अर्थ

अमेरिकाको डलर राजनीति

- विजयराज खनाल, काठमाडौं

अहिले १ डलर किन्न नेपालीले १ सय १५ रुपैयाँ ४८ पैसा खर्च गर्नु परिरहेको छ । यो हालसम्मकै उच्च विनिमय दर हो । डलर बलियो बन्दै गएका कारण नेपाली मुद्रा कमजोर भएको छ । हुन त, नेपाली मुद्राको सोझो सम्बन्ध डलरसँग नभएर भारतीय मुद्रासँग छ । किनभने, नेपालीको विनिमय दर भारतीय मुद्रासँग स्थिर राखिएको छ ।

डलरको तुलनामा भारतीय मुद्राको सटही दरमा हुने घटबढले नै नेपाली मुद्राको विनिमय दर (भाउ) पनि घटबढ हुने गर्छ । भारतीय अर्थतन्त्रमा समस्या नभए पनि अमेरिकी अर्थतन्त्रमा आएको सुधारले डलर महँगिँदै गएको हो । कुनै पनि देशको मुद्रा कमजोर वा बलियो हुनुमा उक्त देशको अर्थतन्त्रको अवस्थाले काम गरिरहेको हुन्छ । अर्थतन्त्रलाई कहिलेकाहीँ राजनीतिक दाउपेचले पनि कमजोर वा बलियो साबित गरिरहेको हुन्छ । अहिले अमेरिकी मुद्रा बलियो हुनुमा अमेरिकी रणनीति विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पको गतिविधिलाई मुख्य कारक मानिएको छ ।

प्रतिस्पर्धी राष्ट्रहरूबाट अमेरिकाले चुनौती महसुस गरिरहेकाले पनि अमेरिकाले आफ्नो आर्थिक र भूराजनीतिक आधिपत्य कायम राख्न डलरलाई हतियारका रूपमा प्रयोग गरिरहेको विशलेषकको भनाइ छ ।

“डलरबाट अमेरिकालाई धेरै रणनीतिक लाभ छ । विशेषगरी समय–समयमा अमेरिकाले लगाउने प्रतिबन्धको व्यवस्था नै डलरले शक्ति प्राप्त गर्ने मुख्य आधार हो,” भारतीय लेखक तथा पूर्वबैंकर सत्यजित दासको विश्लेषण छ । अमेरिकी भुक्तानी प्रणाली वा अमेरिकी बैंकको प्रयोग गरेर हुने डलर भुक्तानीका लागि सो देशसँग अनिवार्य साँठगाँठ हुनुपर्ने दासको कथन छ ।

इरान, क्युबा र सुडानजस्ता मुलुकमा प्रतिबन्ध लाग्दा डलर भुक्तानी गरेका कारण फ्रान्सेली अन्तर्राष्ट्रिय बैंकिङ समूह बीएनपी परिबासले ९ अर्ब डलर क्षतिपूर्ति तिर्नुपरेको थियो भने उसलाई एक वर्षसम्म डलरको भुक्तानी राफसाफ गर्नसमेत बन्देज लगाइएको थियो । चीन, युरोपसँगको व्यापारमा कर विवाद गरिरहेको अमेरिका अहिले जापानतर्फ सोझिने छाँटकाँट देखिएको छ । व्यापार घाटा घटाउन करका दर बढाउने अमेरिकी नीतिले अन्य देशको अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भएकाले पनि डलरको भाउ बढेको हो ।

“चीनतर्फ ट्रम्प प्रशासनले लिएको नीति प्रविधि हस्तान्तरणजस्ता अन्य पक्षप्रति पनि लक्षित छ । उसको एउटा मात्र ध्येय विश्वको ठूलो अर्थतन्त्रको रूपमा कायम रहनु देखिन्छ,” चीनका एएनजेड रिसर्च प्रमुख अर्थविद् रेमन्ड युङ भन्छन् ।

विश्वको कुल आर्थिक उत्पादनमा अमेरिकी अर्थतन्त्रको हिस्सा २० प्रतिशत छ भने संसारभर राखिने प्रमुख मुद्राको सञ्चितिमा डलरको हिस्सा आधाभन्दा धेरै छ । त्यसैले पनि अमेरिकी मुद्रा शक्तिशाली छ । पछिल्लो समय चीन, रसिया र युरोपले समेत मुद्रा सञ्चितिको वैकल्पिक प्रणालीको आवश्यकता महसुस गरिरहेका छन् । तर, चीन र रसियाजस्ता देशका मुद्रामा केहीमा पारदर्शिता र युरोमा स्थिरताको अभाव रहेकाले पनि विकल्प बन्न सक्ने अवस्था छैन । बलियो भएसँगै डलरमा वैदेशिक ऋण र सहायता लिएका टर्की, अर्जेन्टिनाजस्ता देशमा समेत लगानीकर्ताको आकर्षण घटिरहेको छ ।

बढ्दो डलर मूल्यले नेपालमा समेत असर पर्छ । नेपालले आयात गर्ने अधिकांश वस्तुको भुक्तानी डलरमा गर्ने भएकाले यसको मूल्यमा हुने वृद्धिले बजार भाउ महँगिन सक्छ । हाल ५ प्रतिशतभन्दा कम रहेको मूल्यवृद्धिमा चाप पर्ने सम्भावना छ । नेपाल भित्रने रेमिट्यान्समा भने डलरको भाउमा भएको वृद्धिले सघाउन सक्नेछ । डलरको भाउ महँगो हुँदा बढी विनिमय दर पाउने भएकाले रेमिट्यान्स पठाउन आप्रवासी आकर्षित हुनेछन् भने विदेशबाट आएको रेमिट्यान्स रकम नेपाली मुद्रामा बढी देखिनेछ ।

–विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित: भाद्र २२, २०७५