मनोरञ्जन

कथा नक्कल, सेटिङ नौलो (फिल्म समीक्षा : रामकहानी)

- गोकर्ण गौतम, काठमाडौं

के छैन रामकहानीमा ? हसाउँछ, रुवाउँछ, तर्साउँछ पनि । सुकिलामुकिला पात्र छन् । मन छुने गीत । नेपाली फिल्ममा यत्ति गुण हुँदा दंग पर्नुपर्ने हो । तर, रामकहानी हेरिसकेपछि मन फुरुंग हुन्न । कारण, यसको केन्द्रीय कथा थाई फिल्म पी मकसँग मिल्छ । अर्थात्, आइडिया स्वतन्त्र होइन । पहिलो फिल्म मेरो एउटा साथी छदेखि नवौँ फिल्मसम्म आइपुग्दा निर्देशक सुदर्शन थापाले नक्कलमै रम्ने बानी त्याग्न सकेका छैनन् । धन्न ! यसपटक र्‍याङकी ठ्याङ  उतारेका छैनन् । सेटिङ नौलो छ । प्रेमकथामा कमेडी र हरर मिसाइएको छ । योचाहिँ कथाभन्दा बजारको माग हो ।

प्रेमिका माया (पूजा शर्मा) लाई गाउँमै छाडेर राम (आकाश श्रेष्ठ) कतार गएका छन् । मायाले पर्खिराख्ने अनि रामले फर्की आउने वाचा गरेका छन् । विवाह गर्ने, खुसी र सुखी हुने सपना बुनेका छन् । तर, समयले टाढा बनाएको यो जोडीको पुनर्मिलन होला ? यस्तै–यस्तै कथा हो, रामकहानीको । क्लाइमेक्सको रहस्यले दर्शकलाई एक हदसम्म चकित तुल्याउँछ ।

रामकहानी हेरिरहँदा मध्यान्तरअघिसम्म पी मकको खास झल्को आउँदैन । थाई फिल्ममा प्रेमिकासँग फर्केर आउने कसम खाएर प्रेमी युद्धमा गएका हुन्छन्, रामकहानीका प्रेमीचाहिँ वैदेशिक रोजगारीमा । कतारमा राम र उसका साथीले भोग्नुपरेको पीडालाई गहिरोसँग देखाइएको छैन । तर, त्यस्ता घटना हामीले अखबारमा पढिरहने भएकाले आत्मसात् गर्न सकिन्छ । यसबीचमा रामका साथीहरु केदार घिमिरे, रवीन्द्र झा र विल्सनविक्रम राईले हास्य ‘डोज’ दिइरहन्छन् । कमेडी दृश्यभन्दा संवादमा निर्भर भए पनि झिँझो लाग्दैन । मध्यान्तरपछि जब हरर छिर्छ, तब पी मकबाट रामकहानीलाई टाढा राख्नै सकिन्न/मिल्दैन ।

मायाप्रति गाउँलेको व्यवहार, रामका साथीहरुको आनीबानी, भूत निक्र्योल गर्न अपनाइने जुक्ति, प्रेमका प्रसंग पी मकसँग मेल खाल्छन् । रामको बुबामार्फत गाउँमा विद्यमान अन्धविश्वास उतार्ने निर्देशकको प्रयास उतिविघ्न मूर्त छैन । कतार हुँदा मायाका बारेमा राम बेखबर हुनु, नेपाल फर्केपछि साथीहरु ढुक्कले रामको पछि लाग्नु, जनार्दन (जितु नेपाल) को एकोहोरो आशक्ति आफैँमा खट्कने पक्ष हुन् । पटकथाकारद्वय महेश दवाडी र दिनेश न्यौपाने पी मकको मनोदशाबाट मुक्त हुन नसके पनि पट्यारलाग्दा दृश्यबाट फिल्मलाई जोगाएका छन् । मध्यान्तरअघि कमेडीलाई प्रधानता दिइएको छ, पछिचाहिँ माया र रामको प्रेमलाई । शोभित बस्नेतको चरित्र उस्तै बिझाउँछ । तर, क्लाइमेक्स नेपाली फिल्मका नियमित दर्शकका लागि ‘सरप्राइज’ हुन सक्छ । भलै, यो पनि धुरन्धर मौलिक आइडिया होइन ।

कलाकारसँग काम लिने मामलामा निर्देशक सुदर्शन कहलिएका छन् । यसपटक त्यो साख जसोतसो बचाएका छन्, हास्य कलाकारको भीड जो छ । प्राय: चुल्बुले चरित्रमा देखापर्ने पूजा शर्माले यसपटक गम्भीर प्रकृतिको भूमिकालाई पनि न्याय गरेकी छन् । ‘ग्ल्यामर’ नभए पनि अभिनय कौशलमार्फत दर्शकको मन जित्न सक्षम छिन् । अघिल्ला फिल्मको तुलनामा आकाश श्रेष्ठमा थोरै परिपक्वता देखिन्छ । तर, यही स्तरको अभिनयले उनलाई टिकाइ राख्दैन । मिहिनेतको खाँचो छ ।

केदार घिमिरे छक्कापञ्जा सिरिजमा जसरी देखापर्छन्, रामकहानीमा काटीकुटी त्यही हो । संवादसमेत उही ढाँचाका । जितु नेपालको प्रस्तुतिले चाहिँ छक्कापञ्जाकै दीपकराज गिरीको झल्को दिलाउँदो रहेछ । विल्सनविक्रम र रवीन्द्र झामा पनि नयाँपनको आभास हुन्न । तर, हँसाउने मामलामा यी चार कलाकार उम्दा लाग्छन् । छायाँकन दृश्यभाव अनुरुप नै छ । ‘तिम्रै लागि म...’ र ‘आएँ म तिम्रो छेउ...’ श्रुतिमधुर छन् । सुदर्शनको निर्देशन कौशल न घटेको छ, न त बढेको । पूरापूर मौलिक कथा नपस्किएर कहिलेसम्म नक्कलमै रम्ने ? उनीजस्ता खारिएका निर्देशकलाई जोकोहीले सोध्ने प्रश्न हो यो । अब उनले आफैँलाई पनि सोध्ने बेला आएको छ । निर्देशक सर्जक हो । सर्जकले सिर्जना गर्छ, नक्कल होइन ।

मूल कथा पी मकबाट लिनु अँध्यारो पाटो हो, यसले नेपाली फिल्मको समृद्धिमा योगदान पुर्‍याउँदैन । तर, कम्तीमा हेरुन्जेल रमाइलो लाग्छ, रामकहानीको सुन्दर पक्ष यही हो ।

प्रकाशित: भाद्र २२, २०७५