व्यग्र युवा अभियन्ताहरू

व्यग्र युवा अभियन्ताहरू

- रामेश्वर खनाल

नारायणघाट, नारायणी नदी किनारको चोकबाट हाकिमचोकसम्मको यात्रा लामो होइन। तर, बस-ट्रकहरू जथाभावी रोक्ने र हर्न बजाउनाले कतिखेर त्यो छोटो तर झिजोलाग्दो यात्रा पार गरौँ जस्तो लाग्छ। दुर्भाग्य ! त्यो दिन समय अलि बढी नै लाग्यो। हाकिमचोक पार गरेपछिचाहिँ गाडीले गति लियो।

टाँडी, जसको नयाँ नाम रत्ननगर बनेको छ, पार गर्नै लाग्दा सहयात्रीले एक युवा उद्यमीलाई भेटेर जान सुझाए। बाँदरमुढेमा बसभरिका मान्छेलाई एकै चिहान बनाएको केही वर्ष बितिसकेको थियो । तर, त्यो मानवीय संवेदनाविहीन भयावह घटनाको सम्झना आइरहन्थ्यो। त्यसैले त्यो भूमिमा रोकिएर टहलिने कल्पना हामीले गरेका थिएनौँ। होइन, मर्न त धेरै नेपाली अनाहकमा मरे तर त्यहीँ पर एक जना भर्खरका युवकले जे गरेका छन्, त्यो हेर्दा र उनीसँग गफ गर्दा मात्र पनि आनन्द आउँछ भनेपछि यात्रुमध्ये एक मलाई त्यहाँ जाने इच्छा जाग्यो।

टाँडी कटेपछि हामी पूर्व लाग्दै गरेको बाटोबाट बायाँ लाग्यौँ। खेतका आलीलाई फराकिलो पार्दै मोटर चल्ने बाटो बनाइएको आली-सडकको नागबेली छिचोल्दै बस्ती निखि्रएकोे एउटा स्थानमा बायाँपट्टि 'सत्यम् काउ फर्म एन्ड बि्रडिङ् हाउस- ग्रास फिल्ड'को साइनबोर्ड देखियो। केही क्षणअघि त्यहाँ जाने इच्छा नगरेका मित्रहरूमा पनि फुर्ती जाग्यो। गाडी रोकियो। साइनबोर्डका सामुन्ने सबैले फोटो खिचे। हामी अगाडि बढ्यौँ। केही पर दुई-चार घर भएको बस्तीको मुखैमा जनक सिवाकोटीको घर रहेछ। आँगनमा पुगेर हामी रोकियौँ। गाडी रोकिएको आवाज सुन्नेबित्तिकै जनक बाहिर निस्किए। कोही आउँदा स्वागत गर्न अभ्यस्त भइसकेका रहेछन् उनी। हामीलाई पहिला उनले आफ्नो गोठ देखाउन लगे। करबि ३० वटा गाई लहरै बाँधिएका, एकदम हृष्ट-पुष्ट !

गाईपालन व्यवसाय सुरु गर्ने सोच बनाउँदादेखि हामी त्यहाँ पुगेको क्षणसम्मको इतिवृत्तान्त उनले गोठ र करबि एक कट्ठा जमिनमा लगाइएको थरीथरीका उन्नत घाँस देखाउन्जेलमै सुनाउन भ्याए। उनको त्यो कथा प्रेरणादायी थियो। गोठबाटै हामी र्फकने तरखर गर्न लाग्यौँ। तर, उनले आफ्नो बैठक कक्षमा अझै केही देखाउन र थप केही भन्न बाँकी छ भनेर कर गरे। ठूलो चार्ट-पेपरमा आफ्नो व्यवसायको दीर्घकालीन रणनीति लेखेर उनले बैठकको भित्तामा टाँसेका रहेछन्। मोबाइल सेटबाट इन्टरनेट चहारेर विकसित मुलुकका व्यावसायिक गाईपालकहरूको आधुनिक गोठको नमुनाका प्रिन्ट टेबलमाथि राखेर एक-एक गर्दै देखाए। डेनमार्कको कुनै एउटा अत्यन्त आधुनिक देखिने गोठजस्तै बनाउने सपना साँचेका रहेछन् उनले। कृषि विधामै थप अध्ययन गर्न कलेजमा भर्ना भएका रहेछन्। सहपाठीहरूलाई संगठनका राजनीतिक गतिविधिमा नलागेर व्यवसाय समात्न सिकाउँदा रहेछन्।

आय आर्जनको राम्रो बाटो नसमाती युवाहरू राजनीतिमा होमिन हुँदैन भन्ने बताइरहेका थिए उनी। अहिले जनकको गोठमा ४५ दुधालु गाई छन्। मासिक ५० हजार रुपियाँमाथिको खुद आम्दानी गर्छन्। बजारको समस्या छैन। दुई कट्ठा जमिन मात्रै पैतृक सम्पत्ति भएका उनले गएको तीन वर्षमा छिमेकीहरूको पाँच बिघा जग्गा पट्टामा लिएर घाँस खेती गरेका छन् र नयाँ आधुनिक गोठ बनाउँदै छन्।

जनक तिनै युवक हुन्, जो वैदेशिक रोजगारमा जान कस्सिएका थिए। सवा तीन वर्षअघि काठमाडौँको चिसोमा बिहानै सिउसिउ गर्दै परराष्ट्र मन्त्रालयअघि दिनभरि कुरेर उनले राहदानीका लागि दरखास्त हाले। १५ दिन काठमाडौँ कुरे। राहदानी हात परेपछि म्यानपावरका दोकान धाए। साउदी अरेबियामा काम मिल्ने भयो। भएको अलिअलि नगद सम्पत्ति खर्च गरे तर भर्खरै १९ वर्ष पूरा गरेका उनलाई 'उमेर पुगेको छैन' भनेर भिसा दिइएनछ। त्यसपछि राहदानी झोलामा कोचेर बरू आफ्नै थलोमा केही गर्ने तर विदेश नजाने कसम खाएर उनी दोलखा मामाकहाँ हान्निए। मामासँग 'एउटा गाई दिनूस्, त्यही पालेर आमा-बुबालाई सहारा दिन्छु' भनेर गाई लिएर चितवन आए। एउटा गाईले मात्र के हुन्थ्यो, उनले त्यही बेला व्यावसायिक पशुपालक बन्ने तानाबाना बुने। नजिकै गाउँको साना किसान सहकारी संस्थाले युवा स्वरोजगार कोषको कार्यक्रम अन्तर्गत उनलाई दुई लाख रुपियाँ ऋण दियो। गाई थपे, डेढ वर्षमै त्यो ऋण तिरे। त्यसपछि उनले फर्केर हेरेका छैनन्। अरबको भिसा नमिल्नु वरदानजस्तो भएको छ, उनका लागि। अहिले उनी मुलुकभर स्रोत-व्यक्ति भएर सिकाउँदै हिँड्छन्।

एउटा इखले, एउटा व्यग्र सपना र चाहनाले मुलुकभर विभिन्न विधामा नयाँ पुस्ताका युवा जुर्मुराएका छन्। आमूल आर्थिक-सामाजिक रूपान्तरण गर्न सक्ने गरी यो संख्या लाखौँमा छैन। तर, हजारौँमा पक्कै छ र कतिपय सरकारी संयन्त्र तथा बडेमानका कुरा गर्ने राजनीतिज्ञको दृष्टिबाट टाढै छन्। जनकजस्ता विपन्नतामा बाल्यकाल बिताएका, राम्रो शिक्षा प्राप्त गर्न नसकेका मात्रै होइन, विश्वका उत्कृष्ट महाविद्यालय र विश्वविद्यालयबाट डिग्री हासिल गरेर बहुराष्ट्रिय कम्पनी वा अन्तर्राष्ट्रिय निकायका कार्यकारी पदमा सहजै प्रतिस्पर्धा गरेर जान सक्ने युवाहरूमा समेत एउटा अचम्मको हुटहुटी, शब्दले सहजै वर्णन गर्न नसकिने अनौठो 'जुनुन' चढेको प्रतीत हुन्छ तिनका कुरा सुन्दा, आँखाको चमक हेर्दा।

कृषि मन्त्रालयका प्राविधिकहरूले देख्न नसकेका कृषिका विधामा स्कटल्यान्डबाट हाँसको नयाँ नश्ल ल्याएर व्यावसायिक हाँस-पालन होस्, अस्टि्रच वा ट्राउट माछा होस्, खरायो, बाख्रापालन, बंगुर वा गाईपालन होस्, किवी, कफी, जैतुन वा स्ट्रबेरी होस्, एकीकृत खेती र पशुपालन व्यावसायिक रूपमा अगाडि बढाउन खोजेका छन् युवाहरूले। एक दशकअघिसम्म कृषि पेसामा युवाको मोहभंग भएको चर्चा हुन्थ्यो। धेरै ठाउँमा त्यो अझै पनि छ। वाणिज्य बैंकहरूले सहजै कर्जा नदिने, बिमाको समस्या, रोगव्याधि लागेका बेला पशुको उपचारका लागि उपयुक्त अस्पताल वा चिकित्सकीय सेवाको कमी, प्रविधि र अनुसन्धानको अभावजस्ता थुप्रै अवरोधका बीच पनि हिम्मतले लागेका छन् युवाहरू।

विदेश वा स्वदेशकै राम्रा कलेजमा पढेर आफ्नो व्यक्तिगत तथा पारविारकि हैसियत राम्रै बनाउन सक्ने एउटा वर्ग आफ्नो जन्मभूमिका समस्याहरूलाई आँखा चिम्लेर बस्न सकेन। आफैँले व्यवसाय गरेर केही व्यक्तिलाई रोजगार दिन त सकिन्थ्यो तर समाजमा सबैलाई स्वरोजगार बन्ने सीप र हुनर दिन कसिनुपर्छ भनेर आफ्नो परविारलाई बिर्सेर लागेका छन् केही युवा। टिच फर नेपालका शिशिर खनाल, 'गरी खान देऊ' भन्ने नाराका साथ समृद्ध नेपाल निर्माणका लागि व्यावसायिक सहयोग गर्ने नीरज खनाल, बिरुवा भेन्चर्सका विधान राणा, सीएनएन हिरोका रूपमा सम्मानित पुष्पा बस्नेत, थोत्रो कपडा र जुत्तामा गाउँगाउँ चहार्ने महावीर पुनजस्ता थुप्रै युवा आफूभन्दा समाजलाई हेर्नुपर्छ भन्ने मान्यता लिएर एउटा 'मिसन'मा समर्पित छन्।

अर्को एउटा वर्ग प्रचलित व्यावसायिक मान्यता र अरूले सुरु गरेको व्यवसायको नक्कल गर्ने प्रवृत्तिलाई नपछ्याएर नितान्त नयाँ विधामा रेखा कोर्दै सफल दरएिका छन्। सूचनाप्रविधि, वातावरण-मैत्री सामग्री उत्पादन, लजिस्टिक-सेवा, बुटिक-रसिोर्ट, होटेल तथा रेस्टुराँजस्ता विविध क्षेत्रमा नवीनताको प्रयोग दह्रोेसँग गरेका छन्। र, यीमध्ये अधिकांशले सरकारी वा राजनीतिक संरक्षण खोजेर हिँड्दैनन्। यिनको एउटा मात्रै चाहना सरकारी निकायले खोचे नथापिदिए हुन्थ्यो भन्ने हुन्छ।

उमेरले युवा कहलिने तप्कामा 'मेरो देश'को पहिचान उज्यालो, निष्कलंक र सफल बन्नुपर्छ भन्ने भावना नेपाली इतिहासमा सबैभन्दा प्रखर रूपमा हालका वर्षहरूमा देखिएको छ। यो उत्पादनशील तथा समाजसेवाका क्षेत्रमा मात्र होइन, कला, संस्कृति, संगीत, चलचित्र, नाट्य-विधा, खेलकुद, फेसन, पत्रकारिता, शिक्षा, स्वास्थ्य सर्वत्र देखिन्छ।

पारस खड्का क्रिकेट खेल सकिएपछि प्रत्येक बोलीमा देश र आमनेपालीको शिर ठाडो पार्ने आफ्नो दायित्व भन्न बिर्संदैनन्। उनी यो अन्तरात्मादेखि भनिरहेछन्, बनावटी कदापि लाग्दैन। उनीजस्तै लगाव देखिन्छ चलचित्रकर्मी, संगीतकार, गायक, नाट्यकर्मीमा।

मुलुकभित्रका मात्र होइन, यहाँ अवसर नपाएर जीविकाका लागि विदेशिनुपरेका नेपाली युवा पनि देशका समस्याले चिन्तित छन्। र, समाधानका लागि आफ्नो हैसियतभन्दा बढी सहयोग गर्ने गरेका छन्। कतिपय गाउँमा विद्यालय भवन, ग्रामीण-सडक, खानेपानी, स्वास्थ्य-चौकी निर्माणमा मनग्यै सहयोग गर्छन् उनीहरू। जहाँ जस्तोसुकै अवस्थामा रहे पनि, विदेशकै नागरकिता ग्रहण गरेको भए पनि विदेशमा रहेका प्रत्येक नेपाली र खास गरी युवाहरू मातृभूमिप्रति सरोकार राख्छन्।

उमेरले युवा रहेको वर्गजस्तै छ अर्को एउटा उमेर ढल्किएको तर मन र जाँगर तन्नेरीजस्तै रहेको वर्ग। राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताको गतिविधि, कुराकानीबाट दिक्क भएर परविर्तनका लागि अब राजनीतिको भर परेर हुँदैन, आफैँ कस्सिनुपर्छ भनेर दृष्टान्त बन्दै छन् केही। बाघ र हिमाली वातावरणको अनुसन्धानमा आफ्नो एकल अठोट लिएर हिँडेका प्रल्हाद योञ्जन हामीबीच रहेनन्। तर, त्यस्तै अठोट देखिन्छ कृषकिो व्यवसायीकरण र विविधिकरणमा मदन राईको, स्वास्थ्य सेवामा डा सन्दुक रुइत र डा रामकण्ठ माकाजुको।

राजनीतिज्ञहरूले संक्रमणकाल भन्दै लामो समय गुजारे। कतिपय नेताहरूको लगातार वार्तामा बस्दा बस्दा कपाल फुलिसक्यो। रोगले च्याप्दै लग्यो। अब राजनीतिज्ञहरूले निकास देलान् भनेर कुरेर बस्ने होइन, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने भावनाले जुर्मुराएको युवा जमात निश्चित रूपमा बढिरहेको छ, बढ्नुपर्छ। तर, यसबीच आशा गर्ने ठाउँ कतै नदेखेर विरक्तिएको वर्ग पनि त्यत्तिकै छ।

समाजको मनोविज्ञान कस्तो छ भनेर दरिलो सूचना पाउने पेसाकर्मी ज्योतिषीहरू हुन्। ज्योतिषीहरू प्रायः यसबारे लेख्दैनन्। उनीहरूले दिएको परामर्श नितान्त व्यक्तिगत हुने भएकाले विगतमा आमप्रवृत्ति त्यति थाहा हुँदैनथ्यो।

सञ्चारमाध्यमबाट भाग्य सोध्ने र बताइदिने वार्ता सार्वजनिक प्रसारण हुन थालेपछि विभिन्न एफएम रेडियो तथा टेलिभिजनबाट नियमित यस्तो कार्यक्रम सुन्ने जोसुकैले भेउ पाउन सक्ने एउटा प्रवृत्ति अहिले विद्यमान छ। नेपालका विभिन्न ठाउँबाट भाग्य सोध्नेहरूमध्ये ८० प्रतिशतभन्दा बढीले कि त आफ्नो वा आफू अभिभावक भए आफ्ना छोराछोरी वा भाइ-बहिनीको भाग्यमा विदेश जाने लेखेको छ कि छैन, छैन भने के गर्दा जान पाउलान् भन्ने प्रश्न राख्छन्। र, ज्योतिषीले त्यसपछि पूर्व फर्केर पीपलको बोटमा पानी हाल्दा हुन्छ कि प्रातःकालीन सूर्यदर्शन गर्दा मनसुबा पूरा हुन्छ भनेर बताइदिन्छन्।

यति मात्रै त चिन्ताजनक होइन। ६ महिनाजति अघि नुवाकोटको कुनै गाउँका एक जना पुरुषले एफएम रेडियोको ज्योतिष कार्यक्रममा पहिलो प्रश्न नै आफ्नो छोरा विदेश जान पाउँछ कि पाउँदैन भनेर सोधे। जवाफ नदिई ज्योतिषीले सोधे, 'छोराको उमेर कति ?' उत्तर आयो, 'तीन महिना !' ज्योतिषी हाँसे र भने, 'यस्तो नाबालकका बारेमा अहिल्यै विदेश जान पाउँछ कि पाउँदैन भनेर तपाईंलाई किन चिन्ता लाग्यो ? कम्तीमा पनि २०-२२ वर्षपछिको कुरामा अहिल्यै किन चिन्तित हुनुहुन्छ तपाईं ?' प्रश्नकर्ताको भनाइ थियो, 'अहिलेको राजनीति हेर्दा देशको स्थिति अझै बिग्रिएला जस्तो लाग्छ। हामीले जस्तै यो छोराले दुःख पाउन नपरोस् भनेर बुझ्न खोजेको ?'

हाम्रो समाजको यही मनोविज्ञान नै हो, चिन्ताको विषय। र, यसैलाई चिर्न कस्सिएका छन् पछिल्लो पुस्ताका युवा अभियन्ताहरू।

झट्ट हेर्दा देशभित्र केही गर्न तम्सिनेहरूका लागि प्रतिकुलताबाहेक केही छैन । राजनीतिक अस्थिरता, कमजोर व्यावसायिक वातावरण र ऊर्जा संकट आदि नेपाली समाजका स्थायी समस्या नै बनिसकेका छन्। पूरै समाज यावत् समस्या र पिरलोबाट थिलथिलो बनिसकेका बेला नयाँ पुस्ता पनि यो परिस्थितिसँग बेखबर भने छैन। उनीहरू यसबाट आफूलाई मात्र नभई पूरै समाजलाई कसरी पार लगाउन सकिन्छ भन्नेमा समेत तल्लीन छन् । यस्तो प्रतिकूल अवस्थाविरूद्ध उभिन नवीन सोच र त्यही अनुसारका लगनशीलता उनीहरूको साझा हतियार बनेका छन्। अलग र पृथक् कर्मबाट पूरै समाज रूपान्तरण गर्ने सपना र योजना बुनेका त्यस्तै केही प्रतिनिधि हुन्, नेपालले समेटेका तन्नेरी । नवीन पुस्ताका सिर्जनात्मक सोचसाथ आर्थिक एवं सामाजिक उधमशीलतामा सक्रिय तिनै युवाका सुकर्मबारे लेखेका छन्, सुरेशराज न्यौपाने र प्रदीप बस्यालले:

हरित उद्यम

सिलसिला आचार्य, २६ |  संस्था ः हाम्री बहिनी |  कार्यक्षेत्र ः वातावरण-मैत्री उत्पादन

सूती कपडाको हरियो झोला काठमाडौँका भाटभटेनी, बिगमार्ट, सीजीमार्टजस्ता १६ ठूला मल र स्टोरबाट बिक्री हुन्छन् । र, पछिल्लो एक वर्षमा झन्डै ७५ हजारभन्दा बढी त्यस्ता झोला बजारमा गएका छन् । सामाजिक उद्यम हाम्री बहिनीकी प्रोग्राम हेड सिलसिला आचार्य भन्छिन्, "यो वातावरणमैत्री अभियान त हो नै, हरित उद्यमको राम्रो उदाहरण पनि हो ।"

काठमाडौँ महानगरपालिकामा मात्रै दिनको १० लाख प्लास्टिक झोला खपत हुने आकलन छ । त्यसलाई घटाउने चुनौती एकातर्फ छ भने अर्कोतर्फ उनीहरू माइती नेपालमा शरण लिइरहेका महिलाहरूलाई सूती कपडाको झोला बनाउने काममा लगाइरहेछन् । त्यसबाहेक विभिन्न समयमा हाम्री बहिनी झोला बिक्री हुने स्थानमा अहिलेसम्म पाँच सय स्वयंसेवक सचेतना कामका लागि जुटेका हुन्छन् ।

"प्लास्टिकलाई झट्टै छाड्ने काम हामीले सोचेजस्तो सहज छैन किनभने हाम्रो जीवनको एउटा हिस्साकै रूपमा यसलाई धेरैले प्रयोग गर्न थालिसकेका छन्," आचार्य भन्छिन्, "त्यसैले यसलाई उद्यमभन्दा पनि अभियानजसरी लैजानु आवश्यक छ ।" हरेक मलमा एउटा प्लास्टिक झोलाको प्र्रयोगबापत एक रुपियाँ ग्राहकबाट र ५० पैसा भाटभटेनी स्टोर्सले हाम्री बहिनी कोषमा जम्मा पार्छ । एकातर्फ यसरी प्लास्टिकबापतको जरिवाना र अर्कोतर्फ सूतीकै त्यही झोलाको लागत ६० रुपियाँ पर्नेमा सहुलियतमा ३० रुपियाँमा दिइएको छ । किनमेल प्रयोजनका लागि मात्र नभएर आमजीवनमै अन्य स्वरूपमा प्रयोग गर्न सकिने गरी ल्यापटप ब्याग र अन्य ह्यान्डक्यारी ब्याग पनि डिजाइन गरिएका छन् ।

साधारण प्लास्टिक झोलालाई विस्थापित गर्न सकिने गरी पत्रपत्रिकालाई पेपर ब्यागका रूपमा लैजान सकिने तालिम तथा अभ्यास एकातर्फ भएको छ भने अर्कोतर्फ खेर गएका जिन्स र अन्य कपडालाई संकलन गरेर पनि ब्याग निर्माणमा लागेका छन् उनीहरू । "प्लास्टिकको प्रयोग नगर भन्नु चुरोटको अम्मलीलाई चुरोट छाड भन्नुजत्तिकै गाह्रो विषय हो," आचार्यको भनाइ छ, "त्यसैले यसमा सुधार ल्याउन बिस्तारै मानिसलाई प्लास्टिकको दास बन्ने परिवेशबाट मुक्ति दिलाउनुपर्छ ।" सपिङ् मलमा प्रयोग भएको उनीहरूको ब्यागले त्यहाँ २५ देखि ४० प्रतिशतसम्म प्लास्टिक ब्यागको प्रयोग घटाएको उनीहरूको अध्ययनले देखाएको छ ।

यसमा पाएको राम्रो प्रतिक्रियाले हाम्री बहिनी उद्यमको एउटा फरक पाटो भएको छ, अनलाइन पोर्टल, हाम्रीबहिनीडटनेट । यसले हातमा धेरै व्यावसायिक सीप नभएका महिलाहरूको अनलाइन विवरण निर्माण गरी उनीहरूका लागि रोजगारी सिर्जना गर्छ । घरमा खाना पकाउने, बालबालिकाको रेखदेख गरिदिने, लुगा धोइदिनेजस्ता स-साना कामका लागि ती महिलाहरू प्रयोग हुन्छन् । र, अहिलेसम्म उनीहरूको अनलाइन डाटाबेसमा त्यस्ता एक हजार महिलाको विवरण दर्ता भइसकेको छ ।

महिलालाई केन्द्रमा राखेर हरित परीको उपमा दिँदै हाम्री बहिनीले सुरु गरेको यो कामले समाजमा जति प्रभाव जमाएको छ, चर्चा र बहसभित्र हरित उद्यमको विशेषतालाई पनि उत्तिकै आत्मसात् गराएको छ ।

खरायोको केन्द्र

उज्ज्वल चौलागाईं, २९, (दायाँ), सनम मुडवरी, २७ | संस्था ः हिमालयन र्‍याबिट फर्म |कार्यक्षेत्र ः पशुपालन

लगातार ६ वर्ष एउटै गैरसरकारी संस्थामा काम गररिहँदा धादिङका उज्ज्वल चौलागाईंलाई केही अपूरोजस्तो लाग्यो। आफ्ना नवीन विचार र सोचले निकास नपाएको महसुस हुन थाल्यो र उनले हुँदाखाँदाको आकर्षक जागिरलाई अलबिदा गरे। त्यसैबीच उनलाई साथ दिन आइपुगे, अमेरिकाबाट फर्केका कुलेश्वरका सनम मुडवरी। लगत्तै केही साथीसँग मिलेर भक्तपुरमा अग्र्यार्निक कृषि फर्म पनि सञ्चालनमा आयो। तर, करबि दुई वर्ष त्यहाँ खटेर काम गरेपछि उज्ज्वललाई अग्र्यानिक कृषि खेतीबाट पनि मोहभंग हुन थालेको आभास हुन थाल्यो। कृषिकर्मबाट राम्रो प्रतिफल हात नलागेपछि उज्ज्वल र सनम एउटा नयाँ खाले उद्यम खरायोपालन गर्ने निचोडमा पुगे। प्रारम्भिक र सम्भाव्यता अध्ययनले पनि सकारात्मक दृश्य देखाए।

परविारका नाममा रहेको स्यूचाटारको जग्गा धितो राखेर आठ लाख रुपियाँ ऋण लिए। सनमको पुँजीसमेत जोड्दा करबि १५ लाख रुपियाँ लगानीको जोहो भयो। त्यसपछि काठमाडौँको बलम्बुमा पाँच रोपनी जग्गा भाडामा लिएर हिमालयन र्‍याबिट फर्ममा व्यावसायिक खरायोपालन सुरु भयो। दुई वर्षअघि ३० वटा खरायोबाट सुरु भएको यस फर्ममा अहिले चार सयवटा खरायो छन्।

हाल प्रत्येक महिना फर्मबाट एक सयदेखि १ सय ५० वटा खरायो मासुका लागि बजार पठाइन्छन्। आफूले मात्र खरायो पाल्ने र मासु बेचेर आम्दानी गर्ने सोच छैन, यी दुई युवाको। उज्ज्वल भन्छन्, "हामीले मात्र खरायोपालन गरेर केही हुँदैन, एउटा पूरै क्षेत्र विकास गर्ने लक्ष्य छ। अनि मात्र यो दिगो हुन्छ र हाम्रो लक्ष्य पूरा हुन्छ।" अहिलेसम्म फर्मबाट ९० भन्दा बढी किसानलाई माउ खरायो बिक्री गरिएको छ।

फर्ममा हुर्किएका खरायोको माग काठमाडौँका महँगा रेस्टुराँदेखि तारे होटलमा समेत हुन थालेको छ। सुरुका केही महिना प्राविधिक ज्ञानको कमीले अप्ठ्यारो नभएको पनि होइन। उज्ज्वल थप्छन्, "नयाँ व्यवसाय सुरु गर्दा केही जोखिम त भइहाल्दो रहेछ तर बिस्तारै अनुभवले सिकाउँछ पनि।"

यी दुई युवाले आम्दानीभन्दा अनुभवलाई महत्त्व दिएका छन्। यसैबीच नेदरल्यान्ड्सको खरायो पालनसम्बन्धी विज्ञसहितको एउटा टोलीले उनीहरूको फर्मको अवलोकन भ्रमण गरसिकेको छ। उनीहरूले व्यवसाय विस्तारसँगै विविधिकरणतर्फ पनि गृहकार्य सुरु गरसिकेका छन्। उज्ज्वल भन्छन्, "भविष्यमा खरायो अनुसन्धान केन्द्र बनाउने सोच छ।"

गत वर्ष घरेलु तथा साना उद्योग विभागले आयोजना गरेको बिजनेस इनक्युबेसन्स स्पर्धामा यी दुई युवा उद्यमी उत्कृष्ट १० व्यवसायीमा समेत पर्न सफल भए। त्यति मात्र होइन, सूर्य नेपालको आशा अवाड्र्सको १० उत्कृष्ट उद्यमीमा समेत मनोनीत भए। त्यसै गरी तीन महिनाअघि सम्पन्न ग्लोबल इन्टरप्रेनरसिप विकमा समाजमा योगदान पुर्‍याउने उत्कृष्ट आठ उद्यमीको सम्मान पाउनेमा पनि उज्ज्वल र सनम नै थिए।

तत्कालका लागि भने फर्मलाई बि्रडिङ् सेन्टरका रूपमा विकसित गर्दै किसानहरूसँग साझेदारीदेखि बजारको माग अनुसार मासुको बिक्री बढाउँदै जानेलगायत योजनाका लामै सूची छ, यी दुई युवासँग। देशभित्रै केही अवसर छैन भन्नेलाई उज्ज्वलको चोटिलो जवाफ छ, "निरन्तरता, निर्दिष्ट लक्ष्य र त्यस अनुसारको प्रस्ट कार्यदिशा हुने हो भने यहाँजस्तो अवसर संसारभर छैन।"

टिसर्ट टिम

आशिष आचार्य, २२ र सविन भण्डारी, २२ | संस्था ः थ्रेड पेन्ट्स | कार्यक्षेत्र ः पहिरन

अनलाइन टिसर्ट स्टोर थ्रेडपेन्ट्सका मालिक हुन्, आशिष आचार्य र सविन भण्डारी। भर्खर पुल्चोक इन्जिनियरङि् क्याम्पसबाट कम्प्युटर इन्जिनियरङि्मा स्नातक सकेका यी तन्नेरीको काम हो, धेरैको ध्यान खिचिरहेको विषय वा घटनालाई बुझ्ने र त्यसलाई टिसर्टमा उतारेर बजारमा पठाउने। स्थापनाको एक वर्ष पुगिरहँदा अहिलेसम्म विभिन्न २८ डिजाइनमा पाँच हजारभन्दा बढी टिसर्ट बजारमा गइसकेको छ। अनलाइन उपस्थिति बढाउनेदेखि टिसर्टको होम डेलिभरीसम्मका लागि संस्थापकद्वय आशिष र सविन स्वयं कुद्छन्।

उनीहरूले उत्पादनमा राजनीतिक व्यंग्य, सामाजिक सचेतना, आन्दोलन र विद्रोहका भावहरू कोरिएका हुन्छन्। जस्तो ः काठमाडौँमा प्रहरीले लामो कपाल हुनेलाई पक्राउ गर्दा कपालको शैलीमा 'गिभ मी माई फ्रिडम' लेखिएको र त्यसकै छेउमा 'मेरो कपाल तँलाई बाल'। राष्ट्रियता संकटमा पर्दा पृथ्वीनारायण शाहका दिव्योपदेशका उद्गारहरूसमेत टिसर्टका लागि खुराक बन्छन्। एउटामा त पृथ्वीनारायणले माझी औँला माथि फर्काएर 'मेरा साना दुःखले आज्र्याको मुलुक होइन' भनेका छन्। काठमाडौँमा अकुपाई बालुवाटार चलिरहँदा एउटा टिसर्टमा लेखिएको थियो, 'रयिल म्यान डन्ट रेप'। अहिले क्रिकेट कप्तान पारस खड्काको सम्मानमा 'पारस, प्राइड अफ नेपाल' लेखिएका टिसर्ट तयार छन्। ६ देखि सात सय रुपियाँ पर्ने यी टिसर्ट तन्नेरी पुस्तामाझ लोकप्रिय छन्।

"चाहे जुनसुकै व्यवसाय गर्नूस्, त्यसको आधार भनेको बजारको मनोभावना बुझ्ने नै हो," अर्का सह-संस्थापक भण्डारी भन्छन्, "स-सानाको कुरामा फरक देखिन झन् बढी मिहिनेत लाग्छ र त्यस्तै कुरा नयाँ पुस्ताले रुचाइरहेको छ।" उनीहरूको टिममा अहिले पाँच जना त स्वतन्त्र कलाकार नै छन्। उनीहरू सामान्य ग्राहकलाई समेत अवधारणा मात्रै भए पनि पठाउन आग्रह गर्छन् र राम्रो लागे उसलाई समेत त्यसको हिस्सा दिने गरी व्यावसायिक प्रयोजनमा लैजान्छन्।

उनीहरूको उद्यमको सन्देश टिसर्टजस्ता तन्नेरी मनका वस्तुलाई अनलाइन स्टोर्समै खुम्च्याउनुपर्छ भन्ने पनि हो। अनलाइन स्टोर खोल्दाको सबैभन्दा ठूलो फाइदा उनीहरूजस्ता युवा उद्यमीलाई नै छ। किनभने, पसल र पूर्वाधार 'सेटअप'का थुप्रै समस्या छन्, जुन अनलाइनमा आफैँ पाखा लाग्छन्। पुल्चोक क्याम्पसमा सातौँ सेमेस्टर पढ्दै गर्दा कलेजमा 'आईएम विन्डोज-८ डेभलपर्स' भन्ने नाराले माहोल खुब तताएको थियो भने म्युजिकल ब्यान्ड पिंक फ्लोयड पनि उत्तिकै चर्चामा थियो। तिनैको आकृतिसहित अर्का एक साथी आयुष, आशिष र सविनले कलेजलाई नै लक्षित गरी जम्पर बनाएका थिए। काठमाडौँबाहिरबाट समेत मानिसहरू खोज्दै कलेजसम्म आउन थाले। अनि, उनीहरूलाई लाग्यो, यो व्यवसायमा निकै राम्रो सम्भावना छ। कलिला हातको 'स्टार्टअप' भएकाले पनि उनीसँग मार्केटिङ्का लागि स्रोत त्यति धेरै हुने कुरै भएन। त्यही सही उनीहरूले सोसल मिडियालाई उपयोग गरेका छन्। फेसबुकमा 'डिजाइन कन्टेन्ट'समेत राखेर आफ्नाबारे थाहा दिन्छन्।

भर्खर २२ वर्ष टेकेका थ्रेडपेन्ट्सका दुवै संस्थापकको पछिको लक्ष्य एउटै छ, पाँच सयभन्दा बढी डिजाइन आफ्नो अनलाइन मलमा राख्ने। र, टिसर्टजस्ता तन्नेरी मोहका सामग्रीलाई पूर्णतः अनलाइन केन्दि्रत गर्ने। अहिलेलाई टिसर्टमै केन्दि्रत भए पनि यस्तै भर्चुअल मलको योजना अन्य व्यवसायमा पनि फैलाउन सकिन्छ भन्ने उनीहरूको मनको अर्को कुनामा रहेको छ।

पिकोभिको प्लेटफर्म

सुरज सापकोटा, २७ र मनीष मोदी, २७  | संस्था ः पिकोभिको | कार्यक्षेत्र ः सूचनाप्रविधि

चल्तीको अनलाइन सफ्टवेर हो, पिकोभिको। तर, अब यो प्लेटफर्ममा रूपान्तरण भइसकेको छ। एउटा त्यस्तो प्लेटफर्म, जसले तस्बिरहरूलाई भिडियोमा बदलिदिन्छ। ललितपुरको आईटी कम्पनी जानकी टेकका दुई कम्प्युटर इन्जिनियर मनीष मोदी र सुरज सापकोटाले विकास गरेको यो सफ्टवेयरले बैङ्लोरदेखि सान फ्रान्सिस्कोसम्म सूचनाप्रविधि उद्यमीका आँखा खिचेको छ। यसलाई थप विकास गर्न र यसका निर्मातालाई प्रयोग गरेर आफ्नो 'टेक इकोसिस्टम' बनाउन दुई करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ। "भिडियोबाट बुझ्न सबैभन्दा सजिलो हुन्छ तर भिडियो बनाउन भने गाह्रो हुन्छ," सापकोटा भन्छन्, "सायद त्यसैले धेरैको आँखा यसमा परेको हो।"

सन् २०११ मा यी दुई तन्नेरीले फेसबुकका एल्बमलाई स्लाइडसेयरमा जसरी भिडियोमा लैजाने गरी पिकोभिकोको सुरुआत गरेका थिए, त्यसै बेला उनीहरू भारतको प्रसिद्ध स्टार्ट अप एक्सिलेरेसनमा छनोट भए। पाँच लाख भारतीय रुपियाँसहितको उक्त सहयोग कार्यक्रम अन्तर्गत चार महिना बैङ्लोर बसेर उनीहरूले आफ्नो उत्पादनलाई अझ बढी निखार्न पाए। मोदी सुनाउँछन्, "लगानीकर्ताको ध्यान राम्रा उत्पादनमा बढेको छ, त्यसमाथि स-साना स्टार्ट अपले इनोभेटिभ काममा चासो बढेको छ।"

उनीहरूलाई चिली सरकारको 'स्टार्ट अप चिली' कार्यक्रममा जाने अवसर पनि जुर्‍यो, ४० हजार अमेरिकी डलर पुरस्कारसहित। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीसँग मिलेर चिलीले गर्ने ६ महिने उक्त कार्यक्रममा प्रवेश पाउनु नै उनीहरूका लागि ठूलो फड्को भइदियो। पछि उनीहरू सानफ्रान्सिस्कोसमेत पुगे, जहाँ चिलीको स्टार्ट अप भनेपछि मानिसको त्यसप्रतिको दृष्टिकोण नै निकै सकारात्मक हुन्थ्यो। अहिले पिकोभिकोले स्लाइडसेयरजस्तो भिडियो मात्र बनाउँदैन, त्यसलाई कन्सेप्चुअल पनि बनाउँछ। व्यापारकि ग्राहकका लागि उसको छुट्टै प्रिमियम सुविधा छ। अहिले पिकोभिकोले सिस्टम-सिस्टमबीचको इन्टरफेस (एपीआई)मा समेत काम गर्छ।

पहिले एक मिनेटको भिडियो बनाउन लाग्ने झन्डै १८ मिनेट समय अहिले घटेर १५ देखि २० सेकेन्डमा झरेको छ। भिडियो बन्ने थिमहरू एकपछि अर्को गर्दै थपिँदै गएका छन्। जसले भिडियोको स्रोत तस्बिर भए पनि त्यसलाई बढीभन्दा बढी भिडियो बनाउन सघाउँछ। पिकोभिको प्लेटफर्म प्रयोग गरेर अहिलेसम्म १ लाख ४० हजार प्रयोगकर्ताले आईओएस एवं एन्ड्रोइड एप्स तथा वेबसाइटमार्फत झन्डै चार लाख भिडियो बनाइसकेका छन्। रोचक के छ भने ती ५० प्रतिशतभन्दा बढी देशबाहिरका छन्। यही नेटवर्कबाट उत्साहित छन्, मनीष र सुरज। किनभने, पिकोभिकोको अबको चरण भनेको बीटुबी अर्थात् बिजनेस टु बिजनेस हो। जस अन्तर्गत कम्पनीले देशभित्र र बाहिरका ठूला कर्पोरेट हाउसहरूसँग डिल गर्नेछ। त्यही रणनीति अन्तर्गत सातवटा भिडियो थिम बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको मनीष बताउँछन्।

त्यसो त 'स्टार्ट अप चिली'को अन्तर्राष्ट्रिय साखका कारण पिकोभिकोलाई बाहिरी दुनियाँमा बजार विस्तार गर्न त्यति गाह्रो भने छैन। मनीष भन्छन्, "पश्चिमा बजारलाई लक्षित प्रोडक्ट भए पनि नेपालमा पनि यसको मार्केटिङ् सुरु भइसकेको छ। चाँडै राम्रो परण्िााम आउने अपेक्षा छ।"

एकै छातामुनि परामर्श

विधान राणा, ३१ | संस्था ः बिरुवा भेन्चर्स | कार्यक्षेत्र ः परामर्श सेवा

बूढानीलकण्ठ स्कुलबाट ए लेभल र अमेरिकाबाट व्यवस्थापनमा स्नातक। यस्तो शैक्षिक योग्यता भएका नेपाली युवाका लागि विदेशका राम्रा कम्पनीदेखि देशभित्रका नाम चलेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर पाउन कुनै साइत कुर्नु पर्दैन। तर, काठमाडौँका विधान राणालाई अमेरिकामै क्रिस्टोफर ह्युमले नेपालको सिन्धुपाल्चोकको दुर्गममा रहेको एउटा विद्यालयका लागि आर्थिक सहयोग जुटाएको खबरले ठूलै झट्का दियो। साइनो र नाता नै नभएको विरानो मुलुकका नागरकिले नेपालीलाई सहयोग गर्छन् भने आफूले किन नगर्ने भन्ने प्रश्न उनका सामु तेर्सिन पुग्यो। त्यहीँबाट राणामा जागृत भयो, आफ्नै देशका लागि केही गर्ने भावना।

त्यसैबीच सन् २००७ मा पढाइ सकियो र नेपालका लागि सान्दर्भिक हुने कामको खोजीमा लागे। त्यस क्रममा बजारको सम्भाव्यता अध्ययन गर्ने कम्पनी ह्वीटेकर एसोसिएट्समा आबद्ध भए। तर, २००९ को विश्वव्यापी मन्दीको मार उनको कम्पनीले समेत बेहोर्नुपर्‍यो। कर्मचारीहरू धमाधम कटौतीमा पर्न थाले। त्यही मौकामा उनले कम्पनीका प्रमुखसामु आफू नेपाल गएर काम गर्ने प्रस्ताव राखे। प्रमुखले सहजै स्वीकारे। नेपालमा कम्पनीको कार्यालय खोल्ने जिम्मा विधानको काँधमा आइपर्‍यो। तर, उनी नेपाल फर्केको तीन महिनासम्म पनि कार्यालय खुलेन। भनेजस्तो घर भेटिएन। त्यसले उनलाई आफैँ नै केही गर्ने निर्णयमा पुर्‍यायो।

यसैबीच इन्टरप्रेनरसिप फर नेपाल नामक संस्थासँग उनको सम्पर्क भयो। बुझ्दै जाँदा उक्त संस्थामा आबद्ध अधिकांश उद्यमी तथा व्यवसायीले समेत कार्यालय सुहाउँदो स्थानको अभाव झेलेका रहेछन्। छलफलपछि समस्याको साझा सूची तयार भयो, कम्पनी दर्ता गर्दाको झन्झट, कार्यालय खोल्न उपयुक्त स्थान तथा पुँजीको अभाव र आवश्यक सुझाव तथा परामर्शको कमी। यिनै समस्यालाई एकै ठाउँबाट सम्बोधन तथा हल गर्ने उद्देश्यका साथ करबि पाँच लाख रुपियाँको लगानीमा खुल्यो, बिरुवा भेन्चर्स।

कामको सुरुआत बालुवाटारमा रहेको कार्यालय भवनबाटै भयो। बालुवाटारमा आठ सय वर्गफिटको खाली भवनलाई तीन लाख खर्च गरेर फर्निसिङ् गरयिो। यत्तिको सुविधासम्पन्न कार्यस्थल भाडामा नजाने कुरै भएन। तत्काल तीनवटा कम्पनीले भाडामा लिइहाले। अहिलेसम्म विभिन्न दुई दर्जन कम्पनीलाई यस्तो सुविधा उपलब्ध गराइसकेको छ, बिरुवा भेन्चर्स अन्तर्गतको बिरुवा स्पेसेजले। पहिलो चरणको सफलतापछि जुलाई २०१२ मा नयाँ भवनमा सरेसँगै परामर्श सेवा पनि सुरु गरे। एक वर्षको अनुभवपछि बिरुवाले विभिन्न आकर्षक प्रोजेक्टमा लगानी जुटाइदिने काम पनि सुरु गर्‍यो। विधान थप्छन्, "यस वर्षदेखि लगानी विस्तार गर्ने सोच छ, बिरुवा स्पेसेज र बिरुवा एडभाइजर सहायक कम्पनी छुट्याउने योजना छ।"

यतिमै सन्तुष्ट छैनन् विधान। २० हजार वर्गफिटसम्मको घर खोज्दै छन्। करबि दुई सय कम्पनीको सर्भे पनि गर्दै छन्। यति ठूलो स्थान खोज्नुको कारण खोतल्दै विधान भन्छन्, "एउटै छानामुनि बिजनेस इकोसिस्टम बनाउन चाहन्छौँ।" हुन त उनको कम्पनीको मूल उद्देश्य भनेकै उद्यमी तथा व्यवसायीहरूलाई भनेजस्तो काम गर्ने वातावरण, परामर्श र वित्तीय स्रोत जुटाउन सघाउनु हो।

अनौठो काममा हात हालेका विधानलाई सुरुमा आफ्ना अभिभावकको चित्त बुझाउन कम्ती गाह्रो भएन। अमेरिकामै रहेका अभिभावक केही वर्ष बरालिएर अमेरिका नै फर्किन्छ भन्थे। तर, तीन वर्ष नबित्दै विधानले उल्टो अभिभावकलाई नै नेपाल फर्काए। भन्छन्, "सकारात्मक सोचका साथ अघि बढ्ने हो भने नेपालमै बसेर पैसा कमाउन सकिन्छ, यहाँ अवसरै अवसर छन्। कृषि, शिक्षा, पर्यटन जताततै सम्भावनै सम्भावना छ।"

साइकलमा रोजगारी

स्मृति सुवाल, २७ र साजनसिंह सुवाल, ३१ | संस्था ः केटीएम कुरियर्स | कार्यक्षेत्र ः कुरियर सेवा

काठमाडौँवासीका लागि घन्टौँ जाम नौलो कुरा रहेन। निजी सवारीसाधन भएकाहरूका लागि तोकिएको समयमा गन्तव्यमा पुग्नु ठूलै युद्ध जितेजस्तै हो। तर, काठमाडौँको यही अव्यवस्थाभित्र पनि सम्भावना र अवसर देखेका छन्, ललितपुरका दाजुबहिनी साजनसिंह सुवाल र बहिनी स्मृति सुवालले। यी दुईले राजधानीवासीको स्मृतिबाट अलप भइसकेका कुरिअर र एक्सप्रेस डेलिभरीजस्ता नामलाई केटीएम कुरयिर्स सञ्चालनमा ल्याएर एकाएक ताजा बनाइदिएका छन्।

यी दाजुबहिनीलाई केटीएम कुरयिर्स सञ्चालनमा ल्याउने अक्कल अमेरिका बसाइले दिएको हो। पोर्टल्यान्ड र न्युयोर्क घुम्दा त्यहाँ साइकलबाटै घरघर, अफिसअफिसमा चिट्ठी र सामान पुर्‍याएको देख्दा उनीहरूलाई निकै अनौठो लाग्थ्यो। स्मृति अमेरिकाको नेब्रास्का विश्वविद्यालय र साजन बेलभ्यु विश्वविद्यालयको अध्ययन सकेर दुई वर्षअघि नेपाल फर्किएका हुन्। स्वदेशमै केही गर्ने सोच बनाए उनीहरूले करबि ६ महिनाको गृहकार्यपछि खोले, केटीएम कुरयिर्स। कारण खुलाउँछन् साजन, "नेपाल फर्केपछि मैले के देखेँ भने सहरभित्रै पनि कुनै सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन भरपर्दो माध्यम थिएन।" त्यसका लागि एक-दुई घन्टा लगाएर भए पनि आफँै जानुपर्ने बाध्यता थियो। यसले उनलाई विदेशमा जस्तै 'बाइक मेसेन्जर'हरू राखेर 'डेलिभरी' कम्पनी खोल्न उत्प्रेरति गर्‍यो।

कम्पनीको प्रमुख काम भनेकै ग्राहकका आवश्यक कागजात र सामान दिइएको ठेगानामा पुर्‍याउनु हो। कम्पनीले चार जना 'रनर' र दुई जना अन्य कर्मचारीको सहयोगमा काठमाडौँको रङि्रोड र त्यसभन्दा बाहिर दुई किलोमिटरको दूरीसम्म सेवा दिइरहेको छ। एक घन्टाभित्र डेलिभरीका लागि १ सय ८० रुपियाँ, चार घन्टाभित्र डेलिभरीका लागि १ सय २० रुपियाँ र भोलिपल्ट पुर्‍याए हुनेमा ७० रुपियाँ सेवा शुल्क निर्धारण गरएिको छ। त्यति मात्र होइन, ३० हजार रुपियाँसम्मको नगद बैंकमा जम्मा गर्न वा चेक साटेर भनिएको ठाउँमा नगद पुर्‍याउने सुविधा पनि उपलब्ध छ। कुरयिर सेवाका लागि साइकल नै प्रमुख साधन बनाइएको छ। साइकल छनोट गर्नुको कारण खुलाउँदै स्मृति भन्छिन्, "हाम्रो प्रमुख उद्देश्य कुरयिर सेवासँगै साइकलको प्रयोग बढाउनु पनि हो। यसले धेरथोर वातावरण जोगाउन पनि सहयोग गर्छ।"

सेवाग्राहीहरूबाट राम्रो प्रतिक्रिया पाएपछि हौसिएका सुवाल दाजुबहिनीले आफ्नो सेवालाई कीर्तिपुर र भक्तपुरसम्म विस्तार गर्ने योजना बुनिसकेका छन्। सञ्चालनमा आएको डेढ वर्षमै नियमित रूपमै दैनिक २० वटाभन्दा बढी डेलिभरी केटीएममार्फत हुने गरेको छ। त्यसबाहेक बेलाबखत निमन्त्रणा कार्ड बाँड्ने 'अर्डर' पनि आउँछ। अभिभावकले पनि निकै हौस्याए दाजुबहिनीलाई। स्मृति भन्छिन्, "मम्मीले निकै सपोर्ट गर्नुभयो। पाइलट बुबाले केही समय बैंकमा जागिर खानु भने पनि पछि भने राम्रैसँग हौस्याउनुभयो।" नेपालमा नयाँ केही गर्ने हो भने अवसरै अवसर रहेको देख्छिन् स्मृति। केही नयाँ सुरु गर्नका लागि अहिले सबैभन्दा उत्तम समय भएको उनको ठहर छ। भन्छिन्, "विदेशबाट र्फकनेहरू बढिरहेका छन्, नयाँ नयाँ सोच र विचारका साथ। पछि त प्रतिस्पर्धा बढ्दै जानेछ।"

दाजु साजन आफैँ सूचनाप्रविधिका 'डिग्री होल्डर' हुन्। त्यसको प्रभाव व्यवसायमा पर्ने नै भयो। स्मृति भन्छिन्, "सेवा सहज र सरल बनाउन प्रविधिमैत्री मोबाइल एप्स बनाउने सोच छ।" अहिले पनि सामान पिक अप र डेलिभरी हुनासाथ ग्राहकलाई त्यसको जानकारी इमेलबाट पठाउने गरिएको छ।

बग्रेल्ती चुनौतीका बीच चितवन, विराटनगर, नेपालगन्जजस्ता सहरमा सेवा विस्तारको सम्भावना पनि प्रशस्तै देखेका छन्, सुवाल दाजुबहिनी। साजन भन्छन्, "तत्कालका लागि काठमाडौँभित्रै सेवालाई चुस्त बनाउने हो। भविष्यको कुरा गर्दा पोखरा, विराटनगर, वीरगन्जजस्ता ठूला सहर हाम्रो लक्ष्य हो।"

विज्ञान बुझाउने कारखाना

साकार पुडासैनी, ३४ (गोलो घेरामा) र साथीहरू | संस्था ः कारखाना | कार्यक्षेत्र ः विज्ञान/प्रविधि

एउटा शिक्षकले त्यस्तो तरिकाले विद्यार्थीलाई सिकाउन खोज्छ, जसरी ऊ आफूले बुझ्ने गथ्र्योर्। साकार पुडासैनी, पवित्र गौतम, सुरेश घिमिरे र सुनोजदास श्रेष्ठको टोलीलाई अहिले भएको त्यही हो। अमेरिकाको जोन हपकिन्स युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरङि् सकेका पुडासैनीसहित त्यस्ता १३ इन्जिनियर अहिले कारखानामा जुटिरहेका छन्। ज्ञानेश्वरमा रहेको कारखाना एउटा इनोभेसन ल्याबजस्तो छ, जहाँ काठका टुक्रामा बनाइएका खेलौनादेखि ब्याट्री, तार, स-साना बत्ती, प्लास्टिकका पुतलीजस्ता थुप्रै सामान यत्रतत्र देखिन्छन्।

इन्जिनियरहरूको जमात भए पनि उनीहरू विज्ञानका स-साना कुरा गर्छन्, कसरी पढे रमाइलो हुन्छ वा विद्यार्थीले सजिलै बुझ्छन् भन्ने अभ्यास एकआपसमा छलफल गरेरै 'आइडिया' निकाल्छन्। आइडिया बन्ने क्रममा त्यहाँ भएका सामग्रीले विभिन्न प्राणीको नाम मात्र धारणा गर्दैनन्, दन्त्यकथादेखि 'एलियन्स'सम्म जोडिने कथाहरू बन्छन्। र, ती सबैको उद्देश्य एउटै हो, विद्यार्थीलाई हँसाई हँसाई विज्ञान बुझाउने। विज्ञान र कलाको 'फ्युजन' गर्न सिकाउने। उद्यमशीलता भनेको के हो भन्ने अर्थ बुझाउने, आदि।

पुडासैनीले आफ्नो जीवनमा काम बिगारेर वा गलत गरेर सबैभन्दा बढी कुरा बुझेका र सिकेका रहेछन्। त्यही भएर त उनको कक्षामा बिगार्न विद्यार्थीलाई नै हौस्याइन्छ। नक्सालको इलाइट स्क्वाड स्कुलमा कारखानाको नमुना कक्षाहरू अभ्यास भइरहेको छ। त्यहाँ उनीहरूले ६ देखि ९ कक्षासम्मका विद्यार्थीलाई स-साना रोबोट बनाउन सिकाउँछन्। त्यस क्रममा विद्यार्थीले विद्युत्, चुम्बक, गति, चाप, ऊर्जा, धातुजस्ता थुप्रै खाले विज्ञानलाई पढेको पत्तो नपाईकन बुझिसकेका हुन्छन्। नक्सालमा उनीहरूको कक्षा अहिले आठ साताको छ। रोबोट बनाउने पाँच साताको कक्षा भने उनीहरूले १३ वटा विद्यालयमा गरसिकेका छन्। पाँच साता चल्ने रोबोट कक्षाको अन्त्यमा विद्यार्थीहरूले ती रोबोट वा रोबोट केन्दि्रत खेलको प्रदर्शनी गर्छन्। त्यहाँ विद्यार्थीहरू अरूले भन्दा बढी दर्शक आफूले तान्न के गर्ने भन्ने सिक्छन्, त्यसको सजावट, प्रस्तुति, रंगरोगन, बुट्टा भर्न, गिफ्टहरू राख्नेजस्ता कामबाट। यसले विद्यार्थीलाई सानैदेखि उद्यमशीलता र व्यावसायिक प्रतिस्पर्धाको बाटो सिकाउँछ। जस्तो ः कारखानामा एउटा एउटा कथा सुनाइन्छ, बाह्य ग्रहका मानिस आएर हाम्रा सबै बाजा चोरेर लगे, अब के गर्ने ? त्यसपछि विद्यार्थी जे छ, त्यसैबाट बाजा बनाउन जुट्छन्। पुडासैनी भन्छन्, "हामीले विद्यार्थीलाई सधैँ एउटै परविेशमा मात्र सिकायौँ। जसले गर्दा अन्वेषण वा सिर्जनशीलता फस्टाउन पाएको छैन।"

उनीहरूको कारखानाले आठ साताको नियमित कक्षाबापत एउटा विद्यार्थीबाट २ हजार ७ सय रुपियाँ लिन्छ भने रोबोट बनाउने पाँचहप्ते कक्षाको १ हजार ३ सय रुपियाँ। सम्पूर्ण सामग्री खर्चसहितको यो रकम व्यावसायिकभन्दा पनि बजारमा सुरुआती जानकारी दिने गरी राखिएको पुडासैनीको भनाइ छ।

पुडासैनी र उनको टोलीको एउटै लक्ष्य छ, प्राविधिक रूपमा १० वर्षपछिको नेपालका लागि दक्ष जनशक्तिसहितको वातावरण तयार पार्ने। किनभने, उनीहरू सबैले बुझेका छन्, कुनै प्रोडक्ट डिजाइन गर्न सुहाउँदो पर्यावरण चाहिन्छ, जुन रातारात तयार पार्न सकिने कुरा होइन। त्यसैले अर्को महिनादेखि कारखानाको नियमित आठ साताको कक्षा अझ तीनवटा विद्यालयमा थपिँदै छ। पुडासैनीको ठहर छ, "यो एक्लै गरेर हुने होइन, हाम्रा थुप्रै प्रतिस्पर्धी जन्मिन आवश्यक छ। सरकारले नै यस्तो शिक्षण प्रणालीमा ध्यान दिन सके त सबैभन्दा उत्कृष्ट हुन्थ्यो।"

अमेरिकाबाट फर्केपछि ई-सेवाका लागि बेल्डिङ् मेसिन निर्माण गर्ने कन्ट्रयाक लिँदा साकारलाई आफू के गर्न जाँदै छु भन्ने थाहा थिएन। उनले त्यो काममा हात हालेपछि थुप्रैपटक बिगार्दै, सिक्दै काम फत्ते गरे। उनलाई विश्वास एउटै कुरामा थियो, बिगारेरै सिक्छु भन्ने। त्यस बेला उनले नेपालको आईटी इकोसिस्टम कति कमजोर छ भन्ने बुझे। भन्छन्, "त्यसरी कारखाना खोल्ने योजना बन्यो।"

वैदेशिक लगानीको साँचो

नीरज खनाल, ३३, का साथ विलियम | संस्था ः वान टु वाच नेपाल | कार्यक्षेत्र ः उद्यममा वैदेशिक लगानी

धेरै वर्षदेखि सरकार र निजी क्षेत्र दुवैको प्रमुख चासो कसरी वैदेशिक लगानी भित्र्याउने भन्ने छ। त्यसका लागि विदेशका पूर्वसरकार प्रमुखको विकास मन्त्र सुन्नेदेखि विदेशी उद्यमीलाई नेपाल बोलाउनेलगायत कसरत भइरहेका छन्। तर, ललितपुरका नीरज खनाललाई त्यस्ता गतिविधिसँग खासै चासो छैन। किनभने, वैदेशिक लगानी भित्र्याउने आफ्नै मन्त्र छन् उनका।

स्कुले जीवन सकिनासाथ आफ्नै पहलमा यात्रा नामक गैरसरकारी संस्था खोलेका उनले त्यहाँ करबि सात वर्ष बिनातलब स्वयंसेवकका रूपमा काम गरे। त्यसैबीच एक्का नामक संस्थासँग पनि स्वयंसेवककै रूपमा आबद्ध भए। यात्रा र एक्कामा बिताएको सात वर्षमा उनले कार्यक्रम व्यवस्थापन र नेतृत्व क्षमताको विकास गरे। उद्यमशीलता र व्यवसायप्रति चासो बढ्दै गयो। त्यसैबीच निजी क्षेत्रका पक्षमा आवश्यक कानुन र नीतिहरू बनाउने उद्देश्यका साथ समृद्धि फाउन्डेसन खुल्यो। नीरज त्यसमा आबद्ध हुन पुगे। दुई वर्ष त्यहाँ रहँदा उनले नेपालको निजी क्षेत्रले भोग्नुपरेका समस्याका साथै अरूको लहलहैमा व्यवसाय सुरु गरहिाल्ने, चाँडै हताश हुने र पलायन हुने डरलाग्दो प्रवृत्तिसमेत अनुभव गरे।

समृद्धिकै कामको सिलसिलामा डच नागरकि विलियमसँग भेट भयो उनको। समृद्धिबाट बिदा भएपछि विलियमकै अनुरोधमा एक वर्षजति हिल्भर्सममा मुख्यालय रहेको वान टु वाच नेदरल्यान्ड्सका नेपाली परामर्शदाता भएर काम गरे। पर्याप्त पुँजीको अभावमा नेपालको निजी क्षेत्रले अपेक्षित गति र समृद्धि हासिल गर्न नसकेको सन्दर्भमा त्यही खाँचो पूरा गर्ने उद्देश्यका साथ खुल्यो, वान टु वाच नेपाल। विलियम वान टु वाच नेदरल्यान्ड्सका तर्फबाट नीरजको कम्पनीका साझेदार हुन्। कम्पनीले नेदरल्यान्ड्समा रहेका व्यक्तिगत लगानीकर्ता र उद्यमीहरूमार्फत नेपालका कृषि, ऊर्जा र स्वास्थ्य क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य राखेको छ।

कम्पनीले कुनै व्यक्तिविशेष तथा उद्योगलाई अनुदान दिनेभन्दा पनि पहिल्यै सञ्चालनमा आइसकेका र राम्रो सम्भावना बोकेका उद्यमहरूमा लगानी गर्छ, गररिहेको छ। लगानी गर्ने उद्यम छनोट गर्दा त्यसबाट हुने प्रतिफलका अतिरिक्त रोजगारी र समाजमा पार्ने सकारात्मक योगदानसमेत हेरन्िछ। कम्पनीको व्यावसायिक मूल्यांकन र आपूर्ति तथा बजारको अवस्थाका बारेमा वान टु वाच आफैँले विज्ञहरूमार्फत अनुसन्धान गर्छ। कम्तीमा आठ प्रतिशत प्रतिफल प्राप्त हुने उद्यममा यसले लगानी गर्छ। र, यस्तो लगानी ५० लाखदेखि पाँच करोड रुपियाँसम्म हुन्छ। नीरज भन्छन्, "कुनै एउटा उद्योगमा गरएिको लगानी सधैँका लागि भन्ने होइन। औसतमा पाँच वर्षमा लगानी पुँजी र प्रतिफलसहित वान टु वाच बाहिरिन्छ। "

पुँजी लगानी भइसकेपछि उद्योग तथा व्यवसायलाई लक्ष्य अनुसार अगाडि बढाउने जिम्मेवारी वान टु वाच नेपालको रहिरहन्छ। त्यसपछि कम्पनीका प्रतिनिधि उद्योगको सञ्चालकसमेत रहन्छन्। व्यवस्थापन सुधार र प्राविधिक सल्लाहका लागि नेदरल्यान्ड्सबाट समेत विज्ञहरू ल्याइन्छ। नेदरल्यान्ड्समा रहेका लगानीकर्ताहरूसँग समन्वय गर्ने र लगानी जुटाउने काम वान टु वाच नेदरल्यान्ड्सले गर्छ। यताको वान टु वाचले भने छनोटमा परेका परियोजना र व्यवसायसम्बन्धी विस्तृत जानकारी र व्यापार योजनाका बारेमा नेदरल्यान्ड्सका लगानीकर्ताहरूलाई अवगत गराइरहन्छ।

त्यत्तिमै आउँदैन लगानी। आवश्यक परेको खण्डमा लगानीकर्ताहरू आफैँ नेपाल आएर छनोट गरिएका परियोजना र व्यवसायको स्थलगत अवलोकन गर्छन्। उनीहरूलाई चित्त बुझेको खण्डमा मात्र सम्झौताको प्रक्रिया अगाडि बढ्छ। लगानीकर्तासँग समझदारी भएपछि मात्र उद्योग विभागबाट वैदेशिक लगानीको स्वीकृति लिइन्छ र संयुक्त लगानीको कम्पनी दर्ता हुन्छ। त्यसपछि नेपाल राष्ट्र बैंकबाट लगानी ल्याउन अन्तिम स्वीकृति लिइन्छ। यही प्रक्रिया अन्तर्गत हालसम्म तीनवटा उद्योगका लागि चार करोड रुपियाँ वैदेशिक लगानी भित्र्याइसकेको छ, वान टु वाच नेपालले। त्यस्तो लगानी पाउनेमा वीरगन्जको डेरी, नुवाकोटको अल्पाइन कफी र सुर्खेतको एउटा अदुवा प्रशोधन उद्योग छन्। यीबाहेक विभिन्न १२ वटा उद्योगको सम्भाव्यता अध्ययन भइरहेको र तीनवटाको हकमा लगानीका लागि करबि करबि तयारी पूरा भइसकेको नीरज बताउँछन्।

वान टु वाचको सफलताले कसैले नेपालभित्रै उद्यम-व्यवसाय गर्न चाहन्छन् र त्यस अनुसार गृहकार्य र लगनसाथ अघि बढ्छ भने पुँजीको अभाव नहुने रहेछ भन्ने प्रमाणित गरेको छ। नेपाली उद्योग र व्यवसाय पारदर्शी एवं आन्तरकि व्यवस्थापन चुस्त हुने हो भने वैदेशिक लगानी भित्र्याउन कुनै कठिनाइ नहुने नीरजको अनुभव छ। भन्छन्, "विदेशी कहाँ लगानी गरौँ भनेर कुरेर बसेका छन्, उनीहरूको चित्त बुझ्ने बिजनेस प्लान र हिसाबकिताब चुस्त भयो भने लगानी नआउने कुरै छैन।"

स्वयंसेवी अभियन्ता

शिशिर खनाल, ३६ | संस्था ः टिच फर नेपाल | कार्यक्षेत्र ः शिक्षा

बर्सेनि एसएलसीमा निजी विद्यालयले शतप्रतिशतकै हाराहारीमा नतिजा ल्याइरहँदा सार्वजनिक विद्यालयहरूलाई ३० प्रतिशत उत्तीर्ण गराउन पनि हम्मे। नतिजा प्रकाशित भएको एक सातापछि त्यो बहस त्यत्तिकै सेलाएर जाँदा कताकता घोच्दो रहेछ, तनहुँका शिशिर खनाललाई।

शिक्षाका कारण अन्य मुलुकमा धनी र गरबिबीचको खाडल साँघुरिदै जाँदा हामीकहाँ भने शिक्षाले त्यस्तो खाडल थप गहिरो बनाउँदै गरेको उनलाई थाहा थियो। त्यसका निम्ति सार्वजनिक विद्यालयहरूको स्तर वृद्धि गर्नुको विकल्प देखेनन् उनले। त्यहीँबाट सुरु भयो, विद्यालयको गुणस्तरका बारेमा उनको अनुसन्धान। उपलब्ध तथ्यांकलाई केलाउँदा एउटा कहालीलाग्दो तस्बिर बाहिर आयो। एसएलसीमा सार्वजनिक विद्यालयका ९० प्रतिशतभन्दा बढी त गणित, विज्ञान र अंगे्रजीमै अनुत्तीर्ण हुँदा रहेछन्।

यी तीनवटा विषयमा मात्र विद्यार्थीलाई सहयोग गर्न सकिएको खण्डमा सार्वजनिक विद्यालयको नतिजामा सुधार आउने देखे उनले। तर, कसरी सहयोग गर्ने त ? अमेरिकामा रहँदा सुनेको टिच फर अमेरिका नामक अभियान एकाएक उनको दिमागमा ताजा भएर आयो। विद्यालय शिक्षालाई माथि उकास्न युवाले गरेको योगदानका लागि अमेरिकामा निकै प्रशंसित थियो, उक्त अभियान। नेपालमा पनि त्यस्तै किसिमको काम गर्ने ठाने शिशिरले। वैशाख ०७० बाट औपचारकि सुरुआत गरे अनि बल्ल सुरु भयो टिच फर नेपाल (टीएफएन)। यस अभियान अन्तर्गत हाल ३१ जना नेपाली युवा फेलो टिचर (स्वयंसेवी शिक्षक)का रूपमा ललितपुरका १६ सार्वजनिक विद्यालयमा अध्यापनरत छन्।

दोस्रो चरणको अभियान अन्तर्गत सिन्धुपाल्चोकका लागि २२ जना फेलोको छनोट भइसकेको छ। र, अर्को वर्ष धनुषालाई छनोट गरिएको छ। स्नातक उत्तीर्ण जुनसुकै पृष्ठभूमिका व्यक्तिले फेलोका लागि आवेदन दिन सक्छन्। छनोट हुन त्यति सहज भने छैन। दुई चरणको अन्तर्वार्तापछि मात्र अन्तिम छनोट गरिन्छ। जिल्ला जानुअघि दुई चरणको अन्तर्वार्ताबाट छनोट भएकाहरूलाई ६ साताको आवासीय अभिमुखीकरण तालिम अनिवार्य छ। तालिमपछि प्रत्येक फेलोसँग टिच फर नेपालले दुई वर्षको करार गर्छ। मासिक १५ हजार रुपियाँभित्रै बस्ने र खाने खर्च पुर्‍याउनुपर्छ।

त्यसो त सामाजिक अभियानसँग त शिशिरको नाता पुरानै थियो। अमेरिकामा इन्टरनेसनल अफेयर्स र पब्लिक पोलिसीमा स्नातकोत्तर पढ्दै गर्दा खनाल श्रीलंकाको सर्वोदय अभियानसँग जोडिन पुगेका थिए। त्यसले पनि समाजलाई केही योगदान दिन उनलाई हौस्यायो।

टिच फर नेपाल अभियानबाट खटाइएका फेलो शिक्षकहरूले नबिराईकन कक्षा लिने गर्दा आक्कलझुक्कल कक्षाकोठामा झुल्कने तलबी सरकारी शिक्षकसमेत कक्षा नियमित लिन बाध्य भएका छन्। त्यति मात्र होइन, कमजोर विद्यार्थीका लागि फेलो शिक्षकहरूले अतिरिक्त कक्षासमेत लिने गरेका छन्। यसले स्थानीय समाजमा शिक्षक भनेका विद्यार्थीकै लागि हुन् भन्ने सन्देश प्रवाह भएको ठान्छन् शिशिर।

पछिल्ला दुई वर्षमा करबि १ हजार १ सय युवाले आवेदन दिएका थिए, फेलो शिक्षकका लागि। ती युवाको शैक्षिक पृष्ठभूमिमा पनि विविधता भेटिन्छ। पढाइमा अब्बल र एमबीए, इन्जिनियरङि् र एमबीबीएस गरेका समेत यो अभियानमा आबद्ध छन्। यसले एक त विद्यार्थीले राम्रो शिक्षा पाउने र अर्कोतर्फ शिक्षण पेसाप्रति समाजको हेयपूर्ण दृष्टिकोणमा परविर्तन ल्याउन सघाउने शिशिरको ठहर छ। यसलाई अभियानको दोहोरो सफलता ठान्छन् उनी। धेरै युवाले मुलुकको पछिल्लो अवस्थाका कारण आफूले अवसर नपाएको बताउने गरे पनि शिशिर त अहिलेको तरल र अस्थिर अवस्थामै बढी अवसर भएको दाबी गर्छन्।

बर्सेनि लाखौँ नेपाली युवा रोजगारका लागि विदेशिइरहेका बेला अमेरिकाबाट स्वदेश र्फकंदा उनको मनमा अनेक शंका-उपशंका नउब्जिएका होइनन्। कस्तो हुने हो, फेर िर्फकनुपर्ने हो कि जस्ता प्रश्नले उनलाई लखेटिरह्यो। शिशिरमाथि व्यंग्य गर्नेहरूको कुनै कमी थिएन। सम्झन्छन्, "सुरुमा जे गर्दा पनि केही अप्ठ्यारो त भइहाल्छ, मलाई पनि धेरैले पत्याएनन्, नेपालमा सम्भव छ र यस्तो अभियान भनेर उल्टो प्रश्न गर्थे।"

अन्ततः लगन, इच्छाशक्ति र मिहिनेतले शिशिरलाई सुखद नतिजा नै दियो। बिस्तारै सहयोगी हातहरू एकपछि अर्को गर्दै अगाडि आउन थाले। भन्छन्, "हामीले बुझेको र अनुमान गरेभन्दा नेपाली समाज निकै सकारात्मक रहेछ, नयाँ सोचका साथ इमानदार भएर लाग्ने हो भने त जता हेर्‍यो उतै सहयोगी हातहरू।"

 

 

प्रकाशित: चैत्र १६, २०७०