परिहास

आधा सिंहदरबार

- सुरेश किरण, काठमाडौं

संघीय व्यवस्था आएपछि ‘गाउँगाउँमा सिंहदरबार’ कार्यक्रम अत्यन्तै लोकप्रिय भएछ । काठमाडौँमा सीमित भएको सिंहदरबारलाई सरकारले गाउँगाउँ पठाएको रहेछ । सिंहदरबार गाउँ पस्ने भनेपछि गाउँलेहरु जम्मै खुसी भएका थिए । तर, कतिपय गाउँमा भने अझै पनि सिंहदरबार पुगिसकेको छैन । आउँछ भनिएको सिंहदरबार टाइममा नआएकाले गाउँलेहरु चिन्तित पनि छन् । चिन्तित गाउँलेलाई सम्बोधन गर्दै सरकारले भन्दै पनि आएको छ– सिंहदरबार एकैचोटि गाउँ आउन सक्दैन, क्रमश: आउँदै गर्छ । सायद अंशअंश गरी आउँछ भनिएको होला । 


वास्तवमा अहिले भएको पनि यही नै हो । सरकारले गाउँमा आधा मात्रै सिंहदरबार पठाएको छ । पूरा पठाएको छैन । सिंहदरबार पठाउँछु त भन्यो, तर दरबारचाहिँ आपैँmसँग राखेर सिंह मात्रै गाउँ पठाएको रहेछ । त्यसैले अहिले हेर्नोस्, दरबार जति राजधानीमै छ्यापछ्यापी छ । सिंह जति गाउँ पसेका छन् । सायद सिंह गाउँ पसेका कारणले नै होला, अहिले जिल्लाजिल्लामा हत्या बढिरहेको छ । कतै बलात्कार बढिरहेको छ । कतै बलात्कारपछिको हत्या बढिरहेको छ । कतै अपहरण बढिरहेको छ । कतै अपहरणपछिको हत्या बढिरहेको छ । घरको कुनै सदस्य एक घन्टा मात्रै देखिएन भने पनि ठूलो शंका लाग्न थाल्छ, गाउँ पसेको सिंहले पो केही गर्‍यो कि ?


अहिले सिंहदरबारको सिंह मात्रै गाउँ पुगेको छ । अर्थात्, आधा मात्रै पुगेको छ । केही समय पर्खौं, बाँकी आधाको दरबार पनि पुग्छ होला । बरु त्यो दरबार ककसको घरमा पुग्छ, त्यो भने पुगिसकेपछि मात्रै थाहा होला । देशमा अहिले चलिरहेको ‘समृद्धि’ को योजना हेर्दा यतिचाहिँ ग्यारेन्टीसाथ भन्न सकिन्छ– गाउँमा धेरै नभए पनि दुई–चारजनाको दरबार त निश्चय पनि बन्छ । 

प्रकाशित: भाद्र २६, २०७५