जीवनशैली

बडी बिल्डर आमा

राजकुमार बानियाँ, कार्तिक २७, २०७४

ननिता महर्जनको रोल मोडल बडी बिल्डर कोही छैन । कसैको शैली पछ्याउन पनि चाहन्नन् । आफैँलाई रोल मोडल बनाउन चाहन्छिन् ।
पुरा पढ्नुहोस्

काठमाडौँका चुल्ठे कवि

राजकुमार बानियाँ, कार्तिक १२, २०७४

काठमाडौँमा कविहरूको के कमी ? गल्लीगल्लीमा भेटिन्छन् । बरू विप्लव प्रतीक, ५७, को हुलिया, कविता र जीवनशैली अरू कविसित मिल्दैन । कवि र कविताबीच डरलाग्दो दूरी छैन । उत्तिकै कोमल, प्रेमिल र शीतल । 

त्यसैले त यी कवि कसैका लागि सनकी हुन्, कसैका लागि साधु हुन्, कसैका लागि पागल प्रेमी । जतिसुकै शब्द–बुट्टाले सिँगारे पनि समाज सामन्ती नै छ । क्रान्तिकारी हुन् या भ्रान्तिकारी विप्लवलाई सोधिहाल्छन्– बाबु के थरी ? कसको छोरा ? उमेर कति ? घर कता पर्‍यो ? पहाड कहाँ ? 
आफ्नो जरा थाहा छैन उनलाई । कहीँ न कहीँबाट त पक्कै आए । उनको पुख्र्यौली थातथलो अफ्रिका पनि हुन सक्छ । विप्लव जन्मिएछन्, भीमसेनस्थान, ढुंगेधाराको उत्तरमा रहेको डेरामा । पिता कृष्णप्रसाद न्यौपाने साँच्चिकै ‘सर्वहारा’ भइसकेका बेला । आफ्ना पुस्तक छाप्नका लागि पाँच सय रुपियाँमा बन्धकी राखेको धोबीधारास्थित पुख्र्यौली घर उकास्न सकेनछन् । प्याफल–प्युखा–सिफल–जयबागेश्वरी चलिरह्यो डेरा जिन्दगी । 

ती पिता, जसले तोतेबोलीमै बा, बुबा, बाबा, ड्याडी, पापाको साटो ‘कामरेड’ फलाक्न सिकाए । प्रथम सन्तानको नाम जुराए, विप्लव मात्रै । आफ्नो ‘सर्वहारा’ टाइटलसमेत दिएनन् । त्यसैले प्रिय साथीहरूको थर सापटी चलाए, विप्लव तामाङ, विप्लव खाँ र विप्लव भारती । फिल्मी प्रभावमा विप्लवकुमार अञ्जाना, विप्लवकुमार अकेलासम्म पनि पुगे । एक दिन विप्लव प्रतीक भए सरकारी कागजातमै । “अहिले त म अनाथजस्तै छु,” उनी हाँस्छन्, “विप्लव बाबुराम ढकालले लगे, प्रतीक खडानन्द ढकालले ।”

यति आत्मीय कवि कसरी विप्लव भए ? लेखक कुमार नगरकोटीले एक दिन प्रस्ताव गरेछन्, ‘यस्तो सुगन्धित, कोमल मनुवाको नाम विप्लव ! कविज्यूको जिन्दगीको शीर्षक नै गलत भयो । कुनै सुन्दर नाम खोजुँ ?’ मौनताको भाषा लेख्ने यी ऐकान्तिक कविलाई विप्लवभन्दा प्रिय केही छैन ।

चिल्ड्रेन पेडागोजिकल, अमर आदर्श (न्यु इङ्लिस बोर्डिङ), शारदा, पशुपति मित्र र विजय मेमोरियल गरी पाँचवटा स्कुल चहारे उनले । ‘फि’ तिर्न नसकेपछि अर्को स्कुलमा सारिदिनु कामरेड बाको बाध्यता थियो सायद । चाबहिलमा उनका सहपाठी थिए, गोविन्द वर्तमान (कवि) । न्यु इङ्लिसमा टपेन्द्र हमाल (पूर्वडीआईजी) अनि विजय मेमोरियलमा रवि गिरी (कलाकार) । 

पाइलट बन्ने सपना दुर्घटित भएपछि आर्किटेक्ट इन्जिनियरिङको प्रतीक्षा सूचीमा बसे विप्लव । बाका साथी डा अन्जनीकुमार शर्माका कारण चिकित्साशास्त्र पढ्ने अवसर रुचाएनन् । कम्प्युटर इन्जिनियरिङ पढ्न बैङ्लौर पनि गएकै हुन् । ल क्याम्पस पनि भर्ना भएकै हुन् । 

बरू सन् १९७७ मा रसियन भाषामा एकवर्षे डिप्लोमा कोर्स गरे तत्कालीन सोभियत संघ गएर । फर्केर रसियन कल्चर सेन्टरमा जागिर खाए चार वर्ष । “रसियन कल्चर सेन्टरमा जागिर खाएको पनि कम्युनिस्ट पार्टीको सिफारिसमा होइन,” उनी सफाइ दिन्छन्, “बरू, कम्युनिस्ट पार्टीको अनुमति नलिएको भनेर सिनेमाटोग्राफी पढ्न पाइनँ । रसियनहरूले मन पराएर लग्दा पनि फिर्ता झिकाइएँ ।” 
उनको अतिरिक्त सोख भयो पत्रकारिता । कमनर, समीक्षा, युगान्तर, युगवाणी, जनज्योति, दृष्टि साप्ताहिकदेखि मुक्ति फिल्मी म्यागेजिनमा काम गरे । आफैँ सम्पादक/प्रकाशक भएर आफू डाइजेस्ट निकाले । भिडियो फिल्म पनि बनाए, अभिलाषा, स्पन्दन, समर्पण आदि । 

नेपाल–पाकिस्तान ज्वाइन्ट भेन्चर (जेभी)मा विप्लवले फिचर फिल्म बनाए, संयोग । १२ जना नेपाली कलाकार रहेको त्यो फिल्मको सुटिङ नेपाली भाषामै भयो । त्यसका पाकिस्तानी निर्देशक थिए बाखर रिज्वी । जो उनलाई ‘विप्लव साहेब’ भनेर बोलाउँथे । नेपाली फिल्म बनाउने धुन सवार भयो उनमा । दौलतविक्रम विष्ट, राजेन्द्र थापा, अविनाश श्रेष्ठका पटकथा निर्माताले रुचाएनन्, उनी आफैँले लेख्नुपर्‍यो । अम्बर गुरुङको संगीतदेखि अमरिश पुरीमार्फत लता मंगेशकरको गायनसम्म जुराए । तर, ६ वर्षमा पनि फिल्म बनेन । “तीन–चारवटा फिल्मको काम थाती राखेर लागेको,” उनी सम्झन्छन्, “फेरि तिनै निर्मातालाई गुहार्नु उचित नलागेर फिल्म लाइनै छाडिदिएँ ।”

उपत्यकाका पाँचवटै चित्रघर उनका अनौपचारिक फिल्मी पाठशाला भए । फिल्मकै लागि अमेरिकन र रसियन लाइब्रेरीलाई गन्तव्य बनाए । “हिरो बन्ने इच्छा भए पनि भागेर बम्बई जान सकिनँ,” उनी स्वीकार्छन्, “सिनेमा हेर्दाहेर्दै के थाहा भयो भने म फिल्ममा क्यारेक्टर खेल्न सक्दिनँ । बरू आफूले सोचेजस्तो मनपर्ने कथा, संगीत राखेर फिल्म बनाउन सक्छु ।” हुुन पनि चकलेटी अनुहारका विप्लव हिरोका लागि ‘कन्भिन्सिङ’ थिएनन् । लाइब्रेरीहरू धाएपछि बल्ल सिनेमाको भाषा सहज भयो उनलाई । 
सिनेमापछि पत्रकारितामै फर्किए विप्लव । सन् १९९० मा हिमाल वार्षिकमा गए अनि हिमाल खबरपत्रिकामा । १५ वर्ष त्यहाँ गुजारेर ब्लु डाइमन्ड सोसाइटीको म्यागेजिन सलिलको सम्पादक भए । “अमेरिका गएपछि त्यो क्रम छुट्यो तर छाडेँ भन्ने अवस्था छैन,” उनी भन्छन्, “कहिलेकाहीँ त्यस्ता काम आइलाग्छन् ।” 

अभिभावकको छहारी १६ वर्षको उमेरसम्म मात्र पाए उनले । बा–आमाबीच पारपाचुके भइहाल्यो । ६ महिना सँगै बसेपछि बाले अर्को बिहे गरे । घर साँघुरो लाग्यो उनलाई । नौलो हातले बनाएको खाना बेस्वादको । बाले ‘म मेरी नवविवाहिताको आँखामा आँसु देख्न सक्दिनँ’ भनेकै रात गृहत्याग गरे । बत्तीसपुतली, रामशाहपथ, मञ्जुश्री टोल, पाको पोखल्ड्याङ्, पुल्चोकको डेराबास हुँदै घट्टेकुलोको निजी घर आइपुगे । 

यी कवि वीरेन्द्र मार्ग ३३४/१२ नम्बरको घरमा छन्, परिवार घरबाहिर । लाग्छ, परिवार उनको तकदीरमै छैन । विखण्डन त उनको नियति भइसक्यो । बाआमा, भाइबहिनीसँग छुट्टिनुको गहिरो दर्द छँदै थियो । २९ वर्षको उमेरमा ७ असार शुक्रबार साँझ ७ बजे थालेको दाम्पत्य जीवन पनि १४ वर्षमै टुंगियो । बिहे अनौपचारिक थियो, पारपाचुके भने औपचारिक ।

“म उनलाई कुनै दोष लगाउँदिनँ । मैले एउटा लगाएँ भने उनले लगाउने ७० वटा होलान्,” उनी १७ वर्षे एकल जीवनबारे भन्छन्, “समयले चाहेर मिलेको हो, समयले नचाहेर छुटाएको हो ।” एक गोरीसँग अमेरिका भासिएका विप्लव त्यसयता विवाहको विधाननजिक पुग्न सकेका छैनन् । 

अब उनलाई माया एन्जेलो, अमृता प्रीतम, सिमोन द बुआ आदि ‘ड्रिम गर्ल’ पाउने आशा छैन । फेरि पारिवारिक जीवन बिताउने कल्पना पनि आउँदैन । बरू एउटा लालसा छ, बच्चा– सकेसम्म छोरी । छोरालाई चाहिँ उनी परजीवी मान्छन् । “कवि र करोडपतिले मलाई प्रेम प्रस्ताव गरेका छैनन्,” उनी ठट्टा गर्छन्, “करोडपतिको प्रस्ताव आयो भने तुरुन्त स्वीकार गर्छु ।” करोडपतिको लगानी साहित्य र थिएटरमा गरिदिने उनको सुविचार छ । 

संख्याका हिसाबले विप्लवका पुस्तक जम्मा तीनवटा छन्, नहारेको मान्छे (कवितासंग्रह), अविजित (उपन्यास) र अ पर्सन किस्ड बाई द मुन (कवितासंग्रह) । अ पर्सन किस्ड बाई द मुन अमेरिकाको फ्लोरिडा सहरको पुस्तक मेलामा राम्रो बिक्यो । त्यो फ्रेन्च र स्पेनिस भाषामा अनुवाद भएको छ । कामरेड बाकै कारण उनले पहिलो कविता लेखेछन्, लेनिनबारे । कुनै पत्रिकाबाट सारेको त्यही कविता रेडियो नेपालको बाल कार्यक्रममा सुनाए । प्रस्तोता निरोधराज पाण्डे र धन लामाको स्याबासी पाएपछि भने उनले सक्कलबमोजिमको नक्कल चटक्कै छाडिदिए ।

उनको नयाँ उपन्यासको पिँधमा कविता नै छ । आफ्नै जीवनको आँगन छ । उपन्यासको समर्पणमा पनि बाको पैँचो तिरेका छन् । बाले कथासंग्रह दर्बारकी केटीमा समर्पण गरेका रहेछन्, ‘मेरो ६ महिने छोरा विप्लव र उसका दौँतरीहरूलाई, जसको कलम शोषकहरूका विरुद्ध उठ्नेछ ।’ “केही लेख्न आएन भने आफ्नै वा आफ्नो परिवारका मानिसलाई पात्र बनाएर लेख्नू भन्थे,” उनी भन्छन्, “लामो कुरै छैन । मैले गरेको त्यही हो ।”

विप्लव ‘लोकल सिम्बोल’मा लेख्दैनन्, बरू ‘युनिभर्सल इमोसन’मा लेख्छन् । उनका मानक पनि लोकल कवि होइनन् । उनले स्वदेशमा भन्दा भारत, टर्की, जर्मनी, मेक्सिको, अमेरिका, बेलायतमा ‘कम्प्लिमेन्ट’ पाएका छन् । ‘पर्फेक्ट’ केही हुँदैन भनेर जान्दाजान्दै पनि विप्लव ‘पर्फेक्सन’ खोज्ने कवि हुन् । “कविता एक कुरेतको पनि हुन्छ, डेढ हातको पनि । म एक कुरेत कविताको पक्षमा छु,” उनी भन्छन्, “कुनै कुनै कविता पूरा हुन ६ महिना, वर्षदिन लाग्छ ।’ 

उनको ब्लगमा ‘सिक्रेट अफ भिक्ट्री’ कविता पढेर टर्कीकी एक कविले ब्वाइफ्रेन्ड नै बनाइन् । अर्को कविता पढेर कुनै विदेशी महिला मित्रले भनिछन्, ‘तिम्रो कविता पढेर म रुन्छु । तिमी मेरो दोस्रो लोग्ने भयौ । श्रीमान्सित सुत्दा पनि मेरो सिरानीमुनि तिम्रै किताब हुन्छ ।’ 

‘काल’ शीर्षकको कविता पढेर एक पाठकले ‘सरप्राइज’ दिए उनलाई । कविता मन पराएर तिनले कान्तिपुरमा फोन गरेछन् । देवेन्द्र भट्टराईमार्फत विप्लवसँग फोनमा ४५ मिनेट बातचित गरेछन् । उनले भनेछन्, ‘लेखनाथ पौड्यालको कालमहिमापछि तपाईंको कविताले मलाई छोयो । सरस्वतीको पुजारीलाई लक्ष्मीले हेर्दिनन् । म एउटा अनुरोध गर्न चाहन्छु– महाराजगन्जदेखि गोदावरीसम्मको कुनै चार आना जमिन ।’ तिनी नेपाली सेनाका मेजर रहेछन् । त्यो अनपेक्षित अफर उनले ‘धन्यवाद’मै टारिदिए । 

‘यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ ।’


विप्लवका यी कवितापंक्ति एमाले नेता मदन भण्डारीका खातामा हालिएको प्रसंग पनि छ । जेठ ०५० को पहिलो साता मदनको निधनलगत्तै ‘योद्धा र मान्छे’ शीर्षक कविता दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई दिएका रहेछन् उनले । तर, मदनको शोक विशेषांकमा बेनामे छापियो दुई हरफ मात्र । 

पछि पुस्तक–पत्रिकामा मात्रै मदन भण्डारीको अमरवाणीका रूपमा आएन, फिल्म दासढुंगाको कास्टिङ र विज्ञापनमा समेत मदन नै छाए । बरू उल्टै झपारे विप्लवलाई, ‘यस्तो कालजयी सिर्जनालाई आफ्नो भनेर चर्चामा आउन खोजेको ?’ दृष्टिको पछिल्लो अंकमा उनको पूरा कविता आएको कसैले ख्याल गरेन । “त्यो कविता मदन भण्डारीको अवसानका कारण जन्मेको मात्र हो,” उनी भन्छन्, “कुनै आग्रह नराखी हेर्‍यो भने बीपी, गणेशमान, किसुनजी, पुष्पलाल, नेल्सन मन्डेला, गान्धी, मार्टिन लुथर किङ आदि सबै योद्धाका लागि लेखेको हुँ ।”

गीत पनि जीवन्त लेखेका छन् विप्लवले । रेकर्डेड २०–३० गीतमध्ये उनलाई चिनाउन ‘हर रात सपनीमा ऐँठन हुन्छ...’ (दीप श्रेष्ठ) र ‘तिम्रो लागि सारा संसार भुलाइदिन्छु’ (अभया एन्ड द स्टिम इन्जिन्स) पर्याप्त छन् । एउटा नसुन्नेले अर्काे सुनेको हुन्छ । “दर्दको उत्सव मनाउने मानिस हो कवि,” उनी भन्छन्, “कवि विष पिएर अमृत ओकल्छ । विष पिएर कवि मर्दैन ।”

प्रशंसा र पुरस्कारको कुनै लत छैन उनमा । कथित वाद र दलमा पनि विश्वास छैन । “कवि स्वयं युटोपियाको खोजीमा हुन्छ । कवि कुनै राज्यको अधिनमा बस्दैन,” उनको स्टेटमेन्ट छ, “कविको मथिंगलमा अझ विशाल साम्यवाद हुन्छ, सारा मानिस खुसी हुन्छन् भने कवि जहिल्यै बलिवेदीमा होमिन सक्छ ।” 

यी कवि नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनका केन्द्रीय सचिव रहेछन्, विसं ०३६ तिर । तर, ‘राजनीतिका लागि म जन्मेको छैन’ भनेर छाडिदिए । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सदस्य कामरेड बाको चित्त दुखाए । पार्टी महासचिव नै एजेन्ट थिए राजाका । पार्टीकै कारण कामरेड बासँग उनको झगडा पर्‍यो । तिनले सम्पन्नताको शिखरमा जीवन बिताए । विपन्नताको अन्तिम विन्दुमा बित्यो बाको जिन्दगी । भलै अहिले उनकी आमा नर्वदादेवी, भाइ बन्धु र बहिनी विभू अमेरिकातिर छन् ।
लाग्छ, पसल थाप्नेबाहेक सबै काम गरेका छन् विप्लवले । गीत गाए, पेन्टिङ गरे । एक शब्दको १० रुपियाँसम्म लिएर अनुवाद गरे । सन् १९९५ देखि २०१० सम्म थम्सनदेखि म्याकन इरिगेसनसम्मका विज्ञापन एजेन्सीका काम गरे । रक्सी, चुरोट र चाउचाउको विज्ञापन बनाएर मानव स्वास्थ्यमा खेलबाड गरेको बोध भएपछि कामै छाडिदिए । 

कवितादेखि आख्यानसम्ममा ‘रेसिपी’ हाल्न सिपालु यी कविले विद्रोहस्वरूप चुल्ठो पालेका रहेछन् । त्यो ठिटाहरूलाई समात्दै कपालमा कैँची चलाएको प्रहरीलाई उनको सन्देश थियो– चुल्ठो, मुन्द्रा या ट्याटुले गुन्डा, सम्भ्रान्त या खराब जाहेर गर्दैन । उनको चुल्ठो कम्मरसम्म पुग्यो, अहिले काँधसम्म मात्रै छ । “एकचोटि कुनै केटी साथीले कपाल काट्ने सर्तमा विवाहको प्रस्ताव गरिन्,” उनी भन्छन्, “तर, कपाल छोट्याएपछि भने म लायक भएनछु ।”

विप्लवको सदाबहार लुक्सको एउटा रहस्य हो, ब्याडमिन्टन । ०४५ यता उनका पार्टनर छन्, गायक दीप श्रेष्ठ । यी बिन्दास कविको खास पेसा–व्यवसाय छैन । यसको मतलब मागेर खाँदैनन् । कविताको पवित्रता उनको सरोकार हो । उनलाई थाहा छ, मागेर खाएपछि कविता मगन्ते हुन्छ, ठगेर खाएपछि ठगन्ते । लुटेर खाएपछि कविता पनि लुटेरा हुन्छ । कविता लेख्ने कवि स्वच्छ हुनैपर्‍यो । 

यो जुनीमा गरिब–गुरुवा भएर मर्ने मन छैन उनलाई । भनेजस्तो लुगा चाहिन्छ, भनेजस्तै जुत्ता ।

“सोखजति पुँजीपतिको पेवा होइन, बिल गेट्सले हरेक दिन सिंगल माल्ट ह्विस्की पिउलान्, म १० दिनमा एकपटक पिउँछु,” उनको उद्घोष छ, “थला परे मलाई सीधै घाट लगे हुन्छ ।” 

पुरा पढ्नुहोस्

फिल्मकर्मीका अमेरिका आशक्ति

गोकर्ण गौतम, आश्विन ३१, २०७४

नाम अनुुसार दाम नहुनु कलाकर्मीको साझा पीडा
पुरा पढ्नुहोस्

नारी सारथि

लालप्रसाद शर्मा, आश्विन ३०, २०७४

ट्रेकिङ गाइडका रूपमा महिला उपस्थिति उत्साहजनक
पुरा पढ्नुहोस्

बोनस ३१ वर्ष

राजकुमार बानियाँ, आश्विन १०, २०७४

नेपालका लागि ‘वाटरगेट स्क्यान्डल’का बब उडवर्ड र कार्ल बर्नस्टिनजस्तै विशेष पत्रकार हुन् ठकुराठी ।
पुरा पढ्नुहोस्

बल्ल मधेस महसुस

गोकर्ण गौतम, आश्विन ३, २०७४

फरक हुलिया, वर्ण र भूगोललाई स्वीकार्न थाल्यो नेपाली रजतपटले
पुरा पढ्नुहोस्

सुकमित सिम्फोनी

राजकुमार बानियाँ, भाद्र २५, २०७४

सुकमितका गीतका आफ्नै ब्रान्ड होला तर उनको असली सिग्नेचर मुस्कान नै हो ।
पुरा पढ्नुहोस्

रात्रिजीवनको रौनक

गोकर्ण गौतम, भाद्र ६, २०७४

थकान र भागदौडबाट मुक्त हुन खोज्ने जमात
पुरा पढ्नुहोस्

बुद्धवाणी– व्याख्याता

राजकुमार बानियाँ, भाद्र ५, २०७४

अनुवादक दुण्डबहादुर बज्राचार्य (सानुभाइ)को मिसन छ– पालि भाषामा रहेका मूल तथा प्रामाणिक बुद्धवचनलाई मातृभाषा (नेवारी)मा उतार्ने ।
पुरा पढ्नुहोस्

काठमाडौँबाट केदारमान सिंह

राजकुमार बानियाँ, श्रावण २२, २०७४

केदारमान तिनै पत्रकार हुन्, जसले १९ जेठ ०५८ को दरबार हत्याकाण्डको समाचार ‘ब्रेक’ गरेका थिए एएफपी र बीबीसीमार्फत ।
पुरा पढ्नुहोस्