पर्यटन

हिमाली दु:ख

मनोज पौडेल, असार ३२, २०७५

सरकारी बेवास्ताको सिकार पर्यटकीय स्थल
पुरा पढ्नुहोस्

तर पनि तंग्रिँदै

जनक नेपाल, वैशाख ४, २०७५

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि नेपाल भ्रमणमा रहेका पर्यटक धमाधम फर्किरहेका थिए । सरकार तथा निजी क्षेत्रमा समान अन्योल र निराशा छाएको थियो । काठमाडौँमा अन्तर्राष्ट्रिय मिडिया र उद्दारकर्ताको बाक्लै आहोरदोहोर थियो । त्यसको लाभ पर्यटन उद्योगले उठायो । अहिले भने भूकम्पको धक्काले लगभग सुनसान भइसकेको पर्यटन उद्योग दुई वर्षमै तंग्रिएको छ ।

“भूकम्पले संसारको ध्यान नेपालमा खिच्यो । लगत्तै नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्‍यौँ,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी भन्छन्, “त्यसैको प्रभाव हो, दुई वर्षमै पर्यटक संख्या दोब्बर वृद्धि हुनु ।” भूकम्पअघि पाँच लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०१७ मा झन्डै १० लाख पर्यटक आएको उनी बताउँछन् । सुनसान भइसकेको पर्यटन क्षेत्रलाई उठाउन बोर्डले गैरआवासीय नेपाली संघ (एनआरएनए), दूतावास र अन्तर्राष्ट्रिय मिडियाको सहयोग लिइएको उनको भनाइ छ । पर्यटक वृद्धिको यो गतिलाई निरन्तरता दिँदै यस वर्ष १२ लाख पर्यटक भित्र्याउने गरी रणनीतिक योजना बनाइएको जोशी बताउँछन् ।

पर्यटन बोर्डका अनुसार गत वर्ष नेपाल भ्रमण गर्नेमा सबैभन्दा धेरै १ लाख ६० हजार भारतीय छन् भने दोस्रोमा १ लाख ४ हजार चिनियाँ पर्यटक रहेका छन् । त्यस्तै, ७९ हजार अमेरिकी, ५१ हजार बेलायती  र ४५ हजार श्रीलंकालीले गत वर्ष नेपाल भ्रमण गरेका छन् । भारतीय पर्यटकको आकर्षण काठमाडौँ र पोखरामा देखिएको छ भने वन्यजन्तु हेर्न चितवन जाने चिनियाँको संख्या बर्सेनि वृद्धि भइरहेको छ । त्यस्तै, अन्नपूर्ण ट्रेकिङमा रुचि राख्ने फ्रेन्च, जर्मनलगायत युरोपियन धेरै छन् । सगरमाथा आधार शिविर र पर्वतारोहणमा जानेमा अस्ट्ेरलिया र न्युजिल्यान्डका धेरै पर्यटक छन् ।

०७३ मा घुमफिर वर्षका रूपमा ४२ देखि ४५ लाख आन्तरिक पर्यटक नेपाल घुमे । सबैभन्दा उत्साहपूर्ण भ्रमण रारामा रह्यो । त्यहाँ झन्डै ३० हजार पर्यटक पुगेको व्यवसायी बताउँछन् । पर्यटन मात्र यस्तो क्षेत्र हो, जहाँ राज्यभन्दा निजी क्षेत्रको बढी सक्रियता हुन्छ । धेरै ठाउँमा निजी क्षेत्र अघि–अघि र सरकार पछि–पछि भइरहेका छन् । क्लब हिमालयन रिसोर्ट खुलेपछि नगरकोट गन्तव्य बनायो । माउन्टेन रिसोर्टले बन्दीपुरलाई चिनायो भने टाइगर टप्सले चितवन र बर्दिया निकुञ्जको पर्यटन प्रवद्र्धन गर्‍यो ।

विश्वको झन्डै आधा जनसंख्या तथा अर्थतन्त्र ओगटेका भारत र चीनको छिमेकी हुनु पर्यटन उद्योगका लागि ठूलो अवसर भएको जोशीको धारणा छ । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने, आत्मनिर्भर व्यवसाय, वातावरण र संस्कृतिमैत्री रहेकाले पर्यटनलाई सरकारले मुख्य प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा उनको जोड छ । “अर्काे अन्तर्राष्ट्रिय विमानस्थल बन्नासाथ नेपाल आउने पर्यटकको संख्या दोब्बर–तेब्बर वृद्धि हुनेछ,” जोशी भन्छन् ।

५८ मिटरको केचनाकवलदेखि ८ हजार ८ सय ४८ मिटर सगरमाथाको विविधता १ सय २० किमिमा पाइने भएकाले नेपाल पर्यटकको रोजाइमा पर्ने गरेको छ । ‘ पर्यटकीय देश’ भन्नासाथ अन्तर्राष्ट्रिय स्तरमै मुलुकको छवि सुन्दर देशका रूपमा प्रचारित भएको जोशी बताउँछन् । पर्यटन व्यवसायबाट छिटो लाभ लिन सकिने उल्लेख गर्दै भन्छन्, “प्राकृतिक सौन्दर्यसँगै आत्मीय आतिथ्यका लागि पनि नेपालको चर्चा छ ।” अहिले पर्यटन क्षेत्रमा झन्डै चार लाखले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

हवाई तथा स्थलगत यातायात सुरक्षित र सुविधायुक्त बन्नासाथ धेरै समस्या हट्ने व्यवसायी बताउँछन् । “संसारमा कतै नभएको पर्यटकका लागि छुट्टै टिकट दर नेपालमा मात्र लागू छ,” पर्यटन व्यवसायी देवानन्द अर्याल भन्छन्, “पर्यटकले अधिकांश यातायातमा खर्च गर्नुपर्ने बाध्यता रहेसम्म संख्या पनि बढ्दैन । धेरै पक्षले लाभ पनि लिन सक्दैनन् ।”

सरकार पूर्वाधार विकासमा पर्यटनमैत्री बन्न सकेको छैन । त्यसको सबैभन्दा ठूलो उदाहरण हो, मुग्लिन–नारायणगढ ३२ किलोमिटर सडक । देशकै सबैभन्दा धेरै पर्यटक आवागमन हुने काठमाडौँ–पोखरा–चितवन जोड्ने यो सडकको तीन वर्षमा पनि मर्मत तथा स्तरोन्नति हुन सकेको छैन । काठमाडौँदेखि नजिकको गन्तव्य नगरकोट जाने सडकको पनि उस्तै बिजोग छ । कास्की रूपाकोटमा निजीस्तरबाट एक अर्ब रुपियाँको लगानीमा रिसोर्ट निर्माण हुँदैछ । तर, त्यहाँ पुग्ने सडक निर्माण गर्न सरकारी बेवास्ता छ ।

संस्कृति तथा पर्यटनमन्त्रीमा नियुक्त भएलगत्तै रवीन्द्र अधिकारीले तीन निर्णय गरेका छन् । पहिलो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जाम कम गर्न २१ घन्टा विमानस्थल खोल्ने । यसअघि १८ घन्टा मात्र विमानस्थल खुल्थ्यो । दोस्रो, सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा गर्ने । र, तेस्रो सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने । भ्रमण वर्षको प्रवद्र्धन गर्न सचिवालय स्थापना गर्न लागिएको छ ।

राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासु त्रिपाठी देशभरका पर्यटकीय गन्तव्यको पहिचान गरी विकास, संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । भन्छन्, “सरकारको प्रस्ट नीति नहुँदा ऐतिहासिक क्षेत्रको पहिचान, नयाँको प्रवद्र्धन र चल्तीका गन्तव्यको संरक्षण हुन सकेको छैन ।” उनले फेवातालको उदाहरण दिए, अधेरी र हर्पनलगायतका दर्जनभन्दा बढी खोलाबाट बर्सेनि १ लाख ४२ हजार मेट्रिक टन गिटी–ढुंगा र माटोले पुरिइरहेको छ । कुनै बेला ३३ मिटर गहिरो ताल अहिले ११ मिटरमा सीमित छ । ताल अतिक्रमण उस्तै छ । संरक्षणमा सरकारको कुनै चासो छैन । त्यस्तै, विकासका नाममा ट्ेरकिङ रुटमा जथाभावी बाटो खनेर चार साता लामो अन्नपूर्ण ट्रेकिङलाई एक सातामा सीमित गराइएको उनी बताउँछन् । त्रिपाठी भन्छन्, “कुनै बेला उत्कृष्ट ट्ेरकिङ रुट अहिले धूले–बाटो बनेको छ । पर्यटनको मर्म नबुझेर जथाभावी विकासले विनाश निम्त्याइरहेको छ ।”

गत वर्ष नेपाल आएका १० लाख पर्यटकमध्ये करिब चार लाखले पोखरा भ्रमण गरेको अनुमान छ । त्यस्तै, पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक घुमफिरका लागि पोखरा पुगे । देशकै प्रमुख पर्यटकीय गन्तव्य मानिएको पोखरामा पाँच सय होटल र २० हजार बेड क्षमता रहेको छ । नेपाल आउने पर्यटकले औसतमा प्रतिदिन ६० डलर खर्च गर्छन् । “सरकारले निजी क्षेत्रसँग मिलेर पर्यटक संख्या वृद्धि गर्ने, बसाइ लम्ब्याउने, बढी खर्च गर्ने वातावरण बनाई त्यसको लाभ स्थानीय समुदायले पाउने गरी योजना बनाउनुपर्छ,” त्रिपाठी भन्छन् ।

कैलाशको अर्को ढोका

भूकम्पपछि चीनतर्फको तातोपानी नाका बन्द भएपछि मानसरोवर तीर्थयात्रा रोकिने धेरैको अनुमान थियो । तर, व्यवसायीले सिमकोट–हिल्सा रुटबाट धार्मिक पर्यटन प्रवद्र्धन गरे । यो बाटोबाट पहिलो वर्ष नौ हजार पर्यटकले कैलाश दर्शन गरे भने गत वर्ष संख्या बढेर झन्डै १२ हजार पुग्यो ।

सरकारी तथा निजी क्षेत्रको पूर्वतयारीबिनै एकै वर्ष पर्यटक वृद्धि हुँदा व्यवस्थापन भने अस्तव्यस्त देखियो । नेपालगन्ज, सिमकोट र हिल्सामा पर्यटकलाई बासको प्रबन्ध मिलाउन व्यवसायीलाई हम्मे पर्‍यो । अधिकांश निजी एयरलाइन्सहरूले आफ्ना सेवा यतै केन्द्रित गर्नुपरेको थियो । दैनिक एकाध उडान हुने सिमकोट विमानस्थलमा एकै दिन जहाज र हेलिकप्टरका ९० वटासम्म उडान भए । होटल सिद्धार्थ भ्युका प्रबन्ध निर्देशक केशव न्यौपाने कैलाश यात्रीको बढ्दो चापकै कारण नेपालगन्जमा स्तरीय होटल वृद्धि भइरहेको बताउँछन् । भन्छन्, “कैलाश यात्रुले यो रुट रोज्नु धेरै खुसीको कुरा हो । हामीले पनि होटलको स्तरोन्नति गरी चारतारे स्तरको बनाएका छौँ ।” सिद्धार्थसँगै चारतारे स्तरका होटल सोल्टी, सेन्ट्रल प्लाजा र सिग्नेट इन खुलेका छन् । त्यस्तै, कल्पतरु, सिटी प्यालेस, स्नेहा र किचन हटले पनि कैलाश यात्रुलाई लक्षित गरी सेवा विस्तार गरेका छन् । 

सन् २००६ देखि सिमकोट–हिल्सा रुट प्रयोगमा आएको हो ।  पहिलो वर्ष ५४ भारतीयले यात्रा गरेको यो रुटमा बर्सेनि वृद्धि भइरहे पनि भूकम्पअघिसम्म पर्यटकको संख्या दुई हजार नाघेको थिएन । १८ ट्राभल कम्पनीले पर्यटकलाई मानसरोवर कैलाश दर्शन गराइरहेका छन् । तिब्बत रुटको तुलनामा हुम्ला–हिल्सा मार्ग केही महँगो भए पनि छोटो र आरामदायी भएको भन्दै भारतीय तीर्थयात्रीले मन पराएका छन् । कैलाश दर्शन गर्न जाने पर्यटकमा भारतका चेन्नाई, गुजरात, आन्ध्रप्रदेश, कर्नाटक र तामिलनाडुका धेरै छन् ।

तिब्बती रुटबाट जाँदा १ लाख ८५ हजार रुपियाँमा तीर्थयात्रीले मानसरोवर भ्रमण गर्थे । मोटरबाटोबाट जाँदा ३ हजार ७ सय ५० मिटर उचाइको र्‍यालमकुटीबाहेक तिब्बती रुटमा समस्या नरहेको व्यवसायी बताउँछन् । अहिले तीर्थयात्रा चार दिन छोट्टिए पनि खर्च भने बढेर १० दिनको २ लाख ६४ हजार रुपियाँ पर्न आउने उनीहरूको भनाइ छ ।

पुरा पढ्नुहोस्

गैँडामा गडबडी

अब्दुल्लाह मियाँ, चैत्र १५, २०७२

चोरी सिकारी क्षेत्रमै स्थानान्तरण गरिँदा संरक्षणमा आशंका
पुरा पढ्नुहोस्

पर्यटन बोर्डका नयाँ प्रमुखसामु अपेक्षा जत्तिकै चुनौती पनि

नारायण अमृत, पुस १३, २०७२

चार वर्षमा कार्यकारी प्रमुख पाएपछि पर्यटन बोर्ड बौरिने आशा
पुरा पढ्नुहोस्

रैथानेबिनाको रौनक

नारायण अमृत, चैत्र २२, २०७१

बाटोमा छपक्कै छापिएका सफा ढुंगा । खोल्साका छेउकुना र घुम्तीतिर सिमेन्टको जगमा उभ्याइएका फलामे रेलिङ ।
पुरा पढ्नुहोस्

दुई देशको साझा मेला

चित्रांग थापा, भवानी भट्ट, चैत्र ८, २०७१

नेपालगन्जको त्रिभुवन चोकका युवा व्यवसायी प्रेम सोनी पहिलोपटक सुदूरको सीमा बजार ब्रह्मदेव पुगे ।
पुरा पढ्नुहोस्

परिवारै तस्करीमा

विमल खतिवडा, चैत्र ८, २०७१

चितवन राष्ट्रिय निकुञ्जले फागुन पहिलो साता गैँडा मारेको आरोपमा सर्वाधिक खोजीमा रहेका कोराक-९, कालीखोलाका राजकुमार प्रजा (चेपाङ), ३१, लाई सार्वजनिक गर्‍यो ।
पुरा पढ्नुहोस्

चराको अर्को स्वर्ग

मनोज पौडेल/कपिलवस्तु, माघ १९, २०७१

अस्ट्रेलियन नागरिक अलेक्जेन्डर कोमिनो रूपन्देहीको तेलार नदीछेउ ५० भन्दा बढी सारसको हुल उडेको दृश्य देखेर भावविभोर भइन् ।
पुरा पढ्नुहोस्

हिमालपारि कर्मचारी

हरिहरसिंह राठौर, मंसिर २१, २०७१

नेपालगन्जका बासिन्दा मधुकरजंग शाहका लागि हिमालपारिको जिल्ला मनाङको बसाइ भौगोलिक कारणले सहज नहुनुपर्ने हो ।
पुरा पढ्नुहोस्

हिमपातमा पर्यटक

प्रदीप बस्याल, कार्तिक २, २०७१

मुस्ताङको दामोदर कुण्डमाथि ६ हजार मिटर उचाइको खरीबुङ भन्ज्याङ (पास)लाई गन्तव्य बनाएका ११ जना फ्रान्सेली पदयात्रीको टोली लेक लाग्छ भनेर मानसिक तयारी गर्दै थियो।
पुरा पढ्नुहोस्

निषेध गर्नुपर्छ, सगरमाथा आरोहण

हान्स डायटर सौअर, भाद्र १, २०७१

माउन्ट एभरेस्ट अर्थात् सगरमाथा आधार शिविरबाट चचुरोतर्फ खुम्बु आइसफलमा १६ जना शेर्पाको ज्यान लिएको हिमपहिरोको पछिल्लो विपत्तिसँगै यस वर्षको आरोहण याम अन्त्य भयो।
पुरा पढ्नुहोस्