मनोरञ्जन

निखिताको संगीत सपना

- गोकर्ण गौतम, काठमाडौं

दार्जिलिङमा जन्मिन्, भारतका विभिन्न सहरमा हुर्किन् । तर, नेपाली गीतप्रति विछट्टै माया थियो, निखिता थापा, २३, लाई । नारायणगोपाल, गोपाल योञ्जनदेखि सुगम पोखरेल, अञ्जु पन्तसम्मका गीतले उनलाई पछ्याइरहे । संगीतप्रतिको लगाव घनीभूत हुँदै गयो र हिन्दुस्तानी क्लासिकल म्युजिकमा स्नातक गरिन् मुम्बईबाट ।

उनै निखिता यतिबेला युट्युबको नेपाल ट्रेन्डिङमा छाइरहेकी छन्, ‘उडायो हावाले...’ गीतबाट । फिल्म इन्टु मिन्टु लन्डनमाको यस गीतमा उनले हर्कुलस बस्नेतसँगै आवाज दिएकी छन् । कभर र ओरिजिनल गरी करिब पाँच दर्जन नेपाली गीत गाइसकेकी निखिता भन्छिन्, “मुम्बईमा संगीत पढ्दै गर्दा नेपाली संगीतमा करिअर बनाउँछु भन्ने सपना थियो । अहिले त्यही सपना पूरा गर्दैछु ।”

‘उडायो हावाले...’ अगाडि निखिताले कारखाना फिल्मको ‘मायाले बोलेको बोली...’ बाट प्रशस्त फ्यान कमाएकी थिइन् । बिनाभिडियो यस गीतले युट्युबमा लाखौँ भ्युज पायो । तर, उनको पहिलो पाश्र्व गायनचाहिँ थ्री लभर्सको ‘जति छन्...’ हो । लभ यु बाबामा पनि आवाज दिइन् । त्यसपछि आफ्नै नामबाट आधुनिक गीतको सोलो एल्बम निकालिन् । हिन्दी र अंग्रेजी गीत पनि गाउने भएकाले कन्सर्टतिर व्यस्तता बढेको छ ।

अचेल त कम्पोज पनि गर्न थालेकी छन् । फिल्ममा गाउन थालेपछि आधुनिक गीत छायामा परेको हो ? “होइन,” तीन वर्षयता नियमित नेपाल बस्दै आएकी निखिता भन्छिन्, “मलाई गाउनु छ, यस्तै हुनुपर्छ भन्ने छैन । पाश्र्व, आधुनिक वा जुनसुकै विधाका गीत गाउन उत्तिकै उत्साही हुन्छु ।”

प्रकाशित: भाद्र १८, २०७५