साहित्य

पूर्वीय दर्शनमाथि हिमाली हावा [पुस्तक समीक्षा : हिमाली दर्शन]

- गुरुङ सुशान्त, काठमाडौं

भनिन्छ– दर्शन धर्मभन्दा पुरानो छ, मानव सभ्यताजत्तिकै । जीवन–जगतलाई पर्गेल्ने कोणका आधारमा दर्शनको स्वरुप निर्धारण हुन्छ । नेपालजस्तो बहुसभ्यताको संगमस्थलमा दर्शन–वृक्षले अनेक हाँगाबिँगा फैलाउनु स्वाभाविक हो । बहुजाति, बहुभाषी, बहुसंस्कृति र भौगोलिक विविधताले मानव समुदायको चिन्तन–परम्परालाई व्यापक मात्र तुल्याउँदैन, द्वन्द्वात्मक पनि बनाइदिन्छ । भारतवर्षको सभ्यता नियाल्दा द्वन्द्ववादी परम्परा देख्न सक्छौँ । सानो मुलुकमा जन्मिएको नेपाली दर्शनलाई भारतीय दर्शनको विराटताले निलेको आभास हुन्छ । तर, हिमाली दर्शनले पूर्वीय दर्शन–सभ्यताको पुनव्र्याख्याको सार्थक प्रयास गरेको छ ।

भारतीय विद्वान् राधाकृष्णनले वैदिक युगदेखि बौद्धकालसम्म र हिन्दु धर्म पुनर्जागरणकालदेखि वर्तमानसम्म विशद विश्लेषण गरे । र, नामकरण गरे– इन्डियन फिलोसफी । राधाकृष्णनको प्राज्ञिक अध्ययनपछि पूर्वीय चिन्तन परम्परामाथि ‘भारतीय’ लालमोहर लागेको मानिन्छ । मोहन वैद्यलाई लागेछ– हिमाली उपमहाद्वीपमा विकसित दर्शनलाई भारतीय मात्र भन्नु उपयुक्त होइन । हिमाली दर्शन त्यही पहिचान–खोजको अभिव्यक्ति हो । 

साधारण लयमा गाउँदा जीवन सरल गीतजस्तो लाग्छ । तर, जब चिन्तनको गहिराइबाट सोचिन्छ, तब दर्शनको जालोमा अल्झिएजस्तो देखिन्छ, जीवन । सायद दर्शन अपरम्पार चिन्तन–यात्रा हो । जीवन दर्शन समाज–संस्कृतिको लामो घर्षणबाट बुनिएको हुन्छ । र, त्यही सोचको बुनोटलाई केहीले विश्लेषणको ढाँचामा ढालेका हुन्छन् । भनिन्छ– सच्चा दर्शनले केही पनि आविष्कार गर्दैन । जे छ, त्यसैलाई स्थापित र वर्णन गर्छ । पूर्वीय दर्शनलाई पनि कुनै व्यक्तिको आविष्कार नठानेर सभ्यताको लामो नदी–किनारमा भेटिएको शालिग्राम मान्नु श्रेयस्कर होला । सभ्यताको किनारमा हिँड्ने कुनै यात्रीले फेला पारेको शालिग्रामको चिल्लो सौन्दर्यलाई आज व्याख्या–विश्लेषण गरिँदैछ । तर, जीवनलाई हेर्नु, बुझ्नु र व्याख्या गर्नुका साथै बदल्नु पनि दर्शनको कार्य ठान्छ माक्र्सवादले । विश्लेषक मोहन वैद्य पूर्वीय चिन्तन परम्परालाई माक्र्सवादको कसीमा राखेर अध्ययन गर्न चाहन्छन् । त्यसकै पछिल्लो पाण्डित्यपूर्ण अभिव्यक्ति हो, हिमाली दर्शन

बट्रेन्ड रसेल दर्शनको लक्ष्य पनि अन्य विधाको जस्तै ज्ञान प्राप्ति मान्छन् । मानवीय क्रियाको जरामा जिज्ञासाले मलजल दिएको हुन्छ । उपयुक्त हावापानीमा हुर्कन पाएमा त्यसले विमर्श फुलाउँछ । र, दर्शनको फल लाग्छ । ज्ञान परम्परामा यही फलको हस्तान्तरण हुँदै जान्छ । दिमागी कसरतमा मात्र सीमित नभई जीवन पद्धतिमा समेत एकाकार दर्शनको आयु दीर्घ रहन्छ नै । कतिपय दर्शन समयका मोडहरुमा असान्दर्भिक हुँदै इतिहासको गर्तमा बिलाउँछन् । तर, पूर्वीय दर्शनमा व्यावहारिक ज्ञानको विविधता रहेकाले मीमांसामा जीवित छ ।

पूर्वीय दर्शनका दुई सम्प्रदाय छन्– नास्तिक र आस्तिक । बौद्ध, जैन र चार्वाकलाई नास्तिक सम्प्रदायमा राखिन्छ भने वैदिक र स्वतन्त्र धारालाई आस्तिकमा । पूर्वीय दर्शनको आस्तिक धारामा लामो विमर्श भएको देखिन्छ । कर्मकाण्ड र ज्ञानकाण्ड वैदिक धारामा पर्छन् भने न्याय, वैशेषिक, सांख्य र योगलाई स्वतन्त्र आस्तिक मानिन्छ । आखिर हाम्रो समाजमा दर्शनको खाँचो किन पर्‍यो ? दु:ख, अविद्या र अज्ञानताको बन्धनबाट मुक्ति, निराशा शमन, सत्कर्म र सत्मार्ग नै पूर्वीय दर्शनका प्रयोजन हुन् भन्दा फरक नपर्ला । पश्चिमा दर्शनको प्रयोजनमा मस्तिष्कीय व्यायाम बढी देखिन्छ भने पूर्वीय दर्शनको प्रयोजन अध्यात्मउन्मुख छ । वैद्य हिमाली दर्शनको सुदीर्घ परम्परामा रहेको द्वन्द्ववाद र भौतिकवादका अर्धपरिष्कृत र परिष्कृत विशाल खजानालाई संक्षिप्तमै भए पनि उजागर गर्न चाहन्छन् ।

कहिलेकाहीँ तथ्यको प्रतिशतभन्दा व्याख्याको गलत बाटोका कारण इतिहासले फरक दिशा लिन्छ । पूर्वीय दर्शनको इतिहासप्रति वैद्यका केही जबर्दस्त असहमति छन्, जो नेपाली चिन्तकहरुको साझा चासो पनि हो । याज्ञवल्क्य, कपिल बुद्धलगायत नेपालका चिन्तकलाई भारतीय दर्शनको सन्दुकमा बन्द गर्ने दीक्षित चेष्टामाथि हिमाली दर्शनको वैचारिक विमति छ । वैद्यले हिमाली दर्शनमा ऐतिहासिक चिन्तनको फेहरिस्त मात्र रेखांकित गरेका छैनन्, संघर्षको दर्शनका रुपमा पनि पस्केका छन् । उनले हिमाली क्षेत्रमा रहेका धर्म, दर्शन, विज्ञान र तन्त्रबीचको अन्तरसम्बन्धलाई समेत छोएका छन् ।

कटिबद्ध माक्र्सवादी सौन्दर्यशास्त्रीका रुपमा स्थापित वैद्यले यस पुस्तकमा धर्म र तन्त्रलाई महफ्वका साथ अध्ययन गरेका छन् । उनले धर्मबारे लेखेका छन्– ‘धर्मनिरपेक्षताबाट नाजायज फाइदा उठाई धर्म परिवर्तन गराउने साम्राज्यवादी चलखेल पनि तीव्र रुपमा बढ्दै गएको स्थिति छ ।’ तर, असली माक्र्सवादीका लागि धर्म सनातन या साम्राज्यवादी हुँदैन, मात्र धर्म हुन्छ । धर्म ‘परिवर्तन’ प्रति द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद पक्षधरको ‘सचेतता’ को रङ कस्तो हुन्छ ? बुझ्न सकिएन । मोहन वैद्यभित्र कतै ‘राष्ट्रवाद’ को छाया चल्मलाउँदै त छैन ? पूर्वीय दर्शनमाथि हिमाली हावा चलाउनु त्यही ‘राष्ट्रवाद’ को दबाब हो ?

प्रकाशित: भाद्र २७, २०७५