विचार

विद्या ठूलो कि विद्यार्थी

शिक्षाशास्त्र नपढेको, तालिम नगरेको, भर्खर २० वर्ष मात्र उमेर कटेको युवाले जसरी पढाउँछ, मैले त्यसै गरी पढाएँ, जानी नजानी । विद्यालय, क्याम्पसमा मलाई पढाउने शिक्षकहरूले जस्तै गर्न कोसिस गरेँ । हामीलाई तर्साएर तह लगाइन्थ्यो, मैले पनि त्यसै गरेँ । झोँक चले गाला पड्काउँथे, मैले पनि चड्काएँ । शिक्षकहरूको आवेग, रिस र तनावको सिकार हामी भयौँ, मेरो त्यही अवस्थाको सिकार मेरा विद्यार्थी पनि भए । त्यसै गरी मेरा गुरुहरू समाजमा सम्मानित थिए, म पनि कम भइनँ ।

मेरा शिक्षकहरू पनि आफू विद्यार्थी हुँदा खुब मिहिनेत गर्ने गरेको र हामीले नगरेको भन्थे । मैले पनि आफ्नो कुरा खुब गरेँ । बढाइचढाइ पनि गरेँ हुँला । अझ एउटै कक्षामा कोही जान्ने कोही किन नजान्ने, पक्कै मिहिनेत नगरेर होला भन्ने ठान्थेँ । त्यही आधारमा नजान्नेले सहयोगभन्दा बढी दण्ड पाए । मलाई सबैले कडा, नतिजा निकाल्न सक्ने, बालबालिकालाई दचकमा राख्न सक्ने राम्रो शिक्षक भनेर माने । त्यसैले होला, प्रधानाध्यापक पनि बनाइदिए । 

म विद्यालयको कम्पाउन्डमा पुग्दा विद्यार्थीहरू कक्षाभित्र छिर्थे । म गाउँको गोरेटोमा हिँड्दा पनि स्कुल पढ्ने बालबालिका डराउँथे । कोही कोही आमाहरू ‘लौ न सर ! यसलाई तह लाइदिनूस्’ भनेर मलाई नै हौस्याउँथे । छिमेकी विद्यालयमा समेत फलानो आयो भन्ने सुनेरै बालबालिका तर्सेर भागेको आफैँले देखेँ । मलाई जसरी पनि नतिजा चाहिन्थ्यो, मजस्तै सबै नतिजाको पछि लाग्थे । मलाई कसैले त्यस्तो गर्न हुन्न भनेनन् । मेरो विषयको, विद्यालयको नतिजा अरूको भन्दा राम्रो हुनुपथ्र्यो, बस् ।

मैले धादिङ जिल्लाको आफ्नै गाउँको प्राथमिक विद्यालयमा अक्षर चिनेर, अलिक पर गजुरीको माध्यमिक विद्यालयमा कक्षा ४ र ५ बिताएँ । अनि, काठमाडौँमा त्यस बेलाका चर्चितमध्येको शान्ति विद्यागृह मावि, लैनचौर र सिद्धार्थ वनस्थलीमा पढ्ने अवसर पाएँ । अमृत क्याम्पसबाट ०४६ मा स्नातक पूरा गरी त्रिवि कीर्तिपुरमा भर्ना भए तापनि स्नातकोत्तर तहको भौतिकशास्त्रको पढाइ छोडेर गाउँ फर्किएँ । विद्यालयमा जागिर खानभन्दा पनि हाई स्कुल चलाउन गएको थिएँ म । आफ्नो पढाइमा म राम्रै विद्यार्थीमा गनिन्थेँ । विद्यालय समुदायमा रहेको मेरो परिवार सामाजिक प्रतिष्ठाको हिसाबले उँचो नै थियो । निजी जीवनका लागि उपलब्ध सबै अवसर सहरमा नै छोडेर गाउँमा दु:ख गरेकाले होला, सबैले साथ–सहयोग पनि गरेकै थिए । विषयले साथ दिएर हुन सक्छ, सानै उमेरमा जिल्ला स्तरका शैक्षिक गतिविधिमा सहभागी हुने मौका पनि पाएँ । निजी स्रोतको सामुदायिक विद्यालयको प्रधानाध्यापक भए पनि मेरो गणना कुनै वरिष्ठ प्रधानाध्यापकहरूको भन्दा कम थिएन ।    

विज्ञान र गणितको कक्षामा म बोल्थेँ, विद्यार्थीहरू ‘पिन ड्रप साइलेन्स’मा हुन्थे । आफूले बताएर कालोपाटीमा एक–दुइटा उदाहरण दिएपछि, ‘बुझ्यौ’ भनेर सोध्दा केही टाठाबाठाले ‘बुझ्यौँ’ भन्थे । ‘गर्न सक्छौ त ?’ भन्दा अझ थोरैले ‘सक्छौँ’ भन्थे । बाँकी पछाडि बस्नेहरू टाउको मात्र हल्लाउँथे । कहिलेकाहीँ कमैले मात्र ‘मैले बुझिनँ, एकपटक दोहोर्‍याइदिनूस् न’ भन्न सक्थे । धेरैजसोले गृहकार्यको उत्तर कतैबाट सारेर ल्याउँथे, जसोतसो कापी हेरिन्थ्यो, सबै हेर्न भ्याइन्नथ्यो । विषम सामाजिक–आर्थिक परिवारबाट आएका कतिपय विद्यार्थी त झन् बोल्ने त कुरा पर जाओस्, आँखा जुध्यो भने पनि तर्सन्थे । डराएर होला, जति अनुशासित भए पनि तिनीहरूले राम्रो गर्न सक्दैनथे । बरू कतिपयले विविध कारणले विद्यालय छाड्थे । केटाहरू पढ्न छोडेपछि सहर पस्ने वा ‘गाडीलाइन’मा लाग्थे ।

केटीहरूको प्राय: विवाह हुन्थ्यो । बल्लबल्ल विद्यालय सकेकाहरू पनि खासै उच्च शिक्षातिर लाग्नुभन्दा वैदेशिक रोजगार वा सानातिना जागिरे काममा जान्थे । फेल भएकाहरू कक्षामा कहिल्यै उज्यालो मुख लाउँदैनथे, अगाडि बस्दैनथे । टेस्टमा पनि धेरै नै फेल हुन्थे, तिनीहरूलाई आउँदा वर्षहरूमा दुईवर्षे, तीनवर्षे भनेर कटाइन्थ्यो । तिनीहरू कमै मात्र एसएलसी पास हुन्थे । 

शिक्षण पेसामा एउटै स्कुलमा त्यसरी १० वर्षजति बिताएपछि मैले पनि केही तालिम पाएँ । शिक्षाशास्त्रमा स्नातक पनि गरेँ । सँगै शिक्षण सिकाइसम्बन्धी केही स्वअध्ययन पनि । त्यसपछि बुझेँ– एउटै वस्तुलाई पनि सिकाउने धेरै तरिका हुन्छन्, विद्यार्थीको अनुहारजस्तै सिक्ने तरिका र सिक्ने गति पनि भिन्दाभिन्दै हुन्छन् । अत्याएर होइन प्रोत्साहित गरेको सिकाइ सजिलो र दिगो हुन्छ, एकोहोरो रटाएर होइन, सान्दर्भिकीकरण र छलफल गर्दै सिकाउँदा प्रभावकारी हुन सक्छ । कतिपय सूचनामूलक कुरा अहिले नै नजाने पनि केही फरक पर्दैन, पछि सिके पनि हुन्छ भनेर बुझ्न थालेँ । आफ्ना विद्यालयका र समकालीन शिक्षकहरूसँग पनि बहस गर्न थालेँ । 

०६० ताका बालमैत्री विद्यालय अभिमुखीकरण कार्यशालामा भाग लिएपछि मेरो ‘सिकाउनैपर्छ’ भन्नेबाहेक धेरैजसो सिकाइसम्बन्धी मूल्य, मान्यता र व्यवहारमा पुन:विचार गर्नुपर्ने रहेछ भनेर बुझेँ । मेरो सिको गरेर कडा शिक्षक बन्न थालेका युवा शिक्षकहरूसँग वैकल्पिक र बालकेन्द्रित सिकाइका रणनीतिबारे सिकाएँ । कक्षाकोठामा छलफल/बहसलाई प्रोत्साहन गर्न थालियो । भौतिक रूपमा पनि विद्यालयले फड्को मारिसकेको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलापहरू पनि बढी हुन थाले । करिब दुई सय विद्यार्थीबाट सुरु गरेको माध्यमिक विद्यालयमा त्यो संख्या बढेर १ हजार ३ सयसम्म पुग्यो । सरकारले भन्दा पहिले नै टेस्ट परीक्षामा कसैलाई नरोक्ने नीति लियौँ, १० कक्षाको सुरुदेखि नै एसएलसी दिने विद्यार्थी भनेर फुक्र्याउन थाल्यौँ, शैक्षिक क्षति उल्लेख्य रूपमा कम भयो ।

क्रमश: विशेष कारणबाहेक अरू कक्षामा पनि फेल गर्न छाड्यौँ । पहिले भन्दा नतिजा राम्रै भयो । त्यो समयका विद्यार्थी आफ्नै स्कुलमा प्लस टू पढे पनि स्नातक पढ्न ठूलो संख्यामा सहर जान्थे । प्लस टू वा क्याम्पसमा विज्ञान पढ्न जानेहरूले पनि धेरैले राम्रो गरे । यो पुस्ताकाहरूले निजामती, प्राविधिक, सुरक्षा, शिक्षालगायत विभिन्न सेवा क्षेत्रमा राम्रो गरेका छन् । विगतमा जस्तो छात्रा, दलित समुदायका र अपांगता भएकाहरू पनि दबेर बसेका छैनन् ।     

यसबीचमा मैले फेरि आफ्नो पढाइ अघि बढाएँ । पढेका नयाँ नयाँ दृष्टिकोण, अवधारणालाई आफ्नो सन्दर्भमा मनन गरी लागू गर्न प्रयत्न गरेँ । विभिन्न देशमा भएका शैक्षणिक अभ्यास हेर्ने मौका पनि पाएँ । बुझ्दै छु, यतै पनि वैदिक, पौराणिक कालमा विद्यार्थीलाई दण्ड दिएर सिकाउने गरेको खासै रहेनछ । पश्चिमाहरूले समाजको वा राज्यको निश्चित उद्देश्य पूरा गर्न पाठ्यक्रम बनाउने र त्यो पाठ्यक्रमले तोकेका लक्ष्य पूरा गर्न सबै बालबालिकालाई बाध्य गराउने क्रमसँगै शिक्षामा हिंसा भित्रिएको हो । हामीले सिकारु पहिला कि उद्देश्य पहिला भन्ने छनोटमा गल्ती गरेछौँ । सिकारु पहिला भन्ने सत्यलाई दह्रो समातेको भए तिनको प्रकृति र सिकाइबारे छलफल हुन्थ्यो । 

पछिल्लो समय बालबालिकाहरू मसँग रमाउँछन् । सबभन्दा सानाहरू, शारीरिक रूपले अशक्त, सामाजिक–आर्थिक रूपले पछाडि रहेका परिवारबाट आएका बालबालिकाहरू बिनारोकटोक र बिनासंकोच मसँग कुरा गर्छन् । आफ्ना समस्या भन्न सक्छन् । भनेनन् भने पनि म आफैँले सोध्छु ।

उनीहरूका बाबु–आमाको सन्चो–बिसन्चो, खेतीबाली बाख्रा–कुखुराको कुरा गर्छु । खुसी हुन्छन्, नजिक हुन्छन् । केही सानोतिनो काम दियो भने खुसी भएर गर्छन् । प्राथमिक तहका कतिपय बालबालिका ‘गुड मर्निङ सर’ भनेर हात मिलाउँछन्, मेरो हात समातेर स्कुलमा घुम्न रुचाउँछन् । कोही कोही मेरो कार्यकक्षमा गफ गर्न पनि आउँछन् । हुर्केकाहरू धक मान्छन् तर भन्नुपर्ने कुरा भन्न कुनै संकोच मान्दैनन् । अझ सोसल मिडियाबाट मैले बाल हिंसाको विपक्षमा आफ्नो धारणा राख्दा केही विदेशतिर उच्च शिक्षा लिँदै गरेका पूर्वविद्यार्थीले ‘सरले पनि बालमैत्री व्यवहारको पक्षमा कुरा गर्ने’ भनेर व्यंग्य कसे । मैले बडो नम्रतासाथ आफूलाई ‘ थाहा नभएको बेलामा बेठीक गरेको रहेछु, जानेपछि सच्याउँदै छु’ भनेर ग्लानि व्यक्त गरेँ । उनीहरूले खुसी माने । म अहिले प्रस्ट छु– बालबालिकाले आफूले नजानेको कुरा हाँसी हाँसी सोध्न पाउने र गरेको काममा स्याबासी पाउने वातावरण भएन भने सिकाइ हुँदैन, विद्यालय हुँदैन । लादेर होइन, बालबालिकाहरू आफैँ सिक्छन्, हामी शिक्षकले त त्यसका लागि वातावरण बनाइदिने मात्र हो, सघाउने वा गोडमेल गरिदिने मात्र हो ।   

विद्यालयमा हिंसा विभिन्न कारणले हुन्छ । गाउँघरमा त विद्यालय आउने–जाने बाटोघाटोदेखि विद्यालयमा पनि उपयुक्त भौतिक बनावट नभएर पनि हुन्छ । खेल्ने चौर, शौचालय, भर्‍याङ, कक्षाकोठामा पनि हुन्छ । समाज र शिक्षकको एकोहोरो बुझाइ, व्यवहारमा ढंग नपुगेर पनि हुन्छ । बालबालिकाको मनोसामाजिक अवस्थामा चोट पुग्ने खालका बोली व्यवहारले पनि हिंसा हुन्छ । उनीहरूमाथि जुन खाले हिंसा, भेदभाव भए पनि त्यसले पढाइ–लेखाइ मात्र नभई सम्पूर्ण व्यक्तित्वमै असर पार्छ । त्यो जिन्दगीभर पनि रहन्छ । यो अनुहारमा लागेको खतजस्तै नमेटिने खालको हुन्छ ।

यस्ता व्यवहारहरू अब क्रमश: कानुनी रूपमा दण्डनीय बन्दै गएका छन् । अब कुनै तर्क पनि बाँकी छैनन्, जसले शिक्षाका नाममा बालबालिकामाथि हिंसात्मक व्यवहार गर्न पाइयोस् । समाजले पनि हिंसा स्वीकार्ने छूट पनि मलाईजस्तो अबको पुस्तालाई दिँदैन । विद्यार्थीको सर्वोच्च हितभन्दा ठूलो विद्या हुनै सक्दैन । बालिगहरूको सबै प्रयत्नबाट बालबालिकाले माया पाउनु पहिलो सर्त हो र शिक्षा त्यहीभित्र पर्ने एउटा अंश मात्र हो । 

(शर्मा सत्यवती मावि, धादिङका प्रधानाध्यापक हुन् ।) 

लक्ष्मण शर्मा फाल्गुन ११, २०७३

तन्त्रयुद्धको खतरनाक मोड

गणतन्त्रवादीहरूले जातीय/क्षेत्रीय लो कशासनलाई लो कतन्त्रको जामा पहिर्‍याउने प्रयास गरिरहे का छन् । तन्त्रयुद्धको यो सबैभन्दा खतरनाक रूप हो ।

हस्त गुरुङ फाल्गुन १०, २०७३

[गोलार्द्ध] सुरक्षा चुनौतीको सम्बोधन

रणनीतिक, परम्परागत र गैरपरम्परागत सुरक्षा चुनौतीहरूलाई समायोचित सम्बोधन गर्न समग्र राष्ट्रकै सामथ्र्य लगाउनु पर्छ । यो गहन अभिभारा सही अर्थको राष्ट्रिय एकताबाट फत्ते गर्न सम्भव छ ।

रूपक सापकोटा फाल्गुन १०, २०७३

नहुने चुनावको चर्चा र चुरीफुरी

प्रतिपक्षलगायत सबै प्रमुख राजनीतिक शक्तिहरू चुनावको मुद्दालाई क्षणिक राजनीतिक तिकडमको अस्त्र बनाइरहेका छन् ।

अच्युत वाग्ले फाल्गुन ३, २०७३

[टिस्टुङ देउराली] दसवटा काठमाडौँ कि हजारवटा बन्दीपुर ?

यो केवल एउटा अस्पष्ट अतीतको ‘ नोस्टाल्जिया’ होइन, सामुन्नेकै संकटबारे बजाउन खोजिएको घन्टी हो ।

विवेक पौडेल फाल्गुन २, २०७३

अख्तियारलाई जवाफदेही नबनाउने ?

सांसदहरू स्वच्छ र नैतिकवान् भएका भए संसद्लाई नगन्ने र महाभियोग प्रस्तावलाई असम्भव ठान्ने भूल कार्कीले गर्ने थिएनन् ।

जैनेन्द्र जीवन माघ २७, २०७३

[आवरण टिप्पणी] जागिर नखोजौँ, उद्यम गरौँ

व्यापारीले पैसा मात्र खोज्छन्, जहाँ पैसा देख्छन्, त्यही लगानी गर्छन् । उद्यमीले चाहिँ जहाँ चुनौती देख्छ, त्यहाँ व्यापार सिर्जना गर्छ ।

नीरज खनाल माघ २६, २०७३

अधिकार कटौतीको अधिनायकवादी प्रवृत्ति

अहिले भइरहेका राजनीतिक निर्णयले संघीयतालाई कसरी सुदृढ पार्छन् ? अन्तत: कत्रा र कस्तो स्वरूपका प्रदेशहरू कसरी बन्छन् ?

अच्युत वाग्ले माघ २४, २०७३

नेपाली वामपन्थको बाटो

चाहे पुरानो वर्गवादी वामपन्थ होस् वा नयाँ पहिचानवादी वामपन्थ, दुवैको उद्देश्य र चाह समाजमा हेपिएका, दबिएका तथा कुनामा घचेटिएकाहरूको आवाज बन्नु हो ।

श्रेय पौडेल माघ १९, २०७३

परिवारवाद : कम्युनिस्ट मूल्य–मान्यताविरुद्ध

पछिल्लो दस वर्षका दौरानमा यी माक्र्सवादी मान्यताबाट च्यूत भएका कारण कम्युनिस्ट पार्टी एउटा पारिवारिक पार्टीजस्तो बन्न पुग्यो ।

गुणराज लोहनी माघ १८, २०७३

एल्डर ब्रदर सिन्ड्रम

हाम्रा बुद्धिजीवी, राजनीतिकर्मी, अधिकारकर्मी र नागरिकहरूको मन–मस्तिष्कमा ‘एल्डर ब्रदर इज वाचिङ यू’ भन्ने त्रास छ । त्यही भएर आफूले चाहेको काम गर्न र मनमा लागेका बोली बोल्न नेपालीले हिम्मत देखाउन सकेका छैनन् ।

हस्त गुरुङ माघ १७, २०७३