थिए। उनका पिता राजा पृथ्वीका पनि थुप्रै रानी थिए। गणतन्त्र आउँदासम्म पनि ती रानीहरू जीवितै रहेका कारण धोकलसिंह बस्नेत र वीरशमशेरकालीन दरबारका महत्त्वपूर्ण खण्डहरू जोगिन सके।

इतिहासकार राणाका अनुसार सबैभन्दा तल्लो तहकी अर्धाङ्गिनीलाई नानी भनिन्थ्यो भने त्यसपछि क्रमैसँग रानी, महारानी हुन्थे। सबैभन्दा उच्च दर्जाका रानीलाई चाहिँ बडामहारानी भनिन्थ्यो, जो औपचारकि रूपमा बिहे गरी दरबार भित्र्याइएका हुन्थे। जस्तो ः झन्डै आधा दर्जन भित्रिनी रानी भए पनि पन्जाबबाट बिहे गरी ल्याइएका दिदीबहिनी कान्ति र ईश्वरी राज्यलक्ष्मीदेवीलाई मात्र दरबारले 'बडामहारानी'को दर्जा दिएको थियो। सरलाचाहिँ त्रिभुवनकी रानी मात्र थिइन्। वैध अर्धाङ्गिनीका रूपमा रहने बडामहारानीहरू नारायणहिटी राजदरबारमा राजासँगै रहन्थे। तर, महारानी, रानी र नानीको दर्जा पाएकाहरूचाहिँ बम्बईचोक दरबार र रणोद्दीप मारिएको स्थानमा गुमनाम जीवन जिउन बाध्य हुन्थे। राजतन्त्र रहेका बेलासम्म न उनीहरूको जीवनबारे सर्वसाधारणलाई कुनै जानकारी हुन्थ्यो, न त मृत्युबारे नै।

यी दरबारमा रहने रानीहरूबारे कुनै कुरा सार्वजनिक नहोस् भन्ने कुरामा कति ख्याल पुर्‍याइएको थियो भन्ने कुरा ९ फागुन ०६७ मा रानी सरलाको निधनपछि उनको रेखदेखका लागि खटिएका कर्मचारीहरूले बेहोर्नुपरेको नियतिले पनि स्पष्ट पार्छ। भित्रिनी रानीको सहयोगका लागि खटिएकाले उनीहरूको नाम राजप्रासाद सेवाका कर्मचारीका रूपमा दर्ज थिएन। यही कारण सरलाको निधनपछि बिना उपदान र बिना निवृत्तिभरण उनीहरू रुँदै रुँदै बम्बईचोक छाडेर हिँड्नुपर्‍यो। जबकि, राजप्रासाद सेवाका अन्य कर्मचारीचाहिँ गणतन्त्रपछि निजामती सेवा अन्तर्गत विशेष समूहमा रूपान्तरति भए र अहिले पनि नेपाल सरकारका कर्मचारीका रूपमा जागिरमा छँदै छन्। मृत्युअघि रानी सरला बस्ने गरेको वीरशमशेरकालीन नारायणहिटीको सुरक्षित उक्त खण्डलाई बम्बईचोक दरबारका नामले चिनिन्छ।

राजप्रासाद सेवाका पूर्वसचिव विश्वविक्रम शाहका अनुसार रानी सरला मात्र होइन, त्रिभुवनका अन्य भित्रिया रानी पनि बम्बईचोक दरबार र रणोद्दीपको हत्या भएको स्थानमै राखिएका थिए। जस्तो ः १९ जेठ ०५८ को रात्रिभोजमा उपस्थित महेश्वरकुमार सिंह पनि राजा त्रिभुवनका भित्रिनी रानीपट्टिका ज्वाइँ थिए। महेश्वरले दयाराज्यलक्ष्मी नामकी त्रिभुवनकी भित्रिनी रानीकी छोरी राजकुमारी विमलासँग बिहे गरेका थिए।

यसै गरी चिकित्सक दिव्येश्वरी मल्लकी आमा पनि त्रिभुवनकै भित्रिनी रानीमध्ये एक थिइन्। १९ जेठको रात्रिभोजमा उपस्थित रविशमशेर राणा (हाल दिवंगत) पनि त्रिभुवनकी भित्रिनी रानीपट्टिकी छोरी आँचला राणा (हाल दिवंगत)का पति हुन् । यी सबै रानी यिनै पुराना दरबारका कोठाभित्र लुकाएर राखिएका थिए।

संग्रहालय उपप्रमुख रोहित ढुंगानाका अनुसार विसं १९६८ मै निधन भएका राजा पृथ्वीकी एक भित्रिनी रानी पनि ०४२ सालसम्म जीवितै थिइन्। ढुंगाना सम्झन्छन्, "काम विशेषले दरबारको त्यो पुरानो खण्डमा जाँदा ती रानी त्यहाँ भेटिन्थिन्। त्यतिबेला उनको उमेर झन्डै ९० पुगिसकेको थियो।" नारायणहिटीभित्र यस्तो गुमनाम जीवन बिताउने अन्तिम भित्रिनीचाहिँ रानी सरला नै भइन्। धन्न, उनको निधन हुँदा गणतन्त्र आइसकेकाले उनीबारे एकाध खबर नेपाली समाचारपत्रमा आइरहन्थे।

राजाहरूका भित्रिनी रानीलाई राख्नका लागि पुरानो नारायणहिटीका उपर्युक्त महत्त्वपूर्ण खण्डहरू सुरक्षित भए पनि सरकारले यी खण्ड प्रदर्शनीका लागि खुला गरेको छैन। पूर्व मुमाबडामहारानी रत्नको निवास महेन्द्र मञ्जिल र नारायणहिटीभित्र रहेका नेपाली सेनाका विभिन्न एकाइका ब्यारेक छिचोल्दै जानुपर्ने भएकाले नारायणहिटीको यो 'एन्टिक' खण्ड पुग्न सर्वसाधारणका लागि असम्भवजस्तै छ।

रणोद्दीपको हत्या भएको पुरानो दरबारको सोही खण्ड र बम्बईचोक दरबार पुग्न जयनेपाल हलअगाडि रहेको नेपाली सेनाको विशेष सुरक्षा बलको ढोका हुँदै रत्नको महेन्द्र मञ्जिलबाट उत्तरतिर लाग्नुपर्छ। हाल राहदानी विभागको पूर्वी भाग पुगेर उत्तरतर्फ लाग्दा पनि यी खण्डमा पुग्न सकिन्छ। तर, त्यहाँ त्यस खण्डमा उपत्यका पृतनाका सैनिकहरूको गस्ती हुने भएकाले गन्तव्यमा पुग्न यो ठाउँ पनि दुरुह छ। उत्तरतिर सेनाको उपत्यका पृतनाको कार्यालय भएकाले यो बाटो पनि असम्भव नै छ।

संग्रहालयका उपप्रमुख ढुंगाना दरबार अवलोकनको उद्देश्यसहित जीर्णोद्धारका लागि सरकारले बजेट उपलब्ध गराउने हो भने नारायणहिटी दरबार संग्रहालयको महत्त्व अरू बढ्ने बताउँछन्। भन्छन्, "भत्कने क्रममा रहेको रणोद्दीपको दरबार मर्मत गरेर हामीले जोगाएका छौँ। हेर्न लायक बनाउने रकम र त्यहाँ पुग्ने बाटोको प्रबन्ध सरकारले गरिदिने हो भने अवलोकनकर्ताले नारायणहिटीका यी एन्टिक खण्ड पनि हेर्न पाउनेछन्।"

रणोद्दीपको चिनो ः बिजुली गारत

राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाका लागि नेपाली सेनाले हतियारधारी सैनिकका अलावा दौरा-सुरुवालमा ठाँटिएर बस्ने अर्को विशेष फौज पनि खटाउने गरेको छ, जसको मुख्यालय अहिले पनि नारायणहिटी दरबारभित्रै छ। जय नेपाल हलअगाडि नारायणहिटीको पूर्वी गेटमा रहेको यो फौज विशेष सुरक्षा बलका नामले चिनिन्छ। यसको गठन खासमा नारायणहिटीभित्र हत्या गरिएका रणोद्दीप सिंहले गरेका थिए।

भतिजा (दाजु जंगबहादुर र भाइ धीरशमशेरका छोरा)हरूबीच चर्किएको शक्तिसंघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले 'बिजुली गारत' नाम दिई यो विशेष फौज निर्माण गरेका थिए। इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार विशेष प्रकारका हातहतियारका अलावा यो फौजले गल र साबेलजस्ता साधन पनि बोक्ने गथ्र्याे ताकि आवश्यकता परे कसैको घर वा पर्खाल भत्काउनै किन नपरोस्।

यो फौजको चर्चा नेपालको राजनीतिक इतिहासमा पटक-पटक हुने गरेको थियो। बीपी कोइरालाले ००७ सालको क्रान्तिपछि मोहनशमशेरको हातबाट राजा त्रिभुवनको हातमा यही बिजुली गारत पुगेपछि दरबार बलियो हुँदै गएको र उत्कर्षका रूपमा ०१७ सालको फौजी 'कू' हुन पुगेको कुरा आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्। राजा महेन्द्रले ०२५ सालतिर यसलाई सैनिक प्रहरी नाम दिएर संगठित गरेका थिए।

गणतन्त्र स्थापनापछि चाहिँ यसलाई विशेष सुरक्षा बलका रूपमा निरन्तरता दिइएको छ। दौरा-सुरुवालमा ठाँटिएको देखिए पनि सुरक्षामा खटिने यो फोर्सका सैनिकहरू विशेष तालिमप्राप्त हुन्छन्, साथै चनाखो पनि। राष्ट्राध्यक्ष कुनै ठाउँमा पुग्नुभन्दा पहिल्यै यसका सैनिक सादा पोसाकमा घटनास्थल पुगेर वस्तुस्थिति अध्ययन गरसिकेका हुन्छन्। उनीहरूले दिने सूचनाकै आधारमा राष्ट्रपति-उपराष्ट्रपति त्यहाँ जाने-नजाने कुराको अन्तिम टुंगो लाग्छ। अन्य सैनिक एकाइहरू पृतना, बाहिनी, गण वा गुल्मको मातहतमा हुन्छन्। तर, राष्ट्राध्यक्षको सुरक्षाको जिम्मेवारी पाएकाले यसलाई सीधै जंगी अड्डा र प्रधानसेनापतिको मातहत राखिएको छ।

प्रकाशित: वैशाख २३, २०७१