सम्झना

बिदा हरिप्रसाद रिमाल : रंगमञ्चका रत्न

- नेपाल संवाददाता , काठमाडौं

कुनै समय थियो, जतिबेला शनिबार रेडियोका लागि छुट्याइन्थ्यो । त्यो पनि दिउँसो १ बजे । आफ्ना काम सकेर या थाती राखेर रेडियो नाटकको प्रतीक्षामा हुन्थे, श्रोताहरु । त्यस्तो लहर ल्याइदिएका थिए, हरिप्रसाद रिमालले ।

२०११ देखि ०५३ सम्म उनले दुई हजारजति रेडियो नाटकको निर्देशन मात्र गरेनन्, रेडियो नाटकलाई सर्वाधिक लोकप्रियसमेत बनाए । उनको एकलव्य दृष्टि नाटकमा मात्रै रह्यो । सांस्कृतिक संस्थानमा गएपछि नाटकमा क्रान्ति नै ल्याइदिए रिमालले । नाचघरमा उनैद्वारा निर्देशित के सक्कली के नक्कली  लगातार एक वर्षसम्म चल्यो । त्यही नाटकको कमाइले कलाकार–कर्मचारीले लामो समयदेखि रोकिएको तलबभत्ता मात्र थापेनन्, महाप्रबन्धकले गाडी चढ्ने हैसियत बनाए । कुनै समय सत्यमोहन जोशीको फर्केर हेर्दाको कमाइले प्रज्ञाप्रतिष्ठानका उपकुलपतिलाई गाडी चढाइदिएको थियो ।

१९९६ मा समकै निर्देशनमा प्रह्लादमा अभिनय गरेर मौलिक नेपाली रंगमञ्चमा प्रवेश गरेयता उनले नाचघर र बाहिरका गरी पाँच दर्जनभन्दा बढी नाटक निर्देशन गरे । “नाटक मञ्चन गरेर मात्र हुँदैन, त्यसलाई दर्शकले हेरिदिनु पनि पर्छ,” व्यावसायिक रंगमञ्चका पक्षपाती रिमाल भन्थे, “दर्शकले नहेर्ने नाटकबाट समाजले के सन्देश पाउँछ र ?”

०५३ पछि भने रंगमञ्चबाट अलि किनार लागेजस्ता थिए रिमाल । त्यसको कारण थियो– प्रतिकूल स्वास्थ्य । सांस्कृतिक संस्थान या रेडियो नेपालमा सक्रिय हुँदा आफूलाई सिँगारेर कुद्ने यी रंगकर्मी हिँड्नै नसक्ने भए । पान र चुरोटका अम्मली रंगकर्मीलाई डाक्टरले दम रोग किटान गरिदियो । एक दशकयता उनले चौबीसै घन्टा अक्सिजन मास्कबाटै सास फेरे । यति हुँदाहुँदै पनि उनी कहिल्यै हतास भएनन् । “काल नआएसम्म कसैले केही गर्न सक्तैन”, उनी भन्थे, “तर, यस्तो कष्टकर काल कसैको नआओस् !”

नाटकका कुरा चले भने मास्क फुत्त एकातिर फ्याल्थे र रसिक कुरा गर्थे । श्रीमती कल्याणीले फेरि उनको मुखमा मास्क लगाइदिन्थिन् । साहित्यकार दाजु गोपालप्रसाद रिमाल र कृष्णप्रसाद रिमालको प्रेरणाले नाटकमा लागेका यी नाट्यकर्मीले दर्जनौँ रंगकर्मी जन्माए र तिनलाई रंगकर्ममै लागिरहने प्रेरणा दिए । उनी रंगकर्मकै लागि जन्मिएजस्तो लाग्छ ।

रिमालले पंक्तिकारलाई ०१७ को एउटा रोचक संस्मरण सुनाएका थिए । विश्वेश्वरप्रसाद कोइरालालाई भर्खर बन्दी बनाइएको थियो । राती १२ बजिसकेका बेला कसैले घरको मूलढोका ढकढक्यायो र बोलायो, ‘हरिप्रसाद, ए हरिप्रसाद !”

उनको हंसले ठाउँ छाड्यो, मध्यरातमा के विपत्ति आइलाग्यो भनेर । उनले डराइडराई ढोकाको चेपबाट चिहाएर बिस्तारै सोधे– “यो मध्यरातमा कहाँबाट, के कति कामले पाल्नुभयो ?” त्यो अपरिचितले भन्यो, “सरकारबाट हुकुम भएको छ, तपाईं अहिले नै गीत गाउन दरबार हिँड्नुपर्‍यो ।”

अनि मात्र उनको ढुकढुकीको वेग सन्तुलनमा आयो । लामो उच्छवासका साथ लुगा फेरेर गाडीमा बसे र दरबारमा रातभरि गाएर बिहान फर्किए । उनी भन्थे,  “हाम्रो स्वरमा आफ्ना गीत सुनेर राजा महेन्द्र दंग पर्नुहुन्थ्यो र हजार–बाह्र सय रुपैयाँ बक्सिस दिएर हामीलाई खुसीखुसी बिदा गर्नुहुन्थ्यो ।” त्यतिबेला दरबारमा गाउने रिमालसहित जनार्दन सम, बच्चुकैलाश, पुष्प नेपाली र शिवशंकरको पाँच सदस्यीय टोलीलाई ‘पञ्चभजने’ पनि भनिन्थ्यो ।

रिमालले रेडियो नेपालबाट गीत गाउने पहिलो गायकको कीर्तिमान कायम गरेका थिए । शंकर लामिछानेको शब्द र आफ्नै संगीतमा ‘मेरो दिल टुक्रा बनेर’ । रंगमञ्चको नसाले तातिँदै गएपछि लोभलाग्दो गायन करिअरलाई पनि विश्राम दिए । यी महान् कलाकारको १५ भदौमा भौतिक अवसान भयो । सतत श्रद्धाञ्जली !

प्रकाशित: भाद्र १५, २०७५