अचानक

‘फेसन मजाक होइन’

- मनबहादुर बस्नेत, काठमाडौं
फेसन डिजाइनर पुनम क्षत्री गौतमको रोजाइ सधैँ १२ हुन्छ । तीन वर्षअघि अमेरिकामा भएको फेसन सोदेखि अहिलेसम्मको चलन त्यस्तै छ । २७ भदौमा फ्रान्समा हुने  ‘क्याटवाक पेरिस रिभोलुसन’ का लागि पनि उनका १२ थान डिजाइन तयार छन् । ५ महिनापछि दुबईको फेसन सोको चटारो त छँदै छ । यही मेसोमा पुनमसँगको कुराकानी :

१२ डिजाइन नै किन छनोट गर्नुभएको ?

खास कारण छैन । तीन वर्षअघि अमेरिकामा भएको सोमा राई, मगर, गुरुङ, थारु, शेर्पा, लिम्बू, राउटे, कुमारी, राजकुमार/राजकुमारी लगायतका पहिरनलाई पश्चिमा शैलीमा उतार्दा १२ पुग्यो । त्यसपछि लन्डनबाट बोलावट भयो र मैले १२ महिला र १२ वटा पुरुषको ड्रेस देखाएँ ।

अमेरिका, बेलायतमा गरिएका सोभन्दा पेरिसको कति फरक छ ?

पश्चिमा पहिरनमा नेपाली ढाकालाई देखाउन खोजेकी छु । ४/५ प्रकारका ढाका मिसाइएको छ । उनीहरुको फेसनमा हामीकहाँ फिट हुने डिजाइन छन् ।

नेपाली पहिरन भन्ने ढाकाबाट मात्रै थाहा हुन्छ ?

हो । तर, यसको उद्देश्य अलि बृहत् छ । नेपाली पहिरनमा मात्र होइन, संसारका सबै पहिरनमा ढाका प्रयोग गर्न सकिन्छ भन्ने विश्वलाई देखाउन खोजेकी छु । यो विश्वास भएमा नेपाली ढाकाले विदेशमा बजार पाउनेछ ।

नेपालमा फेसनको बजार किन नफैलिएको ?

फेसनको मर्म कसैले बुझेकै छैनन् । डिजाइनरहरु पनि केही समय यो क्षेत्रमा लागेर पछि हराउँछन् । रोजगारी नभएकाले होला ।

नेपालमा फेसनबारेको बुझाइ किन अधकल्चो ?

फेसनले व्यक्तिको अस्तित्वबोध गराउँछ । पहिचान बनाइदिन्छ । तर, यो कुरा हाम्रो क्षेत्रमा लागेकाले नै बुझाउन सकेका छैनन् । कति ठाउँमा सुहाएकै हुँदैन । नसुहाए पनि देखासिकीमा लगाउँछन् । यसले गर्दा फेसन मजाक भइरहेको छ । फेसनप्रति राम्रो सन्देश जाँदैन । फेसनेवल हुन शिष्टाचार, अस्तित्व र क्षमता चाहिन्छ ।

पेरिस सोका लागि डिजाइन गरेका पहिरन कति महँगा छन् ?

७ हजारदेखि १२ हजार रुपैयाँका छन् । एकैचोटि बढी नाफा लिनुभन्दा कम नाफाबाट लामो समय चल्नुपर्छ भन्ने मान्यता राख्छु । त्यही भएर अहिलेसम्म सोमा पहिरन नबिकेर फर्काउनुपरेको छैन ।

तपाईंका डिजाइन विश्वविख्यात व्यक्ति कसैले लगाएका छन् ?

अमेरिकी मोडल कान मोहम्मद कारागोज, प्रसिद्ध डिजाइनर सामिना मुगाल, लन्डनका आरजे यास्मिन ट्रेन्डी आदिले लगाएका छन् । यो सोमा पनि दुई सेलिब्रिटीले मेरा पहिरन लगाउने खबर आएको छ । सरप्राइज दिने भनेर नाम खुलाएका छैनन् ।

दुबईमा हुने सोमा चाहिँ कस्ता डिजाइन प्रस्तुत गर्ने विचार छ ?

दुबईमा पस्मिनालाई मूल थिम मानेकी छु । पस्मिना सललाई पहिरनसहित डिजाइन गरेकी छु ।

फेसनको दुनियाँमा कहाँसम्म पुग्ने धोको छ ?

दुई वर्षभित्र नेपालमै विश्वव्यापी बृहत् फेसन सो गर्नेछु । नेपालका सांस्कृतिक चिनारी राखेर आफ्नो डिजाइन बाहिरी मुलुकमा पठाउने सोच छ । देशको चिनारी पोसाकमार्फत विश्वमा स्थापित गर्न सके हुन्थ्यो ।

प्रकाशित: भाद्र २७, २०७५