व्यक्तिचित्र

डाक्टर बाजे

राजकुमार बानियाँ, कार्तिक २९, २०७५

५७ वर्षसम्म पचासौँ हजार बिरामीको उपचार गरिसकेका यी डाक्टरको चाहना छ, “अन्तिम समयमा पनि बालबालिकाको नाडी हेर्न सकूँ ।”
पुरा पढ्नुहोस्

गुप्तोगन्ज

राजकुमार बानियाँ, आश्विन २४, २०७५

काठमाडौँमा निर्मल निवासका दुइटा साइनबोर्ड छन् । निर्मल निवास, महाराजगन्ज र निर्मल निवास, गोल्फुटार । पहिलो दरबार पूर्वराजा ज्ञानेन्द्र शाहको लालपुर्जामा छ । पछिल्लो बंगला अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तो, ६२, को हो ।

अरुण गुप्तोको प्रथम परिचय दिन माइनस थ्रीवाला चस्मा नै काफी छ । यो नम्बर उनले हालसालै मात्र पाएका हुन्, दुनियाँदारी चिहाउन । नत्र आँखामा दाहिनेतिर माइनस १८ र देब्रेतर्फ माइनस १२ नापिएको थियो । तर, उनले माइनस १० को ग्लास प्लस चस्माले काम चलाएका थिए ।

“शल्यक्रियाका बेला डाक्टरले एकैचाटि शून्यमा झार्न चाहेनन्, आँखा र दिमागको समन्वय मिल्दैन भनेर,” सुदूर क्षितिजतिर हेर्दै यी भलाद्मी प्राध्यापकले चस्माको कहानीमा चास्नी हाले, “हाई मायोपिकमा म्याजिक नै भयो । मेरा आँखाले पुनर्जीवन पाएका छन्, मजाले टाढाटाढा हेर्न पाएको छु । अब मिल्टनले जसरी महाकाव्य लेख्नु नपर्ला ।”

आँखामा माइनसको उरुंगो किताबकै पुरस्कार हो अरुणलाई । यी पढन्ताको आँखामा स्कुले जीवनमै माइनस पाँच–छवाला चस्मा टाँगिसकिएको थियो । चस्मे भनेर जिस्काउँथे साथीहरू । तैपनि, उनले किताब च्याप्न छाडेनन् ।

कफी र किताब अरुणका कमजोरी हुन् । गसिप नै छ– बिहान २ बजे फोन गरे पनि अरुण गुप्तोले उठाउँछन् । हो त, ज्याक डेरिडा, गायत्री स्पिभाक र होमी भाभा पढ्दापढ्दै उनी आधा रात बितेको पत्तै पाउँदैनन् । एक–डेढ बजेतिर निस्केर आमा कराउँछिन्, ‘अनु, धेरै नपढ्, सुत्न जा ।’

आमाका डरले बिस्तारै चाल मारेर बिछ्यौनामा पुग्छन् । तर, बिहान साढे ६ या ७ बजे उठिसक्छन् । दौडधूप छैन र चित्त शान्त छ भने चार–पाँच घन्टे निद्राले पुग्दो रहेछ । आमा उनलाई सम्झाइदिन्छिन्, ‘खाना, निद्रा र डर जति बढायो, उति बढ्छ ।’

कहिलेकाहीँ आमासँग हाँसो र गुनासो एकसाथ गर्छन् अरुण । ‘आमा, मलाई किन किताबको संसारमा पठाउनुभयो ? र, म जहिल्यै किताबमै हराउँछु ।’ आमा फिस्स हाँस्छिन्, बस् ।

हजुरआमाका कारण किताबी लत लागेछ उनलाई । रवीन्द्रनाथ टैगोर र डब्लूबी यिट्सका कविता, पर्ल एस बकको द गुड अर्थ, नेपाली लोककथाहरू हजुरआमाकै मुखबाट सुने उनले ।

कपिलवस्तुको बहादुरगन्जस्थित घरको चारै कुनामा किताब मात्रै देख्थे अरुण । हजुरआमाका कविता, आमाका उपन्यास र बुबाका इतिहासका किताबहरूले भरिएको हुन्थ्यो घर । त्यसमा अरुण अनि भाइ तापस र अमितका कमिक्स थपिन्थे ।

भाइहरू गुलेली लिएर खेतखेत चहार्दा पनि घरमै या टोलको ज्ञानोदय पुस्तकालयमा बसेर पढ्थे अरुण । उनको सरस्वती क्लब थियो भने भाइहरूको ट्वेल्भ बोर र टुटु क्लब ।

जराको जन्जाल खोतल्ने हो भने, हजुरबुबा सुरेशचन्द्र गुप्त बंगलादेशबाट पश्चिम बंगाल हुँदै काठमाडौँ पसेका रहेछन्, राणाकालमा । वीर अस्पतालमा डाक्टरी गर्ने क्रममा (राजनीतिक कारण दिइएका) फाँसीको ‘विट्नेस’ गर्नुपरेछ उनले । त्यो नरुचाएर या डराएर उनी तराईतिर पलायन हुँदै बहादुरगन्ज पुगेछन् ।

जन्मथलो बहादुरगन्ज कुनै बेला शिवराज खजनी जिल्लाको सदरमुकाम थियो । न सहर, न त गाउँ । पहाडी र मधेसी अनि हिन्दु र मुसलमान सरोबरी भएको बहुसांस्कृतिक परिवेशमा हुर्किए अरुण । त्यहीँको श्रीराम गोर्खा बहुउद्देश्यीय हाई स्कुलबाट एसएलसी गरे ।

उनका हजुरबुबा मात्र होइन, बुबा निर्मल गुप्त पनि डाक्टर रहेछन् । पिताजी बहादुरगन्जमै क्लिनिक चलाएर बसे । पिताजी सिकारका सोखिन रहेछन् । बन्दुक लिएर जाने, ट्रयाक्टरमा हरिण झुन्ड्याएर आउने ।

फेसबुकमा फोटो हालेपिच्छे अरुणको हुलिया डाक्टर बाबुसँग हुबहु मिल्छ भनिरहन्छिन् उनकी आमा । त्यही हमसकल देखेर बाबुको देहान्तको धेरै वर्षपछि बहादुरगन्ज पुग्दा एक जना मान्छे साइकलबाट धन्नै लडेछन्, डाक्टरसाब कहाँबाट बाँचेर आउनुभयो भनेर ।

दुई पुस्ताको डाक्टरी इलमबाट फुक्काफाल भए अरुण । अरुणको प्रितम जानरा भयो, अंग्रेजी साहित्य । गोरखपुर, लखनउ, कोलकाता हुँदै न्यूजर्सी र काठमाडौँमा उच्च शिक्षा लिए । विद्यार्थीलाई धाक लगाएजस्तो गरी हँसाउँछन् पनि, ‘नेपाल, भारत र अमेरिकाका पाँच वटा विश्वविद्यालयमा पढेको मान्छेसँग धेरै कुरा नगर ।’

रोचक के भने, बंगाली वैद्य ब्राह्मण अरुणका परिवारमा सबै जना गुप्त शर्मा लेख्थे । तर, स्कुलमा शिक्षकहरूले गुप्ता लेखिदिए । त्यसलाई सच्चाएर उनले तिखोसँग ‘गुप्तो’ लेख्दै आएका छन् ।

खासमा सन् ९० को दशकमा अमेरिका गएपछि देवी संस्कृतितिर मोडिए, अरुण । ड्रयु विश्वविद्यालय पढ्दा लाइब्रेरीबाट एउटा पुरानो डकुमेन्ट्री खोजेर ल्याइयो । पहिलो दृश्य नै मैतीदेवीको थियो, कुकुरले फोहोर खाइरहेको । त्यसपछिको दृश्य मन्दिरको गजुरतिर मोडियो । फेरि खुला मासु लिएर गइरहेको मानिसलाई कुकुरले पछ्याइरहेको अर्को दृश्य । अरुणलाई त्यो फिटिक्कै मन परेन, नेपालको गरिबी देखाएको कि नेपाली कला देखाएको ?

ड्रयुकै अर्को ‘डिबेट डिस्कसन’ मा एक विदेशी साथीले सोधे, ‘तिमीहरूले यतिका देवीदेवताको पूजा गर्नुको कारण के हो ?’ उनले भनिदिए, ‘लाखौँ देवीदेवता हुनु भनेको पूर्वीय संस्कृतिले अनेक प्राकृतिक स्रोत पहिचान गरेको संकेत हो ।’

फर्केपछि काठमाडौँका हरेक चोक र गल्लीहरू चहारे उनले । र, त्यहाँ पाइलैपिच्छे भेटिने देवीदेवताका मूर्ति, मिथक र संस्कृतिबारे घनघोर अनुसन्धान गरे । र, किताब लेखे, गडेस अफ् काठमान्डु भ्याली । त्यसले उनलाई पक्का गाइड पनि बनाइदियो । काठमाडौँको कुनै गल्लीमा अलमल परे उनलाई फोन गरे हुन्छ । सजिलै बाटो बताइदिन सक्छन् ।

उनले काठमाडौँमा भेटेको ‘एक्सक्लुसिभ’ खबर के हो भने यहाँ ज्ञानका देवी र मन्दिर धेरै छन् । काली, तारा, सरस्वती, धुम्मावती, वज्रयोगिनी आदि दस महाविद्या अनि इन्द्रायणी, ब्रह्मायणीजस्ता अष्ट मातृका । विकराल तर करुणाका देवी । भयानकताभित्र सौन्दर्य, कालोभित्र सेतो चरित्र बोकेका ‘टेरिबल ब्युटी’ ।

यहाँ ज्ञान मात्र होइन, कला, नाटक र पर्फमेन्सका देवी पनि छन् । ज्ञान र देवी संस्कृतिको गठबन्धनकै नतिजा हो, उनको किताब । अहिले त्यसकै ‘सिक्वेल’ लेखिरहेका छन् धमाधम ।

अरुणले झ्यालबाहिरबाट हेरे देवी संस्कृतिलाई । ‘मिथोपोयटिक एबिलिटी’ देखेर अभिभूत भए । टन्न बाली पाकेको यथार्थ देखेर अन्नपूर्णा अनि हुरी लागेर बाली नष्ट हुँदा राक्षसको कल्पना तिलस्मी छैन त ?

काठमाडौँ र दक्षिण एसियाको सांस्कृतिक अध्ययनका क्रममा उनले विम्बहरू खप्टिएको पनि देखे । उनको अध्ययनमा उपभोक्ता संस्कृतिको प्रभावमा देवीहरूको अनुहार बलिउडे हिरोइनजस्तो देखिएको मात्र छैन, नेपाली विवाहमा पञ्जेबाजा, दुबोको माला, टोपीमा टाई–सुट पनि खप्टिएकै छ । “ठिमाहापन नै हाम्रो संस्कृति भइसक्यो,” उनी भन्छन्, “पहिले त्यो घोडा चढेर आउँथ्यो, अहिले मोबाइलबाट सेकेन्ड–सेकेन्डमै आइरहेको हुन्छ ।”

गुप्तोले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसको अंग्रेजी विभागमा २८ वर्ष पढाए । कक्षाकोठामा पढाइवरी फर्किंदा आफू बस्ने कुर्सी खोज्न विभागभरि छान मार्नुपर्ने । गर्मीमा कक्षाकोठामा पंखासमेत नहुने । दिउँसो ४ बजे अन्तिम घन्टी लाग्नासाथ सुनसान भइहाल्ने । कस्तो विश्वविद्यालय हो भन्ने उनलाई यकिनै हुन सकेको छैन ।

“ड्रयु विश्वविद्यालय पढ्दा मलाई पुस्तकालयमा काम दिइएको थियो, त्यहाँ मैले धेरै सिक्न पाएँ,” उनी सम्झिन्छन्, “राती १२ बजे जाऊँ या बिहान ३ बजे, जतिबेला पनि खुला पुस्तकालय ।”

गुप्तोका लागि विश्वविद्यालय भनेको सानो संसार हो । विडम्बना ! त्रिविमा उनले पढाउँदा पनि मिनी काठमाडौँ देखेनन्, बाहिर निस्केपछि पनि पाएनन् । “कलेज र युनिभर्सिटी चलेका क्लासबाट निर्धारित भएका छन्,” उनी भन्छन्, “समग्रताको संस्कृति विकास भएकै छैन ।”

अभि सुवेदी उनलाई जहिल्यै भनिरहन्छन्, ‘तिमीलाई विद्यार्थीले अत्यन्त माया गर्छन् ।’ अरुणले त्यसलाई नै आफ्नो आर्जन मानेका छन् । कतिपय विद्यार्थी त उनका गोडातिर झुकेर हातसमेत राख्छन् ।

माओवादी द्वन्द्वका बेला ‘सवाल्टर्न हिस्ट्री’ पढाउँदै गर्दा दुई विद्यार्थीले सुनाए, ‘हामीले त रुकुम–रोल्पातिर कोकाकोला बन्द गरिदियौँ । अब एक थोपा पनि कोल्ड ड्रिंक्स जाँदैन । अमेरिकी साम्राज्यवादबारे तपाईंको भनाइ के छ ?’ उनले भनिदिए, ‘सरकार वा विद्रोहीले कति हतियार किनेका छन् ? तिमीहरूले केही लाखको आयात बन्द गर्‍यौ, उनीहरू करोडौँको हतियार किनिरहेका छन् । यसले अमेरिकी साम्राज्यवादलाई थोपो फरक पर्दैन ।’

पुराना मूर्ति, भवन र सामग्री तोडफोड या नष्ट हुने बेला पनि उनले कीर्तिपुरे विद्यार्थीलाई सम्झाए, ‘इतिहासका कुनै वस्तुलाई न हल्लाउने अधिकार छ, न त बिगार्ने । विद्यार्थीले त त्यसलाई झन् छुनै पाउँदैन । निरंकुशता राम्रो, नराम्रो बुझ्ने डकुमेन्ट तिनै हुन् ।’ कक्षाबाट बाहिर निस्केर हेलमेट र ब्यागसहित मोटरसाइकलनेर पुग्दा तिनै विद्यार्थी हाजिर भए, ‘भनेपछि पो थाहा हुन्छ । धन्यवाद सर । लाल सलाम !’

तीन वटा छन्, अरुणका पढ्ने कोठा । तल टैगोर र देवकोटा कुना, माथि शेक्सपियर कुना । जाडोमा बसेर पढ्ने मिल्ने सलाईको बट्टाजत्रो कोठामा अरुण र छोरीले शेक्सपियरका पात्र बोक्सीहरूको सामान पनि बनाएका छन् । त्यसमा लेखिएको छ, ‘डन्ट टच ।’

उनी सिनेमाका सोखिन त हुन् तर फुर्सद निकाल्न सक्दैनन् । अलिअलि भ्वाइलिन सिकिरहेका छन् नोटेसन राखेर । गीत गाउन र नाच्न बडो लाज लाग्छ । पिकनिकमा नाच्न लगाउलान् भनेर पहिल्यै हच्किन्छन् ।

त्रिवि छाडेपछि पनि अरुणलाई ‘इन्टरभल’ नै मिलेन । अहिले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्स्टिच्युट अफ एड्भान्स कम्युनिकेसन, एडुकेसन एन्ड रिसर्च (आयसर) का प्रिन्सिपल छन् । रिसर्च गर्ने र लेख्ने क्रम चलेकै छ ।

सबाल्टर्नशास्त्री गायत्री स्पिभाकसँग उनको घनिष्टता छ । गायत्री आयसरमा आएपछि उनले माक्र्सवाद बेसरी बुझेछन् । र, सबाल्टर्नको विनिर्माणवादी व्याख्या पनि । गायत्रीले विनिर्माणका विचार भित्र्याउँदै माक्र्सवादलाई अति आदर्शवादी बन्नबाट बचाएको उनको तर्क छ ।

विद्यार्थीहरूलाई उनी अन्तर्राष्ट्रिय भाषामै लेख्न प्रोत्साहित गर्छन् । उनको ठम्याइमा रोमको इतिहासभन्दा कम छैन भक्तपुर । कला, संस्कृति र मिथक मात्र होइन, कृषि र स्वास्थ्यमा पनि । तर, विश्वविद्यालय तहमा पठनपाठन हुन सकेको छैन ।

सांस्कृतिक राष्ट्रवादले उग्रराष्ट्रवादबाट बचाउने अरुणको तर्क छ । “म नेपाली नागरिक हुँ तर नेपाली राष्ट्रवादी होइन । किनभने, राष्ट्रियताले धेरै नरसंहार पनि गरेको छ,” उनी भन्छन्, “राष्ट्रियता र राष्ट्रिय भावना एकल अवधारणा हुन् । ‘हामी’ र ‘तिमी’ भनेर छुटयाउने नै राष्ट्रवाद हो ।”



भनिसकियो, अरुण गुप्तो आम विद्यार्थीका प्रिय गुरु हुन्, उनका हिरो गुरुचाहिँ अभि सुवेदी र श्रीधर लोहनी । उनको क्लोज सर्कलका साथी थिए, सञ्जीव उप्रेती र सजग राणा । सञ्जीवसँग उनले काठमान्डू पोस्टमा ‘फ्याक्ट एन्ड फिक्सन’ नामक स्तम्भ पनि लेखे । एक साता अरुणले लेख्थे, अर्को साता सञ्जीवले ।

“अरुण र म पुरानो र अहिले पनि चलिरहेका साथी हौँ । गुगल म्याप नभएको जमानामा दुवै मिलेर भित्ताभरि पश्चिमा दार्शनिक र सिद्धान्तकारलाई नक्सांकन गरेका थियौँ,” सञ्जीव सम्झन्छन्, “हामी असिस्टेन्ट लेक्चरर पनि सँगै भयौँ । रिडरको जाँचमा फेल पनि सँगसँगै भयौँ । अवकाश पनि सँगसँगै लियौँ ।”

गुरु अभि र सञ्जीवको सिको गरेर उनले युनिकोड नेपालीमा लेख्न थालेका छन् । उनलाई कमलप्रकाश मल्लले दिएको गुरुमन्त्र हो– कक्षामा राम्रो पढाए केही वर्ष मात्रै रहन्छ, लेख्यो भने धेरै कालसम्म ।

अभिको आनन्दी मन र शान्त चित्त देखेपछि उनलाई लाग्छ, लेखन भनेकै ध्यान रहेछ । लेख्न थाल्यो भने एक्लो अनुभूति हुन पाउँदैन । टैगोर कुनामा उनले अभिका सबै किताब थुपारेका छन् । अभिलाई भन्छन् पनि, ‘अभि सर, तपाईंका किताब मैलेजति त तपाईंले पनि पढ्नुभएको छैन ।’ तत्कालै सही थाप्छन् अभि ।

पाठकलाई लाग्न सक्छ, उनले अभिको चाकरी किन गरिरहेका छन् ? किनभने अभि गुरु मात्र नभएर छिमेकी पनि हुन् । पहिले गोँगबुमा पनि सँगै बस्थे, गोल्फुटारमा पनि सँगै घर बनाएर बसे । समाजमा देवी रूप खोज्ने क्रममा अभिसँगै गृहिणी, साध्वी (माता) र कलाकार महिलाको जीवनबारे डकुमेन्ट्री बनाइरहेका छन् ।

कोलकातावाली सोमा रोयसँग अरुणको सहमति विवाह भयो, तीन दशक पहिले । कीर्तिपुरबाट बोटानीमा एमएस्सी सकेर बैंकर बनिन् सोमा । एसबीआई बैंककी अपरेसन हेड सोमा र अरुणकी एक्ली छोरी पल्लवी अधिकारी अमेरिकामा अंग्रेजी साहित्यमै पीएचडी गरिवरी उतै छिन् । छोरी उनलाई सोध्छिन्, ‘मेरो मातृभाषा के हो ?’ उनी जवाफ दिन्छन्, ‘बंगला, नेपाली र अंग्रेजी तीन वटै तिम्रा मातृभाषा हुन् ।’ एकसाथ तीन वटा भाषामा कोड स्वीच चल्छ उनको घरमा । तब न निर्मल निवास !

पुरा पढ्नुहोस्

मन पराउनु पनि एउटा दुर्घटना...

राजकुमार बानियाँ, भाद्र २०, २०७५

योगेशलाई गुड्नु नै जिन्दगीजस्तो लाग्न थालेको छ । त्रिपुरेश्वर, मिलनमार्गस्थित घर नै उनको संसार हो । उनलाई भेट्न बच्चुकैलाश, प्रेमध्वज प्रधान, किरण खरेल, यादव खरेल आदि घरमै पुग्छन् ।
पुरा पढ्नुहोस्

मझधारमा मुरलीधर

गोकर्ण गौतम, श्रावण १, २०७५

कहिले काठमाडौँ, कहिले मुम्बई
पुरा पढ्नुहोस्

नयाँ घरमा आहुति

राजकुमार बानियाँ, असार २०, २०७५

पीँधबाट उठेका आहुतिलाई थोरै संघर्षले पक्कै पुगेन । साहित्यको प्रगतिवादी खेमाका एक चर्चित लेखक हुन्, कुनै कालखण्डमा नेपाली राजनीतिको केन्द्रीय भागमा पनि रहे ।
पुरा पढ्नुहोस्

डायमनशमशेर राणा : दुर्घटनावश लेखक

रमण घिमिरे, जेष्ठ २३, २०७५

मन नलागी–नलागी जेलबाट काखी च्यापेर ल्याएको सेतो बाघले डायमनशमशेर राणालाई नाम, दाम र प्रतिष्ठा दियो
पुरा पढ्नुहोस्

उल्लू सफारी

राजकुमार बानियाँ, जेष्ठ १, २०७५

जर्मनीमा दिगो वन व्य वस्थापन पढेका राजु आचार्य उल्लूको अवैतनिक राष्ट्रिय प्रतिनिधि भएर फर्किएछन् ।
पुरा पढ्नुहोस्

'त्यसपछि मैले सिकेँ– सम्पत्ति होइन, मान्छे कमाउनुपर्छ' : प्रियंका कार्की

गोकर्ण गौतम, वैशाख ३०, २०७५

मैले सिकेँ– सम्पत्ति होइन, मान्छे कमाउनुपर्छ । त्यसपछि सबैथोक कमाउन सकिन्छ ।
पुरा पढ्नुहोस्

लोटस जेम अर्थात् कमलमणि

रमण घिमिरे, वैशाख २६, २०७५

रानी जगदम्बालाई बल्छी हानेर जन्माए मदन पुरस्कार
पुरा पढ्नुहोस्

नारायणगोपालकै लागि जन्मिएकी

रमण घिमिरे, चैत्र २८, २०७४

पेमाला बाँचुन्जेल नारायणगोपालकै लागि बाँचिन् र मृत्युपछि पनि नारायणगोपालकै लागि बाँच्ने सत्कार्य गरिन्
पुरा पढ्नुहोस्

ब्वाय फ्रम खैरेनी

राजकुमार बानियाँ, चैत्र १९, २०७४

जतिसुकै अप्ठ्यारो घुम्तीमा पनि लफंगा–लाइफ छाडेनन्, प्रवीणले । उनी आफ्नै मर्जीमा फिल्मका स्क्रिप्ट र कथा लेख्छन् या अनुवाद गर्छन् ।
पुरा पढ्नुहोस्