इतिहास

काष्ठमण्डपको जगभित्र लुकेको कथा

गोकर्ण गौतम, जेष्ठ ३०, २०७४

भूकम्पपछिको उत्खननले काष्ठमण्डपको ऐतिहासिकताको नवीन अध्यायको खुलासा
पुरा पढ्नुहोस्

अब यस्तो कहिल्यै नहोस्

रोहित रञ्जितकार, फाल्गुन ५, २०७३

नेपालमा विसं १८९० मा महाभूकम्प आयो । त्यतिबेला फोटोग्राफी आविष्कार भएकै थिएन, न त स्केच नै उपलब्ध छ, अहिले । यद्यपि, विसं १९१७ तिर प्रकाशित एउटा किताबमा ‘धेरै मठमन्दिर भत्किएको’ भनेर लेखिएको छ । तर, कति मन्दिर थिए, कति पुन:निर्माण भए, तथ्यांक छैन । विसं १९९० मा महाभूकम्प आयो । धेरैले भन्छन्, १९९० मा जति सम्पदा भत्किएका थिए, सबै जस्ताको त्यस्तै पुन:निर्माण भए । सम्पदा हराएनन्, स्वरूप पनि बदलिएन । 

तर, यो सत्य होइन । हामीकहाँ धेरै सम्पदा भएकाले अहिले जति छन्, ती पनि अथाह लागेको मात्र हो । अन्त होइन, उपत्यकाका तीन दरबार स्क्वायर वसन्तपुर, भक्तपुर अनि पाटनकै रूप र बनोट फेरिएको छ, त्यहाँका कति सम्पदा त लोप नै भएका छन् । यी दरबार क्षेत्रका १९९० भन्दा अगाडि र पछाडिका तस्बिरहरू जुधाएर हेर्दा प्रस्टै हुन्छ । 

वसन्तपुर दरबार स्क्वायर

राजधानी भएको नाताले पुन:निर्माणमा पाटन र भक्तपुरभन्दा वसन्तपुरलाई प्राथमिकतामा राखियो । तुलनात्मक रूपमा यहाँ धेरै क्षति भएको पनि थियो । तत्कालीन सरकारले भूकम्पलगत्तै पुन:निर्माणको जिम्मा दिएको थियो, इन्जिनियर डिल्लीजंग थापालाई । उहाँलाई मैले २२ वर्षपहिले भेटेको थिएँ, त्यतिबेला उहाँ ९३ वर्षको हुनुहुन्थ्यो । उहाँका अनुसार दरबारबाट तोकिएकै समयमा काम सक्न निर्देशन आउँथ्यो, त्यसैले मल्लकालजस्तै पुन:निर्माण सम्भव भएन । हतारमा गर्नुपर्‍यो । जस्तो : मन्दिर भत्किएर सामग्री टुटेफुटेको हुन्थ्यो, अहिले जस्तो यातायातको सुविधा थिएन, तराईदेखि ल्याउनु पथ्र्यो । यस्तोमा अलि परका मन्दिरको सामग्री ल्याएर दरबार क्षेत्रभित्रको सामान बनाउने ।

जसले गर्दा ती साना मन्दिर लोप हुने भइहाले । काठमाडौँ उपत्यका संरक्षण ट्रस्टले १० वर्षअगाडि वसन्तपुर क्षेत्रका सातवटा मन्दिर जीर्णोद्धार गरेको थियो । त्यसक्रममा हामीले थाहा पायौँ, कालभैरवको पूर्वपट्टिको नारायणको मन्दिरको टुँडाल त वरिपरिका मन्दिरबाट जम्मा गरिएको पो रहेछ । नारायण मन्दिर भएपछि नारायणको १० अवतार वर्णन हुन्छ, टुँडालमा । मोटाइ, गोलाइ एकै हुनुपर्छ । तर, त्यहाँ फरक–फरक आकारको टुँडाल छ । हनुमानढोका क्षेत्रकै इन्द्रपुर मन्दिरको माथिको तलामा बार्दली थियो तर पुन:निर्माणमा त्यसलाई हटाएर मल्लकालीन शैली भुत्ते बनाइयो ।

सबभन्दा मुख्य परिवर्तन भनेको गद्दी बैठकको दक्षिणतिर खुला क्षेत्र हो, जहाँ अहिले हस्तकलाका सामान बेच्ने गरिन्छ । तर, धेरैलाई हेक्का नहोला, त्यो ’९० अगाडि दरबारकै अंग थियो । त्यहाँ घर थिए । महाभूकम्पले सामान्य क्षति पुर्‍याए पनि ध्वस्त नै भएको थिएन । तर, त्यसलाई मर्मतसम्भार नगरी खुला स्वरूप दिइयो पछि । भनिन्छ, तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरको गाडी मोड्न सजिलो होस् भनेर स्क्यायर क्षेत्र फराकिलो पारिएको हो । दरबार क्षेत्रभित्रका अरू फोटो उपलब्ध नभएकाले अन्य परिवर्तनबारे चाहिँ हामी अनभिज्ञ छौँ । 

अहिले वसन्तपुरको जुन बाटोमा हिँड्छौँ, त्यो त दरबारभित्रको क्षेत्र हो, त्यहाँ बाटै थिएन । दरबार अहिलेको भूगोल पार्क र विशालबजारसम्म फैलिएको थियो । अहिलेको शुक्रपथ, जसलाई अलि पुराना मान्छे नयाँ सडक पनि भन्छन्, ’९० पछि मात्र बनाइएको हो । अहिलेको नेपाल बैंक लिमिटेडको मुख्यालय र भूगोल पार्कको बीचमा घोडा राख्ने तबला र पानी खुवाउने पोखरी थियो । शुक्रपथतिरको यो पूरै क्षेत्र शासकहरूले बेचेका थिए ।

पाटन दरबार स्क्वायर
पाटन दरबार स्क्वायरमा भएको क्षति र पुन:निर्माण पनि उपलब्ध तस्बिरहरूको सहाराले छर्लंगै हुन्छ । अहिले पाटन संग्रहालय भएको केशवनारायण चोक पूरै भत्किएको थिएन, माथिको भाग मात्र थोरै क्षतिग्रस्त थियो । सबभन्दा अग्लो मन्दिर देगु तलेचाहिँ पूरै भत्कियो । मूलचोकका धेरैजसो छाना खसेका थिए । यहीँको सुन्दरी चोकको पूर्वी भाग ध्वस्त भयो, अगाडिको भाग मात्र बच्यो । पछि पुन:निर्माणमा दरबार क्षेत्र भएको हुँदा प्राथमिकतामा पर्‍यो । मुख्य दरबार क्षेत्रको संरचना पहिले जस्तो थियो, करिब त्यस्तै भयो । तर, केशवनारायण चोक र सुन्दरी चोकको पूर्वी भागको पुन:निर्माणचाहिँ महाभूकम्पभन्दा अगाडिको अवस्थामा नभई कामचलाउ शैलीमा गरियो । मल्लकालको आर्किटेक्टमा होइन, त्यही बेला उपलब्ध डिजाइनमा मात्र । दरबारको पछाडि भएकाले कडा निगरानी हुन्थ्यो, त्यसैले भूकम्पअघिको कुनै तस्बिर भेटिएको छैन, स्केच पनि छैन । 

देगु तले मन्दिर तीनै तल्ला छ तर उचाइ पहिलेको भन्दा कम छ । झ्यालका कोणहरू खुम्चिएका छन् । भत्किएर भेटिएका सामान जता मिल्छ, त्यतै प्रयोग गरिएको छ । कति भाँचिए, टुक्रिए वास्तै गरिएन । यहाँको समस्या पनि उही हो, दरबारले भनेकै समयमा सक्नुपर्ने । त्यतिबेला देशभर करिब छ जनाभन्दा बढी इन्जिनियर थिएनन्, त्यो पनि राणा परिवारका मात्र । अनि, कसरी पुन:निर्माणका क्रममा सम्पदाको संरचनागत साख बचोस् त ?

सन् १८९९ मा अस्ट्रियन फोटोग्राफर कुर्ट बोएकले खिचेको तस्बिरमा तीनवटा ढुंगाको शिखर शैलीको मन्दिर देखिन्छ । जुन कृष्ण मन्दिर (ज्यासलिन देग), अर्को शिव मन्दिर र तेस्रो लक्ष्मीनाराण मन्दिर हो । तर, अहिले कृष्ण मन्दिर मात्र छ । शिव मन्दिर एउटा सानो प्याजजस्तो गुम्बजमा सीमित छ भने लक्ष्मीनारायणको तल पसल छ, माथि पर्यटकहरू बसेर तस्बिर खिच्ने कौसी छ । जब कि, पहिले यी तीनै मन्दिर एकै आकारप्रकारका थिए । तर, ’९० मा तीनै मन्दिर भत्किएपछि सामान जम्मा गरेर एउटा मात्र बनाइयो । किनभने, कृष्ण मन्दिरचाहिँ दरबारबाट सबैभन्दा नजिक पर्छ, त्यसैले बढी महत्त्व पायो, पारि परेकालाई वास्तै गरिएन । 

सम्पदाको संरचनामा थोरै परिवर्तन हुनु त सामान्य नै हो, यसरी अस्तित्व नै हराउनुचाहिँ निकै दु:खद हो । कुर्टले खिचेको तस्बिर पनि भियनामा फेला पारेर पाटन म्युजियममा ल्याइएको हो । नत्र, यति जानकारी पनि कसैसँग हुने थिएन ।

भक्तपुर दरबार स्क्वायर
अहिले भक्तपुर दरबार स्क्वायरको क्षेत्र जति फराकिलो छ, विसं ’९० अगाडि त्यसभन्दा सानो थियो । बधशाला मन्दिरअगाडिको माथि रेस्टुराँ भएको लामो सत्तल अहिले पनि छ, पहिले पनि थियो । तर, फरक के छ भने पहिले अगाडि थियो, महाभूकम्पपछि ३० फिट पछाडि धकेलियो । सत्तलपछाडि घर थिए तर त्यतिबेला राणा शासकले चाहेपछि कसले रोक्ने ? यहाँ पनि जुद्धशमशेरकै गाडी घुमाउन सहज होस् भनेर सत्तल पछाडि सारिएको अनुमान छ । अर्को, महाभूकम्पपछि खुला ठाउँ चाहिन्छ भन्ने महसुस भएर पनि दरबार क्षेत्र बढाइएको पनि हुन सक्छ । यद्यपि, त्यहाँ बाहिर खुला ठाउँ थिए, दरबारको स्वरूप नै बढाउनु आवश्यक थिएन । 

पाटनमा पनि राणा शासकले स्क्वायर ठूलो बनाउन खोजेका थिए भन्ने छ तर यहाँ मन्दिरहरू छरपस्ट भएकाले मन्दिर चलाउँदा पाप लाग्छ भन्ने डरले भत्काउन सकेनन् । त्यही कारण पाटन मल्लकालकै सेटिङमा छ तर भक्तपुर र काठमाडौँका दरबार क्षेत्र राणा शासकले आफू अनुकूल बनाएकाले मल्लकालीन आर्किटेक्चर अपभ्रंश हुन गएको छ । 

सामान्य रूपमा हेर्दा दरबार क्षेत्रको आकार ठूलो बनाउनु राम्रै हो । तर, पुरातात्त्विक महत्त्वका दृष्टिले यो उचित होइन । किनभने, सम्पदा भनेको सानो–ठूलोले मतलब राख्दैन, पहिले जस्तो बनावट थियो, त्यस्तै राख्नुपर्छ, मास्नु हुन्न । 

तर, राष्ट्रलाई धेरै फाइदा हुने भयो भने सम्पदा र त्यसको स्वरूपमा परिवर्तन गर्नैहुन्न भन्ने पनि होइन । इजिप्टको अश्वेन नहरको ड्याम (बाँध)को उदाहरण संसारभर चर्चित छ । ड्याम बनाएर पानी छेक्नासाथ त्यस क्षेत्रका हजारौँ वर्ष पुराना मठ–मन्दिर सबै डुब्ने भए । युनेस्कोले पनि आपत्ति जनायो तर इजिप्टको कुल विद्युत् उत्पादनको तीनमध्ये दुई भाग त्यही ड्यामबाट आउँथ्यो । त्यसैले ड्याम बनाएरै छाडियो । पछि त्यहाँका मन्दिर अन्त सारियो, जसलाई प्राविधिक भाषामा ‘रिलोकेसन’ भनिन्छ । त्यहाँ नियत सफा थियो अनि राष्ट्रहित पनि । तर, हामीकहाँ चाहिँ माथि भनिएजस्तै शासकको फाइदा, मर्जी र लहड मात्र थियो । 

गत वर्षको भूकम्पका कारण फेरि हामी पुन:निर्माणको चरणमा छौँ । त्यसैले केमा सचेत हुनैपर्छ भने सम्पदा लोप त हुँदै नहोस्, त्यसको स्वरूपसमेत नबिग्रियोस् । इतिहासकार बाबुराम आचार्यले भनेजस्तो, अब यस्तो कहिल्यै नहोस् । 

(‘एनालाइसिस अफ रेस्टोरेसन वर्क’मा विद्यावारिधि गरेका रञ्जितकार काठमाडौँ उपत्यका संरक्षण ट्रस्टका नेपाल निर्देशक हुन् ।)

प्रस्तुति : गोकर्ण गौतम

पुरा पढ्नुहोस्

शिखर शैलीकै प्रतीक्षामा शिलु

गोकर्ण गौतम, मंसिर २६, २०७३

मल्लकालीन मन्दिरलाई मौलिक स्वरूपमा पुन:निर्माण गर्ने तयारी
पुरा पढ्नुहोस्

बर्मामा बहादुर गोर्खा :

नेपाल संवाददाता , मंसिर २, २०७३

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४४ मा जापानविरुद्धलड्न बर्माको सिमानामा पुगेका गोर्खा सैनिक ।
पुरा पढ्नुहोस्

उसबेलाको नेपाल

सीताराम बराल, आश्विन ३०, २०७३

मलुकको पहिलो राजवंश गोपालवंशका सन्ततिहरू काठमाडौँ र मकवानपुरमा
पुरा पढ्नुहोस्

सार्वजनिक हुन नसकेको श्रीपेच

सीताराम बराल, भाद्र ६, २०७३

सरकारी निकायबीच नै समन्वयको अभाव
पुरा पढ्नुहोस्

सम्झाइरहने बेचुवान

प्रदीप बस्याल, श्रावण २८, २०७३

भूकम्पपछि चीन सरकारले बेचुवानको बस्ती अन्यत्र सार्‍यो र गाउँलाई भूकम्प स्मारकका रूपमा छाड्यो ।
पुरा पढ्नुहोस्

भारतीय कूटनीतिज्ञको नेपाल अनुभव

प्रस्तुति : कमलदेव भट्टराई, श्रावण १०, २०७३

हाम्रो माग पूरा गर्न नेपाल सरकारले तत्काल काम थाल्यो । प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले सार्वजनिक रूपमा नै तीनवटा समारोहमा क्षमा मागे ।
पुरा पढ्नुहोस्

यशस्वी राजनेता बीपी कोइराला

नवीन अर्याल, श्रावण ६, २०७३

असाधारण व्यक्तित्वका बहुआयाम
पुरा पढ्नुहोस्

कस्तो थियो सन् १९५० को भूराजनीतिक सन्दर्भ ?

सीताराम बराल, असार २७, २०७३

चीनले तिब्बतलगायत अरू ससाना राज्य तथा स्वायत्त प्रशासनिक एकाइहरूमाथि बढाएको प्रभावप्रति पनि नेपाल र भारतको नेतृत्व सशंकित हुँदै थियो ।
पुरा पढ्नुहोस्

कैलाशकूट भवन: स्वर्ण युगको स्वर्ण दरबार

गोकर्ण गौतम, स्केच : रवीन्द्र मानन्धर, माघ १०, २०७२

१ हजार ४ सय वर्ष पुरानो कैलाशकूट मिथकभन्दा वास्तविक तथ्य
पुरा पढ्नुहोस्