मनोरञ्जन

युद्धमा हराएका मानिसहरु [नाटक : खबर हराएको चिठ्ठी]

- गोकर्ण गौतम, काठमाडौं

जुम्लामा कटवाल प्रथा धानेर बसेका मनराजका छोरा द्वन्द्वकालमा बेपत्ता छन् । उनले गाउँलेलाई अनेक खबर सुनाउँदै हिँड्नुपर्छ । तर, उनकै छोराको खबर कसैले भन्दैनन् । गाउँका अरु पनि बेपत्ता छन् । कतिपय गाउँले बिस्तारै गाउँ छाड्दैछन् । मनराजको मन गाउँमै छ । उनलाई अझ आशा छ, छोरो फर्कने ।

अनामनगरस्थित मण्डला थिएटरमा १५ भदौबाट मञ्चन भइरहेको नाटक खबर हराएको चिठ्ठीभित्रको व्यथा हो यो । नाटकमा बेपत्ता नागरिकका चार फरक कथा छन्, योचाहिँ ‘सुख्खा आँखा’ को हो । सोही नाटकभित्र अर्को कथा छ, कुर्रै लौ । साकेला नाच्न गएका सिलीमाङ्पा हर्कलाल बेपत्ता भएपछि उनकी श्रीमती सञ्चमाया एक्ली भएकी छन् । श्रीमान्को फेटा र ढोलबाजा उनका साथी  छन् । सिलीमाङ्पा हराएर साकेला नाच रोकिएकामा गाउँले चिन्तित छन् । तर, सञ्चमायालाई फेटा र ढोल अरुलाई दिन मन छैन । उनलाई लाग्छ, सिलीमाङ्पा फर्की आउनेछन् ।

सशस्त्र द्वन्द्वका दौरान ११ सय नागरिक बेपत्ता भएको सरकारी आँकडा छ । युद्ध सकिएको १३ वर्ष भइसक्यो । तर, न सास आएको छ, न त लाश । हराउने त हराइहाले, परिवारको घाउ अझै आलै छ । खबर हराएको चिठ्ठी त्यही वेदनाको अभिव्यक्ति हो । गहन र संवेदनशील विषयवस्तुले मात्र होइन, निर्माणको भिन्न शैलीले नाटकलाई विशेष बनाएको छ । नेपाली नाटक समाज र राजनीतिबाट टाढा गएको, कलात्मक पक्ष कमजोर भएको गुनासो बढ्दै गएपछि मण्डलाले नयाँ र प्रतिभाशाली निर्देशकका लागि गत वर्ष एउटा कार्यशाला चलायो । १४ निर्देशक सहभागी उक्त कार्यशालाको सहजकर्तामा भारतको नेसनल स्कुल अफ ड्रामामा पढेर फर्किएका विमल सुवेदी छानिए । गत वर्ष सुवेदीले राजधानीमै निर्देशकहरुलाई सैद्धान्तिक प्रशिक्षण दिए ।

यो वर्षचाहिँ टोली कास्की गयो, १६ साउनमा । कालावाङको सामुदायिक होस्टेलमा एक साता बिताएपछि सबै सहभागीले बेपत्ता नागरिकका छुट्टाछुट्टै कथा लेखे । यीमध्ये पोखरा थिएटरमा ४ कथा छानिए । तिनलाई एक हुलाकी पात्रमार्फत जोडियो । कथानक अझ जीवन्त बनाउन र विषयवस्तुलाई नजिकबाट नियाल्न सहभागीलाई पोखरा आसपासका बेपत्ता नागरिकका १३ परिवारसँग भेट गराइयो । सहभागी केदार श्रेष्ठका अनुसार कसरी बेपत्ता भए भन्ने भन्दा बेपत्ता परिवारमा परेको प्रभाव, नयाँ जीवनको सुरुआत र संघर्षमा जोड दिइयो, कथा बुन्ने क्रममा ।

पोखरा थिएटरमा नाटक रिहर्सलसमेत पीडित परिवारका सदस्यले अवलोकन गरेका थिए । पोखराको पहिलो प्रदर्शन उनीहरुलाई नै देखाइयो । त्यसपछि ८ भदौदेखि तीन दिनसम्म पोखरामै मञ्चन गरियो । मण्डलामा २४ भदौसम्म मञ्चन नाटकका सहजकर्ता सुवेदी भन्छन्, “समय कम थियो । पीडित परिवारकै प्रत्यक्ष अवलोकनमा चाहे जति गर्न सकेनौँ । तैपनि, बेपत्ता नागरिकका कथालाई कलात्मक शैलीमा देखाउने प्रयास गरिएको छ ।” उनी यस्ता नाटकले बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई रचनात्मक दबाब पुग्ने विश्वास गर्छन् ।

पीडित परिवारसँग कथा खोतल्दा सहभागीले व्यक्तिगत सम्बन्ध आत्मीय बनाएका थिए । ताकि, उनीहरुको पीडाको गहिराइसम्म पुग्न सकियोस् । ती कथा र पात्रलाई मञ्चमा प्रस्तुत गर्दा त्यत्तिकै संवेदनशील भएको सहभागी श्रेष्ठ बताउँछन् । भन्छन्, “कार्यशाला र नाटक निर्माण प्रक्रियाले समाज बुझ्न र त्यसलाई रंगमञ्चमा उतार्नेे शिल्पको नयाँ क्षितिज पहिल्याउन सघाएको आभास भएको छ ।” लेखन र निर्देशन मात्र होइन, अभिनय र अन्य प्राविधिक पक्षमा १२ जना सहभागी छन्, जसमा आकांक्षा कार्की, चे शंकर, सुदाम सीके, सिजन दाहाललगायत छन् । सहजकर्ता सुवेदी भन्छन्, “यो पुस्तामा सिक्ने र काम गर्ने उत्साह अधिक छ । उनीहरु नयाँ प्रयोगद्वारा नेपाली थिएटरलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन सक्षम छन् । अभाव उचित प्लेटफर्मको मात्रै हो ।”

प्रकाशित: भाद्र १५, २०७५