साहित्य

[तीन किताब] हामी सबै सोमदत्त

- भरतकुमार रेग्मी, काठमाडौं

साहित्यप्रति लगाव बढ्नुको प्रमुख कारण म हुर्किएको परिवेश हो । प्रकृति, समाज र संस्कृतिमाथि लेखिएका कृतिमा रुचि छ मेरो । भाषाशिल्पप्रति म सधैँ लोभिने गर्छु । विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमामा यी सबै कुरा पाउँछु ।

दुई भिन्न प्रकृतिको समाज– आर्य र किराँतबीचको सम्बन्धलाई साहित्यिक स्वादमा यति सरल ढंगबाट लेख्न सक्नु नै कोइरालाको विशेषता हो । मेरा लागि कोइराला राजनीतिमा भन्दा साहित्यमा बढी सफल भएजस्तो लाग्छ । भलै, राजनीतिक व्यक्तित्वले साहित्यलाई छायामा पारेको हुन सक्छ ।

सुम्निमाको भाषा र लेखनीले मात्र होइन, पात्रको जीवनदर्शनबाट पनि निकै प्रभावित छु । विशेषगरी आत्मिक शान्तिका लागि भौताइरहेका सोमदत्तसँग । त्यो उनले सुम्निमालाई भेटेपछि पाउँछन् । हामी पनि बाहिरी दुनियाँको भौतिक सुख–सुविधामा रमाइरहेका हुुन्छौँ । त्यसको प्राप्ति नै अन्तिम सुख भन्ने लागेको हुन्छ । तर, सुख भने ससाना कुरामा लुकेको हुन्छ । उपलब्धि र प्राप्तिसँग सुखको तादात्म्य छैन । सोमदत्तको आत्मिक शान्तिको खोजी भौतिक सुखसुविधालाई सबै कुरा ठान्ने अहिलेको समाजलाई पनि गतिलो सन्देश हो ।

समाजभन्दा टाढा रहेको कृतिलाई साहित्यिक कृति मान्दिनँ । किनकि, साहित्य भनेको समाजको सेरोफेरोमा हुनुपर्छ । र, तत्कालीन समाजको सटिक वर्णन गरियो भने त्यसले इतिहासको काम पनि गर्छ । असल र यथार्थ साहित्यले भविष्यमा इतिहासको पनि काम गर्छ । पर्ल एस वकको गुड अर्थ  त्यसमा खरो उत्रन्छ ।

गुड अर्थमा उनले चिनियाँ समाजको सजीव चित्रण गरेकी छिन् । पुस्तकको सबैभन्दा बलियो पक्ष भनेकै मान्छेको माटोप्रतिको माया र सम्बन्धको चित्रण हो । एउटा किसानको जीवनमा आधारित छ यो किताब । मुख्य पात्र वाङ भन्ने एउटा सामान्य किसानको सफलताको कथा हो यो । निरन्तर मिहिनेत गर्‍यो भने मान्छे कसरी सफल हुन्छ र सफलतापछि बाटो बिराउने सम्भावना कसरी रहन्छजस्ता प्रश्नको उत्तर निकै मर्मस्पर्शी ढंगले पस्किएकी छन् उनले । समाज र मानव अनि मानव–मानवबीचको सम्बन्धको सुन्दर प्रस्तुति छ किताबमा ।

भीएस नयपाल लेखनीबाट प्रभावित नहुने को पो होला र ! मलाई उनको एनिग्मा अफ अराइभलले निकै छोएको छ । नयपालले १९५० देखि १९७० सम्मको घटनाक्रमलाई अति नै सुन्दर ढंगले आख्यानमा ढालेका छन् । त्यस अवधिको बेलायतको ग्रामीण जीवनबाट किताब सुरु हुन्छ । जन्मस्थल ट्रिडिनाड एन्ड टोबागो र अमेरिकाका केही सहरहरुको भ्रमण पनि गर्छ किताबले । ठाउँको सटिक वर्णनका कारण आफू नै त्यहाँ पुगेजस्तो लाग्छ । मानिसले घटनाक्रम र विषयलाई कसरी हेरिरहेको हुन्छ र विभिन्न व्यक्तिहरुको सम्पर्कले उसमा कस्तो प्रभाव पारिरहेको हुन्छजस्ता जिज्ञासालाई निकै सूक्ष्म र कलात्मक ढंगले पस्किएको छ ।

नाइजेरियन लेखक चिनुवा अचेवेका किताब पनि मलाई मन पर्छन् । आधुनिक संस्कृतिहरु हावी हुँदै आएका छन् । समाजका सुन्दर पाटाहरु इतिहासमा सीमित हुन्छन् कि भन्ने मलाई चिन्ता छ । त्यसैले  अचिवेका जस्ता कृति नेपालीमा पनि लेखिनुपर्छ । जस्तै, मगर समाजको कुनै एउटा घटना र पक्षमाथि नै लेख्न सकिन्छ । गुरुङ समाजभित्र पसेर लेख्न सकिन्छ । नेपाली साहित्य सिर्जनामा यस्ता विविधताको सूक्ष्म र इमानदार तस्बिर प्रतिविम्ब होस् भन्ने चाहन्छु ।

प्रस्तुति : सुरेशराज न्यौपाने

प्रकाशित: भाद्र २०, २०७५