खेलकुद

खेलाडीजति चीनतिर

ज्ञानेन्द्र आचार्य, माघ २०, २०७३

विश्व चर्चित खेलाडीहरू चिनियाँ लिगमा जान थालेपछि फुटबल क्लबहरू समस्यामा
पुरा पढ्नुहोस्

क्रिकेटमा छलाङ

विनोद पाण्डे, माघ ३, २०७३

विसं २०६६ मा प्रारम्भ भयो, एसपीए कप क्रिकेट प्रतियोगिता । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को आयोजनामा थालिएको यो प्रतियोगिता कलेजस्तरीय थियो, जसमा देशभरबाट १२ कलेजका टिम सहभागी थिए, राष्ट्रिय खेलाडीहरूका साथ । विजेतालाई २५ हजार र उपविजेतालाई १० हजार रुपियाँ पुरस्कारसहित यस प्रतियोगिता आयोजनाको कुल खर्च चार लाख रुपियाँ थियो । 

त्यसको सात वर्षमै यो प्रतियोगिताले यस्तो छलाङ मार्‍यो, जसले नेपाली क्रिकेटलाई नै एउटा उचाइमा पुर्‍याइदिएको छ । र, यस वर्षदेखि एसपीए र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा १ करोड ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर धनगढी प्रिमियर लिग (डीपीएल)को आयोजना हुँदै छ । त्यसमा विभिन्न पुरस्कारमै २८ लाख ५० हजार रुपियाँ खर्च हुनेछ । विजेताले १५ र उपविजेताले ७ लाख रुपियाँ नगद पाउनेछन् । त्यस्तै हरेक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार पाउनेछन् भने ‘म्यान अफ द सिरिज’लाई दुई सय सीसीको टीभीएस आरटीआर अपाचे मोटरसाइकल प्रदान गरिनेछ । नेपाली क्रिकेटमा यो अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार हो । 

०६६ मा धनगढीका सुवास शाही नेतृत्वको युवा टोलीको सक्रियतामा दुई–दुई वर्षमा हुने गरी एसपीए कप थालिएको थियो । एक वर्ष एसपीए कप आयोजना हुन्थ्यो भने अर्को वर्ष धनगढी क्रिकेट लिग (डीसीएल) । एसपीए कपको चार संस्करण आयोजना भए । यसपटक त्यसको पाँचौँ संस्करण हुनुपर्ने थियो । तर, शाही नेतृत्वको युवा टोलीले एसपीए कप र डीसीएललाई एकीकृत गरेर डीपीएल आयोजना गर्ने निर्णय लियो । आगामी चैत महिनामै नेपाली क्रिकेटको हालसम्मकै सबैभन्दा ठूलो डीपीएल प्रतियोगिता हुँदै छ । 

नेपाली क्रिकेटको सर्वोच्च निकाय क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा करिब चार दर्जन जिल्ला आबद्ध छन् । तर, क्रिकेटको लिग प्रतियोगिता भने कहीँ पनि भएको थिएन, २० वर्षदेखि । त्यसबेला काठमाडौँ र मोरङमा जिल्ला लिग क्रिकेट हुने गरेको थियो, जो नेपाली क्रिकेटको दन्त्यकथाजस्तै भइसकेको थियो । तर, दुई दशकपछि कैलालीले जिल्ला क्रिकेट लिगको अवधारणालाई ब्यूँत्यायो । र, त्यो पनि नेपाल क्रिकेट संघमा आबद्ध कैलाली जिल्ला नभई धनगढीको एउटा युवा समूह थियो । 
३० मंसिर ०७० मा धनगढी क्रिकेट एकेडेमी (डीसीए)को स्थापना गरियो र यसैले १२ फागुनमा धनगढी क्रिकेट लिग (डीसीएल)को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गर्‍यो । यसपछि डीसीएललाई बृहत् रूपमा लैजान आयोजकहरू हौसिए । ०७२ मा भएको डीसीएल–३ मा स्थानीय तहमा पहिलोपटक खेलाडीहरूको अक्सन (बोलकबो ल) भएको थियो, जसमा राष्ट्रिय खेलाडी राजु रिजाल ४० हजार रुपियाँमा किनिएका थिए । यो सिजनमा खेलेका सबै खेलाडीले पारिश्रमिक पाए । आयोजक डीसीएका अध्यक्ष सुवास शाही भन्छन्, “डीसीएल–३ एउटा प्रयोग थियो, त्यो सफल भयो ।” यहीँबाट डीपीएलको प्रयास सुरु भयो ।

६ वटा फ्रेन्चाइज टिम
डीपीएललाई मूर्त रूप दिन आयोजकलाई ठूलो व्यापारिक घरानाको आवश्यकता परेन । त्यसको प्रमाण हो– प्रतियोगितामा तीन यस्ता फ्रेन्चाइज टिम छन्, जो स्थानीय तहबाटै माथि उठेका हुन् । धनगढीका सीवाईसी अत्तरिया, टिम चौराहा धनगढी र महेन्द्रनगरको कञ्चनपुर आइकोनिक डीपीएलका स्थानीय टिम हुन् । सीवाईसी अत्तरिया सिर्जनशील युवा क्लबको छातामुनि रहेर खेल्ने छ, जसका मालिक नरबहादुर राई हुन् । टिम चौराहाका मालिक राजकुमार श्रेष्ठ र कञ्चनपुर आइकोनिकका मालिक पिताम्बर जोशी हुन् । यी तीनै जना स्थानीय व्यापारी हुन् ।

यसबाहेकका तीन टिममा, विराटनगर किंग्स महालक्ष्मी केबलको स्वामित्वमा छ । यसका मालिक नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी पारस लुनिया हुन् । अर्को टिम काठमाडौँ गोल्डेन्स गेट कलेजको स्वामित्वमा रहने छ, जो रमेश सिलवालको हो । तेस्रो टिम एसआर ग्रुपको स्वामित्वमा रहेको रुपन्देही च्यालेन्जर्स हो र मालिक सुरज उप्रेती हुन् । 
सुरुमा ६ वटा फ्रेन्चाइज पुर्‍याउन गाह्रो भएको स्थितिमा आयोजक शाही आफ्नै एउटा फ्रेन्चाइज बनाउन हौसिएका थिए । किनभने, धनगढीका क्रिकेट प्रशंसक आफैँ आफ्नो स्वामित्वको एउटा फ्रेन्चाइज भएको हेर्न तत्पर थिए । शाही भन्छन्, “क्रिकेट विकासका लागि सहरको एउटा सानो भेज म:म पसलले पनि एक प्लेट म:म बेचेर एक रुपियाँ दिएर सहयोग गर्दै आएको थियो ।” 

यसको उदाहरण डीपीएलमा आबद्ध तीन स्थानीय फ्रेन्चाइज टिम चौराहा, सीवाईसी अत्तरिया र कञ्चनपुर आइकोनिक्स हुन् । डीसीएल सुरु गर्दा चौराहा र अत्तरियालगायत अन्य तीन स्थानीय टिमले प्रतियोगिताको स्वरूपलाई फराकिलो बनाएका थिए । स्थानीय फ्रेन्चाइजकै कारण धनगढी सहरले नै डीपीएलको स्वामित्व आफूमा रहेको महसुस गर्नेछ भने यसले देशको अन्य भागमा रहेका स्थानीय बजारलाई पनि क्रिकेटको ठूलो प्रतियोगितामा लगानी गर्दा जोखिम नहुने सन्देश दिएको छ । 

क्रिकेटरहरूको बोलकबोल
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) अक्सनका लागि भनेर ‘ड्राफ्ट’ बनाइएको थियो तर ‘ब्ल्याक एन्ड हवाइट’ केही थिएन । हुन त अक्सन ड्राफ्ट आफैँमा नेपाली क्रिकेटको इतिहास थियो । धनगढीमा ५ देखि १९ चैतसम्म हुने डीपीएलका लागि यो ड्राफ्ट बनाइएको थियो । 

राष्ट्रिय स्तरमा पहिलो पटक खेलाडी लिन भाउ तोकिएको थियो र त्यसैका लागि अक्सन गरिएको थियो । अक्सनका लागि सबै खेलाडीलाई एकपटक प्रस्तुत गरिसक्दा पनि रुपन्देही च्यालेन्जर्सको १५ खेलाडी पूरा भएको थिएन । टोलीसँग खर्च गर्नका लागि पर्याप्त रकम भने बाँकी नै थियो । एउटा टोलीले पूरा १५ खेलाडी लिन ८ लाख ५० हजार खर्च गर्न पाउँथ्यो । 

बिक्री नभएका खेलाडी फेरि लिनुपर्ने अवस्थामा रुपन्देहीले चन्द्र साउदलाई न्युनतम ५० हजार भाउ लगाएको थियो । कञ्चनपुर आइकोनिक पनि चन्द्रलाई लिन तयार भयो । बिक्री नभएका खेलाडीको हकमा दुई वा सोभन्दा बढी टोलीले भाउ लगाएमा के हुने भन्ने डीपीएल अक्सन ड्राफ्टमा केही लेखिएको थिएन । त्यस्तोमा गोला प्रथा गरियो । चन्द्र गृहटिम कञ्चनपुरमा परे । रुपन्देहीको गुनासो आफूहरूले राम्रा खेलाडीलाई लिन पैसा जोगाएर राखेकाले दोस्रो चरणमा पनि खेलाडीको भाउमा बोलकबोल हुनुपर्छ भन्ने थियो । त्यो विषय आयोजकले आपसी सहमतिमा सल्टाए । डीपीएलका आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही भन्छन्, “पहिलो पटक राष्ट्रियस्तरमा अक्सन भएकाले निश्चय पनि धेरै कुरा मिलेको थिएन । त्यसैले सबै सहमतिमै भयो ।” 

राष्ट्रिय स्तरमा पहिलो पटक भएको खेलाडीको अक्सनमा ६ वटै टिमका कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषवाकर, वसन्त रेग्मी र विनोद भण्डारी अधिकतम १ लाख ५० हजार रुपियाँमा अनुबन्धित भएका थिए । न्यूनतम १ लाख रुपियाँ पारिश्रमिक तोकिएकामा ६ जनै कप्तानको अधिकतम १ लाख ५० हजार भाउ लागेपछि गोलाप्रथाद्वारा कप्तान छनोट गरिएको थियो । त्यस अनुसार शरदले विराटनगर किंग्स, वसन्तले काठमाडौँ गोल्डेन्स, शक्तिले रुपन्देही च्यालेन्जर्स, विनोदले कञ्चनपुर आइकोनिक, पारसले टिम चौराहा धनगढी र ज्ञानेन्द्रले सीवाईसी अत्तरियाको नेतृत्व गर्नेछन् ।

आयोजकले अनलाइनमार्फत खेलाडीहरूसँग आवेदन मागेकामा २ सय ६० जनाले फारम भरेका थिए । प्रक्रिया पुर्‍याएर आवेदन दिएका २ सय १७ जनालाई अक्सनमा राखिएको थियो । ग्रेड ‘ए’मा नेपाली राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल खेलिसकेका खेलाडी थिए, जसको न्यूनतम भाउ ५० हजार रुपियाँ थियो र उनीहरू बढीमा एक लाख रुपियाँमा लिलामी भएका थिए । ग्रेड ‘बी’मा राष्ट्रिय टोलीबाट १५ खेलभन्दा कम खेलेका र यू–१९ टोलीका वर्तमान खेलाडीहरू थिए । उनीहरूको न्यूनतम मूल्य ३० हजार थियो भने बढीमा ८० हजारमा बिक्री भएका थिए । दीपेन्द्रसिंह ऐरी अक्सनमा एक त्यस्ता खेलाडी थिए, जसका लागि सबै टोलीले अधिकतम भाउ लगाएका थिए । 

ग्रेड ‘सी’मा नेपालको यू–१९ र यू–२३ बाट खेलेका क्रिकेटर थिए । उनीहरूको न्यूनतम पारिश्रमिक २५ हजार र बढीमा ५० हजार तोकिएको थियो । त्यस्तै ग्रेड ‘डी’मा नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नपाएका खेलाडी थिए, जसको न्यूनतम २० हजार रुपियाँ र अधिकतम ४० हजार रुपियाँ मूल्य थियो । राष्ट्रिय क्रिकेटको संरचनामा नौ क्षेत्रीय र तीन विभागीय गरी १२ टोली छन् । त्यसका आधा खेलाडी मात्र फ्रेन्चाइजले राख्न सक्ने हुँदा राष्ट्रिय टोलीमा देखिएका धेरै खेलाडीको भाउ नै लागेन । 

कुनै भाउ नलागेका खेलाडीमा ग्रेड ‘ ए’कै महेश क्षत्री र परेश लोहनी पनि थिए । इर्शाद अहमद, दीपेश खत्री, यज्ञमान कुमाल, फैजल खान, दीपेश श्रेष्ठजस्ता खेलाडी पनि यही सूचीमा परे । भेट्रान स्पिनरद्वय सञ्जम रेग्मी र राहुलकुमार विकले आवेदन नै दिएनन् । केही राम्रा खेलाडी पर्न नसकेकामा विराटनगर किंग्सका कप्तान शरद भेषवाकर पनि सहमत छन् र अर्को संस्करणको डीपीएलमा दुई टिम थप्न सुझाव दिन्छन् । रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचन भन्छन्, “लिलामीमा नपरेका खेलाडीलाई यसले राम्रो सबक दिएको छ । मिहिनेत गरेनौँ भने न्यूनतम रकम पनि पाउँदैनौँ ।”

नेपाली खेलाडीहरू व्यवस्थापकीय पक्षमा कमै जानकार छन् । अक्सनमा डीपीएल फ्रेन्चाइजका मालिकहरूसँगैं कप्तान पनि भाउ लगाउन बसेका थिए । नेपाली क्रिकेटमै अक्सन बिलकुल नयाँ थियो, त्यसमा केही मालिकहरू त झनै अनभिज्ञजस्तै थिए । यस्तोमा अक्सनमा कप्तानहरू हाबी भएका थिए र उनीहरूले यसमा व्यवस्थापन पक्ष राम्रोसँग बुझ्ने अवसर पनि पाए । सोमपाल कामी, सन्दीप लामिछाने र सिद्धान्त लोहनीको नाम लिलामीमा ढिलो गरी आएको थियो र उनीहरूको नाम आउँदा राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित टिम चौराहाको तोकिएको रकम सकिने स्थितिमा पुगिसकेको थियो । नेपाली क्रिकेटका सनसनी सन्दीपको पालोमा सबै फ्रेन्चाइज पैसा सकिसकेको अवस्थामा पुगेका थिए र उनी केवल ६० हजार रुपियाँमै विराटनगर किंग्समा पुगे । 

अक्सनमा ‘बेस प्राइस’ (आधार मूल्य)बाट माथि गएपछि जुन रकममा खेलाडी बिक्री भएको छ, त्यसको बढेको रकममा १० प्रतिशत रकम आयोजकको खातामा जान्छ । त्यस्तै टिकटबाट उठेको रकमको १५ प्रतिशत टिमको खातामा जानेछ । डिपीएलको १५ दिनको सिजनका लागि हरेक श्रेणीका खेलाडीको न्यूनतम र अधिकतम मूल्यसहित खेलाडी खरिदमा टिमले गर्न पाउने खर्चको पनि सीमा तोकिएको थियो । एउटा टिमले खेलाडी खरिदमा बढीमा ८ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने नियम बनाइएको छ, यसपटकका लागि । यसबाहेक एउटा फ्रेन्चाइज टिमले प्रतियोगिताका लागि अर्को ७ देखि १२ लाख रुपियाँसम्म खर्च गर्नुपर्ने हुन्छ । 

क्रिकेट खेलाडी संघसँग मिलेर डीपीएलले खेलाडीको वर्गीकरण गरी तयार पारेको अक्सनमा ५१ लाख अधिकतम खर्च गर्नुपर्ने थियो, जसमा ४७ लाख रुपियाँभन्दा बढी खर्च भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्रिकेट संघ निलम्बनमा परी घरेलु क्रिकेटमा खडेरी लागिरहेको अवस्थामा नयाँ प्रयोगका साथ डीपीएल आएको छ । काठमाडौँ गोल्डेन्सका कप्तान वसन्त रेग्मी भन्छन्, “यस्तो प्रतियोगिता सुवास शाहीले मात्र होइन, अरूले पनि गर्नुपर्छ । यसले खेलाडीलाई प्लेटफर्म दिन्छ र नयाँ खेलाडी अगाडि आउँछन् ।” 

आयोजक शाही आफैँ क्रिकेट खेलाडी थिए । नेपालमा घरेलु क्रिकेट कमजोर रहेको समयमा उनले सौरभ ओझालगायतका साथीहरूसँग मिलेर ०६६ मा धनगढीमा कलेज स्तरीय प्रतियोगिता आयोजना गर्ने योजना बनाए । सुरुमा उनको टिमलाई कसैले पत्याएन । तर, पछि त्यही टिमले एसपीए कपको चार संस्करण र डीसीएलको तीन संस्करण आयोजना गर्‍यो । त्यही टिम अहिले अक्सनसहितको डीपीएल आयोजना गरेर नेपाली क्रिकेटको इतिहास बनाउन लाग्दैछ । 
***

ड्रिम फाप्ला अभियान

०६६ र ०६७ मा होटल डिभोटी एसपीए कपका दुई संस्करण धनगढी रंगशालामा आयोजना भए । ०६८ मा छैटौँ राष्ट्रिय खेलकुदका लागि रंगशालामा माटोको ट्रयाक बनाइयो । क्रिकेटका लागि रंगशालामा पर्याप्त ठाउँ भएन । त्यसैले एसपीए कपको तेस्रो संस्करण ०६९ देखि सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा सारियो । यो त्यही मैदान हो, जहाँ प्रहरीको तालिमदेखि विभिन्न महोत्सवहरू आयोजना हुन्छन् । 

धनगढी क्रिकेट लिग (डीसीएल)को पहिलो संस्करण ०७० मा धनगढी सहरको उत्तरपश्चिममा रहेको फाप्ला मैदानमा भएको थियो । त्यही वर्ष नेपाल प्रिमियर लिग धनगढीमा आयोजना हुने भयो । खासमा मैदानलाई चिनाउन सामान्य हिसाबमै डीसीएलको पहिलो संस्करण फाप्लामा भएको थियो । 
मोहना खोलाको किनारमा बोराडाँडीमा अवस्थित छ, फाप्ला मैदान । तीन वर्षअगाडि सरकारी लगानीमा साढे दुई करोड रुपियाँ खर्च गरेर नदीको छेउमा तटबन्ध बनाएर फाप्लालाई क्रिकेट मैदान बनाउने प्रयास सुरु भएको थियो । यसैलाई क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउन ‘ड्रिम फाप्ला’ अभियान सञ्चालनमा छ । 

एसपीए कपको चौथो संस्करणमा प्रतिटिकट पाँच रुपियाँ छुट्याई एक लाख रुपियाँभन्दा बढी रकम ड्रिम फाप्लाको खातामा हालिएको थियो भने रेडियो धनगढी ९०.५ मेगाहर्जले आफ्ना कर्मचारीको एक दिनको तलब तथा पाँच वर्षसम्म प्रतिविज्ञापन पाँच रुपिया यस अभियानका लागि छुट्याएको छ । काठमाडौँ प्रिमियर लिगको पहिलो संस्करणको विजेता धनगढी युनाइटेडले प्रथम पुरस्कार पाएको रकममध्ये झन्डै ५० प्रतिशत रकम अभियानलाई हस्तान्तरण गरेको थियो । न्यु सिर्जनशील युवा क्लब अत्तरियाले ड्रिम फाप्ला अभियानलाई साथ दिँदै धनगढी क्रिकेट लिग–२ मा उपविजेता भएमार्फत पाएको पुरस्कार राशिको झन्डै ४० प्रतिशत रकम दिएको थियो । ६ लाख रुपियाँ जम्मा भएको छ, अहिलेसम्म । “यो रकम ठूलो होइन तर यसले दबाब सिर्जना गरेको छ,” डीसीएल अध्यक्ष एवं अभियानका अगुवा सुवास शाही भन्छन् । सरकारले बजेटमै राखेर ६० लाख रुपियाँ दिइसकेको छ । अभियानको पहलपछि एसियाली विकास बैंकले तीन करोड रुपियाँ लगानी गरेर भीमदत्त राजमार्गबाट फाप्ला जाने एक किलोमिटर बाटो बनाइँदै छ । यसपटक सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य महासंघले प्रतिटिकट एक रुपियाँ छुट्याएको छ । 

एनपीएल भएयता फाप्लामा सामान्य खेल मात्र भएका छन् । डीपीएलका खेल पनि सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमै हुनेछ । नेपाली राष्ट्रिय टोली भर्सेज धनगढी–११ बीच च्यारिटी खेल खेलेर डीपीएलको सुरुआत हुँदै छ । त्यसको टिकट दर एक सय रुपियाँ तोकिएको छ । र, खर्च कटाएर त्यो सबै रकम फाप्लामा खर्च गरिनेछ । 

डीपीएलमा टिकट दर ५० रुपियाँ राखिएको छ र विद्यार्थीलाई ४० प्रतिशत छुट दिने भएको छ । टिकट बिक्री भएको रकमको १५ प्रतिशत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लामा जम्मा गरिने बताउँछन् डीपीएल आयोजक सौरभ ओझा ।

प्रायोजकको साथ​

धनगढीमा व्यावसायिक पाटोबाट क्रिकेटको जग बसाउन प्रमुख भूमिका निर्वाह गर्नेहरू कृष्णबहादुर महरा, महेश शाह र अमर शाही हुन् । महरा होटल डिभोटीका मालिक हुन् । एसपीए कपदेखि डीसीएलमा यसले १० लाख रुपियाँ नगद प्रायोजन सम्झौता गर्दै आएको छ । डीपीएलमा पनि होटल डिभोटीको त्यो प्रायोजन यथावत छ । शाह वेल्स क्याफे र ओम प्यालेसका मालिक हुन् । उनको कम्पनीले प्रतियोगिताका क्रममा होटल र खानाको व्यवस्थापनको जिम्मा लिन्छ । शाही पर्यटन व्यवसायी हुन्, उनको कम्पनी राइका ट्राभल्स एन्ड टुर्सले यात्रालगायतका पक्षमा प्रायोजन गर्छ । 
तीन वर्ष धनगढीमा जोहरा स्पोर्ट्सले नेपाल प्रिमियर लिग आयोजना गरेको थियो । त्यसपछि घोराही सिमेन्टको सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा जोडियो । यो पहिले सह–प्रायोजकका रूपमा एसपीए कपमा छिरेको थियो । गत वर्ष प्रमुख प्रायोजकका रूपमा धनगढी क्रिकेट लिगलाई सगरमाथा सिमेन्टले १० लाख रुपियाँ प्रदान गरेको थियो । फ्रुट ड्रिंक प्रान लिची दुई लाख रुपियाँ दिएर धनगढी क्रिकेटमा छिरेको थियो । 

डीपीएलमा सगरमाथाले प्रमुख प्रायोजक भएर १५ लाख र जगशक्ति टीएमटी बारले सह–प्रायोजकका रूपमा आबद्ध भएर सात लाख रुपियाँ प्रदान गरेको छ । “धनगढी क्रिकेटसँग जोडिएका कारण पूरै देशबाट राम्रो समर्थन पाइएको छ,” मुख्य प्रायोजक सगरमाथा सिमेन्टका प्रतीक अधिकारी भन्छन् । 
एसपीए कपको सुरुमा क्रिकेट मैदानमा राखिने एउटा ब्यानरको तीन हजार र पछि पाँच हजार रुपियाँ भयो । अहिले डीपीएलमा २० हजार रुपियाँ पुर्‍याइएको छ । स्थानीय निकाय पनि यसमा आबद्ध हँुदा नगद र जिन्सीसमेत गरेर विगतमा ३५ लाख रुपियाँ उठेको थियो, जो विगतको कुल बजेटको करिब झन्डै ६० प्रतिशत हो ।

प्रमुख रूपमा बेल्स क्याफे, ओम प्यालेस, चौधरी बुक डिपो, दक्षिणकाली इन कर्पोरेटेड, होटल जलशाह, शिवशक्ति भोजनालय, मोडर्न टेलरिङ, किसान ट्रेडिङ कन्सर्न, राइका ट्राभल्स एन्ड टुर्स, चौलानी पुस्तक पसल, चुवाई पुस्तक पसललगायत साना, मझौलादेखि ठूला स्थानीय स्तरका कम्पनीहरू धनगढीमा हुने प्रतियोगितामा जोडिँदै आएका छन् ।
 

पुरा पढ्नुहोस्

रेकर्ड ब्रेकर रोनाल्डो

ज्ञानेन्द्र आचार्य, पुस ६, २०७३

पोर्चुगलका महान् खेलाडीलाई चौथो पटक बलुन डि\'योर
पुरा पढ्नुहोस्

व्यवसायी मालामाल, सरकार अनभिज्ञ

मनबहादुर बस्नेत, मंसिर १४, २०७३

उच्च हिमाली क्षेत्रमा सरकारलाई पत्तै नदिई महँगा साहसिक खेलको आयोजना
पुरा पढ्नुहोस्

आवरण कथा» जितको मनोबल

ज्ञानेन्द्र आचार्य, मंसिर ५, २०७३

एक वर्षमा नेपाली फुटबल टिमको उत्साहजनक सफलता
पुरा पढ्नुहोस्

माउरिन्होको भरमा म्यानचेस्टर

ज्ञानेन्द्र आचार्य, कार्तिक ४, २०७३

सबैभन्दा महँगो क्लब भए पनि म्यानचेस्टर युनाइटेडलाई ठुलो सफलताको खडेरी
पुरा पढ्नुहोस्

पाँच दशक शून्य पदक

ज्ञानेन्द्र आचार्य, भाद्र ७, २०७३

नेपालका लागि ओलम्पिक यात्रा उपलब्धिविहीन
पुरा पढ्नुहोस्

अलराउन्डर सरिता

केशव थापा, श्रावण १८, २०७३

सरिता नेपाली महिला क्रिकेट टिमकी अलराउन्डर हुन् ।
पुरा पढ्नुहोस्

रोमाञ्चविहीन युरोकप

ज्ञानेन्द्र आचार्य , श्रावण ३, २०७३

प्रतिस्पर्धात्मक नहुनुमा साना टिम दोषी
पुरा पढ्नुहोस्

वाह ! वेल्स

ज्ञानेन्द्र आचार्य , असार २८, २०७३

सानो टिमको अपत्यारिलो युरोयात्रा
पुरा पढ्नुहोस्

कलात्मक शैलीको सरुवा

राजु घिसिङ, असार १०, २०७३

दक्षिण अमेरिकीले हराएको लय युरोपतिर
पुरा पढ्नुहोस्