प्रविधि

“रिपोर्टको ढड्डाले ढाड कुप्रिन छाड्यो”

- विभु लुइटेल, काठमाडौं

प्रविधिका अनेक पक्षसँग परिचित छिन्, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारी । ग्याजेट किन्दै जाने क्रममा नोकियाको सानो सेटबाट उनी अहिले एप्पलसम्म आइपुगेकी छन् । “एप्पलका फोन महँगो हुने हुँदा हतपत अपग्रेड गर्ने योजना भने छैन । अहिले आइफोन ६ एस प्लस चलाउँछु । सुविधाजनक नै छ । तर, एप्स्टोरबाट कुनै एप्लिकेसन डाउनलोड गर्नचाहिँ साह्रै झन्झट,” उनले अनुभव सुनाइन् ।


१७ को उमेरमा पहिलो पटक डेस्कटप देखेकी मोहना कार्यालयीय कामकाजका लागि भने म्याकबुक प्रयोग गर्छिन् । भन्छिन्, “सुरक्षाका दृष्टिले निजी म्याकबुक नै ठीक लाग्छ । आपैँmले बोकेर हिँड्ने हुँदा महफ्वपूर्ण फाइल चोरी नहुने कुरामा ढुक्क छु ।” एचपी, लेनोभो, सोनी, डेल हुँदै म्याकबुकसम्म आइपुग्दा उनले अनेकथरी प्रविधिसँग साक्षात्कार गर्न पाइन् । यात्रामा जाँदा चाहिने आवश्यक दस्तावेज बोक्न भने उनलाई आफ्नो आइप्याड सजिलो लाग्छ । यी ग्याजेटले उनको जीवन सहज बनाइदिएका छन् । “रिपोर्टको ढड्डाले ढाड कुप्रिन्थ्यो पहिले । अहिले जहाँ जाँदा पनि फाइलका सफ्ट कपी नै लैजान्छु,” उनको थप अनुभव छ ।


मोहनाको सामाजिक सर्कल ठूलो छ । ट्वीटरमा २२ हजारभन्दा बढीले उनलाई पछ्याएका छन् । ती व्यक्तिसँग सामाजिक सञ्जालकै माध्यमबाट अन्तक्र्रिया गर्न पाउनुलाई उनी प्रविधिको ठूलो फड्को मान्छिन् । भन्छिन्, “सोसियल मिडिया क्रान्तिको युगजस्तो लाग्छ मलाई अहिले । सञ्चार यति सर्वसुलभ होला भन्ने कहिल्यै लागेको थिएन ।”


ई–सेवाजस्ता क्यासरहित भुक्तानी माध्यमले उनको जीवन सहज बनाइदिएका छन् । एप्पलको भ्वाइस असिस्टेन्ट सिरीसँगको संवादले फोन प्रयोग सरल बनाइदिएको छ । त्यसैले उनलाई लाग्छ, अहिलेको युगमा सबैलाई सानै उमेरदेखि प्रविधिमैत्री बनाउन आवश्यक छ । “हामी हाम्रा बालबच्चा नासामा पुगून् भन्ने सोच्छौँ । तर, बिग्रेलान् कि भनी ग्याजेट हातमा थमाइदिन डराउँछौँ,” उनी थप्छिन्, “बरु निगरानी राखौँ । तर, प्रविधिबाट टाढा भने नराखौँ ।”

प्रकाशित: भाद्र १९, २०७५