व्यक्तिचित्र

मन पराउनु पनि एउटा दुर्घटना...

- राजकुमार बानियाँ, काठमाडौं

टुप्पोदेखि फेदसम्म कालो । फेददेखि टुप्पोसम्म कालो । जताबाट हेरे पनि कालै आवरण । आफू गोरो हुनुपर्‍यो, कालो आफैँ शृंगार बनिदिँदो रहेछ । नेपाली गीतको एउटा स्वर्णिम स्वर योगेश वैद्य, ७३, का जीवनपृष्ठ पल्टाउँदा त्यस्तै लाग्छ ।

कालोको अर्थ असीमता हो, सीमाहीन । अन्धकारलाई सीमाबोध गराइदिन्छ, उज्यालोले । उज्यालो अर्थात्, चेतनाले टुक्राइदिन्छ अन्धकारलाई । यस अर्थमा कालो नेगेटिभ होइन, पोजेटिभको पराकाष्ठा हो । त्यही मैलो रङभित्र खुल्छ, योगेश वैद्यको असली व्यक्तित्व । उनको मान्यता छ, “कालो भनेको शिवत्व हो । शिवत्व सत्य हुन्छ । त्यही सुन्दर हुन्छ । त्यसबाहेक केही पनि सत्य छैन ।”

यी ‘ह्यान्डसम’ गायक अलिकति ओझेलमा छन् । तैपनि, गाउन छाडेका छैनन् । हालसालै नेपाल भाषामा दुइटा गीति–एलबम निकाले । आठ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका यी गहकिलो गायनका गुरुले एकै दिन तीन वटासम्म गीत गाए । दुई वर्षपहिले डोरी फुस्केजस्तो भयो शरीरमा । डराउँदै अन्नपूर्ण नर्सिङ होम पुगेका उनलाई शिराघात (स्ट्रोक) भएको रहेछ ।

४५ दिन अस्पताल बसेर घर फिरे । त्यसपछि हिँडडुल गर्नै सकेनन् । दोस्रोपटक बालापन फर्कियो । लड्ने–उठ्ने, उठ्ने–लड्ने क्रम चल्यो । अहिले एक्युट लो ब्याक पेनको पासोमा परेका छन् । “०६६ मा पञ्जाबमा प्रत्यारोपण गरेर आएपछि मलाई कुनै असुविधा भएन, स्ट्रोकले भने सारा अभिमान/स्वाभिमान चकनाचुर भयो,” उनी सुनाउँछन्, “गीतसंगीतमा लाग्दा भने हिँड्न सक्दिनँ भन्ने पनि बिर्सन्छु ।”

जीवन भनेको उड्नु होइन, हिँड्नु हो । कहिले अगाडि, कहिले पछाडि । त्यही पनि नसकेपछि योगेशलाई गुड्नु नै जिन्दगीजस्तो लाग्न थालेको छ । त्रिपुरेश्वर, मिलनमार्गस्थित घर नै उनको संसार हो । उनलाई भेट्न बच्चुकैलाश, प्रेमध्वज प्रधान, किरण खरेल, यादव खरेल आदि घरमै पुग्छन् । रीता महर्जनजस्ता चेलीले उनमा ऊर्जा भरिरहेकै छन् । संवेदनामा बाँचेका श्रोताहरूले त सदाबहार मन पराएकै छन् ।

नेपाली संगीतको नितान्त फरक भूगोलमा छन्, योगेश । कहिले अत्यन्त रुचाइएको, कहिले ध्यानै नदिइएको । पछिल्लो काल न युट्युबमा भेटिन्छन्, न त एफएम स्टेसनमै घन्किन्छन् । “योगेश वैद्य मेरो असली नाम हो र † बाबुले राखिदिएको नाममा कति झुन्डिएर बस्ने ?” उनको जिकिर छ, “म गायक भएर जन्मेको होइन, समाजले मलाई जन्माएको हो । गीत गाह्रो भएको पनि जिन्दगीबाट अलि टाढा भएर त होइन ?”

भीडमा लोकप्रिय हुने चेष्टा उनले कहिल्यै गरेनन्, भाषण खोजेर गाउँदै हिँडेनन् पनि । छायातिर उनलाई कहिल्यै रुचि भएन । उनको अर्जुनदृष्टि सदैव असलीतिरै रह्यो । त्यसैले उनका गीत भावपूर्ण र काव्यिक छन् । उनका लागि गीत भनेको जेनतेन तुकबन्दी र ऐयासीको साधन होइन, भावनात्मक गहिराइ अनि मानवीय गुणको परिष्कृति हो ।

“म सबभन्दा पहिले आफैँभित्र पपुलर हुन चाहन्छु, मलाई पपुलारिटीमा विश्वासै छैन,” उनी भन्छन्, “तेरो बाउ र मेरो बाउ माछा मार्न गए मार्का गीत हिट हुन्छन् अहिले । हृदय नभए विवेक हुन्न । साहित्य र संगीत हृदयविहीनताको सिकार भएका छन् ।”

संगीतमा देखावटीपन योगेशले कहिल्यै रुचाएनन् । चुल्ठो, मुन्द्री र उफ्रिपाफ्रीसँग गीतको सम्बन्ध उनलाई थाहा छैन । यत्ति थाहा छ– फेसन गरेर कला अघि बढ्दैन । “संगीतका नाममा यतिका धूवाँ र धूलो उड्यो कि मैले वर्षौं कुनै आकार देख्न पाएको छैन,” उनी भन्छन्, “कलाकार भनेको संवेदना हो । संवेदनामा बाँच्ने र मर्नेहरूका लागि ठाउँ कहाँ छ ?” कुकुरलाई बिस्कुट खुवाएर वा साथीभाइलाई ह्वीस्की खुवाएर कविता र गीत सुनाइरहनुलाई उनी हृदयविहीनताकै संकेत मान्छन् ।

उनले मानेका दुई संगीत साधक हुन्, नातिकाजी र शिवशंकर । तिनले विथोविनको कुरा गरेर आफूलाई विद्वान् सावित गरेनन् । वरिष्ठ र कनिष्ठको द्वन्द्वमा पनि फसेनन् । कहिल्यै आफ्नो गुणगान गाएनन् । बरु साधारण नेपाली परिवेशमा योगेशको आवाजलाई मेलोडीमा ढालिदिए ।

काठमाडौँको केन्द्र नरदेवीको रैथाने सम्भ्रान्त परिवारमा जेठो छोराका रूपमा जन्मेछन्, योगेश । जम्बो परिवार थियो । बाजे मात्र होइन, बाजेका भाइ पनि एकाघरमै । आमा रुक्मिणीले हरेक छाक कम्तीमा २५ जनालाई खाना पकाउनुपथ्र्यो । उनका पिता इन्दिरानन्द वैद्य बेलायतको लिड्स युनिभर्सिटी पढेर फर्किएका रहेछन् । कुनै बेला याक एन्ड यती होटलको अध्यक्ष थिए । पिताजी कति औपचारिक थिए भने छोरालाई पनि तँ, तिमी, तपाईं सम्बोधनै नगर्ने ।

सन् १९६० अप्रिलमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले शान्ति निकुञ्ज सह–विद्यालयका भ्रमण गर्दा उनले केटी साथी प्रतिमासँग मिलेर युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित विद्यालयकै परिचयात्मक गीत प्रस्तुत गरे, ‘पुरुष नारी दिवस रजनी साथ नै युग भर्दछन् ... ।’ त्यहीँ पढ्दा गुरु अष्टमंगल वज्राचार्यले उनलाई संगीतप्रवीण नरराज ढकालकहाँ पुर्‍याए र एक वर्ष संगीत सिके । त्यसपछि स्वअध्ययनमै रमाए । २० को दशकमा किलागलका नारायणगोपाल, बांगेमुढाका प्रेमध्वज प्रधान अनि प्युखाका माणिकरत्न साथी थिए उनका ।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेछन् । इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए । मुहम्मद रफी, तलत महमुदलगायतको । सबैले तारिफ गरे । उनको स्वरपरीक्षा त्यही भयो ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा पहिलो गीत रेकर्ड भयो, ‘कति प्यासी छ जिन्दगी...’ ०२२ मा । त्यसपछि एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु...’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी.. सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी... ।

चल्तीको भन्दा फरक, अमूर्त शैलीका अनि उर्दू शेर ओ शायरीको प्रभावका गीत । छनोट बेग्लै भएकाले अलग धार बन्यो योगेशको । एकपटक हरिबहादुर रञ्जितकारले दुइटा लोकगीत दिएका थिए उनलाई । ज्ञानु राणासँग स्याङ्जाली लोकगीत गाएछन्, ‘चैतको घामले..’ । तर, उनले गाइदिए, मुहम्मद रफी शैलीमा ।

“त्यो गीत एक–दुई ठाउँमा मात्र ठीक छ । स्थानीय सुगन्ध नआएर पेरिसको पफ्र्युमजस्तो भयो,” उनी भन्छन्, “नेवारी लोकगीतमा जति न्याय गर्न सकिनँ । स्वरलाई सुरसँग नमिलाएसम्म संगीत बन्दैन । एसेन्स अफ मेलोडी भनेको यही हो ।”

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भए, योगेश । पहिलो नियुक्ति हुनुपर्ने मान्छेलाई ११ महिना झुलाइदिए । केन्द्रीय खाद्य अनुसन्धानशालामा कसैको निगाह नलिई जाँच दिएरै सहसचिवसम्म भए ।

सचिवको सूचीमा नाम आए पनि मन्त्रीसामु झुक्न चाहेनन् । ३३ वर्षपछि ०६१ मा अवकाश लिए । “त्यसै दिन मैले प्रण गरेको थिएँ, यहाँबाट फर्केपछि कसैलाई हाकिम मानेर सलाम गर्दिनँ,” उनी सुनाउँछन्, “अब किताब लेख्छु, एलबम निकाल्छु ।” उनका प्राविधिक विषयका सात र समय प्रवाहमा छुटेका पलहरू गीतिकविता संग्रह प्रकाशित छन् । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका छन् ।

६ दशक लामो सांगीतिक यात्रामा योगेशले पिञ्जडाको सुगा, डाँफे चरी आदि गीतिनाटकमा गाए । ४ सय ५० गीतमा आवाज दिए भने ५० वटामा संगीत । लेखनाथ पौडेलको ‘गुणको वैरी मानुष जाति’ देखि जी शाहको ‘मेरो आँसुमा नहाँसेसम्म ।’ तर, जनसाधारणमा उनलाई चिनाउने गीत एउटै भयो, ‘सपना भुलाई सारा.. ।’

०४२ तिर रेडियो नेपालमा रेकर्ड भएको त्यो गीत उनले नातिकाजीको कालो ब्यागबाट निस्केको एउटा पानामा भेटेका रहेछन्, बेनामे र बेवारिस हालतमा । अन्जान गीतकारको पीडा र छटपटी सर्दैसर्दै उनमा आयो । दोहोर्‍याई–तेहेर्‍याई पढेर नातिकाजीलाई पनि प्रभावित पारे । दुई दिनपछि नै रेडियो नेपालका नियमित वाद्यवृन्दका साथ रेकर्डिङ भएपछि श्रोताको फर्माइस आएको आयै । असोज ०४४ असोजमा रत्नमा यसको पुन: रेकर्डिङ भयो ।

त्यतिबेलासम्म गीतकार शिव अधिकारी गुमनामै थिए । योगेशले चाहेको व्यक्तित्व थियो गीतमा । देखेको व्यक्तित्वमा बरु दाग हुन सक्थ्यो । शिवले नाम लेखेका थिएनन्, नातिकाजीलाई पनि कसले दिएको भन्ने हेक्कै भएन । तर, योगेशले जसको हो, उसकै गीत गाएका थिए ।

एकाबिहानै भान्सामा पत्नीसँग खाना पकाउँदै गर्दा रेडियोमा अचानक आफ्नो गीत सुनेर शिव सीधै रेडियो नेपाल पुगेर दाबी पछारेछन् । धेरै वर्षपछि एक रेडियो कार्यक्रम प्रस्तोताले फोन संवाद गराइदिए योगेश र शिवलाई । पछि गीतको दृश्यांकनका क्रममा भेट पनि भयो । “त्यो गीत सामान्य र विशेष दुवैथरी श्रोताले रुचाएकामा मलाई आश्चर्य रहेन, त्यो गीत मैले रुचाएरै गाएको हुँ,” उनी भन्छन्, “तर, त्यो नै मेरो पहिलो र अन्तिम गीत होइन । यसो भन्दा अरू गीतलाई अन्याय हुन्छ ।”

त्यसो त, मवीवी शाहका ‘नेपाल मेरो तिमीलाई,’ ‘प्रीति गरेर सबमा’, ‘चोट दिलमै रातदिन’, ‘उडेर चरी आउँछ’ आदि गीत पनि गाएका छन् उनले । जी शाहका सबैभन्दा बढी अर्थात्, १८ गीत गाउने पनि उनै हुन् । यसै कारण दरबार या राजाको मान्छे भन्ने बिल्ला पनि छ उनमा ।

जी शाह पूर्वराजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम हो भने मवीवि शाह उनकै पिता पूर्वराजा महेन्द्रको । अधिराजकुमार हुँदा ज्ञानेन्द्रसँग उनको आत्मीय सम्बन्ध कस्तो थियो भने राती गीत लेखे भने पुसको बिहान ६ बजे नै गाडी टुप्लुक्क आइपुग्थ्यो योगेशको घरमा ।

जी शाहका पहिलो श्रोता उनै हुन्थे ।

“ज्ञानेन्द्र सरकारले नारायणगोपाल, बच्चुकैलाश र मेरो जमघट गराइरहनुहुन्थ्यो,” उनी सम्झन्छन्, “राती ३–४ बजेसम्म मेहफिल जमेपछि एकपटक म नारायणगोपालको पछाडि आड लागेर सुतेछु ।” योगेशको अनुभवमा ज्ञानेन्द्र हार्मोनियममा पारंगत छन् । नातिकाजी र शिवशंकरले बिराउँदा बेसुरा भयो भनेर सम्झाउँथे । योगेशले गाएका १० वटा गीतमा ज्ञानेन्द्रकै लय छ । ‘बहेको मौनता तिम्रो..’ ‘मलाई पिउनुको आनन्द’ उनलाई प्रिय छन् ।

मुस्लिम कन्यासँगको उनको प्रेमविवाह असफल भयो । तर, दुई छोरी र एक छोराको घरसंसार छँदैछ । छोरीहरूको बिहे भइसक्यो । फेडेक्स एक्सप्रेसका सेल्स म्यानेजर ३४ वर्षे छोरासँग बस्छन् । बुढेसकालमा कोही साथी भएनन् भने पनि छोराका साथीले बोलाउँदा पनि आफैँलाई सम्झेजस्तो भ्रम होस् भनेर समश्रुतिभिन्नार्थक शब्द कोरलेछन्, लोकेश ।

“लभ स्टोरीमा कृत्रिमता बढी, स्वाभाविकता कम हुन्छ, युवावस्थामा कृत्रिमताले प्रभावित गर्छ र पछि गएर यथार्थसँगको द्वन्द्वमा कृत्रिमताले नै जित्छ,” उनको कठोर अनुभव बोल्छ, “मन पराउनु पनि एकखाले दुर्घटना रहेछ । यथार्थले हुकुमत चलाउन थालेपछि घात–प्रतिघात र नीलडाम मात्रै हात लाग्छन् ।”

सांसारिक भोगचलन, मानिसभित्रको जटिलता अनि सम्बन्धको मायाजाल आत्मकथामार्फत उजागर गर्न चाहन्छन् योगेश । छोरालाई भावुकतावश सुनाइसके, ‘मैले आत्मकथा खेस्रा तयार गरेको छु । त्यसलाई अन्तिम रूप दिएर गोप्य राख्छु । बाँचुन्जेल होइन, मेरो अनुपस्थितिमा मात्र खोल्नू ।’

पोषणको असन्तुलनले उनको उचाइ भनेजस्तो बढेन । ५.२ फिटका उनले गाउँगाउँ पुगेर यसबारे वर्षौं पाठ पढाए । रेडियोमा ‘पोषण ज्ञान विस्तार’ कार्यक्रममा अमर गुरुङ र नातिकाजीको संगीतमा दुइटा गीत बनाएर प्रसारण गर्दा उनले स्पष्टीकरण खाए– गायक हुँ भन्दैमा जेलाई पनि गीत बनाउने ?

पहिलो पटक मदिरा चाखेपछि ६ महिनासम्म बाबुसँग बोलचालै भएन । नातिकाजी, बच्चुकैलाश, शिवशंकर, राममान तृषित, रुबी जोशी आदि कलाकारको जमघट हुन थाल्यो हरेक हप्ता । उनको सूत्र बन्यो– लोकल नखाने, रेड लेबल–ब्ल्याक लेबल पाए नछाड्ने । कलाकारबीचको भ्रातृत्व कस्तो भने वर्षको दुईपटक पार्टी हुन्थ्यो । चिट्ठा थुत्दा उनको भागमा सधैँ रक्सी पथ्र्यो । “त्यो रमाइलोपन अधिकार थियो । पछि भेटघाट पातलिँदै गयो,” उनी भन्छन्, “अहिले त कलाकारहरूबीच प्रतिद्वन्द्विता मात्रै देख्छु ।”

आकारको भ्रममा बस्दैनन् योगेश । ऐनाले ‘भर्चुअल इमेज’ मात्र दिन्छ । ‘रियल ऐना’ मानिस आफैँ हो । त्यसैले आफैँलाई ‘बेस्ट फ्रेन्ड’ घोषणा गरेका छन् उनले । बलिउड अभिनेता दिलीपकुमार थिए उनका रोल मोडल । व्यक्तित्व, बोली, शैली, खेलकुद अनि शेर ओ शायरीमा पनि उस्ताद । दिलीपकुमारले खेलेको देखेर ब्याडमिन्टन समाते योगेशले । नौशाद, साहिर लुधियानवी, मिर्जा–ए–गालिब, जावेद अख्तर, गुलजार आदि हिन्दुस्तानी विभूतिको बयान सप्रेम गरिरहन्छन् ।

सर्वमान्य के छ भने आजले भोलि ल्याउँछ । हामी भोलिका लागि आजको बलिदान गर्छौं । भोलिका लागि बाँच्नेहरू भ्रष्ट मनोवृत्तिका हुन्छन् । योगेश सन्देह गरिरहन्छन्, “बिहान सबेरै आइतबार हुन्छ । आइतबारपछि सोमबार आउँछ भन्ने यकिनियतले धोका पनि खान सक्छ ।” भोलि कसको छ र !

प्रकाशित: भाद्र २०, २०७५